नेपाली जनताले धेरै आशा राखेको आयोजना हो हुलाकी राजमार्ग

अन्तरवार्ता

ई. धमेन्द्रकुमार झा
आयोजना प्रमुख
हुलाकी राजमार्ग आयोजना
हुलाकी राजमार्ग आयोजना टेकुस्थित आयोजना निर्देशक छन् ई. धमेन्द्रकुमार झा । उनै झासँग हामीले हुलाकी राजर्मागको कार्य, के कस्ता काम भइरहेको छ, सोचेजस्तो किन काममा तीव्रता हुन सकेन, काम गर्ने क्रममा देखिएका समस्याहरू आदिको सेरोफेरोमा तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेका कुराकानीको कुराकानी गरेका छौँ । सोही कुराकानीको अंशः

हुलाकी राजमार्गमा तपाइले नेतृत्व गरेपछि के कस्ता सुधारका कामहरु भएका छन् ?
तराई मधेसको समृद्धिको आधारका रूपमा हेरिएको हुलाकी राजमार्ग हालसम्म ७२ निर्माण भएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो राजमार्ग अबको दुई वर्षमा सम्पन्न हुने छ । आयोजनाअन्तर्गत हालसम्म झण्डै नौ सय किलोमिटर सडक कालोपत्र भएकामा अहिले साढे पाँच सय किमीका लागि ठेक्का आह्वान भएर काम अघि बढेको छ । चालु आवमा डेढ सय किमी काम काम हुने छ । पूर्व पश्चिम सडकमा झण्डै एक सय किमी र उत्तर र दक्षिणतर्फ झण्डै ५० किमी कालोपत्र गर्न बाँकी छ । अहिले काम भइरहेकामा कतिपय ठाउँमा ‘स्ट्रक्चर’ कतै ग्राभेल कतै ‘बेस’ भइसकेको छ । ‘झापा–मोरङसम्ममा बेस भएको छ र कालोपत्र गर्न बाँकी छ । बेसको काम भइसकेका ठाउँमा आगामी वर्ष काम सकिनेछ ।
आयोजनाअन्तर्गत पूर्व पश्चिम जोड्ने सडकसँगै १० सहायक सडक छन् । समग्र आयोजनाको झण्डै दुई सय ५० किमी सडक र पूर्व पश्चिमको डेढ सय किमी सडक ठेक्का प्रक्रियामा जान बाँकी छ । यी खण्डमा यो वर्ष ठेक्का आह्वानका लागि प्रक्रियामा रहेको र अनुकूल भएपछि प्रक्रिया अघि बढाइने छ भने निकुञ्ज र वन क्षेत्रमा स्वीकृति आएपछि प्रक्रिया अघि बढाउन सकिने छ । चितवन राष्ट्रिय निकुञ्जको नवलपुरबाट सुस्ता पूर्वसम्म, कपिलवस्तु दाङ बाँकेसम्मको खण्डमा ठेक्का गर्न बाँकी छ । बाँके र बर्दिया जोड्ने ३१ किमी लामो नेपालगञ्ज गुलरिया सडक गत बुधबार शिलान्यास भएको थियो । ठेक्का आह्वान गर्न बाँकी खण्डमा प्रक्रियामा जान सकिने छ । इआइए र डिपिआर भइसकेको छ । अब ठेक्का अघि बढाइनेछ । ठेक्का आह्वान गर्न बाँकी डेढ सय किमीमा नै वातावरणीय अध्ययन स्वीकृत भएको छ । बहुवर्षीय ठेक्कामा जान स्रोत सुनिश्चित गर्न पनि बाँकी रहेको र त्यसका लागि पनि प्रक्रिया अघि बढाइएको छ। निकुञ्ज र वन क्षेत्रमा वातावरणीय असर पुग्ने भन्दै निर्माण अघि बढाउन सहमति नभएपछि विगतदेखि नै वन क्षेत्रको विकल्प खोज्न छलफल भएको थियो ।

अहिले दाङ र बाँकेको कल्याणपुर रुपडिया राजपुर जङ्गल क्षेत्र भएकाले वैकल्पिक मार्गका विषयमा छलफल भइरहेको छ । सडक र पुल दुवै सम्पन्न हुन अब दुई वर्ष लाग्ने छ । जम्मा दुई सय ५० पुल निर्माण गर्नुपर्नेमा हालसम्म एक सय २५ वटा सम्पन्न भएको छ । झण्डै ८०÷९० पुल निर्माणाधीन छन् भने अझै पनि ४०÷५० पुल ठेक्कामा जान बाँकी छ । विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइसकेकाले अब प्रक्रियामा जान सकिने छ । विगतका वर्षहरूमा कोभिडका कारण काममा बाधा पुगेकाले पनि अवधि थप भएको छ । आयोजनामा पहिले धेरै रुग्ण पुल रहेकामा अहिले कम भइरहेको छ । रुग्ण पुलका अवधि थप गरेर काम भइरहेको छ । चालु आवमा रुग्ण पुलको निर्माण सकिने तर कन्काई पुल, कान्द्रा, बिरिङ, कमला पुललगायत १० वर्ष पहिले शुरु भएका पुलहरू नै सम्पन्न गर्न बाँकी छ । सार्वजनिक खरिद नियमावलीको बाहैँ संसोधन बमोजिम काम हुनसक्ने देखिएको सबै ठेक्काको अवधि असारसम्म थप गरिएको छ । रुग्ण ठेक्कामा यो अवधिमा यति प्रगति गर्नुपर्ने भनी तोकिएको छाए । ‘तीन महिना र छ महिनामा यति यति गरिसक्नुपर्ने भनी निर्धारण गरिएको छ ।

