विश्व कृषि अभियानमा संलग्नताको सुरुवात

समाचार

कोभिड १९ को अवस्था पछि विदेश भ्रमण गर्नु मुस्किल नैं थियो । विदेश जाने अवसर मिल्छ कि मिल्दैन भन्ने नैं थियो । एक पटक अमेरिका जाने सोच वनाएको थिएँ । कोभिडले रोकि दिएको थियो । तर यस पटक वैदेशिक यात्रा गर्ने अवसर मिल्यो । त्यो पनि विगतका भन्दा फरक पृष्ठभूमि र काममा । विगतका भ्रमणहरु वनसँग सम्वन्धीत हुने गरेका थिए । तर यस पटक कृषि अर्थात खेतीपातीको सिलसिलामा । यही भ्रमणको तयारी र भ्रमणको सन्दर्भमा आधारित लेख्ने कोशिस गरिएको छ ।
एक दिन बिहानैं डा. बिष्णुहरी पौडेलले तपाई कृषि क्षेत्रमा लागि रहनु भएको छ, किसानहरुको विश्वस्तरको एक संस्था छ त्यसमा तपाइको नाम सिफारिस गरिदिन्छु हैं भन्नु भयो । मैले पक्कै राम्रो होला भन्ने अनुमान हस् भनी मलाई संझनु भएकोमा धन्यवाद भनें । नभन्दै केही दिन पछि मलाई सो सम्वन्धी जानकारी मलाई प्राप्त भयो । सामान्य सञ्जाल होला । अनलाईन वैठकहरु होलान् भन्ने लागेको थियो । जे भए पनि म नेटवर्कमा रमाउने मान्छे त्यो काम लाग्ला भन्ने सोचका साथ इमेलको जवाफहरु लेखें ।
एक दिन इमेलवाट जर्मनमा हुने तालिमको लागि निम्तो आयो । केही मापदण्डहरु पूरा गर्नु पर्ने थियो । जर्मनमा हुने तालिम भन्दा अघि ३ वटा अनलाइनमा छलफल वा तालिममा सहभागी हुनु पर्ने जस्ता कुराहरु उल्लेख थिए । त्यस पत्रलाई स्वीकार गरें । अनी भिषाको प्रकृया पनि अगाडी वढाएँ । मलाई मार्च महिनामा नैं निम्तोको पत्र आएको थियो । यसै बेलामा स्थानीय निर्वाचनको पनि सरागर्मी चलिरहेको थियो । मैले भिषा आवेदनका लागि कागजातहरु जम्मा गर्न लागें । यो भिषा प्रकृयालाई सामान्य रुपमा लिँदै जर्मनवाट अध्ययन गरी फर्कनु भएका डा. सोनी लामा र मिना सुयँलसँग सल्लाह लिंदै भर्दै गएँ । त्यसै गरी जर्मनमा नैं विद्यावारिधी गरिरहनु भएका शम्भु चर्माकारसँग पनि सल्लाह गर्दै तयारी गरिरहें । अनलाइनवाटै अन्तरवार्ताको लागि समय वुक गर्नु पर्ने रहेछ । त्यो पनि गरें । अनलाइनवाटै एक भिडेस नामक फारम भर्नु पर्ने रहेछ भरें । कार्यक्रम १ हप्ता जतीको भनिएको थियो मैले १३ दिनको भिषा माग्ने गरी आवेदन तयार गरें । सोही अनुसार टिकट प्रारम्भिक तयार गर्न लगाए । कार्यक्रम सकेर स्वीजरलैण्ड पनि घुम्न जानु पर्ला भन्ने रहर थियो मसँग । त्यही भएर केही दिन वढिको आवेदन तयार गरेको थिएँ । मलाई भिषा सजिलै देला भन्ने लागेको थियो । आवेदनमा यूके र यूएसएको भिषा भए समावेश गर्ने भन्ने थियो । मसँग अमेरिकाको लागि सन् २०२६ सम्मको भिषा भएकोले पाइएला भन्ने विश्वास थियो ।
मार्च ३१ विहान ८ वजेको लागि समय वुक गरेको थिएँ । अघिल्लो दिनमा नैं वुझ्न गएँ । जर्मनी राजदुतावासको नजिकै रहेको अनमोल परामर्श सेवादाताको अफिसमा छिरें । सवै कागजात देखाएँ । त्यहाँका रामेश्वर पराजुलीले राम्रो सहयोग पनि गरे । विमा गर्नु पर्ने रहेछ त्यही गराएँ । केही कागज अंग्रेजी गराउनु पर्ने रहेछ त्यो पनि त्यहीको सेवा लिएँ । फोटो पनि फरक साइजको आवश्यक पर्ने रहेछ त्यसको पनि नमुना लिएर ल्याएँ । फोटो खिचाँए ।
चुनावको माहोल तात्दै थियो । त्यही विचमा मैले अन्तरवार्ता सामाना गरिरहनु परेको थियो । मार्च ३१ मा सवै भन्दा पहिलो अन्तरवार्ताको पालो मेरो नैं थियो । पठाओको सुविधा लिएर ७ वजे नैं पुगें । परामर्शका अफिसका पराजुलीसँग भेटें । ८ वजे दुतावास खुल्यो । कागज सवै देखाएँ । पैसा १० हजार ७ सय रुपैया ठिक्क पारेर ल्याउ भने । म दौडिएर मन्दीरको छेउमा गै पैसा साटेर लिएँ । भिषा फि ८० यूरो लाग्दो रहेछ । त्यो दिनको सटहीको हिसाब गर्दा १० हजार ७ सय रुपैया हुने रहेछ । विभिन्न चेक जाँच गरेर भित्र पसें । मेरो पालो पहिलो भएकोले फटाफट काम भैरहेको