सामाजिक सुरक्षा कोष उत्कृष्ट छ

अन्तरवार्ता

विभिन्न क्षेत्रमा आवद्ध भएर श्रम गरिरहेका श्रमिकहरुको हितलाई ध्यानमा राखेर नेपाल सरकारले सञ्चालन गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषले पछिल्लो समयमा आफ्नो व्यवसायलाई तिव्र गतिमा विकास गर्दै लगेको छ । कोषले वर्षेनी रुपमा आफ्नो व्यवसायको आकार र क्षेत्रलाई पनी बिस्तार गरेको तथ्यांकले देखाएको छ । श्रमिक लक्षित गरेर ल्याइएका विभिन्न स्किमका कारण कोषको सकरात्मक विकास भएको कोषको दाबी छ । प्रस्तुत छ, सामाजिक सुरक्षा कोषको पछिल्लो अवस्था, कोषले किन बुझाउन सकिरहेको छैन, कोषसँग जोडिने आकर्षणहरु, सामाजिक सुरक्षा कोष अन्य कोषहरू भन्दा के कसरी फरक छ तथा भावी कार्यक्रमबारे कोषका प्रवक्ता विवेक पन्थीसँग तामाकोशी सन्देशले गरेको कुराकानीको अंशः
सामाजिक सुरक्षा कोषको पछिल्लो अवस्था कस्तो छ ?
सामाजिक सुरक्षा कोषमा अहिले ३ लाख २७ हजार श्रमिक आवद्ध छन् । अहिलेसम्म १५ अर्ब भन्दा धेरै रकम संकलन भएको छ । कोषमा आवद्ध हुनेहरुलाई विभिन्न ४ वटा स्किममा झण्डै १ अर्ब रकम भुक्तानी गरेका छौं । सुरुदेखि नै कोषले अनलाइनमार्फत रकम जम्मा गर्ने प्रणाली विकास गरेको थियो । पछिल्लो समयमा हामीले कल सेन्टरलाई थप व्यवस्थित गरेका छौं । हामीले स्किम अन्तर्गत भुक्तानी लिन आउनेलाई आजको आजै भुक्तानी दिने व्यवस्था मिलाएका छौं । अब हामीले नयाँ गर्न खोजेको कुराहरु भनेको कोषमा नियमित योगदान गर्नेहरुले दुर्घटना, औषधी उपचार, असक्तता, आश्रित परिवार, पेन्सन हुँदा आदि अवस्था बापत प्राप्त गर्ने सुविधालाई हामीले क्यासलेस र फेसलेस गरेर अगाडि बढाउन खोजेका छौं । परिक्षणको रुपमा हामीले १० वटा जति अस्पतालमा यो सेवा शुरु गरेका छौं । भनेको कोषमा योगदान गर्नेहरुले औषधी उपचार गर्न जाँदाखेरी कोषमा एमओयु गरेका अस्पतालहरुमा कार्ड देखाएर उपचार गरेर हिँड्न पाउनुहुन्छ । जेठ लागेपछि यसलाई हामीले औपचारिक रुपमा मन्त्रीज्युबाट सुरुवात गर्दैछौं । कामको सिलसिलामा भएको दुर्घटनामा सम्पुर्ण उपचार खर्च र कामको शिलशिला भन्दा बाहिर भएको दुर्घटनाको ७ लाख सम्मको खर्च कोषले नै व्योहोर्छ भने अन्य विमारी भएको अवस्थामा कोषले १ लाखसम्मको उपचार खर्च व्योहोर्ने गर्दछ ।
० कोषले किन बुझाउन सकिरहेको छैन त ?
पक्कै पनि आमसर्वसाधारणले जुन रूपमा बुझ्नुपर्ने हो । त्यसो हुन सकेको छैन । तैपनि हामीले विभिन्न निकाय र व्यक्तिबाट प्रतिक्रिया लिने क्रम जारी राखेका छौं । कार्यविधिमा समेटिनुपर्ने विषय यकिन हुँदै गएका छन् । यसअघि आउने गरेका गुनासाका तुलनामा अहिलेका गुनासा कम हुँदै गएका छन् । यसले गर्दा कोषले परिकल्पना गरेका उद्देश्य पूरा गर्न सहज हुँदै गएको छ ।
० कोषले आफ्नो बिजनेसलाई तिव्रताकासाथ अगाडि बढाइरहेको छ । खासमा अहिले कोषसँग जोडिने आकर्षणहरु चाहिँ के के छन् ?
