चलचित्र क्षेत्रमा अहिले महिलाको आकर्षण बढ्दो छ : संगीता खत्री

अन्तरवार्ता कला-साहित्य

ख्यातिप्राप्त चलचित्र सम्पादक हुन् संगीता खत्री । छोटो अवधिमै चलचित्र सम्पादनमा उनको भूमिका अब्बल देखिन्छ । संगीता विवाह, पार्टी, फोटोसुट, व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो, फेशन ‘सो’ आदि सम्पादनमा पनि उत्तिकै पोख्त छन् । उनै खत्रीसँग नेपाली चलचित्रसम्बन्धी समसामयिक विषयमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानी :

तपाईंको पृष्ठभूमि छोटकरीमा बताइदिनुहोस् न ?
मेरो जन्म विक्रम सम्वत् २०४५ जेठ १४ गते ललितपुरको थसिखेलमा भएको हो । त्यतिबेला बुबा कृष्णबहादुर खत्री शाही नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो भने आमा सुनीता गृहिणी । मलाई त्यस्तै ३÷४ वर्षको उमेरमा घरनजिकैको माछापुच्छ«्रे इन्टरनेशनल सेकेण्डरी स्कुलमा भर्ना भएँ । २०६० मा राम्रो अंकसहित सोही विद्यालयबाट एसएलसी पास गरें । त्यसपछि उच्च शिक्षा अध्ययनका लागि ललितपुरकै पिनाकल एकेडेमी भर्ना भएँ । र, त्यहाँबाटै स्नातक पूरा गरें । त्यसपछि ह्वाइटहाउस कलेजबाट स्नातकोत्तर गरें । एसएलसी पास भएपछि फाट्टफुट्ट काम थालनी गरे पनि १२ कक्षा पास भएपछि भने यो पेशालाई व्यवसायिक रुपमा अँगाल्न थालेँ । त्यसपछि अहिलेसम्म निरन्तर रुपमा यही क्षेत्रमा रमिरहेकी छु ।

यही विधा–क्षेत्र रोज्नुको कारण के हो ?
यो मेरो पहिलेदेखिकै सोख र रुचिको विषय हो । यही कारणले यो विधा–क्षेत्र रोजें भन्ने त त्यस्तो केही छैन । तैपनि पहिलेबाटै मनोरञ्जन जगतप्रति आकर्षित भएकै कारण यता लागेको हुँ ।

तपाईं अहिले सफल चलचित्र सम्पादक बन्ने वातावरण कसरी बन्यो ?
मैले नै यो क्षेत्र रोजेपछि वातावरण त बनाउँदै गएँ, बन्दै गयो । घरपरिवारबाट पनि हौसला, साथ–सहयोग पाएँ । अनवरत ढंगले मेहनत गर्दै गएँ । नयाँ–नयाँ कला–क्षमता पस्कँदै आएँ, र पो सफल भएँ । यो एकैपटक भएको होइन ।

प्रवेश चरणको अवस्थाबारे खुलाई दिनुहोस् न ?
म आफूले आफूलाई चिन्ने भएबाटै समग्र मनोरञ्जन क्षेत्रप्रति नै आकर्षित हुन थालेकी हुँ । अझ भनौ मनोरञ्जन÷चलचित्र मेरो सानैदेखिको सोख–रुचिको विषय हो । यसप्रति अनौपचारिक सामीप्य पनि बाल्यकालदेखिकै हो । त्यसमा पनि छोटो चलचित्र (सट मुभी) मा बढी केन्द्रित भएँ । पछि साथीसंगीको संगतले गर्दा एसएलसी पास गरेर अनौपचारिक ढंगले यस क्षेत्रमा प्रवेश गरेसँगै औपचारिक÷अनौपचारिक सैद्धान्तिक र व्यावहारिक प्रशिक्षण लिएँ । यसैमा गहिरिदै जाँदा अन्ततः व्यावसायिक ढंगले नै लाग्ने निर्णयमा पुगें । यस अर्थमा स्नातक भर्ना भएबाट अर्थात् २०६२÷६३ सालपछि अध्ययन र पेशालाई सँगसँगै अघि बढाउन थालें ।

