नेपालको अर्थतन्त्रको माध्यम रेमिट्यान्स हो रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मान गर्नुपर्छ

अन्तरवार्ता समाचार

कोरोनाको कारण अर्थतन्त्र धरापमा परेको छ । सरकारले देशभित्र रोजगारी सिर्जनाका लागि सक्दो प्रयास गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा मनत्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताएका छन् । रोजगारी अर्थतन्त्रको मुख्य पाटो भएको उनको भनाइ छ । पछिल्ला दिनमा कृषि, पर्यटन, जलस्रोत, कृषि र उद्योगलगायतका क्षेत्रमा साधनस्रोतको उपलब्धता र सेवा सुविधामा विस्तार भइरहेका कारण रोजगारीका अवसर पनि बढिरहेको उनको दाबी छ । लक्षित समूह तथा भौगोलिक क्षेत्रकेन्द्रित रोजगारीका कार्यक्रम विस्तार गरिरहेको मन्त्रालयको दाबी छ । यहि सेरोफेरोमा नेपालको श्रम बजारको अवस्था, कोरोना महामारीको प्रभाव श्रमबजारमा कस्तो छ, रोजगारी गुमाए, श्रमिकलाई कसरी व्यवस्थापन गर्ने योजना आदि विषयमा तामाकोशी सन्देशले गरेको कुराकानीको अंशः
० नेपालमा श्रम बजारको अवस्था कस्तो छ ?
नेपालमा प्रत्यक वर्ष ५लाख भन्दा बढी बेरोजगारहरु आउने गर्दछन् । यो भन्दा अगाडी नै बेरोजगारको संख्या अदृश्य छन् । हामीले सोही अनुसार बजारमा रोजगार सिर्जन गर्न सकेका छैनौं । यसको लागि बैदेशिक रोजगारको माध्यमबाट परिपुर्ती हुने गरेको छ । अव स्वदेशको हकमा बर्षमा दुई लाखको दरले हामीले रोजगारको सिर्जना गरेका छौं । अरु प्राइभेट क्षेत्र र सरकारी सेक्टरबाट पनि रोजगारी सिर्जना भएको छ । औपचरिक रोजगारीको बजार त्यती ठूलो छैन् तर अनौपभारिक रोजगारीको बजार भने ठूलो भएर गएको छ । नेपालमा श्रम सर्वेक्षणअनुसार नेपालमा बेरोजगारीदर ११.४ प्रतिशत छ । श्रमको अल्पउपयोग दर ३९.३ प्रतिशत छ । ६१.५ प्रतिशत जनसंख्या औपचारिक रोजगारीका क्षेत्रभन्दा बाहिर छ । प्रतिवर्ष ५ लाख थप श्रमशक्ति श्रमबजारमा प्रवेश गर्छन् । हालको अवस्थामा बेरोजगार युवाहरूको संख्या उल्लेख्य छ । अहिले सक्रिय जनसंख्याको ठूलो हिस्सा रोजगारीको खोजीमा विभिन्न देशमा क्रियाशील छ । उत्पादनशील जनसंख्यालाई अवसरको रूपमा उपयोग गर्दै युवा जनसंख्यालाई कसरी स्वदेशमा राखेर रोजगार दिने भन्ने अहिलेको चुनौती हो । यस वर्गलाई विभिन्न पेसा र व्यवसायमा संलग्न गरी उत्पादन वृद्धि गर्न सके बेरोजगारी समस्या समाधान गर्न सकिन्छ । व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच भएका कारण श्रमका लागि विदेशिने युवाहरूको संख्या दिनानुदिन बढ्दै गएको छ । यसको अर्थ नेपालमा युवाहरूका लागि रोजगारीको सम्भावना छैन भन्नेचाहिँ होइन । पछिल्ला दिनहरूमा कृषि, पर्यटन, जलस्रोतलगायतका क्षेत्रमा साधनस्रोतको उपलब्धतामा वृद्धि र सेवा सुविधामा विस्तार भएको छ । लक्षित समूह एवं भौगोलिकक्षेत्रकेन्द्रित रोजगारीका कार्यक्रम विस्तार गर्न थालिएको छ । साथै, वैदेशिक रोजगारबाट प्राप्त सीप, अनुभव र साधनस्रोतको प्रयोग गरी आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न सकिने सम्भावनासमेत बढेको छ ।
० कोरोना महामारीको प्रभाव श्रमबजारमा कस्तो छ ?
