दलहरुको अधुरो संकल्प वा प्रतिज्ञा

समाचार

समान बिचारधारा भएका व्यक्तिहरु मिलेर दलहरु बनेका हुन्छन । दलको रुपमा संगठित भएका व्यक्तिहरुको एउटै फर्मली हेल्ड विलिफ वा ओपिनियन हुन्छन । नेपालमा यस्ता राजनीतिक दलहरु दुईसयको हाराहारीमा दर्ता भएका छन । कोही राम्रो सित चलाएका पनि छन भने कोही दर्ता मात्रै गरी दलले पाउने सरकारी सेवा वा सुबिधा मात्रै उपभोग गरी बसेका छन । दलहरुको मुख्य काम भनेको आफ्नो स्थापनाको उद्देश्य अनुसार नेपालमा राजनीति गर्नु नै हो । तिनै च्याउ झै उम्रिएका राजनीतिक दलहरुले नेपाली जनता वा नेपाली समाजलाई बिभिन्न राजनीतिक टुक्रा वा कित्तामा बिभक्त पारीरहेका हुन्छन । राजनीतिले गर्दा नेपालमा आपसी द्वान्द्व बढाएको छ भने आपसी मेलमिलाप र सद्भावलाई घटाएको छ । नेपालको इतिहास पढ्दा शान्तिपूर्ण तरिकाले नेपालमा राजनीतिक परिवर्तन भएको पाईन्न । अहिलेको नेपाल राष्ट्रको स्थापना गर्नको लागि पनि गोरखाका राजा स्वर्गिय बडामहाराज पृथ्बी नरायण शाहले तत्कालिन नेपालमा भएको अनेका साना साना राज्यहरुलाई बलपूर्वक जिती गोरखा राज्यमा गाबेर बनाएका हुन भन्नेकुरा इतिहासमा लेखिएका छन । नेपाल राष्ट्रको स्थापना भएपछि पनि सत्ता परिवर्तनका लागि ठुला ठुला काटमार पर्वहरु नेपालमा भएका थिए । इतिहासमा उल्लेखित रक्तरञ्जित कोत पर्व र भण्डारखाल पर्वहरुबाट नै नेपालमा स्वर्गिय प्रधानमंत्री जंगबहादुरको नेतृत्वमा १०४ बर्ष चलेको राणा शासनको स्थापना भएको थियो । नेपालका वास्तविक शासक शाहवंशीय राजाहरुलाई नामको मात्रै राजा बनाएर स्वर्गिय प्रधानमंत्री जंग बहादुर राणाले नेपालको वास्तविक शासक बनी राज्य चलाएका थिए । उहाँले नेपालमा बलपूर्वक सत्ता परिवर्तन गरी नित्यान्त परिवारिक शासन राणा शासनको स्थापना गरेका थिए । राणा शासन एक परिवारिक शासन थियो र राजा जस्तै प्रधानमंत्री पनि राणा परिवारबाट बन्ने चलन बसाएका थिए । बहालवाला राणा प्रधानमंत्री कालगतिले मरेमा वा मारिएपछि उहाँकै सबै भन्दा नजिकको भाईलाई नेपालको प्रधानमंत्री बनाउने गरिएको थियो । हुँदाहुँदा राजपरिवारलाई श्री ५ भने जस्तै राणा शासकलाई पनि श्री ३ भन्नु पर्ने चलन स्वर्गिय प्रधानमंत्री जंगबहादुर राणाले नेपालमा चलाए । राणा शासन काललाई इतिहासमा क्रुर शासन काल मानिन्छ । मौखिक कानुन पनि चल्ने उक्तकालमा परम्परा र चलनचल्ती अनुसारको कानुनी राजलाई क्रुरता पूर्वक पालना गर्ने गराउने चलन बसालेका थिए । त्यो बेला लिखित कानुन नेपालमा नभएको भने होइन । स्वर्गिय प्रधानमंत्री जंगबाहदुर राणाको शासन काल देखि नै नेपालमा लिखित कानुन मुलुकी ऐन चलाएका थिए । यो नेपालमा लामो काल सम्मै चलेको मुलुकी ऐनको धेरै खण्ड र दफाहरु थिए तर राणा शासनको पतन पछाडि सबै खण्ड र दफाहरुलाई गाबेर सानो बनाउँदै लगियो र पञ्चायती शासन काल सम्म आईपुग्दा मुलुकी ऐन एक एकिकृत पुस्तकको रुपमा प्रकाशित भयो । राणाकालमा मुलुकी ऐन बाहेक अनेक स्वविवेकिय र तजबिजी मौखिक कानुन नेपालमा चल्ने गरेको