तपाईंले सम्पादन गर्नुभएको सुरुको चलचित्र कुन हो ?
मैले सम्पादन गरेको सुरुको छोटो चलचित्र हो ‘एकल महिला’ । जुन मैले सन् २०१०÷११ मा सम्पादन गरेको हुँ ।

अहिलेसम्म कतिवटा चलचित्रको सम्पादन गर्नुभयो ?
करिव डेढ दशकको यो अन्तरालमा दर्जनौं व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो र साना–ठूला पर्दाका चलचित्र सम्पादन गरें । यसबाहेक विवाह, पार्टी, फोटोसुट, फेशन सोलगायतमा पनि काम गरेको छु ।

तीमध्ये केही त निकै चर्चित छन् नि, होइन ?
हो, म्युजिक भिडियो ‘तिम्रो मेरो’, छोटो चलचित्र ‘एकल महिला’, ‘तिजको व्यथा’, ‘काजल’, ‘धोका दिनेलाई के भनौं र खोई ?’, ‘विश्वासघात’, ‘छोरा–बुहारी’, ‘परदेशीको पीडा’, ‘धोका’, ‘जातभात’, ‘गरिबी’ र चलचित्र ‘जिसम २’ आदि चर्चित र अत्याधिक सफल मानिन्छन् ।

यो विधा–क्षेत्रको समीक्षा कसरी गर्नुहुन्छ ?
काम, नाम र दाम सवै हिसावले चलचित्र सम्पादन विधा–क्षेत्र मलाई त उत्कृष्ट नै लाग्छ । फेरि, चलचित्र सम्पादन विधा पछिल्ला दिनमा आकर्षक पनि त बन्दै गएको छ । यसको भविष्य पनि सुनौलो छ । विवाहदेखि, पार्टी, फोटोसुट, व्यक्तिचित्र, वृत्तचित्र, म्युजिक भिडियो, फेशन सो, साना–ठूला चलचित्र आदि सबै आकर्षक अनि उत्कृष्ट बनाउन सम्पादकको अनिवार्यता रहन्छ । यो विधा–कला आज चाहिने र भोलि नचाहिने भन्ने हुँदैन । जति पछि त्यति नै यसको आवश्यकता र महत्व बढ्दै गएको छ । अर्कातर्फ सम्पादनको विधामा अहिले महिलावर्गको आकर्षणसमेत बढ्दो छ ।

मेहनत, काम अनुसार फल पाउनु भएको छ ?
सोचेभन्दा बढी पाएको छु । र त म अत्यन्त सन्तुष्ट छु । राष्ट्रिय÷अन्तर्राष्ट्रिय ख्याति कमाएको छु, राम्रो काम–दाम पाएको छु । सबैभन्दा ठूलो पक्ष त मान–सम्मान बटुलेको छु । धेरैपटक अभिनन्दित, पुरस्कृत र अवार्ड सहित सम्मानित भएको छु । ‘बुस्टर इन्टरटेनमेन्ट अवार्ड–२०२१’ (बेस्ट इडिटर), ‘एएनपी नेशनल अवार्ड–२०२१’ (बेस्ट इडिटर) लगायतले यही प्रमाणित गर्छन् । यतिमात्रै होइन, चलचित्र सम्पादकको हैसियतले ‘पिन नेपाल फिल्म फेस्टिभल २०२१’ (जुरी) र मनोरञ्जन क्षेत्रसम्बद्ध अन्य दर्जन बढी प्रतियोगितामा कुशल निर्णायकको भूमिका निर्वाह गरेको छु । यो नै अत्यन्त खुसीको पाटो हो ।

यो क्षेत्रको भविश्य कस्तो देख्नुभएको छ ?
समयले कहिलेकाहीँ तलमाथि घचेडे पनि समग्रमा राम्रो छ । भविश्य सुनौलो नै देख्छु म त ।

Leave a Reply

Your email address will not be published.