तीन बर्ष कोरोनाको कारणले पर्याटन क्षेत्रमा ठूलो असर पर्यो । यस क्षेत्रमा आवद्ध रहेका व्यवसायीरुले रोजगारी गुमाउने अवस्थामा पुगे । तीन लाख संख्याले रोजगारी गुमाउने अवस्थामा पुगेको थियो हाल विस्तारै सुधार हुदै गएको छ । कोराना भाइरस महामारी कायम रहेसँगै विशेष गरी आर्थिकक्षेत्र प्रभावित भएको छ । जसका कारण यसको प्रत्यक्ष असर श्रम र रोजगारीमा पनि परेको छ । कोरोनाको कारण धेरै रोजगारदाता कम्पनीमा कार्यरत श्रमिकले रोजगारी गुमाए । मुख्यतः सेवाक्षेत्र, उत्पादन र निर्माणक्षेत्रमा कार्यरत श्रमिकहरू बढी प्रभावित भएका छन् । यसबाट वैदेशिक रोजगारक्षेत्र पनि प्रभावित भएको छ । कोरोनाकै कारण वैदेशिक रोजगारीमा कार्यरत कैयौँ नेपाली स्वदेश फर्किए । यो नेपालको रोजगारीक्षेत्रको लागि ठूलो प्रभाव हो । अहिले सरकारले कोरोना महामारीका कारण श्रमबजारमा देखापरेको समस्या समाधान गर्न केन्द्रित भएर काम गर्दैछ ।
कोरोनाको कारण वैदेशिक रोजगारमा परेको प्रभावलाई अवसरमा रूपान्तरण गर्ने गरी स्वदेशमै उद्यम व्यवसाय र रोजगारीको अवसर सिर्जना गर्नेतर्फ पनि सरकारले योजना बनाएको छ ।
० कोरोनाका कारण धेरैले रोजगारी गुमाए भन्नु भयो, श्रमिकलाई कसरी व्यवस्थापन गर्ने योजना रहेको छ ?
तीन बर्षे कोरोनाले असर नपरेको सम्भवत कुनै क्षेत्र छैन होला । क्षेत्रगत हिसाबले हेर्दा रोजगारी दिने पर्यटन, होटल, मनोरञ्जन, निर्माण, यातायात, उत्पादनका क्षेत्रहरूको अवस्था नाजुक छ । श्रम तथा रोजगारक्षेत्र जनजीविकासँग जोडिएको विषय भएकाले यस क्षेत्रमा परेको नकारात्मक असरले मानिसलाई प्रत्यक्ष गम्भीर असर पर्न जान्छ । त्यसैले सङ्घीय, प्रादेशिक तथा स्थानीय तीनै तहको सरकारहरूको नीति तथा कार्यक्रम र बजेटले केही हदसम्म श्रम तथा रोजगारक्षेत्रका समस्यालाई सम्बोधन गरेको छ । विभिन्न कार्यक्रमगत प्याकेजहरू बनाई उद्योग, व्यवसायहरूको पुनस्र्थापनामा जोड दिइएको छ । सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकता दिँदै आगामी दिनमा लक्षित सबैलाई खोप लगाउने लक्ष्य लिएको छ । खोप अभियानले महामारीको असर कम हुने विश्वास गरिएको छ । विशेषतः रोजगारी सिर्जनाको लागि सार्वजनिक, निजी र सामुदायिक तीनवटा क्षेत्र महत्वपूर्ण छन् । सार्वजनिकक्षेत्रबाट ठूलो संख्यामा रोजगारी सिर्जना गर्न सकिने सम्भावना छ । अर्कोतर्फ कुल गार्हस्थ्य उत्पादनको ठूलो हिस्सा ओगटेको निजीक्षेत्रमा कोरोनाले धेरै असर परेको भए पनि उत्पादन र रोजगारीको लागि यसको पुनरुत्थान जरुरी छ । यसका लागि पनि सरकार गम्भीर भएर लागेको छ ।
० कोरोनाको कारण के कस्ता असर पर्यो ?
