स्थानीय सरकार र डोल्पाको कथा

समाचार

स्थानीय तहको निर्वाचन दोस्रो सम्पन्न भएको छ । निर्वाचनको नतिजा आइरहेको छ । स्थानीय सरकारको अवधारणा स्थानीय विकासको लागि हो । हरेक गाउँ कुनाकाप्चाको विकास योजनाको अवधारणा सिंहदरवारमा वनाउन सान्दर्भिक हुन्न भनेर नैं तिन तहको सरकारको परिकल्पना गरिएको हो । सोही सन्दर्भलाई संझेर २०६३ सालमा डोल्पामा देखिएको अवस्था आजको लेखमा समावेश गर्ने कोशिस गरिएको छ । यस लेखमा त्यो वेलाको विकासको अवस्थामा डोल्पा र हिरो ठिन्लेका सन्दर्भहरु समावेश गरिएका छन् ।
नेपालको सवै भन्दा ठुलो जिल्ला डोल्पा भनेको सुने देखिनैं त्यहाँ पुग्ने सपना मनभरी सजाएको थिएँ । सामुदायिक वन अभियानको सिलसिलामा वि.सं. २०६३ असारको महिनामा त्यहाँ पुग्ने मौका मिलेको थियो । डोल्पा पुग्नु पैदलको विकल्प हवाइजहाज नैं थियो । पैदल त कल्पना गर्न पनि सकिन्नथ्यो । सायद सुर्खेतवाटै पैदल हिड्नु पर्दथ्यो होला । अनी पैदल जाँदा आधा महिना भन्दा वढि लाग्न सक्थ्यो । त्यसैले नेपालगञ्जको राँझा विमानस्थलवाट डोल्पाको जुफालसम्म हवाइयात्राको विकल्प रोजियो । टिकट पाउन मुस्किल थियो । तत्कालिन फेकोफन डोल्पाका अध्यक्ष एवं नेकपा एमाले डोल्पाका प्रमुख हंसवहादुर शाहीको पहुँच र पहलले टिकट मिल्यो ।
मन भरी कौतुहलता र रहर वोकेर जुफाल विमानस्थलमा ओर्लिएँ । पहाडको चेप रहेको विमानस्थल यती साँघुरो थियो कि जहाजको गती नियन्त्रण गर्न रनवेमा खाल्डो पारे जस्तो लाग्दथ्यो । अन्यत्रका विमानस्थलमा हवाइजहाज आउँदैछ भनेर पहिला नैं सुनिन्थ्यो । आवाज आउँथ्यो । परैवाट विमानस्थल र विमानस्थलवाट प्लेन देखिन्थ्यो तर जुफालमा त फुत्त पुगे पछि मात्र थाहा हुने रहेछ । दुई पहाडको चेपवाट फ्याट्ट ठुलो खाल्को चरो जसो गरी हजाइजहाज निस्केको जस्तो लाग्दछ ।
सामान्यतय, असारको महिनामा नेपालभर धेरथोर पानी पर्दछ । प्रायः डाँडापाखामा हरियाली देखिन थालेको हुन्छ तर जुफालमा त्यस्तो देखिएन । घरहरु वाक्ला रहेछन् । करिव करिव असनको जस्तो टाँसिएका घरहरु देखिए । झट्ट हेर्दा ढलान गरेका जस्ता घर देखें । यति टाढा गाडी नपुगेको ठाउँमा पनि घर पक्की रहेछन् भन्ने मनमा लागेको मात्र थियो । कुरो फरक परि गयो । त्यो त माटाले छाएको घर पो रहेछन् ।
हाम्रा तिरका जस्तो करालो छानो हाल्ने चलन रहेनछ । सिमेन्ट ढलान गरेका जस्ता छानो । तर माटोले छापेको । पानी कम पर्ने, हिउँ मात्र पर्ने भएकोले चिसो पस्दो रहेनछ । त्यो माटाको छत भनेको आँगन पनि हो । विस्कुन सुकाउने, लुगा धोएर टाँग्ने अनी घाम ताप्ने त्यही ठाउँ हो । प्रायः घर अगाडी आँगन देख्न पाइन्न । जुफाल एयरपोर्टको नजिकै झुरुप्प घरहरुको भएको मन नैं लोभ्याउने एक गाउँ रहेछ ।
