भक्तपुर घर भए हुँदैन सरुवा !

प्रशासन

काठमाडौं । केही प्रशासकलाई फुटबल शैलीमा तीन महिनामै लखेटिने, अनि कोही सचिव तीन वर्षसम्म एउटै कार्यालयबाट कहिँकतै सरुवा हुनुनपर्ने ? तिनको कार्यसम्पादन अब्बल भएर हो वा अन्य कुनै कला ? प्रशासक पनि कस्तो बनाइए भने बालुवाटार वा शितलनिवासको निकट भए तिनलाई तीन÷चार वर्षसम्म नचलाउने, अवकास पाउनु अगावै आयोग वा निकायमा नियुक्ति भेट्टाइहाल्ने । बालुवाटार इतरको भए तीन महिनाभन्दा बढी कहिँकतै टिक्नै नदिने भकुण्डो बनाइहाल्ने ।
जस्तो महेश्वर न्यौपाने, यामकुमारी खतिवडाहरू भक्तपुरे सांसद महेश बस्नेत र राष्ट्रपति कार्यालयको निकट हुँदा हत्तपत्त चलाइदैनन् । सत्ताइतर भएकै चार्ज लगाएर इन्जिनियर सुरेश आचार्य पछिल्लो पाँच महिनामा तीन ठाउँमा लखेटिसकिएको छ । १४ महिनासम्म झुलाएर सचिव बढुवा भएका उनको पोष्टिङ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा भएको थियो । त्यहाँबाट लो प्रोफाइलवाला सचिव बस्ने कार्यालय नेपाल ट्रष्टमा लखेटिएका उनी अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तानिएका छन् । उनीझैं छिटो–छिटो सरुवा हुने सचिवमा देवेन्द्र कार्की, दिनेशकुमार घिमिरे, यादव कोइरालालगायत छन् ।
पछिल्लो डेढ वर्षमा सरकारले झण्डै एक दर्जन पटक सचिवहरूको सरुवा गरेको छ । तर, गृहसचिव महेश्वर न्यौपाने, यामकुमारी खतिवडा, शिशिर कुमार ढुंगानाबाहेकका केही सचिव म्युजिकल चियर शैलीमा वर्षमा तीन पटकसम्म मन्त्रालय परिवर्तन भएको छ । यसबीच तीन जना गृहमन्त्री फेरिए । तर, गृह सचिव उनै न्यौपाने मात्रै थमौति भएपछि अन्य सचिवले भन्न थालेका छन् के अरु चाहिँ भक्तपुर घर नभएकै कारणले सौताको छोरा हुन् ? सचिव बढुवा भएको वर्ष दिन पुगेको छैन् सुरेश आचार्यको तीन ठाउँमा सरुवा भइसकेको छ ।
उनको पोष्टिङ भएको थियो, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा । त्यहाँबाट तीन महिना नपुग्दै उनलाई सरुवा गरियो र लो प्रोफाइलको सचिव बस्ने नेपाल ट्रष्टको कार्यालयमा खेदियो । त्यहाँ पनि तीन महिना नपुग्दै अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा तानिएको छ । यसैगरी देवेन्द्र कार्कीको पनि तीन महिना नबित्दै सरुवा गरिएको छ । उनी पछिल्लो समय राष्ट्रिय सतर्कता केन्द्र, नेपाल ट्रष्ट हुँदै अहिले ऊर्जा मन्त्रालयमा पुगेका छन् । सबैभन्दा धेरै खेदिने सचिवमा यादव कोइराला पनि पर्छन् । उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कहिले सामान्य, कहिले स्वास्थ्य हुँदै अहिले पर्यटन मन्त्रालयतिर पुगेका छन् । केही सचिवलाई यसरी भकुण्डो बनाइँदा केही प्रशासक यस्ता पनि छन्, जो तीन÷चार वर्षसम्म एउटै मन्त्रालयबाट अन्यन्त्र सरुवा हुनै परेको छैन । सचिव बनेपछिको तीन वर्षसम्म उद्योग मन्त्रालयमै रहेकी यामकुमारी खतिवडा अहिले महिला बालबालिका मन्त्रालयमा छिन् । यस्तै शिशिर कुमार ढुंगाना अर्थमै छन् भने महेश्वर न्यौपाने पनि कम सरुवा हुने सचिवमा पर्दछन् । उनीहरू भक्तपुरे एमालेका नेता महेश बस्नेतका आँडमा एकै ठाउँमा टिकिरहन सफल भएका हुन् ।
चाँगुनारायण माविमा पढेका तीन जना अहिले नेपाल सरकारका सचिव छन् महेश्वर न्यौपाने, शिशिर ढुंगाना र मणिराम गेलाल । यी तिनै जना भक्तपुरका । गृह, अर्थ र ऊर्जाजस्ता ‘पावरफुल’ मन्त्रालयका सचिव । तर, जुन जिल्लाले एकै पटक तीन जना सचिव पाएको छ त्यहाँको बाटोघाटो दयनीय छ । अनुमानित लागतभन्दा ३७ प्रतिशत कममा ठेक्का कबोल गरेको ठेकेदारले भक्तपुर चाँगुनारायण नगरपालिका–३ गेलाल गाउँमा पहिरो गएर भत्केको सडक पाँच महिनामा पनि बनाउन नसक्दा चाँगुनारायणबासीहरू समस्यामा परेको स्थानीयहरूले गुनासो पोखेका छन् । यो गाउँ नेपाल सरकारका तीनजना सचिवको जन्मस्थान भएको कारण पनि विशेष छ । सडक पुनर्निर्माणको ठेक्का सुवर्ण÷भण्डारी÷आरुसा जेभी (संयुक्त उपक्रम) ले गत माघ ८ गते लिएको थियो । सहरी विकास मन्त्रालयअन्तर्गतको संघन सहरी तथा भवन निर्माण आयोजनासँग यो ठेकेदारले एक करोड ८२ लाख ७२ हजार ७३ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । यो रकम कूल अनुमानित लागतभन्दा ३७ प्रतिशत कम हो । सम्झौताअनुसार ठेकेदारले यही असार मसान्तसम्म काम पूरा गर्नुपर्ने थियो । तर, २० प्रतिशत काम पनि सकिएको छैन । मुलुकको सिंगो प्रशासन संयन्त्र हाँकेर हिँड्ने तीन प्रशासक जो आफ्नै गाउँको सडक त बनाउन सक्दैनन् । यस्ता प्रशासकबाट देश बन्ला भन्ने अपेक्षा राख्नु नै गलत ।

Leave a Reply

Your email address will not be published.