कोरोना महामारी र नेपालको राजनीति

लेख

कोरोना महामारीले संसारकै पुँजीवादी अर्थतन्त्रको जग नै हल्लाई दिएको छ । यस्तो अवस्थामा नेपालजस्तो अल्पविकसित मुलुकको अर्थतन्त्र प्रभावित नहुने कुरै भएन । नेपाल विस्तारै पुँजीवादी विकास गर्ने तिर उन्मुख भएको बेलामा कोरोना महामारीको चपेटामा पर्न गएको छ । नेपालमा सामान्य राजनीतिक स्थिरता पनि आएको छैन र विकासको जग पनि बसेको छैन । केही महिनाअघि मात्रै प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा चलेको नेपाल सरकारले नेपाललाई सन् २०२७ सम्ममा अल्पविकसित मुलुकबाट विकासउन्मुख मुलुकमा बढोत्तरी गर्ने निर्णय लिएको थियो । यो निर्णय हुँदा नेपाल पहिलो चरणको कोरोना महामारीको चपेटाबाट गुज्रिरहेको थियो । अहिले नेपाल दोस्रो चरणको कोरोना महामारीको चपेटाबाट गुज्रिरहेको छ । नेपालको राजनीति थप अस्थिर भएको छ । कोरोना महामारी नेपालमा सुरु हुँदा नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ओलीले नै गरेका थिए भने अहिले पनि नेपाल सरकार उनकै नेतृत्वमा छ । फरक के भएको छ भने पहिले उनीसँग दुई तिहाई बहुमत थियो भने हाल उनी कामचलाउ प्रधानमन्त्री मात्रै छन् । नेपालको सत्तामा जसरीतसरी टिकेका छन्, उनी प्रभावहीन बनेका छन् । उनले विगतमा र अहिले गरेका राजनीति र विकासका निर्णयहरू महत्वहीन भएका छन । सक्रिय राजाको नेतृत्वमा चलेको पञ्चायती व्यवस्थालाई फालेपछि दलहरूले केही समय संवैधानिक राजाको मातहतमा नेपालको सत्ता चलाएका थिए । यही कालमा उदय भएको माओवादीले संवैधानिक राजतन्त्र र बहुदलीय सिद्धान्तअनुसार चलेको संसदीय व्यवस्था कै विरोधमा पहिले जनयुद्ध र त्यसपछि जनआन्दोलनको आँधीबेहरी ल्याएका थिए । फलस्वरुप लगभग २५० वर्षदेखि चल्दै आएको राजतन्त्रलाई नेपालको मुलधार राजनीतिबाट हटाइदियो भने राजाका सक्रिय नेतृत्वमा चलेका पञ्चहरूले भने मिलेर राष्ट्रिय प्रजातन्त्र नामको बहुदलीय सिद्धान्तअनुसार चल्ने राजनीतिक दल खोली नेपालको राजनीतिमा आफ्नो सक्रिय उपस्थितिलाई कायम राख्दै नेपाली जनतालाई जाग्रित तुल्याउँदै लगेका छन् । पहिले नेपाली जनता सामु ठुल्ठूला कुरा गर्ने नेपालका कम्युनिस्टहरू सत्तामा पुगेपछि भ्रष्ट भएर निस्केका छन् । अपराधी त उनीहरू पहिलेदेखि नै थिए किनकी उनीहरूले सत्ता कव्जा गर्ने राजनीतिक अभियान अपराधबाटै सुरु गरेका थिए, जुन मानवता विरोधी र कठोर मानिन्छ । तिनै कम्युनिस्ट नामधारीहरू अहिले सत्तामा भए पनि उनीहरूका बीच एकता छैन । उनीहरू बारबार एकता गर्ने र त्यसलाई भंग गर्ने फोहरी राजनीतिक चलखेलको सिकार आफँै भएका छन् । कम्युनिस्ट नामधारी दलका नेताहरू सत्तामा पुगेपछि सम्पत्तिको जुगाड गर्ने तिर लागेका छन् । उनीहरूसँग राष्ट्रिय र अन्तराष्ट्रिय परिस्थितिको राम्रो ज्ञान नभएकाले पुँजीवादी मुलुकहरूले नेपालमा परिचालन गर्दै आएका नाफाखोर दलाल व्यपारीहरू र व्यवसायीहरूको चंगुलमा पर्दै गएका छन् । फलस्वरुप दलका नेताहरूको सम्पत्ति बढ्दै गएकाले उनीहरू अहंकारी पनि भए । एउटै दलभित्रका शीर्ष नेताहरूका बीच पनि एकता कायम रहन सकेन । भागबण्डाको राजनीति र आपसी मिलोमतोमा नै सबै नेताहरूले विदेशीले दिने गरेको कमिसन खान पाउने प्रणालीको विकासले पनि उनीहरू बीचको एकतालाई टिकाउन सकेन । अहिले उनीहरू ठूलो भाग खान पाइन्छ भनेर एक्लाएक्लै