थियो । अन्तरवार्ता दिंदा भित्र वाहिर देखिने तर टेलिफोन जस्तोवाट कुरा गर्नु पर्ने रहेछ । भित्रका मान्छेले संकेत गरेर छेउमै झुन्डाएर राखेको फोन लिन भने । मैले त्यसै गरें । अंग्रेजीमा सोधे । मैले उत्तर दिएँ । मलाई असजिलो लागेन । सहजका साथ अन्तरवार्ता दिएँ । उनीले पैसा मागे । मैले दिँए । रसिद दिए । ३ दिन पछि पासपोर्ट लिन आउनु भने । म आउन नसक्ने दोलखा जानु छ भने त्यसो भए कस्लाइ पठाउनु हुन्छ त भनी सोधे मैले श्रीमतीलाइ पासपोर्ट दिँदा हुन्छ भने । नाम लेख्न लगाएर सहि गराए । म खुसी हुँदै वाहिर निस्किए ।
मलाई ढुक्क लागेको थियो भिषा पाइन्छ भनेर । किनभने अन्तरवार्ता पनि राम्रै थियो । मेरो कागजात पनि राम्रो थियो । जर्मन जान आउन खान वस्नको सवै व्यवस्था आयोजकले नैं गर्ने पत्र थियो । मलाई कुनै शंका नैं थिएन ।
३ दिन पछि पासपोर्ट लिन जाँदा पनि खाली छ भन्ने खवर आयो । म छक्क परें । एक पत्र दिएको रहेछ । त्यो फोटो खिचेर पठाउन लगाएँ । हेरें । फर्केर आउँदैन कि भन्ने शंका गरेको देखियो । कार्यक्रम भन्दा केही दिन वढि भिषा माग्नु पनी कमजोरी भए की जस्तो लाग्यो । मलाई वोलाउने आयोजकको प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकिय अधिकृतलाई सोही व्यहोरा लेखेर इमेल पठाएँ । उनीहरु पनि अचम्म भए । यस्तो हुनु नपर्ने भन्ने जवाफ दिए । होटल वुकिंग गरेको पत्र थिएन । त्यो पठाउँछौं । फेरी कोशीस गर भन्ने सल्लाह दिए । मैले फेरी आवेदन दिने कोसिस गरें तर ३ हप्ता सम्म आवेदन लिँदो रहेनछ । त्यस अवधीमा अनलाइन कक्षा पनि भए त्यसमा सहभागी भैरहें । ३ हप्ता पछि फेरी समय वुक गरे । जेठ २ गतेका लागि । यस अवधीमा जर्मनीको होटल मारिएटमा मेरो लागि कोठाको वुक गरेको पत्र आयो । अनी उतैवाट हवाइजहाजको टिकटको प्रारुप पनि आयो । अरु सवै पुरानैं सामाग्री राखें । तर अहिले चाँही कार्यक्रम र उतावाट प्राप्त टिकटमा उल्लेख भए भन्दा एक दिन पनि वढी भिषा मागिन । विमा पहिलाको नैं गरिएको थियो ।
जेठ २ गतेको चाँही अली ढिला ९ वजे तिरको समय पाएको थिएँ । अरुको अन्तरवार्ता हेर्ने मौका पनि थियो । पहिला मेरो अन्तरवार्ता जसले लिएका थिए यसपाला पनि उनै परेका रहेछन् । मलाई देख्नासाथ दाइ नमस्ते पो भने । अनी तपाइ नेपाली नैं हो ? भनी सोधें । हाँसे मात्रै । अस्ती दिनु भएन भनें । उनी हाँसेर मेरो मात्र हात हुन्न खै तपाइलाई त दिनु पर्ने हो । खै के भएछ भने । अहिले केही थप सामाग्री राखेको को छु भन्दै। भिषा नदिनुको कारण यो यो होला भनेर आफैले भने । जर्मनमा वस्न मलाई कुनै रहर छैन । वस्ने भए म अमेरिका नैं वस्थ्यें । यो उमेरमा विदेश वस्ने रहर छैन भनें । उनी सन्तुष्ट नैं थिए । हुनत अघिल्लो पटक पनि सन्तुष्ट नैं भएको जस्तो लागेको थियो । त्यसतै ३ दिन पछि वोलाए । म आउन नसक्ने भनें । उनीले एउटा पेपर दिएर यसका सहि गरेर पठाउनु होला भने । म निस्किए ।
तोकिएको मितिमा मेरी श्रीमती मेरो मेरो मन्जुरी लिएर पासपोर्ट लिन पुगिन् । त्यो दिन म कालिञ्चोकको फेदी कुरी वजारमा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिहरुसँगको छलफलमा थिएँ । जेठको १८ गतेका दिन थियो । त्यो दिन चाँही खाम वन्दी गरेर दियो रे । उनीलाई अघिल्लो पटक भन्दा फरक व्यवहार भएकोले भिषा लागेको अनुभुती भयो रे । नभन्दै छोटो समयको लागि भिषा लागेको रहेछ । मलाई धेरै र थोरै दिनले केही असर पार्ने नैं थिएन । भिषा पाएको जानकारी मलाई वोलाउने ग्लोवल फार्मर नेटवर्क र शुभेच्छुकलाई भने. । उहाँहरु सवै खुसी हुनु भयो । कृषि अभियानमा विश्व स्तरको संलग्नताको लागि मेरो पहिलो ढोका खुलेको थियो । खुसी र उत्साहित थिएँ ।

 

Leave a Reply

Your email address will not be published.