जुफाल विमानस्थलको गेटकै छेउको होटलमा खाना खायौं । शेफोक्सुन्डो राष्ट्रिय निकुञ्जका तत्कालिन प्रमुख वोर्ण वहादुर थापासँग मौकावस सहयात्री हुने मौका मिलेको थियो । उहाँ नेपालगञ्ज विमान स्थलमा नैं भेट हुनुभएको थियो । चिनजान पनि त्यही भयो । त्यसैले मलाई कता जाने के गर्ने कुनै अलमलमा पर्नु परेन । जुफाल देखि दुनैं पुग्न सायद २ घण्टा जती हिड्नु परेको थियो होला ।
डोल्पाको सदरमुकाम दुनैं ठुलो भेरी नदीको किनारमा अवस्थीत थियो । दुनैंमा होटलको मेसो हंशवहादुर शाहीले गरिदिनु भएको थियो । सायद एक हप्ताको वसाई भयो होला दुनैमा । डोल्पाका धेरै विशेषताहरु छन् । पहिल्यै सुनेका नैं केही थिए । जस्तो सवै भन्दा ठुलो जिल्ला । नेकपा माओवादीले पहिलो पटक सदरमुकाम आक्रमण गरेको जिल्ला । शेफोक्सुन्डो ताल भएको जिल्ला । ओस्कार पुरस्कारको लागि मनोनयन परेको क्याराभान सिनेमा छायाँकन भएको जिल्ला । सोही सिनेमाका नायक थिन्लेको जिल्ला । यी विशेषता भन्दा फरक के के होलान् भन्ने खोजनीति गर्ने रहर थियो ।
थिन्लेसँग भलाकुसारी
क्याराभानको नायक थिन्लेलाई भेट्ने ठुलो रहर थियो । यो रहर हंशवहादुर शाहीसँग पोखें । उहाँले आश्वासन दिनु भयो । त्यो आश्वासन पूरा हुने भयो । भेट्ने निर्धारण भएको दिन विहान देखि नैं छटपटी भयो । विश्वमा नैं चर्चित सिनेमाको नायकसँग भेट्ने मौका मिल्दै थियो । त्यो छटपटीलाई म वसेको होटलवालाले नियालेछन् । अनी उनले सोधे “किन तपाइ आज छटपटाइरहनु भएको छ ?” मैले खुसी हुँदै भनें म आज थिन्लेलाई भेट्दैछु । उसँग गफ गर्नु छ, फोटो खिच्नुछ । उनले नाक खुम्च्याउँदै भने “त्यो हिरो ? खै भेट्ला र ? उससँग फोटो खिच्दा पनि पैसा तिर्नु पर्छ भन्छन् ।” मैले ए होर भनें तर म ढुक्क थिएँ । उनका पनि नेताले भेटाउने चाँजो मिलाएका थिए । मलाइ थाहा थियो थिन्ले २०५४ सालका स्थानीय निकायको निर्वाचनमा जिविस सदस्य भएका थिए । उनलाई एमालेले टिकट दिएको थियो । नेकपा एमाले डोल्पाको प्रमुखको पहलमा थिन्ले र मेरो भेट हुँदै थियो । यदी पैसा मागेछन भने पनि रु. पाँचसय दिन्छु । वुझेको भरपाइ लिन्छु । थिन्लेलाई पैसा दिएको भनेर फुर्ति लगाउन मिलिहाल्छ भन्ने कुरा मनमनमा गमी रह्यें ।
हंश वहादुर शाही र म थिन्ले वस्ने घरमा पुग्यौं । घरको अगाडी ढुँङ्गा ओछ्याएका थिए । प्लाष्टिक कुर्सीहरु त्यही थिए । हामी वस्यौं । हामी आएको खवर भित्र पठायौं । केही वेरमा उनी निस्कीए । दुई हात जोडेर नमस्कारका भन्यौं । उनीले मलाई चिन्ने कुरै भएन तर उनका नेतालाई नचिन्ने पनि कुरा भएन । थिन्लेले हंश वहादुर शाहीलाई केही सोधें । सायद यो मान्छे को हो किन आएको मलाई किन भेट्न खोजेको भने होलान् । स्थानीय भाषामा वोलेका थिए । नेपाली नैं वोलेको भए पनि मैले वुझ्न कठिन नैं हुन्थ्यो । लवज फरक थियो ।
