नेपाल ट्रष्टको स्वामित्व भएको सम्पत्ति खोजबिनमा लागिपरेका छौं

अन्तरवार्ता

सचिव, सुरज वैद्य
नेपाल ट्रष्टको जिम्मेवारी सम्हालीरहेका छन् सरजु कुमार बैद्यले । ३० वर्षदेखि सरकारी सेवामा आबद्ध उनले बेलायतबाट स्नातकोत्तर पूरा गरेका छन् । बेलायतमा अध्ययन पूरा गरेपछि स्वदेश फर्केका वैद्यसँग जल तथा मौसम विज्ञान विभागको जिम्मवारी सम्हालेको लामो समयको अनुभव छ । २०७९ जेष्ठ २३ गते बढुवा भएपछि उनी नेपाल ट्रष्टमा छन् उनैसँग विविध विषयमा तामाकोशी सन्देशको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० नेपाल ट्रष्ट सञ्चालक समितिले के कस्ता कामहरु गरिरहेको छ ?
नेपाल ट्रष्टलाई व्यवस्थित रुपमा सञ्चालन गर्न आवश्यक सम्पूर्ण कार्य गर्ने अख्तियारी नेपाल ट्रष्ट ऐनले सञ्चालक समितिलाई प्रदान गरेको छ । यस अनुसार ट?ष्टको सम्पत्तिको समुचित व्यवस्थापन र आय आर्जनका लागि नीतिगत व्यवस्था गर्ने, ऐनको उद्देश्य प्राप्त गर्न आवश्यक कार्यक्रमहरु स्वीकृत गर्ने, आवश्यक निर्देशिका एवं कार्यविधिहरु जारी गर्ने कार्य समेत ट्रष्ट सञ्चालक समितिले गर्न सक्छ । हामीले ट्रष्टको सम्पत्तिको समुचित व्यवस्थापन गरी यसको संभार र संरक्षण गर्ने, राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको ऐनको दफा ४ बमोजिम ट्रष्टमा रहनु पर्ने सम्पत्तिको नेपाल भित्र वा नेपाल बाहिर खोज तलास गर्ने, त्यसको वास्तविक स्थिति पत्ता लगाई यथार्थ विवरण सहितको अभिलेख राख्ने, ट्रष्टको स्वामित्वमा आउनु पर्ने ऐनको दफा ४ बमोजिमको सम्पत्ति ट्रष्टको नाममा नामसारी, दाखेल खारेज गराई ट्रष्टको हक सुरक्षण गर्ने, ट्रष्टको सम्पत्ति ऐनकोदफा ५ बमोजिम राष्ट्रहितमा प्रयोग गर्ने, ट्रष्टको सम्पत्ति यस ऐनकोउद्देश्य पूरा गर्न आय आर्जन हुने कार्यमा लगानी गर्ने, तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने जस्ता कामहरु गरिरहेका छौं ।
० नेपाल ट्रष्टको कार्यालयमा कर्मचारीहरुको व्यवस्था कस्तो छ ?
नेपाल ट्रष्टको कार्यालयको केन्द्रमा विशिष्ट श्रेणीका कार्यकारी सचिव सहित जम्मा २८जना कर्मचारीहरुको दरवन्दी स्वीकृत भएको छ । यसमा राजपत्रांकित अधिकृत स्तरका ११ र राजपत्र अनंकित स्तरका १७ जनाको दरवन्दी छ । यसै गरी नेपाल ट्रष्टका कार्यालय अन्र्तगतका विभिन्न स्थानमा रहेका ६ वटा इकाई कार्यालयहरुमा जम्मा जम्मी ४९ जनाको दरवन्दीमा कर्मचारी कार्यरत रहेका छन् ।
० नेपाल ट्रष्टको कार्यालले के कस्ता उपलब्धिहरु गरेको छ ?