थियो । त्यसैले नेपाली जनताले राणा शासनलाई हुकुमी शासन पनि भन्ने गरेका थिए । राणाकालमा ठालुवाद खुबै चलेको थियो र नेपालको शासन व्यवस्था पनि बडाहाकिम, मुखिया, जमिन्दार जस्ता ठालुहरुले चलाएका थिए । अहिले नेपालमा बहुदलिय शासन व्यवस्था कायम छ । नेपाली जनताले भोटहाली चुनेको दलका व्यक्तिहरु नै नेपालको राष्ट्रपति देखि लिएर प्रधानमंत्री सम्म बन्न पाउने भएका छन । अब नेपालको शासन सत्ता परिवर्तन गर्न वा गराउनको लागि काटमार नै गर्नु पर्दैन । त्यसको लागि नेपालमा आवधिक चुनाव गर्ने गराउने व्यवस्था संविधान बनाएर नै निश्चित पारिएको छ । नेपालमा दुईसयको हाराहारीमा दलहरु दर्ता भएको भएपनि नेपालको प्रमुख पार्टीहरुमा नेपाली काँग्रेस, एमाले र माओवादी नै हुन । उल्लेखित दलहरुले नेपालमा सत्ता वा व्यवस्था परिवर्तनको लागि सशस्त्र संघर्ष नै गरेका थिए । उक्त दलका नेताहरुले गरेको बलीदान कै कारण नेपाली जनता रैतीबाट नेपाली नागरिक भएका हुन । तिनै रैतीका सन्तानहरुले नेपालको राष्ट्रपति र प्रधानमंत्री सम्म बन्न पाउने अवसर अहिले पाएका छन । यो दुस्खमा बाँच्दै आएका नेपाली जनताको लागि ठुलो राजनीतिक छलाङ वा परिवर्तन नै हो । नेपालमा यस्तो राजनीतिक परिवर्तन आईसक्दा पनि नेपाली जनताको खुशी भने बढेको छैन । नेपाली जनतालाई राष्ट्रको सुरक्षा खतरामा परेको हो की भन्ने डरत्रासले सताउन थालेको छ । त्यसैगरी नेपाली जनतालाई आफ्नै शान्ति र सुरक्षाको पनि पीरलो छ । नेपालमा बिकसित राजनीतिक घटनाक्रमले एकदिन नेपाल राष्ट्रको अस्तित्व नै सकिन्छ कि भन्ने चिन्ताले आम नेपाली जनतालाई सताउदै लगेको छ । नेपाली जनताको मनमा यस्तो महशुस हुनको पछाडिको मुलकारण नेपालका राजनीतिक दलहरुको बोली र व्यवहारले नै हो । नेपालको राजनीतिक दलहरु आफ्नो स्थापनाको मुख्य संकल्प वा प्रतिज्ञा अनुसार चल्न सकीरहेको छैन । राजनीतिक दलहरु सजिलै बिदेशी दलालहरुको प्रभावमा पर्ने देखिएकाले नेपाली जनताको दलहरु माथिको भरोषा बिस्तारै कम हुँदै गएको देखिन्छ । नेपालको राजनीति र बिकासमा बिदेशीले बढाउँदै ल्याएको हस्तक्षेपलाई दलहरुले नरोक्ने वा रोक्नै नसक्ने देखिएकाले नेपाली जनता त्रसित भएका छन । साम्यवादी वा समाजवादी राजनीतिक लक्ष भएका राजनीतिक पार्टीहरु नेपालमा बिकसित पछिल्लो राजनीतिक परिस्थितिले गर्दा एकै ठाउँमा बसी राजनीति गर्न बाध्य भएका छन । नेपालका सबै राजनीतिक दलहरुले पुँजीवादी अर्थतन्त्रलाई नै अपनाएका छन । जुनसुकै राजनीतिक पार्टी शासन सत्तामा पुगे पनि उही वैदेशिक रोजगार नीति र उही पर्यटन बिकासको नीति अलाप्दै हिड्ने गरेका छन । त्यसैले नेपालको राजनितिक दलहरुको स्थापित राजनीतिक लक्ष वा उद्देश्य जे सुकै भए पनि त्यसले नेपालको अर्थतन्त्र कै ढाँचामा ठोश फरक ल्याउन सकेको छैन । नेपाली काँग्रेसलाई नेपालको लोकतान्त्रिक वा प्रजातन्त्रिक पार्टी मानिन्छ तर उक्त पार्टीको पनि मौलिक राजनितिक लक्ष भनेको समाजवाद नै हो । उक्त पार्टीको नेतृत्व गर्ने ठुला नेताहरु सबै