ठुला अर्थतन्त्र भएका देशहरु अमेरिका, चीन लगायत युरोपेली मुलुकमा अझ बढि फैलिएको यस रोगले ती देशहरुको अर्थतन्त्रमा असर त गरेको छ नै, विकासोन्मुख देशहरुमा यसको झन ठुलो प्रभाव परेको छ। हाम्रो देश नेपालमा पनि भरखर वामे सर्दै अगाडि वढीरहेको अर्थतन्त्रलाई कोरोना कहरले पुरानो स्थितीमा मात्र नर्पुयाई झनै ओरालो झर्ने हो कि भन्ने चिन्ता देखापरेको छ । यस विषम परिस्थितीमा नेपाली जनहरुको जीवनरक्षा सँगसँगै अर्थतन्त्रको रक्षातर्फ सवैले ध्यान दिन जरुरी वनेको छ । कृषिमा आश्रीत नेपाली अर्थतन्त्रका अन्य दुई बलिया खम्बा पर्यटन र वैदेशिक रोजगारी हुन । कोरोनाले खासगरी नेपालको यीनै दुईवटा क्षेत्र पर्यटन र वैदेशिक रोजगारी समस्याग्रस्त बनेका छन् । तसर्थ बेलैमा यसको विकल्प सोचिएन भने नेपालको अर्थतन्त्र डामाडोल हुने परिस्थिति सिर्जना हुन सक्दछ । चीनमा कोरोनाको प्रकोप बढेपछि नै नेपालमा पर्यटक आगमनमा संकुचन आउन थालेको थियो ।
नेपालले घोषणा गरेको पर्यटन वर्ष २०२० स्थगित गर्नुपरेको थियो । एक त जीवन र जीविका नै खतरामा परेपछि बाहिर डुल्न निस्किन सक्नेको संख्या लामैसम्म कम रहने देखिन्छ भने अर्कोतिर चाहना नै भएपनि ’लकडाउन’ र सामाजिक दूरी कायम राख्नुपर्ने समयमा मानिस घुमफिरमा उत्सुक हुँदैनन । तसर्थ लकडाउनको समाप्तिसँगै पर्यटन क्षेत्र माथि उठिहाल्छ भन्न मिल्ने अवस्था छैन ।
० सरकारले नयाँ रोजगारी सिर्जना गर्न कस्तो योजना बनाइरहेको छ ?
अहिलेको सन्दर्भमा, रोजगारी सिर्जना गर्न तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गर्दै अगाडि बढ्नुपर्छ । रोजगारी सिर्जनाको मुख्य खम्बा भनेकै निजीक्षेत्र हो । हालै मन्त्रालयकै आयोजनामा आन्तरिक रोजगारी प्रवर्द्धनका लागि स्थानीयस्तरका सरोकारवालाहरूसँग छलफल तथा अन्तर्क्रिरया कार्यक्रम पनि देशका विभिन्न स्थानमा सञ्चालन गरिएको छ । यसबाट यस क्षेत्रका व्यावहारिक कठिनाइ तथा समस्याहरूको पहिचान हुनेछ । आन्तरिक रोजगारीको क्षेत्रमा क्रियाशील सरोकारवालाहरूलाई प्रोत्साहित गरिनेछ । रोजगारीको क्षेत्रमा रहेका विद्यमान नीतिगत, कानुनी एवं कार्यक्रमहरूको व्यावहारिक अभ्यासको अवस्था र आमनागरिकले प्रत्यक्ष अनुभूति हुने गरी रोजगारी सिर्जनामा फड्को मार्न विद्यमान नीति तथा कार्यक्रमहरूमा गर्नुपर्ने सुधारको विषयमा पनि म गम्भीर रूपमा लागेको छु । श्रमबजारमा माग भएअनुसार दक्ष जनशक्ति उत्पादन गर्न सातै प्रदेशमा तालिम केन्द्र हाम्रो मन्त्रालयले सञ्चालन गर्दैछ । यसले पनि श्रमबजार व्यवस्थित गर्न सहयोग पुग्ने विश्वास लिएको छु । सरकारले चालु आर्थिक वर्षभित्रै यति भन्ने त छैन तर बेरोजगारी समस्या सम्बोधन हुने गरी रोजगारी सिर्जना गर्न लागिपरेर काम गरिरहेको छु ।
० वैदेशिक रोजगारीबाट अधिकतम लाभ लिन चाल्नुपर्ने कदमहरू के के हुन् ?