हंश वहादुर शाहीले थिन्ले र मेरो विचमा परिचय गराएर पुल वाँधी दिए । हामी विच गफ गर्न सहज भयो । थिन्लेले काठमाडौंबाट आएको हो ? भन्दै मलाइ किन भेट्न खोजेको भने । मैले उनको प्रशंसा गर्दै अली अली फूल वुट्टा भर्दै तपाइ जस्तो विश्व परिचित मान्छेसँग भेट्न रहर लागेको थियो त्यही रहर मेट्न अली अली गफ गर्न अनी तपाइसँग वसेर फोटो खिच्न आएको भनें ।
कुनै वेलाका उनका नेतासँग म गएकोले अटेर गर्ने संभावना कम थियो नैं । तैपनी उनीले मलाई एक शर्त राखे । तिमि लेख्ने पनि गर्दा रहेछौं काठमाडौंवाट आएका भने पछि तिम्रो संगत देश चलाउनेसँग पनि होला मेरो एक काम गरिदिन्छौ ? भनी सोधे । मेरो देश चलाउनेसँग त्यत्रो संगत कहाँ थियोर ? तैपनि उनीसँग गफ गर्ने फोटो खिच्ने रहर थियो नैं । गोलमटोल पाराले भनें “मैले के गर्नु प¥यो ? ” तिमिले स्वास्थ्य मन्त्री चिनेका छौ ? भनेर सोधे । मैले इमान्दारपूर्वक जवाफ दिएँ “मैले त चिन्छु तर उनले मलाई चिन्दैनन् होला”ं । त्यो वेलामा उपप्रधान तथा स्वास्थ्य मन्त्री अमिक शेरचन थिए । तैपनि मैले तपाइको कुरा पत्रिकामा छापेर त्यो एक प्रति मन्त्रीकोमा र एक प्रति तपाइलाई पठाउने काम चाँही गर्न सक्छु भनी आश्वस्त पार्ने कोशीस गरें ।
थिन्ने वोल्न थाले “मेरो सालदाङ गाविसकालागि एक स्वास्थ्य चौकि मागेको थिँए । हुन्छ भने तर दिएनन्, ढाँटे ।” यस विषयमा उनीले अलि लामै व्याख्या गर्न आग्रह गरें । उनी केही महिना अघि काठमाडौं आएका रहेछन् । (त्यो समयमा राष्ट्रियस्तरको टिभीमा उनको अन्तरवार्ता हेर्ने मौका मिलेको थियो । त्यही अन्तरवार्ताको आधारमा मलाइ पनि उनीसँग गफ गर्ने रहर जागेको थियो ।) उनीले काठमाडौंमा भेटघाट गर्दा ज्ञानेन्द्र शाहको शासन नैं थियो । काठमाडौंमा योजना आयोग, मन्त्री देखि जिम्मेवार पदाधिकारीहरुलाई भेटेर साल्दाङ गाविसमा एक स्वास्थ्य चौकि माग गरेका रहेछन् । सायद त्यो बेलामा राजालाई पनि भेटेका थिए कि त्यो कुरा वताउन चाहेनन् । उनीले भेटेका सवै पदाधिकारीहरुले अन्तराष्ट्रिय हिरोको माग पूरा गरिदिने भनि आश्वासन दिएछन् । उनी खुसी हुँदै घर फर्किएछन् ।
उनी काठमाडौंवाट नेपालगँज, दुनैं तिर अल्मलिँदै साल्दाङ पुगे । उनी भन्दा पहिला नैं साल्दाङमा एक खवर पनि पुगेछ, काठमाडौंवाट । त्यो खवरको व्यहोराले थिन्लेलाई भाउन्न बनाएछ । आशा र भरोषा माथि तुषारापात नैं भएछ । साल्दाङ गाविसमा पहिला नैं एक स्वास्थ्य चौकि भएको हुँदा कानूनले एक गाविसमा २ वटा दिन वा राख्न नमिल्ने भन्ने खबरको सार रहेछ ।
अनी मैले सोधें
तपाईको गाविसमा स्वास्थ्य चौकि नैं छैन ?
