दलहरूबाटै नेपाल असुरक्षित

समाचार

‘नपाउने पायो बोक्रैसित खायो’जस्तो किन गर्दै छन् नेपालको राजनीतिक दलहरू ? एकातिर राष्ट्रको आम्दानीले धन्नै नसक्ने गरी तीन तहको महँगो राजनीतिक संरचना बनाएका छन् भने अर्कोतिर आम नेपाली जनता ‘भाँडमा जाए’ जस्तो गरी आफ्नै मात्र सुविधा बढाएका बढाएकै छन् ।

नेपाली जनता आफ्नो जीवन कसरी गुजारा गर्लान् भन्नेबारे सामान्य मानवीय चिन्तासम्म पनि दलका नेताहरूलाई ठ्याप्पै छैन । संघीय सरकारसमेत गरी ७६१ सरकारहरू, ३३४ संघीय सांसदहरू, र ५५० प्रदेश सांसदहरू नेपालजस्तो सानो र गरिब राष्ट्रको लागि किन चाहिएको हो ? दलका नेताहरूसँग कुनै ठोस जवाफ छैन । यसरी सरकार स्थिर हुन्छ वा बन्छ भनुँ भने केन्द्र र प्रदेशका सरकारहरू ढल्ने र बन्ने क्रम पहिले कै जस्तो अहिले पनि निरन्तर जारी नै छन् ।

बहालवाला नेताहरूको सेवासुविधा धान्नलाई नै राष्ट्रको आय स्रोतहरूबाट धौँधौँ भएको बेला भूतपूर्वहरूलाई दिँदै आएको सुविधाहरू बढाउन कानुन संसोधनमा देउवा सरकारले तत्परता देखाएको छ । साधारणतया प्रमुख प्रतिपक्षी दल एमालेले संसद बस्न दिनेवाला छैन । तर, यस संसोधनबाट उनीहरूका पक्षलाई नै ज्यादा फाइदा हुने देखेपछि बिरोध गरेको जस्तो देखाएर मौन सम्मति दिने छन् । दलका नेताहरू पुँजीवादी दलाल व्यापारी र व्यवसायीहरूको मात्रै दलाल नभएर विदेशीका पनि दलाल हुन् ।

विदेशीका आशीर्वाद र सहयोगले मात्रै नेपालका राजनीतिक दलहरू सत्तामा पुग्छन् र टिक्छन् । बदलामा दलका नेताहरूले विदेशीलाई नेपालको राजनीति र विकासमा मजाले हस्तक्षेप गर्न पाउने अवसर दिएका छन् । विदेशीले नेपालमा यस्तो हस्तक्षेप अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू र विदेशी बैंकहरूमार्फत गर्ने गराउने गर्दै आएका छन् । विदेशीले नेपालमा जस्तोसुकै हस्तक्षेप गरे पनि विदेशीको भत्ता खाँदै आएका नेपालका भतुवा नेताहरूले विदेशीकै पाउमा लम्पसार परी समर्थन गर्ने गरेका छन् । विदेशीका नुन खाएको हुँदा दलका नेताहरूको लागि ‘नुनको सोझो’ नगरी सुखै छैन ।

दलहरूले आफ्ना राजनीतिक कार्यकर्ताहरूलाई जागिर खुवाउने हिसाबले राजनीतिक संरचना निर्माण गरेको हुँदा यो निकै खर्चिलो भएकाले नेपाल राष्ट्रको आफ्नै आम्दानीका स्रोतहरूले मात्रै नधान्ने र नचल्ने खालको छ । त्यसैले विदेशीको ऋण सहयोग बिना दलहरूले ल्याएको संघीयता धेरै लामो चल्नेवाला छैन । यो संघीयता कुनै पनि बेला आफ्नै खर्चको मृततौलले नै ध्वस्त हुने अनुमान सजिलै लगाउन सकिन्छ । विदेशीले यदि ऋण वा अनुदान सहयोग दिन बन्द गरेको खण्डमा दलका नेताहरूको मुखमा माड लाग्ने छैन ।