शिक्षा र स्वास्थ्य क्षेत्रमा कार्यक्रम सञ्चालन गर्न तथा सम्पती ब्यवस्थापनको लागि कार्यविधि÷विनियम÷मापदण्ड लगायतको अभाव भएकोमा नेपाल ट्रष्ट कार्यक्रम (शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य) सञ्चालन कार्यविधि २०७३, नेपाल ट्रष्टको सम्पती भाडा÷लिजमा लगाउने सम्वन्धी विनियम, २०७३, नेपाल ट्रष्टको सम्पती अवलोकन शुल्क निर्धारण विनियमावली, २०७२ स्वीकृत भै यस्ता कार्यक्रमहरुलाई कार्यान्वयनमा लानको लागि केही सहजता भएको छ भने थप आवश्यक नीति तथा कानुनहरुकोब्यवस्थाका लागि पहल भैरहेको छ । ट्रष्टको दरवारमार्ग स्थित जग्गा लिजमा दिने काम सम्पन्न भएको छ भने ताहाचल र कमलादी स्थित जग्गा लिजमा दिनेगरी प्रकृया अन्तिम चरणमा पुगेको छ । नेपाल ट्रष्टमा करिब रु.९.५ करोड आम्दानी भई कोषमा जम्मा चल सम्पत्ति करिव ने.रु. ५०.५ करोड पुगेको छ । सम्पत्ति खोजविन अभियान अन्तर्गत कपिलवस्तु, मुगु, मनाङ, मुस्ताङ, नवलपरासी, पर्सा, महोत्तरी र इलाम जिल्लाहरुमा बृहत रुपमा सघन सम्पत्ति खोजविन अभियान सम्पन्न गरियो । यसै गरी भक्तपुर जिल्लाको राधेराधे नजिक र काठमाण्डौ जिल्ला, कालीमाटी क्षेत्रमा रहेको कानूनतः नेपाल ट्रष्टको स्वामित्वमा आउनेहैसियतको करिव ८ रोपनी जग्गाहरु थप प्राप्त भएकोले सो जग्गाहरुलाई नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । नेपाल ट्रष्टको कार्यालयले स्वदेश तथा विदेशमा रहेको सम्पत्ति खोजविन कार्यको लागि विभिन्न निकाय, संस्था र नियोगमा पत्राचार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । नेपाल ट्रष्टको स्वामित्वमा रहेका विभिन्न स्थानका सम्पत्ति र सम्पदाहरुको उपलब्ध स्रोत अनुसार आवश्यक मर्मत सम्भार गरी संरक्षण गर्ने कार्य भइरहेकोछ । ट्रष्टको स्वामित्वमा रहेका चितवन दियालो बंगला परिसरमा रहेका ढलापडा, सुख्खा खडा तथा जोखिम युक्त रुखहरुको लिलाम बढाबढ गरी ट्रष्टकोकोषमा आम्दानी गरिएको छ । ट्रष्ट स्वामित्वको कमलादी स्थित जग्गामा नेपाल ट्रष्टको कार्यालय भवन निर्माणको अन्तिम चरणमा रहेकोले आगामी आ. व. को शुरु देखि सोही स्थानवाट कार्यालय संचालन हुने गरी काम भै रहेको छ ।
० पूर्व राजा वीरेन्द्रको सम्पत्ति कति पुग्यो ?
पूर्व राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरुको परिवारको नाममा रहेको सम्पत्ति व्यवस्थापन र सञ्चालन गरी राष्ट्रहितमा प्रयोग गर्न नेपाल ट्रष्ट गठन भएको हो । जसमा तत्कालीन राजाका जेठा छोरा दीपेन्द्र शाह र कान्छा छोरा निराजन शाह समेतका नाममा रहेको सम्पत्ति समेटिएको छ । नेपाल ट्रष्टको स्वामित्वमा नेपाल राज्यभर १३ जिल्लामा रहेका जग्गाको क्षेत्रफल करिब २१,५६२ रोपनी ४ आना २ पैसा १ दाम रहेको छ । नेपाल ट्रष्टको चल सम्पत्ति ७८ करोड ९ लाख रुपैया पुगेको छ । जुन रकम भाडा र लिजबाट प्राप्त भएको हो । ट्रष्टमा तत्कालीन राजपरिवारका नामबाट आएको रकम अमेरिकी डलर एक लाख ४८ हजार ५८१ र ब्रिटिस पाउन्ड स्टर्लिङ ५० हजार १२४ खातामा रहेको पाइएको छ । ट्रष्टले विभिन्न बैंक तथा वित्तीय संस्थाको शेयर समेत खरिद गरेको छ । काठमाडौंसहित भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, धनकुटा, सुर्खेत, कास्की, चितवन र धादिङमा तत्कालिन राजपरिवारको जग्गा जमीन पाइएको छ । रामेछाप दोलखा लगायतका जिल्लामा जमिन खोज्ने क्रम चलिरहेको छ ।
० सबैभन्दा महंगा जग्गा कुन छन् र अवस्था कस्तो छ ?
दरबारमार्ग, लाजिम्पाट, कमलादी, कालिमाटी, ताहाचल, छाउनी जस्ता महंगा ठाउँका जग्गा ब्यापारिक प्रयोजनमा लिज र भाडामा मा दिइएका छन् । यसरी नेपाल ट्रष्टको घरजग्गा प्रयोग गर्नेमा थामसेर्कु ट्रेकिङ, टाउन डेभलपर्स, कन्सेप्ट डेभलपर्स, स्टाण्डर्ड चार्डर्ड बैंक लगायतका निजी कम्पनीहरु छन् । काठमाडौं प्लाजा, कमलादी काठमाडौंका काँठ क्षेत्रमा रहेका घरजग्गा भने मोहीले बसोबास र खेती प्रयोजनका लागि प्रयोग गरिरहेको पाइएको छ भने ताहाचलमा विभिन्न सरकारी कार्यालयहरुले न्युनतम भाडा तिरेर बसेका छन् । यी अधिकांश सम्पत्ति ०५० सालमा र केही ०५३ सालमा लिजमा दिइएका हुन् । ०६४ सालमा नेपाल ट्रष्ट बनेपछि ती सम्पत्ति राजा वीरेन्द्र र उनका परिवारका नामबाट ट्रष्टमा ल्याइएको थियो ।
० उसो भए कुन जग्गा कसले पाए बताइदिनुहोस् न ?