एक गाविस एक स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकि त नेपालभर हुने कुरा थियो त्यहाँ किन भएनछ भन्ने कौतुहलता थियो, मेरो मनमा । उनले भने “छ नि” । मैले अलि फुर्ति गरेजस्तो गरी तुरुन्तै प्रश्न गरें “किन चाहियो त दुइवटा ? हाम्रो तिर पनि एउटा मात्र त हुन्छ नी ।”
पहिला पहिला गाउँको विचमा पोखरी खन्छु भनी पैसा ल्याउने । नखन्ने । अनी अर्कोले पोखरीमा गाइवस्तु डुवेर मरे, वच्चाहरुलाई पनि खतरा भयो । त्यसैले त्यो पोखरी पुर्ने योजना ल्याएर ल्याएर झ्वाम पारेको कथा सुनिन्थ्यो । त्यस्तै पो हो की भन्ने मेरो आशंका थियो ।
मेरो प्रश्नले उनी रिसाए । “तिम्रो काठमाडौंको वुद्धि ” भनेर गालि पो गरे । म प्रश्न सोध्ने भनेर कस्सीएको उनले पो प्रश्न बर्षाउन थाले ।
तिम्रो गाविसमा रहेको स्वास्थ्य चौकि पुग्न कति समय लाग्छ भनेर प्रश्न गरे । मैले भनें “ १ घण्टा” । मेरो साल्दाङको मान्छे त्यही गाविसमा रहेको स्वास्थ्य चौकिमा पुग्न कति हिड्नु पर्दछ ? थाहा छ ? भने । मेरो दिमाखले सोचेको भन्दा थपेर १० घण्टा लाग्ला भनें । उनले भने तिम्रो वुद्धि भन्दै के के नवुझने गरी गालीको वर्षा नैं पो गर्न थाले । “थाहा पाउन मन छ कति लाग्छ मेरो गाविसको मान्छे स्वास्थ्य चौकी पुग्न ?” भनेर प्रतिप्रश्न गरे । मैले थाहा पाउन चाहेको टाउकोले सूचित गरें । उनले भने ३ दिन लाग्छ । म छक्क मात्र हैन अवाक भएँ ।
अरु थप सोध्न थाले ।
तिमीहरु सदरमुकाम पुग्न कति घण्टा लाग्छ भने मैले भनें “१ घण्टा” । उनले फेरी थपे साल्दाङको मान्छे सदरमुकाम आउन कति लाग्ला नी ? मेरो अनुमान भन्दा थपेर भनें ५ दिन लाग्ला । उनीले झोक्कीदैं भने यो पटक सात दिन घोडामा चढेर यहाँ हिजो आइपुगेको ।
म उनको प्रश्न देखि अतालिन लागिसकेको थिएँ । अर्को प्रश्न सोधी हाले “तिम्रो घरवाट मोटर वाटो भेट्न कति हिड्नु पर्दछ ?” मैले पनि लाग्ने भन्दा एक घण्टा भन्दा पनि वढि थपेर भनें “२ घण्टा” । उनले भने साल्दाङको मान्छेलाई कति लाग्ला ? मसँग अनुमान गर्ने तागत सकिएको थियो र “खैं” मात्र भनें ।
सुर्खेत पुग्नु पर्दछ मोटर वाटो भेट्नलाई । १७ दिन लाग्छ भने । केही दिन थपेर भने होलान् । तैपनि मेरो कल्पना भन्दा वाहिरको कुरा हो त्यो ।