दुर्घटना बापतको सम्पुर्ण उपचार खर्च र कोषमा आवद्ध व्यक्तिको मृत्यु भएमा आश्रित परिवारले पाउने पारिश्रमिक बराबरको पेन्सन सुविधा जस्ता कुराहरु अन्यत्र रहेको अवस्था छैन् । कोषले लागु गरेको सुविधा श्रम ऐनमा भएको व्यवस्था हो । हामीले उपलब्ध गराइरहेको दुर्घटना, उपचार, वृद्ध अवस्था, पेन्सन, आदि लगायतका प्याकेज आकर्षक रहेका छन् । यसभन्दा अगाडि जो कर्मचारी संचय कोषमा आवद्ध हुनुभएको थियो, उहाँहरुलाई सामाजिक सुरक्षा कोषमा आउँदा उहाँहरुको भुक्तानी सुविधा दिने निर्णय सो कोषले गरेकाले पनि सहजता भएको छ । रोजगारदाताले कोषमा आवद्ध भइसकेपछि रोजगारदाताको दायित्व त श्रम ऐनले गरेको छ । सामाजिक सुरक्षा कोषमा रोजगारदाता जोडिने वित्तिकै उहाँहरुले पुरा गर्नुपर्ने दायित्व कोषमा आइपुग्छ । जसले गर्दा रोजगारदातालाई सहजता हुन्छ । अर्को, नेपाल सरकारले सामाजिक सुरक्षा कोषलाई अहिलेसम्म ६ महिनाको बराबर रकम प्रदान गरिसकेको छ । भन्नाले यो कोषमा आवद्ध हुँदा सरकारले पनि अप्ठ्यारो परिस्थितिमा हेर्ने गर्दछ । कोषमा आवद्ध हुँदा रोजगारदातालाई सोसियल सेक्युरिटी ट्याक्स बापत लाग्ने १ प्रतिशत नलाग्ने र श्रमिकहरुले ५ लाखसम्म ट्याक्स सुविधा पाउने जस्ता व्यवस्था समेत रहेको छ । जुन सुविधाहरु अन्यत्र नभएको कारणले कोषमा थप आकर्षण बढ्न गएको छ । तथ्यांकले पनि कोषमा योगदानकर्ताहरुको संख्या क्रमशः बढ्दै गएको देखाउँछ ।
० सामाजिक सुरक्षा कोष अन्य कोषहरू भन्दा के कसरी फरक छ ?
अन्य कोष बचतलाई प्रोत्साहन गर्न स्थापना गरेको देखिन्छ । तर सामाजिक सुरक्षा कोष श्रम ऐनमा भएका व्यवस्था तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐनमा भएका व्यवस्थालाई श्रमिकको हकहितमा कार्यान्वयन गर्न स्थापना गरिएको हो । सामाजिक सुरक्षा कोषले श्रमिकको जन्मदेखि मृत्युपर्यन्त आइपर्ने विभिन्न जोखिम वहन गर्छ, जसले गर्दा श्रमिकले ढुक्क भएर काम गर्ने वातावरण बनाउँछ । श्रमिक समस्यामा पर्दा आश्रित परिवारलाई आर्थिक रूपले अप्ठ्यारो हुन दिँदैन । साथै काम गर्ने उमेर ढल्केपछि पनि कोषले व्यक्ति बाँचुन्जेल आर्थिक रुपमा निरन्तरतामा सघाउँछ । कोषले दिने सुविधा असीमित छन् । कोषका सुविधा आजीवन दिने खालका छन् । कोषले पेन्सन दिने योजना ल्याएको छ, जुन सुविधा अन्यमा छैन । कथंकदाचित् दायित्व वहन गर्न कोषमा भएको रकमले पुगेन भने राज्यले त्यसको जिम्मेवारीसमेत लिने व्यवस्था छ । त्यसैले यो अन्य कोषहरूभन्दा नितान्त फरक छ ।
० कोषबाट योगदानकर्ताले पाउने सुविधाहरु के–के छन् बताइदिनुस् न ?
कोषबाट पाउने सुविधाको सन्दर्भमा भन्न्पर्दा अन्य कोषको तुलनामा यो कोष बिल्कुलै नयाँ हो । हामी सुरुवातीे अवस्थामा छौं । यो कोषको अवधारणा अरुको भन्दा धेरै फरक छ । यस कोषले आईएलओको ९ वटा योजनामध्ये ४ वटा योजना (स्किम) ल्याएको छ । तर, कोषले ल्याएको ४ वटा स्किमले आईएलओको ७ वटा स्किमलाई समेटेको छ । ४ योजनामध्ये पहिलो स्किम भनेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना हो । दोस्रोमा दुर्घटना तथा अशक्तता स्किम भन्ने छ । यसभित्र दुर्घटना तथा अशक्तत्ता २ वटा स्किमहरु रहेका छन् भने कार्यालयभित्रको कामको सिलसिलामा भएको दुर्घटना र अन्य अवस्थामा भएको दुर्घटना गरि यसलाई पनि २ भागमा बाँडिएको छ । कार्यालयको कामको दौरानमा भएको दुर्घटनाको सम्पूर्ण उपचार खर्च कोषले व्यहोर्छ । यो स्किम हालसम्म कुनैपनि बीमा कम्पनी र कोषले ल्याएका छैनन् ।दुर्घटनापछि अशक्ततालाई पनि तीन प्रकारमा विभाजन गरिएको छ । जसमा अस्थायी अशक्तता, स्थायी अशक्तता र आंशिक असक्तता भनेर छुट्याइएको छ । अशक्तता भन्नेबित्तिकै योगदानकर्ता बिरामी भएर वा दुर्घटनामा परेर काममा फर्कन नसक्ने बुझ्नुपर्छ । श्रमिक काममा नर्फकिएको अवधिभर उसको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम हरेक महिना अशक्तत्ता वद्धि भनेर कोषले दिन्छ । यो स्किम पनि हालसम्म कुनैपनि बीमा कम्पनी वा अन्य कोषहरुले ल्याएका छैनन् । यस्तै, अर्को आश्रित परिवार सुरक्षा योजना रहेको छ । यसमा योगदानकर्ताको आश्रित परिवारलाई दिने सुविधाका योजना छन् । यो स्किमले कसले कति पैसा कोषमा जम्मा गरेको छ भन्दैन । कोषमा आवद्ध भएदेखि नै सुविधा दिन सुरु गर्छ । भवितव्य कसेको मृत्यु भएमा कोषले मृतकको परिवारलाई शवको दाहसंस्कारबापत २५ हजार रुपैयाँ, मृतकले जम्मा गरेको रकम र उसले कमाएको समेत जोडेर एकमुष्ट कोषले मृतकको परिवारलाई दिन्छ । यसका साथै कोषले योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशतले हुन आउने रकम आश्रित परिवारलाई आजीवन पेन्सनको रुपमा प्रदान गर्छ । यति मात्र नभएर कोषले योगदानकर्ताको बच्चाका लागि पनि सुविधा दिएको छ । यदि १ जना बच्चा भएमा ४० प्रतिशतको दरले र २ वटा भए ६० प्रतिशत गरी हरके सन्ततिलाई हरेक महिना शैक्षिकवृद्धि भनेर कोषले उपलब्ध गराउँछ । यो सुविधा पनि अहिलेसम्म कुनैपनि कोषले ल्याएका छैनन् । यसरी कोषले १५ वर्षसम्म योगदानकर्ताको पैसा जम्मा गरेर ६० वर्ष उमेर कटेपछि उपदान स्वरुप रकम प्रदान गर्छ ।
० अहिले पनि धेरै ठूला रोजगारदाता कम्पनीहरु कोषमा आवद्ध भएका छैनन् भन्ने सुनिन्छ । उनीहरुलाई कोषमा आवद्ध गर्न नसकिएको हो ?
अहिले पनि धेरै कम्पनीहरुले सरकारले तोकेबमोजिम न्यूनतम पारिश्रमिक पनि श्रमिकलाई दिइरहेका छैनन् । सरकारले तोकेबमोजिम जुन जुन कम्पनीले न्यूनतम पारिश्रमिक दिएका छैनन् उनीहरु नै कोषमा आउन सकिरहेका छन् । सामाजिक सुरक्षा कोषमा आबद्ध हुनलाई त कर्मचारीलाई न्यूनतम पारिश्रमिक दिनैपर्छ । यद्यपि, श्रमिकलाई आधारभूत पारिश्रमिक पनि नदिने संघसंस्थाहरुको संख्या धेरै नै छ । त्यस्ता संस्थाहरुलाई त कोषमा ल्याउन यत्तिकै आवश्यक छ । अर्को कोषमा आबद्ध नहुने जसले आफ्ना कर्मचारीहरुलाई अत्यधिक धेरै पारिश्रमिक दिएर राखेका छन् । कोषमा आवद्ध भएपछि त्यस अनुसारको कर सरकारलाई बुझाउनै पर्छ । सुविधा पनि यहाँ आउँदा आधारभूत मात्रै पाउँछन् भने संस्थाले बढिदिएका हुन्छन् । कर्मचारीलाई तलब बढी दिएर कोषमा आबद्ध हुन सबैभन्दा गाह्रो बैंकलाई भएको छ । हालसम्म ७, ८ ओटा वाणिज्य बैंक मात्रै कोषमा आबद्ध भएका छन् ।
० सामाजिक सुरक्षा कोषका निम्ति के कस्ता चुनौतीहरु रहेका छन् ?
योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा सबै श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिको आबद्धता बढाउनु चुनौतीपूर्ण रहेको छ । सम्बन्धित क्षेत्रमा औपचारिक तथा अनौपचारिक रोजगारी एवम् स्वरोजगार तथा वैदेशिक रोजगार रहेका सबै व्यक्तिहरूको तथ्याङ्क यकिन गर्ने कार्य समेत त्यत्तिकै महत्वपूर्ण छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्बन्धी व्यापक प्रचारप्रसार गरी सबै लक्षित वर्गलाई आकर्षित गर्नु पनि उत्तिकै चुनौतीपूर्ण छ । योगदानमा आधारित सामाजिक सुरक्षालाई आर्थिक सामाजिक विकासका अन्य क्षेत्रका नीति तथा कार्यक्रमहरूसँग आबद्ध गर्ने कार्य कठीन रहेको छ । पूर्ण र उत्पादनशील रोजगारीको सिर्जना गरी सामाजिक सुरक्षा प्रणालीमा आबद्धतालाई निरन्तरता कायम गर्ने कार्य चुनौती छ । यस्तै, अर्थतन्त्रमा आउने उतारचढावसँगै वित्तीय, मौद्रिक र आर्थिक परिवर्तनका बीच कोषको वित्तीय दिगोपना सुनिश्चित गर्ने कार्यसमेत महत्त्वपूर्ण छ । योगदानमा आधारित सामाजिक सुरक्षामा निजी क्षेत्रको आबद्धता पुँजी बजारको गतिशीलता र संस्थागत सुशासनको अभिवृद्धि गर्दै सामाजिक सुरक्षा प्रणालीलाई सवल र दिगो बनाउने कार्य पनि चुनौतिपूर्ण रूपमा रहेको छ । अनौपचारिक तथा स्वरोजगार क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा आवद गर्दै औपचारिक क्षेत्रको विस्तार गर्ने कार्य चुनौतिपूर्ण रहेको छ । यसैगरी योगदान दरलाई क्षमतायुक्त र समतामूलक बनाइ दिगो रूपमा वित्तीय सुनिश्चितता कायम गर्न चुनौती छ । योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी कानूनको पूर्ण कार्यान्वयनका लागि स्पष्ट र समयबद्ध कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने अर्काे चुनौती छ । साथै विगतमा प्रतिष्ठानहरूले सञ्चालन गरेका अवकाश कोषको व्यवस्थापन गर्ने थप चुनौती पनि रहेको छ ।
० कतिपय मान्छे कोषबाट पाउने सुविधा झन्झटिलो छ भन्छन् । त्यो सत्य हो ?
होइन । कोष ‘क्यासलेस’ प्रणालीमा गइसकेको छ । जो कोही दाबीका लागि कोषमा आउनैपर्दैन । अनलाइनबाट आवश्यक सबै कागजपत्र लिएपछि सम्बन्धित बैंकमा रकम जम्मा हुन्छ । सबै योजनाका लागि अनलाइनबाटै काम हुन्छ । केही अघिसम्म औषधि उपचारका लागि केही बिल आउने गर्थ्यो । तर अहिले त्यसलाई पनि अनलाइन गरिएको छ । अब कोषबाट पाउने सुविधामा कुनै समस्या छैन । बरु नियमित रूपमा कोषमा जम्मा गर्नेले म्याद सकिएको १५ दिनभित्र रकम जम्मा गर्नुपर्छ । १५ दिनभित्र कोषमा जम्मा नगरे किस्ता नियमित हुँदैन । किस्ता नियमित नभएको अवधिमा कुनै घटना भयो भने कोषबाट प्राप्त हुने सुविधा योगदानकर्ताले पाउन सक्दैनन् । त्यसैले यस्तो समस्याबारे योगदानकर्ता र रोजगारदाताले बुझ्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.