नेपाल ट्रष्टका नाममा करीव २२ हजार रोपनी जग्गा आए पनि मूल्य र ब्यापारिक प्रयोजनका हिसाबले सबैभन्दा महँगो र सबैको आँखा पर्ने भनेको दरबारमार्ग, लाजिम्पाट, कालिमाटी, कमलादी, छाउनीजस्ता ठाउँका जग्गामै हो । ती ठाउँमा रहेका बहुमूल्यवान र ब्यापारिक दृष्टिले महत्वपूर्ण जग्गा मूलतः चारवटा निजी कम्पनीले प्रयोग गरिरहेको पाइएको छ । कालिमाटीको टेकु गणेशमान पथमा अवस्थित चौतर्फी कम्पाउण्ड वालले घेरिएको १९ रोपनी १२ आना जग्गामा काठमाडौं बिजनेश कम्प्लेक्सका नाममा आधुनिक भवनहरु बनेका छन् । टाउन डेभलपर्स प्रालिले बनाएको बिजनेश पार्कले वर्षमा जम्मा ४० लाख रुपैया भाडा नेपाल ट्रष्टलाई बुझाइरहेको छ । कालिमाटी ताहचालस्थित सोल्टी होटल नजिक चार रोपनी चार आना जग्गा थामसेर्कु ट्रेकिङ प्रालिले लिजमा लिई भवन निर्माण गर्ने प्रक्रियामा रहेको छ । उसले लिएको ४ रोपनी ४ आना ३ पैसा जग्गाको लिज सम्झौता २०७४ मंसिर १४ मा भएको थियो । थामसेर्कुले संरचना निर्माण हुन्जेल ३ वर्षसम्म वार्षिक ६ लाख र निर्माण सकिएपछि वार्षिक ६१ लाखका दरले प्रत्येक ५ वर्षमा भाडा बढाउने सम्झौता भएको देखिन्छ ।कालिमाटीकै ताहाचलस्थित ३८ रोपनी १२ आना जग्गामा रहेका भवनमा भने सरकारी कार्यालयहरु रहेका छन् । जसमा सार्वजनिक खरिद अनुगमन कार्यालय, रेडक्रस, श्रम कार्यालय र गरिवी निवारण कोषका कार्यालयले वार्षिक ५२ लाख भाडा बुझाउँछन् ।
० अन्त्यमा काम गर्ने क्रममा के कस्ता चुनौतीहरु छन् ?
नेपाल ट्रष्टको नाममा आउन सक्ने सम्पत्तिको सम्वन्धमा सत्य तथ्य सूचना वा जानकारी दिई सहयोग पु¥याउने व्यक्तिलाई पुरस्कार दिन सकिने व्यवस्था ऐनमा नभएकोले सो विषयमा सहि सूचना दिने व्यक्तिहरुलाई पुरस्कृत गर्न नसक्दा पर्याप्त सूचनाको अभावले ऐनको उद्देश्य अनुरुप र जनमत अनुसारको सम्पतिको खोजविन कार्य प्रभावकारी हुन नसकेकोअवस्था छ । ऐनको दफा ४ को उपदफा (२) को खण्ड (क) र (ख) अनुसार नेपाल ट्रष्टको सम्पत्ति व्यापक र सर्वाेत्तम सार्वजनिक लाभ हुने गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रयोग गर्न सकिने व्यवस्था भए तापनि सो ऐनलाई कार्यान्वयन गर्न लागु भएको नेपाल ट्रष्ट नियमावली, २०६५ को नियम ३ मा शिक्षा र स्वास्थ्यको कुन कुन क्षेत्रमा के कति रकम दिने, त्यसका आधारहरु के के हुन भन्ने विषयमा स्पष्ट व्यवस्था नभई समितिले कार्यविधि बनाउन सक्ने व्यवस्था भएकोमा हाल कार्यविधि बनाई स्वीकृत भएकोले ट्रष्टको सम्पत्तिलाई ऐनको उद्देश्य अनुरुप शिक्षा र स्वास्थ्यका क्षेत्रमा लगानी गर्ने प्रकृया अधि बढाउन सहज हुन गएको छ तापनि पर्याप्त नरहेको स्थिति छ । नेपाल ट्रष्टको स्वामित्वमा आउनु पर्ने विदेशस्थित सम्भावित चल तथा अचल सम्पति खोजविनको सिलसिलामा ती देशका सम्वन्धित निकायलाई अनुरोध गरी पठाइएकोमा ती निकायहरुबाट ती देशका विज्ञ राखी खोजी कार्य गर्ने सुझाव प्राप्त भएकोमा त्यस्ता विदेशी विज्ञलाई प्रदान गर्नुपर्ने रकमबाट यस संस्थालाई आर्थिक भार बढी पर्ने र त्यस्तो रकमको व्यवस्था समेत नभएकोले विदेशमा रहेको वा हुन सक्ने संभावित सम्पत्तिको खोजविन हुन नसकेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published.