ठूला अपराधहरू दलहरूले घटाएको शंका

लेख

नेपालमा भएका ठूला अपराधका घटनाहरूको राम्रोसँग अध्ययन अनुसन्धान गरी अपराधीहरूलाई पत्तो लगाएर सजाय दिने काम गम्भिरतापूर्वक कहिले भएको छैन । जननेता स्वर्गीय मदन भण्डारीको चितवन जिल्लाको दासढुंगा भन्ने ठाउँमा अचानक २०५० साल जेठ ३ गतेमा आफैँ चढेको गाडी दुर्घटनामा परी त्रिशुली नदीमा खसेर परलोक हुन्छन् । उहाँका साथमा भएका अर्का ठूला नेता मोदनाथ प्रश्रितको पनि उक्त दुर्घटनामा नै मृत्यु हुन्छ भने उहाँको ड्राइभर सकुशल बचेका छन् । उक्त दुर्घटनामा एमालेका लोकप्रिय दुई ठूला नेताहरूको देहावसान भएपछि अहिले बारम्बार सत्तामा पुगेका एमालेका ठूला नेताहरूले नै हत्यारा पत्ता लगाउनको लागि तत्कालीन नेपाल सरकारलाई आन्दोलन गरी ठूलो दबाब दिएका थिए । तर, तिनै नेताहरू सत्तामा पुगेपछि दुई लोकप्रिय नेताहरू मारिएको उक्त दासढुंगा गाडी दुर्घटना काण्डको कुनै भरपर्दो विश्वासिलो जाँचबुझ गराएनन् । सबै एमालेका नेताहरू ‘तैँ चुप, मैँ चुप’ गरी सत्ताको उपभोग गर्दै आफ्नै नेताहरू मारिएको दासढुंगा गाडी दुर्घटना काण्डको जाँचबुझ गराउनको लागि कुनै चासो देखाएनन् र कुनै पहलकदमी पनि गरेनन् । यो कुनै मामुली घटना थिएन त्यसैले यसको जरैसम्म पुग्ने गरी विश्वासिलो र भरपर्दो अन्तर्राष्ट्रियस्तरको जाँचबुझ एजेन्सी बोलाएर भए पनि जाँचबुझलाई अगाडि बढाउन जरुरी थियो । तर, सत्तामा पुगेका ठूला भनाउँदा एमाले नेताहरूले त्यसमा कुनै चासो देखाएन र यो घटनालाई संधै गुपचुपमा राखी त्यसबाट राजनीतिक फाइदा लिने काम मात्रै गर्दै रहे । लोकप्रिय जननेता स्वर्गीय मदन भण्डारीको फोटो देखाएर वा बेचेर एमाले पार्टीले बारबार आम चुनाव जितेका छन् भने स्वर्गीय नेताका धर्मपत्नी नेपालको राष्ट्रपति बनेकी छन । यसरी सत्ताको बलियो राजनीतिक माहोल बनेको अवस्थामा पनि स्वर्गीय जननेता मदन भण्डारीको हत्या भएको हो कि केवल दुर्घटना मात्रै हो भन्ने बारे नेपाली जनताले उत्तर पाउन अहिलेसम्म सकेनन् । उता जननेता स्वर्गीय मदन भण्डारीको हत्यामा संलग्न रहेको शंकामा जेल परेका गाडीचालक अमर लामाको पनि जेलबाट मुक्त हुने बित्तिकै माओवादीहरूले हत्या गरेको हो भन्दै शंकाको बीउ आम जनमानसमा एमालेका नेताहरूले नै छरिदिएका छन् । यो घटना कुनै सानो घटना थिएन त्यसैले यसको जरैसम्म पुगेर आपराधीहरूलाई कठघरामा उभ्याएर सजाय दिन अत्यन्त जरुरी थियो । तर, दलका नेताहरूले त्यसो गर्न सकेनन् । एमाले पार्टी आफै सत्तामा भएको बखतमा पनि त्यस विषयमा कुनै चासो देखाएनन् । यसबाट नेपाली जनताको मनमा शंका बढ्यो कतै एमालेका शीर्ष नेताहरूले नै मिलेर राजनीतिक फाइदा उठाउनका लागि दासढुंगा हत्या काण्ड रचेको त होइन ? यति ठूलो घटनाको कुनै पनि टुंगो नलगाई अन्योलमा राख्दा अपराधीहरूको मनोबल उच्च भएको छ र नेपालमा अपराध बढाउनमा दलहरूले ठूलो योगदान गरेका छन । अहिले नेपालमा