प्रशासनलाई झन् ठूलो जिम्मेवारी छ

अन्तरवार्ता

कर्णाली प्रदेशको सदरमुकामा हो सुर्खेत जुन भौगोलिक रूपमा पहाड भए पनि यो उपत्यका हो । हुन त पहिले क्षेत्रीय सदरमुकामसमेत रहेको सुर्खेतमा अहिले विकास निर्माणका कामले पनि तीव्रता पाएको छ । बाँके जिल्लालाई नछोए पनि सम्पर्क भने सुर्खेतसँग एकदमै नजिक छ । सुर्खेतलगायत कर्णाली प्रदेशका सर्वसाधारण वैदेशिक रोजगारीका लागि भारत जाने र फर्कने गर्दा कर्णाली प्रदेशमा पनि कोरोना संक्रमितको संख्या बढेको पाइन्छ । यद्यपि, अहिले कोरोना संक्रमणको दोस्रो लहरमा भने तुलनात्मक रूपमा सुर्खेतमा कम देखिएको छ ।
यही सुर्खेत जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले एक साता अगाडि आएका छन् खगेन्द्रप्रसाद रिजाल । घर उनको दैलेख । दैलेखले अहिले निजामती सेवामा नयाँ रेकर्ड ब्रेक गर्न सफल भएको छ । गृह मन्त्रालयले गत भदौ २३ गते काठमाडौंका प्रजिअ कालिप्रसाद पराजुलीलाई सरुवा गर्दै सो ठाउँमा गोविन्दप्रसाद रिजाललाई पठायो । रिजाल काठमाडौं जिल्लाको कमाण्ड गर्ने पहिलो कर्णालीका छोरा हुन् । यस्तै अहिले ललितपुर जिल्लाको कमाण्ड गर्दैछन् घनश्याम उपाध्याय । उनी असोज १ गतेदेखि त्यहाँ बहाल भएका हुन् । संयोग यस्तो परेको छ कि अहिले राजधानीका दुई महत्वपूर्ण जिल्ला काठमाडौं र ललितपुरमा दैलेखका प्रशासकहरूले कमाण्ड गर्दैछन् । कर्णाली प्रदेशको दैलेख जिल्लाबाट एकैपटक राजधानीका दुई जिल्ला कमाण्ड गर्ने अवसर प्राप्त भएको छ । दैलेख जिल्लामै जन्मिएर, हुर्किएका गोविन्द रिजाल, सन्तबहादुर सुनार, खगेन्द्रप्रसाद रिजाल, हरिबहादुर प्याकुरेल, नवराज जैसी (पाण्डे) र घनश्याम उपाध्याय प्रमुख जिल्ला अधिकारीको रुपमा देशका ६ वटा जिल्लाको कमाण्ड गरिरहेका छन् ।
काठमाडौं कमाण्ड गरिरहेका गोविन्दप्रसाद रिजाल, ललितपुर हाक्ने जिम्मेवारी पाएका घनश्याम उपाध्यायदेखि बर्दिया हाँकिरेहका सन्तबहादुर सुनारदेखि खगेन्द्रप्रसाद रिजाल, हरि प्याकुरेल र नवराज जैसी (पाण्डे) सम्म दैलेखकै हुन् । यस्तै खगेन्द्रप्रसाद रिजाल अहिले सुर्खेत जिल्लाको प्रमुख जिल्ला अधिकारीको रूपमा खटाइएका छन् । गत सातादेखि सो जिल्लाको नेतृत्व सम्हालिरहेका छन् । उनी दुल्लु नगरपालिका ४ का स्थायी बासिन्दा हुन् । उनै रिजालसँग हामीले पछिल्लो कोरोनाको अवस्था, जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रमुख जिल्ला अधिकारीको संघीयतापछिको भूमिका आदि सेरोफेरोमा गरिएको कुराकानीको अंशः
० सुर्खेत जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