राजनीति गर्ने बाटोमा लाग्दै कामचलाउ भएका छन् । दलहरू सजिलै पुँजीवादी मुलुकहरूले परिचालन गरेको नाफाखोर तथा दलाल व्यापारीहरू र व्यवसायीहरूको प्रभावमा पर्न गएकाले हिजो साथसाथ राजनीति गरेका कमरेड नेताहरू अहिले एकअर्काका कट्टर दुष्मन बनेका छन् । यस्ता जुवाडेको कौँडा झैं छरपष्ट भएका दलका नेताहरूले नेपाली जनतालाई कोरोना महामारीको यो आपतकालबाट निकाल्न सक्दैन । पहिले नेपालसँग कोरोना परीक्षण गर्ने स्वास्थ्य उपकरणहरू थिएन । त्यसैगरी उपचार गर्नका लागि पूर्वाधार र जनशक्तिहरू थिएन । अहिले त्यो सबैको सामान्य व्यवस्था भएको छ तर राजनीतिक नेतृत्व र सरकारी इच्छाशक्ति सबैभन्दा कमजोर अवस्थामा पुगेकाले सबै नेपाली जनतालाई पुग्ने गरी कोरोनाविरुद्ध खोपको व्यवस्था गर्न सकेको छैन । पुँजीवादी धनी मुलुकहरू र छिमेकी देशहरूले सहयोगमा पठाएका केही लाख डोज खोपको भरमा अहिले नेपाल राष्ट्रको खोप अभियान चलेको छ । नेपाल सरकारको नेतृत्व कामचलाउ र कमजोर भएकाले नेपाली जनताको जीवन रक्षा गर्ने कोरोनाविरुद्धको खोप अभियान स्थगित अवस्थामा छ । उमरले ६५ वर्षभन्दा माथिका पहिलो डोज कोभ्याक्स खोप लगाएका लगभग १३ लाख वरिष्ठ व्यक्तिहरूले दोस्रो डोज खोप लगाउन पाएको छैन । समयको हिसाबले १२ हप्ताभित्र लगाउनु पर्ने दोस्रो डोज खोप समय १४ हप्ता बित्दा पनि लगाउन पाएको छैन । चिनियाँ भेरोसेल खोप लगाउने अभियान पनि तीब्र गतिमा चलाउनु पर्नेमा सो गर्न नेपाल सरकारले सकेको छैन । सत्तामा बसेका दलका नेताहरू भारतमुखी बनेर बसेकाले नेपाली जनताको लागि खोपको व्यवस्था समयभित्र गर्न सकेन । यस्तो अवस्थामा संसारभर उपलव्ध सबै स्रोतहरू परिचालन गर्नु पर्नेमा नेपाल सरकारले त्यसो गर्न सकेन । दलहरू बीच चलेको आपसी राजनीतिक खिचातानीले गर्दा नेपाली जनताको लागि महत्वपूर्ण मानवीय खोप अभियान प्रभावित बनेको छ । सत्ताको उन्माद र भोगबिलासमा परी जनकल्याणकारी विषयमा उचित ध्यान नदिनु गलत हो । कोरोना महामारीको पहिलो चरण आउँदा त्यसको उपचार गर्नको लागि खोपको विकास भएको थिएन त्यसैले परीक्षण र उपचारले महत्व पाउनु उचित थियो । अहिले कोरोना महामारीको दोस्रो चरण नेपालमा आएको बेला संसारका धेरै मुलुकहरूले खोपको विकास गरेका छन् र उक्त खोप लगाएर आफ्ना मुलुकका नागरिकहरूलाई कोरोना महामारीबाट सुरक्षित तुल्याएका छन् । छिमेकी देश चीनले आफ्ना मुलुकका एक अर्बभन्दा बढी जनता अर्थात् ८० प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप लगाएर ‘हार्ड इम्युनिटी’को अवस्थामा पुग्न सफल संसार कै पहिलो मुलुक बनेको छ । उता छिमेकी राष्ट्र भारतले पनि प्रतिदिन लगभग एक करोडका दरले आफ्ना मुलुकका जनतालाई कोरोना महामारीविरुद्ध खोप लगाउने अभियानलाई तीब्र पार्दै अगाडि बढ्न सफल भएको छ । दोस्रो महाशक्ति राष्ट्र रुसले पनि आफ्ना नागरिकहरूलाई कोरोना महामारीबाट सुरक्षित बनाउनको लागि आफैँले विकास गरेको ‘स्पुटनिक भी ५’ खोप लगाउने अभियान तीब्र परेका छन । आम रुसी नागरिकलाई उक्त खोप अभियानमा सरिक गराउनको प्रेरित गर्ने उद्धेश्यले खोप अभियानमा सहभागी हुने मध्येबाट कार उपहार दिने व्यवस्थासमेत गरेका छन् । पहिलो महाशक्ति राष्ट्र अमेरिकाको खोप अभियान लगभग सफल भएको छ । अमेरिकामा मर्नेहरूको संख्या घटेर सय अंकबाट पनि तलझरी सकेको अवस्था छ । यो सबै अमेरिकाको ‘हाइटेक’को कमाल हो । संसारकै ट्यालेन्ट उक्त मुलुकमा जम्मा छन्, त्यसैले ‘चितायो कि बितायो’ भने झैँ असम्भव कामलाई चाँडै सम्भव तुल्याउने गरेका छन् । नेपालीहरूले पनि उक्त मुलुकमा पुगेर ज्ञान विज्ञानमा ठूलो उपलब्धी हाँसिल गरी देखाउने अवसर प्राप्त गरेका छन् । आर्थिक उन्नति र अवसरमा अमेरिकामा बस्ने नेपालीहरूले नेपालमा असम्भव कहिले सम्भव नहुने फड्को मार्दै कमालै गरी देखाएका छन् । नेपालमा बसेर नेपालीले अमेरिकामा जस्तो आर्थिक उन्नति गर्ने र ज्ञान विज्ञानमा तरक्की गर्ने अवसर कहिले पनि पाउन सक्दैन । त्यही भएकाले नेपालीहरू आफ्ना सन्तानलाई एकपल्ट जसरी–तसरी पनि अमेरिका पठाउने सपना देख्ने गरेका छन् । नेपालीको यस्तो सपना अमेरिकाले नियमितरूपमा सञ्चालन गर्दै आएको ‘इडिभी लोटरी’ले पनि आंशिक पूरा गरिदिएको छ । कोरोना महामारीको परीक्षण र उपचारमा नेपाल लगभग आत्मनिर्भर बनिसकेको छ । कोरोना महामारीको कुनै प्रभावकारी उपचार नभएका बखत स्वास्थ्य सामग्रीहरूको ठूलो महत्व थियो र त्यसको जुगाड गर्नको लागि नेपाल सरकारले संसारलाई गुहारेको थियो र संसारैबाट प्रशस्त सहयोग पनि प्राप्त भएका छन् । नेपालमा उक्त स्वास्थ्य सामग्रीहरू राखेर उपचार गर्ने भवनहरू र उक्त स्वास्थ्य सामग्रीहरू जडान गरी उपयोग गर्ने र मर्मत सम्भार गर्ने दक्ष जनशक्तिको धेरै अभाव भएकाले उक्त स्वास्थ्य सामग्रीहरूको प्रभावकारी उपयोग हुनसकेको छैन । उक्त स्वास्थ्य सामग्रीहरू उपयोग नगरी स्टोरमा राख्दा–राख्दै कवाडीमा परिणत हुने सम्भावना धेरै छ । कोरोना महामारीको दोस्रो चरणमा अक्सिजनको अभावले धेरै कोरोना संक्रमितहरूको ज्यान गएपछि अहिले नेपालमा त्यसको राम्रो व्यवस्था भएको छ । सबै ठूला अस्पतालहरूका अक्सिजन प्लाण्टहरू मर्मत सम्भार गरी उपयोगमा आएका छन् भने धेरै अस्पतालहरूमा नयाँ अक्सिजन प्लाण्ट राख्ने कामहरू भएका छन् । अक्सिजन भर्नका लागि सिलिण्डरहरूको व्यवस्था पनि प्रशस्त गरिएका छन् । अब आउँदो समयमा कसैको पनि ज्यान अक्सिजन नभएकाले जाने अवस्था लगभग समाप्त भएको छ । तर, नेपाल सरकारले अहिले कै जस्तो जनस्वास्थ्यमा ध्यान सदाकाल दिनु अनिवार्य छ । अन्य राष्ट्रहरूमा जस्तै तत्काल महत्वको विषय भने नेपालमा पनि खोपको उपलव्धता नै हो । नेपाल उद्योग वाणिज्य संघले पनि यहि कुरालाई जोड दिँदै नेपाल सरकारले सबै नेपाली जनताको लागि खोपको व्यवस्था तुरुन्तै गर्नुपर्छ भनी नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको छ । उनीहरूले यसो नभएमा नेपालको अर्थतन्त्र चाँडै नै धरासायी हुने चेतावनीसमेत दिएका छन् । वास्तवमा नेपाल सरकारले पनि यो कुरा महसुस गरेको नै हुनुपर्छ । त्यसैले राजनीतिक संकटको पाटोलाई एकातिर थाती राखी अहिलेलाई सबै राजनीतिक दलहरूले नेपाली जनतालाई तुरुन्तै कोरोना महामारीविरुद्ध खोपको व्यवस्था गरी खोप लगाउनु अनिवार्य छ । राजनीतिक संकटको समाधान सर्वोच्चको फैसलाबाट हुने र त्यसैबाट नेपालको राजनीतिले निकास पाउने भएकाले त्यसमा अलमल छैन । सबै राजनीतिक दललगायत पूर्वराजा र पञ्चहरूले समेत नेपाली जनताको जीवन रक्षा गर्ने खोपको व्यवस्थापनमा नेपाल सरकारसँग हातेमालो गर्नैपर्छ । नेपाली सबैको कल्याण तुरुन्तै कोरोनाविरुद्धको खोप लगाउनुमा छ, नलगाउनुमा होइन ।

 

Leave a Reply

Your email address will not be published.