अनी टेलिफोन गर्न यहि सदरमुकाम दुनैंमा आइपुग्नु पर्दछ भन्दै थिए । तिम्रोमा एसएलसी पास गर्ने कति छन् भनी सोधे । म सँग कुनै आंकडा नैं थिएन, धेरै छन् भन्ने जवाफ फर्काएँ । उनको सालदाङमा त्यसता मान्छे नैं छैनन् जस्तो गरे । तिम्रामा त डाक्टर पढेका पनि होलान् नी ? साल्दाङमा त संझिने मात्र हो भने ।
उनीले थप प्रश्न गरे “तिम्रोमा चिनी किलोको कति रुपैया पर्छ ?”
मलाई ठ्याक्कै थाहा नभए पनि ६० रुपैया पर्छ भनिदिएँ ।
साल्दाङमा त १८० रुपैँया पर्छ भने
अनी सोधे तिम्रो सरकारले हाम्रो साल्दाङ गाविसलाई कती वजेट दिन्छ ?
मैले १० लाख दिन्छ होला भनि दिएँ । उनीले थपे तिम्रोमा नी ? त्यती नैं हो भनें
अनी तिम्रो सरकारले वृद्ध भत्ता कति वर्षमा दिन्छ ?
मेरो जवाफ ७० वर्षमा भन्ने थियो ।
अनी कर्णाली अञ्चलको सरदर आयु कती छ ? थाहा छ ? मैले थाहा नभएको सूचक सहित टाउको हल्लाए ।
उनले भने ३९ वर्ष । अनी उनले थपे तिम्रो तिर श्राद्ध गर्ने चलन छ नी ? छ भन्दै टाउको हल्लाएँ । त्यो वेलामा पिण्ड दिने चलन पनी छ नी ? फेरी टाउको हल्लाएँ । अब भन त ? कति वटा पिण्ड खाए पछि हामी कर्णालीवासी वृद्ध भत्ता खान लायक हुने ? तिम्रो सरकारको नियमले कर्णालीवासी मरेको ३१ वर्ष पछि भत्ता खान लायक हुने रहेछौंं भन्दै उनी हाँसे म चाँही निलो कालो भैसकेको थिएँ ।
उनीले थपे । यही हो तिम्रो सरकारको सोच ? यो तरिकाले अव तिम्रो गाउँको जस्तो मेरो साल्दाङ कहिले हुन सक्छ ? भने ।
“अव भन त साल्दाङमा २ वटा स्वास्थ्य चौकी चाहिन्छ कि चाहिदैन ?” अव कति वर्षमा भत्ता दिनु पर्ने होला ? यो तरिकाले सन्तुलित विकास संभव छ ? उनीले प्रश्न माथि प्रश्न गरिरहे ।
उनले थप भने “समान गर्ने तिम्रो सरकार र तिमि वेइमान हौ ।” मसँग जवाफ थिएन । म झरीमा रुझेको विरालो झैं लुतुक्क पर्नको विकल्प भएन ।
माथि उल्लेख गरेको अनौपचारिक संवाद गरे पछि उनी र म दुवै एक आपसमा खुली सकेका थियौं । वर्षौ देखिका परिचित जस्ता भैसकेका थियौं । उनी नेपालगञ्ज तिर जान हतार छ, आधा घण्टा मात्र गफ गरौं भनेका थिए । थप समय गफिन राजी भए ।
उनीसँग १० मीनेट जती समय मागेर पत्रिकाका लागि आवश्यक पर्ने एक अन्तरवार्ताका लागि छोटो प्रश्नहरुको सूची वनाउन लागें । त्यस समयमा फेकोफनवाट सामयिक प्रकाशन हुने गर्दथ्यो । त्यो पत्रिकामा छाप्ने सोचका साथ उनीसँगको छलफललाई निरन्तरता दिएँ ।
मेरो पहिलो प्रश्न थियो ।
तपाइको गाउँमा सामुदायिक वन छ ?