अहिले दलका नेताहरू अमेरिकन परियोजना एमसिसी पास गराएरै छाड्छौँ भनी ज्यान फालेर लागेका छन् । आम नेपाली जनताले ठूलो बिरोध गर्दा पनि त्यसमा दलका नेताहरूले ध्यान दिएको छैन । दलका नेताहरू आम नेपाली जनताले गरेको बिरोध सुनेको नसुनेकै गरी एकोहोरो रट लगाएर एमसिसीलाई पास गराएरै छाड्ने तयारीमा जुटेका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्तो विद्वान दलका नेता पनि एमसिसीको अनुदान लिनैपर्छ भन्दै वकालत गरी हिँड्दै छन् । उनलाई नेपाली जनताका अगुवाहरूले गालीको वर्षात् गरेका छन् तै पनि सबैको बिरोधको बेवास्ता गर्दै एमसिसीकै रट लगाएर हिँडी आफू अमेरिकाको ‘महादलाल’ भएको प्रमाणित दिएका छन् ।

उनी माओवादी नेताको रूपमा नेपालको प्रधानमन्त्री बनेको भएता पनि अमेरिकाकै आग्रहमा माओवादी पार्टीबाट आफ्नो पिण्डो छुटाएर अलग्गै नयाँशक्ति पार्टी खोलेका थिए, तर लामो समयसम्म उक्त पार्टीलाई चलाउन सकेनन् । पछिल्लो चरणमा उनको पार्टीलाई उपेन्द्र यादवको पहिलेको मधेशी जनाधिकार फोरम हाल संघीय समाजवादी पार्टीमा बिलय गरेका छन् । अमेरिका र भारत अहिले साथ–साथ भएको बेलामा एमसिसी वकालत गरी दुवै मुलकहरूप्रति दलाली भक्ति भाव देखाउन ‘पढेका मूर्ख डाक्टर साब’ले जमर्को गरेका छन् ।

अझ पनि अमेरिकन एमसिसी परियोजना नेपालको संसदबाट पास हुने संभावना अत्यन्त कम छ । विदेशीका नेपाली दलालहरूले एमसिसीलाई नेपालको संसदबाट पास गराउन सफल भएको खण्डमा नेपाल राष्ट्र नै हारेको बराबर हुने देखिन्छ । अमेरिकन परियोजना एमसिसीको पक्षमा दलका दलाल नेताहरू बाहेक अरु कोही भएको देखिन्न, तर पनि संसदले उक्त एमसिसी परियोजना स्वीकृत गरेको खण्डमा कुरा त्यतिकैमा सीमित रहने छैन । नेपाली जनताहरू दलाल नेताहरूको बिरोधमा ‘कुम्भकर्णे निद’बाट जाग्ने छन् र विदेशीका भतुवा दलका नेताहरूसित हिसाब–किताब माग्ने छन् । दलका नेताहरू राष्ट्रको मानो खाएर विदेशीको गाना गाउँछन् अनि बेलाबेलामा विदेशीको भत्ता पनि पड्काउँछन् ।

नेपालका राजनीतिक दलहरू र तिनका नेताहरू जुवाडे कौडा झैँ दशतिर विभक्त भएर छरिएका छन् । त्यस्ता नेताहरूले नेपाल राष्ट्रको विभाजन गर्न सक्छ, तर राष्ट्रलाई एक ढिक्का बनाएर इजरायलजस्तो शत्रुहरूका बीचमा पनि शक्तिशाली राष्ट्र बनाएर राष्ट्रको शान, मान, गौरब बढाउन सक्दैन । नेपालको उत्तरमा मित्र छन् भने पूर्व, पश्चिम र दक्षिणमा महामित्र छन् । चीन र भारत दुवै राष्ट्रले नेपालको दिल खोलेरै सहयोग गर्दै आएका छन्, तै पनि नेपालका भिखारी दलका नेताहरू माग्ने भिखारी झैँ सात समुद्र पारीको यांकीहरूसित कचौरा थापेर भिख माग्दै बसेका छन् । तिनैको भजन कर्तन गरी हिँड्छन् र आफ्नो छोरा छोरीहरूलाई पनि उतै लगेर पढाउने गरेका छन् ।

सन्तानहरू उतै र पैसा पनि उतै केवल भिखारी दलका नेताहरू मात्रै यता खाली मुख र कहिले नभर्ने भोको पेट लिएर बसेका छन् । नेताहरूको त्यो भोको पेटमा जेखाए पनि पच्ने गरेको छ त्यसैले राष्ट्रको जग्गा जमीनदेखि लिएर ढुंगा–माटोसम्म केही बाँकी राखेका छैनन् । पुँजीवादी दलाल व्यापारीहरू र व्यवसायीहरूलाई भान्से र अवसरवादी निजामति कर्मचारीहरूलाई भ्रष्टाचार र अपराध गर्ने माध्यम बनाएका छन् । तिनै अपराधीहरूको मद्दतले दलका नेताहरूले नेपालमा अकुत सम्पत्ति जोडी विदेशमा पनि लगेर लगानी गरेका छन्, तर आफ्नै देश नेपालमा भने विकास गर्नको लागि लगानी चाहियो भन्दै हातमा कचौरा बोकी सोही विदेशी मुलुकसित भिक्षा माग्दै छन् ।

दलका नेताहरूको ताल के हो यस्तो जुन झुटा आरोपहरू दलका नेताहरूले राजालाई लगाएका थिए, त्यस्तै प्रकारको गल्तीहरू दलका नेताहरूले हाल गर्दै आएका छन् । नेपालमा भ्रष्टाचार र अपराध गर्ने गराउने अनि त्यसबाट आर्जित आयलाई हुण्डी गरी विदेशमा लगेर लगानी गर्ने अनि आफू राष्ट्रभक्त भएको दाबी गरी कहिले नथाक्ने ? यस्तो दोहोर चरित्र भएका दलका नेताहरूले नेपाल राष्ट्रको सुरक्षा कदापी गर्न सक्दैन । यिनीहरू विदेशीका दलाल हुन् र विदेशीलाई आफ्नो विदेश भक्ति देखाउनको निमित्त आफ्नै जन्मभूमि, मातृभूमि नेपाल राष्ट्रविरुद्ध विदेशीहरूसित मिलेर गद्दारी गर्दै छन् ।

दलका नेताहरू कठोर दण्डका भागी छन् कुनै पनि हालतमा कुनै पनि कोणबाट उनीहरू मानसम्मानका लागि योग्य कहिले थिएन र आज पनि छैन । यस्ता दलाल नेताहरूबाट नेपाल राष्ट्रको सुरक्षा कसरी होला ? उनीहरूका दलभित्र नै विदेशीका दलालहरू पार्टीका शक्तिशाली पदाधिकारी भएर घुसपैठ गरिसकेका छन् । विदेशीका दलालहरू आफ्नै रोटी सेक्न कै लागि नेपालमा सक्रिय विभिन्न दलका नेताहरू भएका छन्, त्यसैले मातृभूमि नेपाललाई सुरक्षित पार्नको निमित्त पहिले विदेशीका दलाल नेताहरूलाई नै नेपालको सिमाना कटाउन जरुरी भएको छ ।

एउटा पिएचडी गरेको नेताले अमेरिकन एमसिसी परियोजनालाई ‘श्रिखण्ड’ भनेका छन् भने नेपाली जनताले त्यसलाई ‘खूर्पाको बिँड’ मानेका छन् । चण्दन नेपालमा पाउने साधनस्रोत होइन नेपालमा जे पाइन्छ त्यसैमा नेपाली जनतालाई ठूलो गर्व छ । विदेशी लाउन र खान रहर नेतालाई होला, तर नेपाली जनतालाई पटक्कै छैन । वीर पुर्खाको संस्कार नभएका विदेशी दलाल दलका नेताहरूले नेपाल राष्ट्रलाई नांगेझार पारी भिखारी बनाएर विदेशीको सामू उभ्याउने कोसिस गर्दैछन्, त्यस्तो तिनीहरूको गद्दारीपूर्ण कोसिसलाई कहिले पनि देशभक्त नेपाली जनताले सफल हुन दिने छैन ।

Leave a Reply

Your email address will not be published.