बाँकेसँग जोडिएको जिल्ला हो सुर्खेत । भौगोलिक रूपमा बर्दिया र कैलालीले सीमा जोडिए पनि मानिस आउजाउका हिसाबले बाँके जोडिएको छ । अहिले पश्चिम क्षेत्रमा बाँके जिल्ला कोभिड–१९ बाट प्रभावित हुने जिल्लामध्ये प्रमुख हो । सुर्खेत जिल्लाका मानिसहरू वैदेशिक रोजगारीका सिलसिलामा भारत जाने गर्छन् ।
त्यहाँ पनि कोभिड संक्रमण बढेको अवस्थामा आफ्नो गाउँ फर्कने गरेका कारण सुर्खेतमा पनि संक्रमितको संख्या योपटक बढेको हो । यसअघि ती व्यक्तिहरूबाट संक्रमण फैलन्छ कि भनेर नियन्त्रणका प्रयासहरू ग¥यौँ । नियन्त्रणका लागि लकडाउनसँगै अन्य उपायहरू जस्तै जनचेतनाहरू जगाउने किसिमका कार्यक्रम, बाहिरबाट आउनेहरूलाई होम आइसोलेसनमा बस्न उत्प्रेरणा दिएर, बिहे–व्रतबन्धमा नजाने, भिडभाड नगर्ने, मास्क प्रयोग गर्ने, स्वास्थ्य मापदण्ड पालना गर्नेजस्ता धेरै सचेतनामूलक कार्यक्रमहरूका प्रयासहरू ग¥यौँ । ती प्रयासहरू प्रभावकारी नहुँदा माघ १ गतेसम्म जिल्लामा हामीले स्मार्ट लकडाउन गरेका छौँ । त्यसपछि के गर्ने भन्ने विषयमा हामी छलफलमै छौँ ।
सुर्खेत प्रादेशिक राजधानी पनि हो, पुरानो क्षेत्रीय सदरमुकाम पनि हो । कर्णाली प्रदेशको अलि ठूलो ठाउँ, सहरीकरण भएको ठाउँ सुर्खेत हो । यहाँ धेरै मानिसको बसोबास छ । धेरै मानिसको बसोबास भएको हुँदा यहाँ कोभिडको प्रभाव बढी देखिने स्थिति पनि रह्यो । कोभिडको उपचारका लागि यहाँ कर्णाली प्रदेश अस्पताल छ । त्योबाहेक उपचारका लागि अरू पनि ठाउँहरू छन् । कोभिड १९ को बढ्दो संक्रमणलाई मध्यनजर गरी यसको रोकथाम नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय संक्रामक रोग ऐन ०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी सुर्खेत जिल्लामा आज राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्म स्मार्ट लकडाउनको घोषणा गरिएको छ । २५ जना भन्दा बढी भेला हुन नपाइने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने, सार्वजनिक स्थलमा जाँदा तथा सेवा लिँदा माघ ७ देखि खोप कार्ड देखाउनुपर्ने समेत नियम रहेको छ । आवश्यक कार्यक्रम सञ्चालन गर्नका लागि प्रशासनको अनुमति लिनुपर्ने, माघ १५ गतेसम्म सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द गर्नुपर्ने, विद्यालय र शैक्षिक संस्थाको परीक्षा भने सुरक्षाका मापदण्डहरू पालना गरी गर्न सकिने प्रशासनले जारी गरेको आदेशमा उल्लेख गरिएको छ । आदेशमा तोकिएअनुसार नियमको पालना नगरेको पाइएमा संक्रामक रोग ऐन ०२० अनुसार कारबाही गर्ने छौँ । हालसम्म जिल्लामा दुई सयभन्दा कम नौ छन् । कोरोनाबाट सक्रिय संक्रमित हालसम्म दुई सयको हाराहारीमा रहेको छ ।
० जिल्लामा कोरोना संक्रमितहरूको व्यवस्थापन कसरी भइरहेको छ ?
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड व्यवस्थापन भन्ने समिति छ । यसमा सबै सुरक्षा निकायका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालयको अधिकृत, उद्योग वाणिज्य संघको प्रतिनिधि, नेपाल पत्रकार महासंघको प्रतिनिधि, जिल्लामा रहेका सबै अस्पतालका प्रमुखहरू संलग्न छन् । यसले जिल्लामा कोभिड–१९ रोकथामका लागि के गर्नुपर्छ भन्ने विषयमा जिल्लास्तरका नीतिगत निर्णयहरू गर्नेलगायतको काम गर्दै आएको छ । हामीले अहिले भौतिक रूपमा उपस्थित भएर सभा, सम्मेलन गर्न नसक्ने अवस्था भएकाले सबै स्थानीय तहलाई पनि जोडेर भर्चुअल रूपमै मिटिङ गरिरहेका छौँ । यसमार्फत चिकित्सा परामर्श उपलब्ध गराउने काम पनि गरेका छौँ । सम्बन्धित पालिकाबाट आफ्नो पालिकाभित्र संक्रमित भएका व्यक्तिहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउनेलगायतका काम हामीले गर्दै आएका छौँ ।
० जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
सामान्य छ । सुधारोन्मुख छ । खुला सीमा भएकाले तस्करी, लागुऔषधका कारोबारहरू भएको हामी पाउँछौँ । यद्यपि, अहिले धेरै नियन्त्रणमा रहेको अवस्था छ । खुला सीमाबाट हुने तस्करी, मानव तस्करी, गैरकानुनी क्रियाकलाप र अपराधहरू पनि छिटफुट रूपमा हुने गरेको जिल्ला हो । हामीले विगतको तुलना गर्ने हो भने अहिले धेरै सुधारोन्मुख अवस्थामा पुगेका छौँ । सुधार भएको छ ।
० प्रशासन संयन्त्र चुस्त–दुरुस्त राख्न के कस्ता योजना छन् ?
म यहाँ आएको एक साता पुगेको छ । आए पछि मैले सांसद, जनप्रतिनिधि, समन्वय प्रमुख, पत्रकारहरूसँग भेटवार्ता गरेँ । म आएपछि सम्र्पूण कर्मचारीहरूलाई मुस्कानसहितको सेवा दिने प्रण ग¥यौँ । भ्रष्टाचार र अनियमितता अन्त्य गर्ने प्रण ग¥यौँ । सूचना प्रवाहमा पनि सहज गर्ने कुरा गरेका छौँ । जनताका काम ढिलासुस्ती गर्न अन्त्य गर्ने । त्यस्तै कोरोनालाई ध्यानमा राखेर आलोपालो प्रणाली व्यवस्था गरेर भीडलाई नियन्त्रण गर्ने छौँ ।
० मुलुक संघीयतामा गएपछि सिडिओहरूको भूमिका अलि खुम्चियो भन्छन्, यहाँले पनि यस्तो महसुस गर्नुभयो ?
जिल्ला प्रशासनलाई हिजोको दिनको भन्दा ठूलो जिम्मेवारी छ । प्रदेशमा प्रदेशस्थित मुख्यमन्त्री, प्रदेश मन्त्रीहरूसँग समन्वय गर्नु पर्ने छ भने स्थानीय तहमा नगर प्रमुख, गाउँपालिका प्रमुखदेखि वडासम्म समन्वय गर्नु पर्ने छ । यस हिसाबले जिल्ला प्रशासन कार्यालय प्रदेशदेखि वडासम्म सम्पर्क गर्नुपर्ने भएकाले सेतुको रुपमा लिइन्छ । हामी पनि प्रशासनिक संयन्त्र, राजनीतिकसँगै परिवर्तन हुनसक्नु प¥यो । पहिले २०१७ सालको सिडियो बनेर भयो र अब ? समयानुसार जसरी परिवर्तन भएको छ सोहीअनुसार हामी पनि केही नरम बनेर, केही तल बनेर काम गर्दा झन् इज्जत बढ्छ । मलाई त खुम्चेको जस्तो लाग्दैन । किनभने विकासमा अनुगमन गर्न हामी खुम्चेका छैनौँ । सुशासन प्रवद्र्धन गर्न हामी खुम्चेका छैनौँ । कसैले अपराध गर्दैछ भने त्यसलाई दायरामा ल्याउन, समन्वय गर्ने हामी खुम्चेका छैनौँ । कामको प्रकृति बदलिएको छैन ।
० सत्तारुढ दल नरिझाएसम्म प्रजिअ बन्नै नसकिने, त्यहाँ गएर पनि व्यवसायीहरूको इच्छाअनुसार काम नहुँदा दुई–तीन महिनामै सरुवा हुनुपर्ने, यी विकृतिलाई कसरी चिर्ने ?
अहिले त सबैतिर सिस्टम बन्दै गयो । पहिले भन्दिएर हुने भन्ने थियो, भन्दिएर शिक्षक नियुक्ति हुने, कर्मचारी नियुक्ति हुने । सामान्य संस्थानतिर पनि पहिला–पहिला भन्दा हुन्छ भन्ने थियो । अहिले त पूरै सिस्टम (प्रक्रिया) मा गइसक्यो । अझैं पनि मानिसमा त्यही छ हाम्रो मान्छेले भनिदिए भइहाल्छ भन्ने छ । कहिलेकाहीँ राजनीति गर्ने मान्छेबाट यो हेरिदिए हुने भन्ने आउन सक्छ कहिलेकाहीँ । तर यो क्रमशः घट्दै छ ।
सरुवाले प्रभाव पार्छ नै । जो आए पनि जिल्लाको नेतृत्व लिएर आउने मान्छेले जिल्लाको सबै वस्तुगत विवरण, भूगोल, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक सबै परिवेश बुझिसकेपछि मात्रै उसले आफ्नो क्रियाकलाप मिसन–भिजन प्रदर्शन गर्ने बाटो बनाउँछ । भूगोल नै नबुझेको मान्छे जिल्लामा आएर तत्कालै कुनै निर्णय गरेर अगाडि बढ्न सक्दैन । त्यसैले हिमाली जिल्लामा कम्तीमा १८ महिना बस्नुपर्ने प्रावधान पनि छ । तर, व्यवसायीका इच्छाअनुसार चल्नु पर्छ भन्ने चाहिँ मलाई लाग्दैन ।
० सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
सेवाग्राही र सेवा प्रवाह गर्ने कार्यालयको प्रकृतिअनुसार फरकफरक सेवाहरू हुन्छ । मैले धेरै समय विभिन्न पदमा रहेर काम गरेँ । सुर्खेतमा अहिले प्रमुख जिल्ला अधिकारी भएर काम गर्दै आएको छु । कार्यालयले प्रवाह गर्ने सेवाअनुसार सेवाग्राही हुन्छन् । यो दौरानमा सेवा प्रवाह गर्दा मैले सेवाग्राहीबाट कुनै गुनासो नआउने गरी उपलब्ध स्रोत–साधन जनशक्तिका हिसाबले अहिलसम्म राम्रै गरेको छु भन्ने अनुभूति गरेको छु ।
० आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म यसप्रति एकदमै सन्तुष्ट छु । तथापि, यहाँ समस्या नै केही छैन भन्ने होइन । हामीले निजामती सेवालाई मात्र हेर्नुहुन्न । निजामती सेवा भनेको एउटा सिस्टम हो । हामी एउटा रुपान्तरण सुधारतिर गइरहेका छौँ । म यस क्षेत्रमा आएर हजारौँ मान्छेसँग भेट्न पाएँ । हजारौँको सेवा गर्न पाएँ । निजामती सेवाले एउटा परिचय दियो । तसर्थ, म आफ्नो पेसाप्रति पूर्ण सन्तुष्ट छु ।

Leave a Reply

Your email address will not be published.