छैन ।
तपाइको गाउँ छेउमा वन नैं छैन ?
छ, घाँस अली अली पाइन्छ तर काठ पाइन्न ।
काठ कहाँवाट ल्याउनु हुन्छ त ?
निकुञ्जको वनवाट । निकुञ्जले पुर्जी दिन्छ । फोक्सुण्डोवाट काठ ल्याइन्छ ।
सामुदायिक वन उपभोक्ता महासंघ भन्ने सुन्नु भएको छ ?
सुनेको त हो तर खासै चासो लिएको छैन ।
वनमा तपाइहरु केही काम गर्नु हुन्न त ?
गर्छौं । हाम्रो मुख्य काम भनेको नैं चौरी पालन हो । चौरी पालन गर्दै हिउँदमा जुम्लाको सिमानासम्म पुग्छौं । फेरी उकालो लाग्छौं । चौंरी चराउँदा पहिला पहिला पैसा तिर्नु पर्दथ्यो । २ वर्ष भयो तिर्नु परेको छैन ।
कस्लाई पैसा तिर्नु पर्ने ?
खै गाउँलेलाई हो की निकुञ्जलाई हो मेसो पाइन ।
चौरी चराउँदा केही अप्ठ्यारो पर्दैन ?
परेर के गर्नु ? तपाइलाई भनेर के हुन्छ ? निकुञ्जसँग हानाहानै प¥यो । निकुञ्ज जनताको हुनु पर्ने, कर्मचारीको पो हुँदो रहेछ । कर्मचारी आएर सिमा लगाउँछ । यसो गर उसो गर भन्यो पहिला पहिला निकुञ्जले । एरिक (क्याराभान सिनेमाको निर्माता निर्देशक) लाई पनि निहुँ खोज्यो, दुःख दियो ।
किन निहुँ खोज्यो ?
तपाईसँग निहुँ खोज्न अहिले केही कारण चाहिन्छ ?
तपाईको जिल्लामा जीवन वुटी (यर्सागुम्वा) पाइन्छ रे नी ?
पाइन्छ । हाम्रा गाउँका पनि टिप्न जान्छन् । तर म जान्न । आँखाले देख्दीन । आँखा वुढो भैसक्यो । फेरी जीवनवुटी टिप्ने चलन ८,९ वर्ष अघिवाट मात्र थाहा भएको हो । पहिला चलन थिएन ।
जीवन वुटीको कर तिर्नु पर्दैन ?
तिर्नु पर्ने हो तर तिर्ने चलन छैन । गान्द्राङ्गगुन्दु्रङ्गलाई १,२ सय दिए पुग्छ ।
वन सम्वन्धी नियम कस्तो चाहिन्थ्यो होला ?
मैले भनी होलें नी । जनताको निकुञ्ज हुनु पर्ने कर्मचारीको हुँदो रहेछ । यस्तो नियम चाहिन्छ भनेर के भनौं । एउटाले नियम वनाउँछ अर्कोले मान्दैन । त्यसकारण अहिले केही नभनौं ।
केही त मनमा लागेको होला नी ?