जताततै अन्योलता मात्रै छाएका छन् । नेपाली जनताहरू धेरै निरास भएका छन र सक्नेले आफ्ना छोराछोरीहरूसहित धमाधम अमेरिकातिर पलायन भएका छन् । नसक्नेले पनि डिभी चिट्ठाभरि आफ्नो अमेरिका जाने भाग्य छ कि छैन भनी अज्माउँदै छन् । धेरै नेपालीले नेपालमा बसी रहेमा आफ्नो सन्तानको भविष्य बिग्रने र नबन्ने निक्र्योल निकालेका छन् । त्यसैले धेरै नेपालीहरू हतास र उदास भएका छन् । आफ्नो देशलाई माया गरी नेपाल राष्ट्रकै सेवा गर्छु भनी बसेका ठूला विज्ञहरू सडकमा पुगेका छन् भने भ्रष्टाचारीहरू र अपराधीहरू महलमा पुगेका छन् । भ्रष्टाचारीहरू र अपराधीहरूले अहिले नेपालमा व्यापारीहरू र व्यवसायीहरूको समूह–समूह बनाएर राजनीतिक दलका नेताहरूलाई बोकी नेपाल राष्ट्रलाई लुट्नुसम्म लुटेका छन् । यतिबेला पुराना राष्ट्रिय पुँजीपति उद्योगीहरू झन् निरास भएर अमेरिकालगायतको विदेशी मुलुकहरूमा पलायन हुनको लागि बाटो नाप्दैछन् । दलका नेताहरूले कुरो बुझ्दैन हो वा बुझेर पनि बुझ पचाएका हुन् । सबै उत्साही देखिन्छन् र अन्योल र निरासको भुमरीमा परेको मृत्युप्रायः देश नेपालमा चुनाव जितेर पहिलो पार्टी बन्ने दाबीहरू भटाभट गर्दैछन् । मृत्यप्रायः देश नेपाललाई जागृत पार्ने कसले हो ? भ्रष्टाचारीहरू र अपराधीहरूको कर्मभूमि बनेको मुलुक नेपाललाई तिनीहरूको फन्दाबाट मुक्त तुल्याउने कसले हो ? नेपालका राजनीतिक दलका नेताहरू सबै तिनीहरूकै मतियार बनिसकेको बेलामा उहाँहरूबाट कुनै पुरुषार्थको अपेक्षा राख्न सकिन्न । नेपाली जनता यो कलियुगमा पनि भगवानको बराह अवतारको प्रतिक्षा गर्दैछन जसले दलका नेताहरूबाट लुटिएको बेचिएको देश नेपालको उद्धार गरी नेपाल आमालाई आजाद बनाइदिने छन् र नेपाली जनता एकपल्ट फेरि नेपाल आमाको काखमा बसेर खुसीसाथ उफ्रिन र खेल्न पाउने छन् । नेपाली जनताको मुटु नै कमाउने गरी २०५८ साल जेठ १९ गते रातको ८ बजे अर्को ठूलो हत्याकाण्ड नारायणहिटी राजदरबारमा भएको थियो । संसारकै सबैभन्दा सुरक्षित मानिने नेपालको नारायणहिटी राजदरबारमा भएको यो हत्याकाण्डले संसारलाई नै चकित तुल्यायो । यो हत्याकाण्डमा राजा वीरेन्द्रको सबै परिवारिक सदस्यहरू मारिएका थिए । नेपाली जनतालाई विश्वास नै हुन सकेन किनकि उनीहरूको नजरमा हजाराँै नेपाली सेनाले घेरी राखेको नारायणहिटी राजदरबारमा पनि यस्तो घटना हुन सक्ने कुरा सपनामा पनि सोचेका थिएनन् । तर, शताब्दीकै ठूलो हत्याकाण्ड नारायणहिटी राजदरबारभित्र घटिसकेको थियो । यसको सनसनीपूर्ण खबर आगोको लप्का झैँ बनेर संसारैभरि फैलिसकेको थियो । त्यतिबेला नेपालको प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइराला थिए भने माओवादीहरू १० वर्षे जनयुद्धको बीचमा दलहरू र राजासित एकै साथ वार्ता गर्दै अगाडि बढेका छन् भन्ने समाचार सुनिएको थियो । त्यही बेला आएको यो ठूलो राजदरबार हत्याकाण्डको खबरले मुलुकलाई नै हल्लाएर राख्यो । उक्त काण्डमा परी हत्या हुनबाट जोगिएका स्वर्गीय राजा वीरेन्द्रका भाइ पूर्वराजा ज्ञानेन्द्रलाई हतार–हतारमा नयाँ राजा बनाउने काम सम्पन्न गरिए । उक्त राजदबार हत्याकाण्डमा मारिएका सबै राजपरिवारका सदस्यहरूको ससम्मानका साथ हिन्दू परम्पराअनुसार अन्तिम संस्कार पशुपति आर्यघाटमा सम्पन्न भयो । तर, यो अति ठूलो मानिएको राजदरबार हत्याकाण्ड पछाडि नेपाली जनताको मनमा ठूलो शंका उत्पन्न भयो र सो शंकाको निवारण दलका नेताहरूले अहिलेसम्म गर्न सकेको छैन । सबैभन्दा सुरक्षितस्थल मानिएको राजदरबारभित्र घटेको यो काण्डले नेपाली जनताको मनमा अनेक शंका उपशंकाहरू उब्जाइदिएका छन् । त्यो बेला राजदरबार हत्याकाण्डको छानबिन गर्नको लागि एक शाही आयोग बन्यो त्यसले हल्काफुल्का छानबिन गरी हत्याको दोषी युवराज दीपेन्द्रलाई नै ठहरायो । युवराज दीपेन्द्र स्वयं पनि मरिएको हुनाले उहाँलाई नै यो हत्याको सबै दोष लगाउँदा वास्तविक हत्यारा भने सजिलै उम्किन पाएका थिए । यो राजदरबार महा हत्याकाण्डको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्रले दलहरूलाई मानेका छन् भने दलहरूले पूर्वाराजा ज्ञानेन्द्रलाई नै मानेका छन् । ‘शंकाले लंका हान्छ’ भन्छन् त्यसैले शंका र उपशंकाको महासंगममा नेपाली जनता भने झन्–झन् निरास र दिक्दार भएका छन् । नेपाली जनतालाई राजदरबारभित्र त्यति ठूलो हत्याकाण्ड हुनसक्ने अनुमान थिएन । नेपाली जनताको निरासता र गहिरो शंका मेटाउनको निमित्त राजदरबार महाहत्याकाण्डको जाँचबुझ पनि दासढुंगा हत्याकाण्डको जस्तै हल्काफुल्का भयो । सबै कुरा शंका उपशंका र गुपचुपमा नै अहिलेसम्म पनि सीमित छन् । अहिलेसम्म नेपाली जनताको मनमा उब्जेको शंकाको भरपर्दो निवारण राजनीतिक दलहरूले दिनसकेको छैन । यहाँसम्म आइपुग्दा नेपाली जनतालाई एउटा कुरा के पक्का भएको छ भने राजदरबार हत्याकाण्डमा पूर्वराजा ज्ञानेन्द्रको संलग्नता छैन । राजनीतिक दलहरूप्रति नेपाली जनताको मनमा उब्जेको शंका उपशंका भने झन्–झन् झाँगिदै गएको देखिन्छ । अहिले नेपालको राजनीतिमा सक्रिय दलहरूमध्ये कै कुनैदलको यो दुवै हत्याकाण्डमा हात हुनसक्ने बलियो पक्का संभावना प्रष्ट हुँदै गएको छ । राजदरबार हत्याकाण्ड कुनै मामुली काण्ड थिएन । नारायणहिटी राजदरबारजस्तो अति कडा सुरक्षा भएको ठाउँमा यस्तो काण्ड घटाउनको लागि उत्तम योजना र उत्कृष्ट दक्षताको जरुरी हुन्छ । सबैलाई थाहा भएकै कुरा हो त्यस्तो अचुक योजना बनाउन सक्ने र उत्कृष्ट दक्षता यो संसारमा इजरायल वा अमेरिकासित मात्रै छ । कडा सुरक्षा व्यवस्था भएको पाकिस्तानभित्रै घुसेर अमेरिकाले कसरी आइएसआईका प्रमुख विन लादेनको सफाया गरेका थिए, संसारलाई थाहा छ । त्यस्तै गरी इजरायलले दूरदराजको अफ्रिकन मुलुक युगाण्डामा घुसेर दादा इदिअमिनको सेनाको छक्का छुटाउँदै आफ्नो बन्धक बनाएको प्लेन र नागरिकहरूलाई सुरक्षितपूर्वक इजरायल वापस ल्याएका थिए । त्यसैले नारायणहिटी राजदरबार हत्याकाण्ड पनि विदेशीले कुनै एक नेपाली राजनीतिक दलको संलग्नतामा घटाएको हो भन्ने पुष्टि हुन्छ । अमेरिकाले आफ्नो महत्वकांक्षी फ्रि–तिव्बत अभियान राजा वीरन्द्र कै कारण असफल भएको मानेको थियो । चीनमा राजनीतिक हस्तक्षेप गर्ने अमेरिकी अभियानलाई राजा वीरेन्द्रले सघाएनन् बरु उल्टै खम्पा सेनालाई नेपालबाट नेपाली सेना परिचालन गरी भारततिर धपाएका थिए । पिसकोरको रूपमा नेपालभित्र बसेर फ्रि–तिब्बत अभियानलाई सघाएको आरोप लागेपछि अमेरिकन पिसकोर पनि नेपालबाट पलायन हुन बाध्य भएका थिए । त्यसैको बदलास्वरूप नेपालको कुनै एक राजनीतिक दलसित मिलेर राजदरबार हत्याकाण्ड अमेरिकाले घटाएको हुनसक्ने संभावनालाई नकार्न सकिँदैन । हालैको दिनमा नेपालमा अमेरिकन पिसकोर पनि सक्रिय भएका छन भने अमेरिकन एमसीसी परियोजनामार्फत नेपालको राजनीति र विकासमा हस्तक्षेपकारी भूमिकालाई बढाएका छन् । केही समय अगाडि मात्रै नेपाल आतंककारीहरूको अड्डा बन्न सक्ने जानकारी अमेरिकाले संसारभर सार्वजनिक गराएका छन् । यो सबै एमसिसी परियोजनालाई संसदबाट पास गराउनका लागि मात्रै हुन सक्दैन । नेपालका राजनीतिक दलहरू अमेरिकाको चालबाजीमा विस्तारै फस्दै गएका छन् जसरी मह र चिनी देखेपछि कमिलाहरू आकर्षित हुन्छन् र आखिरमा त्यसैमा लट्पटिएर मर्ने गर्दछन् । विदेशी गैरसरकारी संस्थाहरूसित धेरै निकटता भएका नेपालको राजनीतिक दलले नै भित्र–भित्रै योजना बनाएर अमेरिकालाई सघाएको हुनसक्ने देखिन्छ । दलहरू त्यसै पनि उक्त समयमा राजदरबारलाई बद्नाम तुल्याउन कूप्रचार गर्नको लागि तल्लिन थिए । त्यसैको फाइदा लिएर अमेरिकाले आफ्नो नेपालको मिसन पूरा गरेको हुन पनि सक्ने जानकारहरूले बताउँदै आएका छन । नेपालका राजनीतिक दलहरूले राजा र राजपरिवारका सदस्यहरूको विरुद्ध लगाएका सबै आरोपहरू अहिले गलत सावित भइसकेका छन् । राजा वीरेन्द्र हत्या पछाडि पनि राजपरिवारलाई बदनाम पार्नको निमित्त रक्तकुण्डजस्तो गलत पुस्तक लेख्न लगाएर दलहरूले राजा र राजपरिवारका अन्य सदस्यहरूलाई बदनाम तुल्याउन कुनै कसर बाँकी राखेनन् । नेपालको राजनीतिक दलहरूले दुईतिहाई बहुमत भएको सरकार बनाउन सफल हुँदा पनि दासढुंगा काण्ड र नारायणहिटी राजदरबार महाहत्याकाण्डको पुनःजाँचबुझ गर्न कहिले तत्परता देखाएनन् । त्यसैले नेपालमा अराजकता बढेको छ र नेपालका अपराधीहरू कानुनदेखि डराउने गरेको छैन । नेपालका राजनीतिक दलहरू खुलेआम विदेशीको भतुवा भएको देखाइरहेका छन् । जाहेर नै छ भतुवाहरूको कुनै हैसियत हुँदैन त्यसैले विदेशी प्रभुको आदेशअनुसार नेपालका राजनीतिक दलका नेताहरू चल्ने गरेका छन् । नेपालका लागि यस्तो विदेशीका भतुवा राजनीतिक दलहरूको कुनै काम छैन, त्यसैले राजनीतिक परिवर्तनको लागि नयाँ राजनीतिक सोच बनाएर अगाडि बढ्न जरुरी भएको छ ।
०००

Leave a Reply

Your email address will not be published.