व्यापक ढंगले तालिम प्रशिक्षण दिने र सीप भएको प्रमाणपत्र भएकालाई मात्र वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्ने, विप्रेषणबाट प्राप्त आम्दानी उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने वातावरण सृजना गर्ने । जस्तो ः वैदेशिक रोजगारीमा गएका श्रमिकको लगानीमा जलविद्युत आयोजना संचालन गर्ने , नेपाली श्रमिकहरू ठुलो संख्यामा जाने सबैजसो देशहरूसँग श्रम सम्झौता गरी त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, श्रमिकहरू वैदेशिक रोजगारीमा जानुअघि नेपालमा बैंक खाता खोल्नै पर्ने व्यवस्था गर्ने र वैदेशिक रोजगारीको सिलसिलामा कमाएको रकम वैंकिंग प्रणालीबाट भित्र्याई त्यस्तो रकम उत्पादनमूलक लघु तथा साना उद्योग र रोजगारीमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने, दण्डहिनताको अन्त्य गर्ने र जनताले अनुभूति हुने गरी विधिको शासन कायम गर्ने, वैदेशिक रोजगारमा जान चाहने कामदारलाई वैंक तथा वित्तीय संस्थाबाट बिना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, रोजगारसम्बन्धी काम गर्ने सरकारी संयन्त्रलाई कम्तिमा प्रदेशस्तरसम्म विस्तार गर्ने, रोजगार व्यवस्थापन सूचना प्रणालीलाई प्रभावकारी बनाउने, श्रम कूटनीतिलाई प्रभावकारी बनाउने । रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वद्र्धनको लागि विशेष पहल गर्ने आदि हुन् ।
० भारतमा ठूलो संख्यामा नेपालीहरू रोजगारीमा कार्यरत छन् । उनीहरूलाई श्रमको दायरामा कहिले ल्याउनुहुन्छ ?
खुला सिमानाका कारण भारतीय श्रमबजारमा रोजगारीको लागि जाने श्रमिकको तथ्यांक व्यवस्थित हुन सकेको छैन । भारत नेपालीहरूको प्रमुख रोजगारस्थल नै हो । भारतीय श्रमिक रोजगारीको लागि नेपालमा आउने पनि उत्तिकै छन् । रोजगारीको सिलसिलामा भारत जाने श्रमिकका समस्या कसरी सम्बोधन गर्न सकिन्छ भन्नेबारेमा मैले सरोकारवलाहरूसँग छलफल गरिरहेको छु । सरकारले भारतमा श्रम गर्न गएका नेपाली श्रमिकको हित संरक्षण गर्छ ।
० रेमिट्यान्स बढाउन के कस्ता कदम चलाउनु पर्ला ?
नेपालको अर्थत्रन्त्रको ठूलो कुरा नै रेमिट्यान्स हो यसलाई बढाउनको लागि वैदेशिक रोजगारीमा गएका श्रमिकहरुलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने, विदेशबाट पैसा पठाउदा लाग्ने सेवाशुल्क हटाउनुपर्ने, विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने, विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा नेपाल आउँदा ल्याउन पाउने सामान टीभी, गरगहना आदिमा सहुलियत दिने, औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिंदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने, वार्षिक रुपमा सबैभन्दा धेरै रेमिट्यान्स् पठाउने मध्येलाई राष्ट्रिय सम्मान गर्ने, औपचारिक माध्यमबाट नेपालमा रेमिटेन्स पठाउनेहरुलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवाहरुमा ५० प्रतिशत सहुलियत दिने, नेपाल फर्केर उद्यम गर्नेहरुलाई विदेशमा हुँदा पठाएको रकम बराबरै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने, वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने, सरकारले तोकेबाहेक अन्य तरिकाबाट वैदेशिक रोजगारीमा जान पूर्ण रोक लगाउने, वैदेशिक रोजगारीमा जान विद्यमान प्रक्रियालाई सहज र सरल बनाउने ।

Leave a Reply

Your email address will not be published.