मनमा त कती छ कती । स्थायी छैन, स्थायी सरकार छ भने भन्नुस ? अबको कार्तिक देखि पौष सम्म काठमाडौंमा वस्छु । त्यही वेला गफ गरौला । भनेर मात्र के गर्नु । अघि नैं भनें हाले नी, मन्त्री, योजना आयोगलाई भेटेर स्वास्थ्य चौकी मागेको थिएँ । दिएनन् । कानूनले मिलेन भन्दीछन् ।
तपाइलाई राष्ट्रिय अन्तराष्ट्रियस्तरमा सवैले चिन्छन् । विदेशीहरु त खुव भेट्न आउँदा हुन् नी ?
आउँछन् । एरिक पनि गएको फाल्गुणमा आएर भेटेको थियो । काठमाडौं पुगेपछि कता कता लाग्छन् थाहै हुँदैन ।
क्याराभान फ्लीम हेर्दा कस्तो लाग्यो ?
त्यो फ्लीम वनाउन १० महिना काम गरियो । हेर्दा खेरी डर लाग्यो । त्यस्तो पनि गरियोर भने जस्तो भयो । हिउँमा डुवेको, लडेको फ्लीममा हेर्दा पो डर लाग्दो रहेछ ।
फेरी पनि फ्लीम खेल्ने वीचार छ की ?
अस्ती एरिकसँग भेट्ने बेलामा अव के गर्ने ? काम गरौं भन्दै थियो ।
तपाइलाई टिभी र सिनेमा मात्र देखेको अहिले भेट्ने मौका पाइयो । तपाईको र तपाइसँग वसेर फोटो खिचौं हैं ?
यत्रो गफ गरिसक्यौं । अव नखिचौं भन्न मिल्दैन होला (हास्दै) लौ खिचौं ।
नोट ः यो अन्तरवार्ता फेकोफनको प्रकाशनका प्रकाशित भएको थियो ।
समानताका लागि असमान वितरण
थिन्लेसँगको कुराकानीमा व्यक्त हरेक वाक्य मेरा लागि तिखो वाण नैं थियो । थिन्लेसँगको त्यो संवाद पछि मेरो दृष्टिकोणमा रुपान्तरण आएको छ । पैरवीका केही अवधारणा उनले सिकाई दिएका छन् ।
हाम्रा गतिविधिहरु असमान हुन्छन् तर उल्टो सोचका साथ । धनी वा सम्पन्नलाई धेर कमजोर वर्गकालागि थोर वितरण प्रणाली हुने गर्दछन् । समानताका लागि असमानता छैन । असमानताका लागि असमानता नैं छ । हदै भएको भए पनि समान मात्र छ । साल्दाङ र सुगम (जहाँ पहिला देखि नैं भौतिक लगायतको पूर्वाधार रहेको छ) ती दुवैलाई वरावरी गरिएको छ ।
विपन्न वृद्धले पाएको भत्ताले उस्को नून भुटन चिया चिनीमा खर्च गर्दछ तर सम्पन्नले पाएको त्यो पैसा पूजा पाठमा खर्च होला । वा अरु कुनै कार्यमा । सम्पन्नले ज्येष्ठ नागरिक भत्ता जीउनका लागि धेरैले प्रयोग गरेको पाइन्न । विपन्नका लागि सो भत्ता सम्मानपूर्वक वाँच्न सक्ने साधान भएको छ ।
थिन्लेका हरेक वीचारमा न्यायोचितलाई जोड दिएको पाइन्छ । उनी भन्दै थिए । हेलिवाट वाकसमा पैसा आउँछ प्लेनवाट नेपालगञ्ज झर्छ । डोल्पामा अडिदैन । अधिकांश सरकारी जागिरे स्थानीय वा जिल्लावासी छैनन् । भए पनि अलीअली कमाएर तराइतिर वसोवास मिलाइसकेका हुँदा रहेछन् । त्यो वेलामा २३ वटा गाविसको जनसंख्या २९ हजार ५ सय मात्र भएको आंकडा देखाए । उनी भन्दै थिए, जिविस र अर्को एक परियोजनाको वजेट डोल्पावासीलाई भाग लगाउने हो भने प्रति महिना प्रतिव्यक्ती १२ हजार भन्दा वढि पर्न आउँछ रे । जीवनवुटीको राजश्व मात्र सहि किसिमले उठ्ने हो भने ३७ करोड भन्दा माथि उठ्ने आंकाडा सुनाए । त्यसको मूल्यको त लेखाजोखा नैं छैन । त्यो वर्ष मुस्कीलले १० लाख मात्र जीवनवुटीवाट राजश्व उठेको थियो रे । उनीमा दिक्दारी थियो । तर आशा मारेका थिएनन् । स्रोतमा पनि कमी छैन भन्दै थिए । खाँचो व्यवस्थापन र नेतृत्वको छ भन्ने उनको धारणा थियो । त्यसैले उनको क्रियाशिलतामा कमी थिएन । कुनै दिन सदरमुकाम दुनैं मात्र होइन उत्तरी डोल्पा सालदाङमा पनि मोटर पुग्नेछ भनेर विश्वास पालेका थिए ।
केन्द्रीकृत सत्तामा मात्र देख्न पाए, उन्ले । संघीय संरचनाको उपयोग गर्न पाएनन् । विक्रम सम्वत २०७३ सालमा ७४ वर्षको उमेरमा उनको देहान्त भयो । क्याराभान सिनेमा भएको दृश्य जस्तै गरी खच्चडको धक्काबाट घोडा सहित लडेर मृत्यूको मुखमा पुगे ।
उनीसँगको छोटो कुराकानी मेरो मानसपटल ताजै छ । मेरो लागि थिन्ले पैरवीका एक गुरु थिए । जस्ले तथ्य सहित भनेका थिए “समान गर्ने तिम्रो सरकार वेइमान हो” । सरकार मात्र हैन हाम्रा सवै जसो सामाजिक संरचना नैं समान भन्दा माथी उठ्न सकेका छैनन् । सवैलाई वरावर गरेमा न्याय हुन्छ भन्ने सोच छ । निष्पक्ष वन्नु पर्दछ भन्ने नैै छ । सामाजिक न्यायका लागि पक्षपाती र न्यायोचित गरिनु पर्दछ भन्ने चेत अझैसम्म आएको छैन । केही हदसम्म सामुदायिक वनको अभ्यासको सोचले सम्वोधनको कोशिस गरेको जस्तो लाग्दछ त्यो पनि प्रकृयामा हराइरहेको देखिन्छ ।
हाम्रो सरकार र हाम्रो काम गराइले थिन्लेको आक्रोस मिश्रीत दावीलाई चुनौती दिन सक्ने सामर्थ थिएन । तथापी पछिल्लो अवस्थामा कर्णाली क्षेत्रका नागरिकलाई ६० वर्षमा नैं भत्ता दिने भनिएको छ । त्यो चाँही समानताका लागि केही हदसम्मको कोशीस भन्न सकिएला । सामाजिक न्यायका लागि पक्षपाती वन्नु पर्ने अवस्था अझै वाँकी नैं छ । समानताका लागि असमान व्यवहार आवश्यक देखिन्छ । कम्तीमा पनि डोल्पा र काठमाडौंलाई एउटै चस्मा लगाएर हेर्ने काम चाँही फेर्न पाए पनि हुन्थ्यो ।
अन्त्यमा, यो अवस्था २०६३ साल तिरको हो । अहिलेसम्म डोल्पाको ठुलो भेरीमा धेरै पानी वगि सक्यो । तिनतहको राज्यको अवधारणा लागु भैरहेको छ । के कति विकास भए होलान् । यो लेखको आशय सामाजिक न्याय सहितको विकासमा राज्य संयन्त्रले ध्यान दिनु पर्दछ भन्न ेहो । अवको स्थानीय सरकारले त्यता ध्यान दिन सकोस् । शुभकामना

 

Leave a Reply

Your email address will not be published.