समाजवादी थिए । उहाँहरु सबैले भारतीय समजावादी नेताहरुको संगतबाट प्रभावित भएर समाजवादी दिक्षा र दक्षता आर्जन गरेका थिए । नेपालमा अहिले सक्रिय राजनीतिक दलहरु र तिनका नेतृत्वहरु सबै विश्व भूमण्लीकरण राजनीतिको प्रभावमा परेका छन । अमेरिकाले संसारको राजनीतिमा गरेको सैनिक र आर्थिक हस्तक्षेपले गर्दा जताततै अशान्ति फैलिएको छ । अमेरिका युद्ध नलडी बस्नै नसक्ने मुलुक हो । उक्त मुलुकले आफ्नो स्थापनाको लामो काल खण्डमा केवल १४ बर्ष मात्रै कुनै युद्ध नलडी शान्ति पूर्वक बसेको रिपोर्ट कार्ड छ । अमेरिका र रुसको आपसी खिचातानीले गर्दा यूक्रेन जस्तो सानो मुलुकले आफ्नो अस्तित्व बचाउनकै लागि युद्धमा होमिनु परेको छ । मानवताका लागि घातक हतियारहरु उत्पादन गर्ने पस्चिमी मुलुकहरु र अमेरिकाले आफ्नो हतियार उद्योगहरुलाई चलायामान राख्न कै लागि संसर भर कहिले कता कहिले कता युद्ध गर्ने वा गराउने रणनीति बनाएर नै लागीपरेका छन । नेपालका राजनीतिक दलहरु अमेरिका र पश्चिमी मुलुकहरुको त्यहि राजनीतिक झाँसामा पर्दै गएकाले नेपालको राष्ट्रको अस्तित्व माथि पनि संकट पर्दै गएको महशुस नेपाली जनताले गर्दै छन । नेपालको राजनीतिक दलहरु आफ्नो स्थापित राजनीतिक लक्ष अनुसार नचली बिश्व भूमण्डलीकरणको राजनीति अनुसार चल्दा कुन पार्टीको कित्ता कुन हो भन्ने कुरामा ठुलो अन्योलता उत्पन्न भएको छ । आफ्नो मुलकको भूगोललाई नहेरी डलरको पछि मात्रै लागी आफ्नै स्थापित राजनीतिक शिध्दान्तको बिरुद्ध गएर राजनीति गर्ने दलहरुको कारण नेपाल एकतिर बदनाम भएको छ भने अर्कोतिर नेपाल राष्ट्रको अस्तित्वको लागि लडाई नै लड्न नसक्नेगरी कमजोर भएको छ । तसर्थ नेपालका राजनीतिक दलहरुले आफ्नो स्थापित संकल्प वा प्रतिज्ञा अनुसार चल्नु पर्छ र केही डलरको लागि त्यसको बिरुद्धमा गएर कुनै बिदेशी सैनिक प्याक्ट वा गुटमा लाग्नु हुँदैन । गुण लगाउने भनेको दोहोरो हुन्छ जस्तो रुस र भारतको बिचमा वा रुस र चीनको बिचमा छ । त्यसकारण नेपालका राजनीतिक दलहरुले नेपालको भूगोललाई चटक्कै बिर्सी उपियाँ झै उफ्री अमेरिका सित राम्रो संबन्ध बनाउनु भन्दा पहिले क्षिमेकी चीन र भारत सित राम्रो सित मिलेर बस्ने बानी बसाल्नु पर्छ । नेपाल यो बेला स्थानिय चुनावको संघारमा नै उभिएको छ । त्यसैले नेपाली जनताले पनि दलहरुलाई सबै द्वोष लगाउनु भन्दा पहिले आफै सजग भएर उपयुक्त व्यक्तीलाई भोट हाली जिताउने काम गर्नुपर्छ । स्थानिय चुनावमा दलहरु भन्दा पनि उम्मेद्वार भएका व्यक्तिको योग्यतालाई हेरी सबैले जिताउने गरी भोट हाल्न सकेमा पछि पस्चताप गर्नु पर्ने छैन । स्थानिय चुनाव सकिए पछि हुनसक्ने संघिय चुनावमा भने दलहरुको भूमिकालाई हेरी भोट हाल्दै आफुले जानेको र मानेको राजनीतिक दललाई चुनाव जिताउन सकिन्छ । त्यो बेला राष्ट्रलाई ऋणको भारी बोकाउने दल र भ्यूटावर जस्ता बोगस परियोजनाहरु बनाएर बिकास गरेको दाबी गर्ने दलहरुलाई पाखा लगाउनको लागि मत हाल्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *