बहु क्षेत्रमा काम गर्ने ठार्लाङ्गे सामुदायिक वन

लेख

राज्यको पुर्नसंरचनापछि शैलुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित ठार्लाङ्गे सामुदायिक वन उपभोक्ता समूहमा ४९८ घरधुरी परिवार आवद्ध रहेका छन् । साविक जिल्ला वन कार्यालय दोलखाबाट २०५२ साल भदौ ११ गतेका दिन १८४ हेक्टर राष्ट्रिय वन ठार्लाङ्गे सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण भएको थियो । समूहले सामुदायिक वनको रूपमा वन क्षेत्र हस्तान्तरण गरेर जिम्मा लिएदेखि आफ्नो विधान तथा वन कार्ययोजनाको अधिनमा रही वनको व्यवस्थापन गरिरहेको छ ।
अहिलेसम्म चार वटा कार्ययोजनाहरू बनी सकेका छन् । चौँथोपटक बनाएको वन कार्ययोजनका अवधि पनि २०८० सम्म मात्र कायम रहेको छ । हरेक पटक वन कार्ययोजना बनाउँदा उपभोक्ता घरधुरी परिवारको आवश्यकता र वनको अवस्थाको विश्लेषण गरी सकेसम्म वनबाट प्राप्त हुने पैदावरलाई कुशलतापूर्वक व्यवस्थापन हुने गरी योजना बनाउने गरिएको छ ।
समूहको विधानअनुसार नियमित सञ्चालन भइरहेको छ । समूहको साधारणसभामा गणपूरक संख्या पुग्दैन कि भन्ने कुनै चिन्ता छैन । समूहका पदाधिकारीहरूसँग समूहले गरेका काम के के हुन् त भनी प्रश्न गर्दा ४० वटाभन्दा बढी कामको सूची बनाउनु भयो ।
समूहले गरेका कामको सूची हेर्दा केही वर्षअघि नेपाल स्वीस सामुदायिक वन परियोजनाले प्रकाशन गरेको एक दस्तावेजको याद आयो । त्यसमा लेखिएको थियो, सामुदायिक वन उपभोक्ता समूहहरूले सरकारका १८ वटा मन्त्रालयले गर्ने काम गरेका हुन्छन् । यस सामुदायिक वनले सम्पादन गरेका कामहरू हेर्दा एउटा राज्य नै सामुदायिक वन भित्र छजस्तो देखिन्छ । राज्यले सम्पादन गर्ने सबै काम गरेको जस्तो देखिन्छ ।
जलवायु परिवर्तन सम्वन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरेको छ । समूह तथा सामुदायिक वनको अवस्था झल्कने होर्डिङ बोर्ड सार्वजनिक स्थलमा टाँगेको छ । समुदायस्तरमा रहेका अन्य सामुदायिक तथा सरकारी एवं गैरसरकारी संस्थासँग नियमित समन्वय र सहकार्य गरिरहेको छ । खानेपानी हरेकको अधिकार हो भन्ने आत्मसात गरी स्थानीय खानेपानी तथा सरसफाई उपभोक्ता समूहलाई रु ७५ हजार आर्थिक सहयोग गरेको छ ।
सामुदायिक वनहरूको छाता संस्था फेकोफनमा आवद्ध भई नियमित सहकार्य गरिरहेको छ । स्थानीय महासंघका गतिविधिमा नियमित संलग्न मात्र भएको छैन, स्थानीय फेकोफनको अभियान प्रभावकारी बनाउन लागी रु ५ हजार सहयोगसमेत गरिसकेको छ । फेकोफन छाता संगठन भएको हुनाले सशक्त बनाउन हरेक सामुदायिक वनले भूमिका खेल्नु पर्ने कुरामा सबै उपभोक्ताको बुझाइ रहेको छ ।
समुदायमा पर्ने विपत् न्यूनिकरण तथा सामना गर्नका लागि औजारहरू बन्दोवस्त मिलाएको छ । रिचार्ज पोखरी, खेलकुद मैदान निर्माण, विद्यालयलाई आर्थिक सहयोग, क्यान्सरजस्ता घातक रोग लागेको उपभोक्तालाई आर्थिक सहयोग, मन्दिर तथा गुम्बालाई सहयोगजस्ता सामुदायिक विकासमा समेत यो समूहले हात हालेको छ ।
सामुदायिकस्तरमा हुने सामुहिक जमघटमा सजिलो बनाउनका लागि स्थानीय ‘समाज सुधार संस्था’ लाई रु ३ लाख २५ हजार उपलव्ध गराई भाँडाकुँडा, कुर्सीलगायतका सामग्री खरिद गरिएको छ । सो संस्थाले यस सामुदायिक वनका उपभोक्ताहरूमा पर्ने वा हुने सामुहिक जमघट गर्ने सांस्कृतिकलगायतका काममा यी सामग्रीहरूको सहज उपलव्धता हुने गरेको छ ।
वन व्यवस्थापनका काम प्राथमिकतामा राखेको छ । अग्निरेखा निर्माण, कार्ययोजनाअनुसार वन व्यवस्थापन, भूकम्प पिडितलाई घर बनाउन काठ उपलव्धता, वहुआमयिक वन बनाउन उत्पादनमूलक विरुवाहरू रोपन गरेको छ । यस क्रममा टिम्बुर, ओखर तथा खुर्पानेका विरुवाहरू रोपी नियमित रेखदेख गरी हुर्काउने काम भइरहेको छ । काठ समूह बाहिर बिक्री गर्ने चलन छैन, तर उपभोक्तालाई प्रतिक्यूविक फिट रु ५० मा उपलव्ध गराउने गरेको छ ।
सामुदायिक वन भनेको त विपन्नका लागि हो नी यसमा आधारित केही गरेको छैन भन्ने प्रश्नमा केही वर्ष अघि विपन्न पहिचान गरिएको थियो । त्यसैलाई आधार मानी केही आर्थिक टेवा पु¥याउन सकियोस् भनी ३ लाख २० हजार पुँजीसहितको घुम्ती कोषको व्यवस्था गरेको रहेछ । यस कोषबाट ६ महिनाका लागि ८ प्रतिशत व्याजमा रकम परिचालन हुँदो रहेछ । समूहका पदाधिकारीहरूले खुलस्त बताए, सहभागितामूलक विपन्न पहिचानको काम अद्यावधिक गर्न सकिएको छैन । तर, सामुदायिक वनको स्रोत विपन्नलाई पहिलो प्राथमिकता हुनु पर्दछ भन्ने कुरामा सबै सचेत रहेका छन् । विपन्नमुखी कार्यक्रम भनेर दिल खोलेर सञ्चालन गर्न नसके पनि उपभोक्ताको हित अनुकूल भएकोमा सबै सन्तुष्ट देखिन्छन् ।
वर्षको एक पटक साधारणसभा, नियमितरूपमा समितिको बैठक वस्ने गरेको छ । हरेक दुई वर्षमा कार्यसमिति चयन हुने गर्दछ । सरकारी नियमअनुसार नै समिति समावेशी चयन हुने गरेको छ । ९ सदस्यीय कार्यसमितिको सचिवमा महिलासहित ५ जना महिलाको प्रतिनिधित्व रहेको छ ।
एक दशक अघि नै दुई कोठे सामुदायिक वनको भवन निर्माण भइसकेको छ । त्यहीबाट समूहका गतिविधिहरू सञ्चालन हुने गर्दछन् । समूहको विधान, कार्ययोजना, निर्णय पुस्तिका खोज्न समूहको पदाधिकारीका घर तिर दौडिनु पर्दैन, कार्यालयमा नै उपलव्ध हुने गर्दछ । नेपाल बैंक लिमिटेड र मेघा बैंकमा खाता सञ्चालन भएको छ । ती खाताहरूमा ८ लाखको हाराहारीमा रकम रहेको छ । समूहको कोषमा वार्षिकरूपमा झण्डै ३ लाख थपिने गर्दछ । त्यही रकमबाट खर्च पनि हुने गरेको छ । दोहोरो लेखाप्रणाली अपनाउने कोसिस गरिएको छ । नियमित लेखा परीक्षण हुने गरेको छ ।
माथि उल्लेख गरेका कामहरूमध्ये धेरै अरु सामुदायिक वनले पनि गरिरहेका होलान् । तर, तपाईंको सामुदायिक वनको विशिष्ट पहिचान चाँहि के हो त ? भन्ने प्रश्नमा अध्यक्ष प्रेमबहादुर श्रेष्ठले एक वाक्यमा जवाफ दिए, ‘वनको नियमित व्यवस्थापन, उपभोक्ताको सन्तुष्टी नै हाम्रो पहिचान ।’ तै पनि अरु सामुदायिक वनहरूको भन्दा फरक काम धेरै छन् त्यसमध्ये एक खेलकुद मैदान र रिचार्ज पोखरी निर्माण अलि विशिष्ट पहिचान देखिन्छ ।
शैलुङ गाउँपालिका वडा नं. ३ स्थित जलजले महादेव स्थान नजिक पहाडी क्षेत्रको मध्यमस्तरको खेलकुद मैदान निर्माण गरिएको छ । १५० मिटरभन्दा बढी लम्बाइ र १०० मिटरभन्दा केही बढी चौडाइ भएको खेल मैदान सामुदायिक वनको कोष खर्च गरेर निर्माण गरिएको हो । यो मैदान तयार गर्न ९७ हजार खर्च भएको रहेछ । पैसाभन्दा पनि पालिकाभरिका युवाको ज्यान तन्दुरुस्ती बनाउने र खेलप्रेमी जम्मा हुने थलो बनाउन सकेकोमा सामुदायिक वनका पदाधिकारी आफैँ दंग परेका छन् । ‘खेलकुदमा हाम्रो सामुदायिक वन’ भन्ने अवधारणालाई थप परिस्कृत गर्न चाहान्छन् । त्यसैको छेउमा १०० वर्गमिटर भन्दा ठूलो पोखरी बनाई अर्को आकर्षणको केन्द्रसमेत बनाइसकेका छन् । यो पोखरी ६ मिटरभन्दा बढी गहिरो छ । यसको बहुउयोगतिर अब समितिको ध्यान गएको छ । अबको साधारणसभामा यस सम्वन्धी विस्तृत छलफल गर्ने योजना रहेको छ ।
०००

Leave a Reply

Your email address will not be published.