अवधि असारसम्म भएपनि काम नगर्दा तोड्ने प्रक्रियामा अहिले पनि जान सकिन्छ ।
विगतमा कतै निर्माण व्यवसायीका कारण, कतै कोभिडका कारण त कतै निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा काम नगर्ने व्यवसायीको निर्णय (कन्सट्रक्सन होलिडे) का कारण निर्माणमा बाधा पुगेको थियो । विगत वर्षहरूमा कोभिडका कारणले पनि निर्माणमा अवरोध पुगेको थियो । कतिपय स्थानमा निर्माण व्यवसायीले काम नगरेर ढिलाई भएको थियो । ‘कन्सट्रक्सन होलडे’ को समयमा कतिपयले गरेपनि अन्यले गरेका थिएनन् । आयोजनामा गत आवमा शतप्रतिशत प्रगति थियो । एक सय ४६ किमी सडक कालोपत्र गर्ने लक्ष्य रहेकामा १५० किमीमा कालोपत्र भएको थियो । सोह्रवटा पुल निर्मार्ण गर्नुपर्नेमा १४ वटा निर्माण भएको आयोजनाले जनाएको छ । सो आयोजनाले आब २०६५÷६६ मा निर्माण शुरु गरेर आव २०७४÷७५ मा सम्पन्न गर्ने लक्ष्य लिएको थियो तर पछि त्यसलाई संशोधन गरेर आव २०७९÷८० पु¥याइएको थियो ।

राणाकालमा चिठ्ठी आदानप्रदानका लागि प्रयोग हुने भारतीय सीमा नजिकैको सडकलाई नै डेढ दशक पहिले हुलाकी राजमार्ग नामाकरण गरिएको थियो । उक्त राजमार्ग पहिले हुलाकी पुल आयोजनाका रूपमा थियो ।पहिले भारत सरकारले सबै सडक अनुदानमा निर्माण गर्ने र पुल सरकारले बनाउने सम्झौता भएको थियो । विसं २०६५÷६६ मा भएको समझदारीमा भारतीय प्राविधिक र निर्माण व्यवसायी उताबाट आएर बनाउने उल्लेख थियो । पछि विभिन्न कारणले त्यो ‘मोडालिटीमा’ काम हुन सकेन । भारतीय पक्ष बीचैमा छाडेर फर्किएपछि आव २०७३÷७४ मा हुलाकी राजमार्ग आयोजना निर्देशनालय बनेर हुलाकीको पूर्व पश्चिम सडकसँगसँगै ‘फिडर रोड’ अघि बढाइएको थियो ।

हुलाकी राजमार्गमा बजेटको अवस्था कस्तो छ ?
हुलाकी राजमार्गमा काम गर्नको लागि बजेटको कुनै समस्या छैन् । बजेट राम्रो छ । सरकार, मन्त्रालय र विभागले राम्रो बजेट विनियोजन गरेको छ ।

जनशक्तीको अवस्था कस्तो छ ?
जनशक्ती पनि हाम्रो राम्रो छ । अन्य सरकारी निकायमा जस्तो कर्मचारीहरुको अभाव हाम्रो हुलाकी राजमार्गमा छैन् ।

सडक विभाग मातहतमा रहेको हुलाकी राजमार्ग भनेको के हो, यसले के कस्ता काम गर्दछ बताइदिनुहोस न ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गको समानान्तर करिब २० देखि ३० किमी दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो । राणा प्रधानमन्त्री भएका बेला हुलाकीहरुलाई चिठ्ठी आदानप्रदान गर्न सहज हुने अभिप्रालये शुरु गरेकोले यस राजमार्गको नाम हुलाकी राजमार्ग रहन गएको हो । यो तराई मधेशका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो । धेरैलाई हुलाकी राजमार्ग पूर्व पश्चिम मात्र फैलिएको भन्ने छ तर महेन्द्र राजमार्गबाट तराईका सदरमुकाम, पुराना शहर र बजार केन्द्रहरु जोडने ३२ वटा उत्तर दक्षिण सहायक मार्गहरुलाई पनि हुलाकी राजमार्ग भनिन्छ । यो राजमार्ग पूर्वबाट पश्चिमतर्फ लगातार नभएर सुनसरीको लौकी देखी सप्तरीको भारदह, चितवको भरतपुर देखि नवलपरासीको दुम्कीबास, कपिलवस्तुको खरिन्दापुरदेखी दाङको भालुवाङका साथै दाङ, बाँके र बर्दियाका केहि जंगल÷निकुन्ज क्षेत्रहरुमा महेन्द्र राजमार्गसंग ओभरल्याप भएको छ । धनुषाको जनकपुरबाट यदुकुवा जोडने १७ किमी सडक त पूर्व पश्चिम हुलाकी राजमार्गकै समानान्तर समेत रहेको छ । पूर्व–पश्चिम र उत्तर दक्षिण सहायक मार्ग गरेर हुलाकी राजमार्गको कुल लम्वाई १७९२.४२ किमि रहेको छ । हुलाकी राजमार्गको निर्माणले करिब ८० लाख तराईवासीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन । हुलाकी राजमार्ग सम्बन्धी विस्तृत चर्चा तलको खण्डमा गरिएको छ ।

हुलाकी राजमार्ग निर्माणका क्रममा के कस्ता चुनौतीहरु देख्नु वा भोग्नु भयो ?
हुलाकी राजमार्गको सबैभन्दा ठूलो चुनौती भनेको पछिल्लो पटक तोकिएको म्यादभित्र निर्माण सम्पन्न गर्नु नै हो । मुलुककै सबैभन्दा जेठो यस राजमार्गले राणा शासनदेखि गणतन्त्रसम्म आईपुग्दा विभिन्न कालखण्ड पार गर्दै करिब ७५ वर्ष पार गरिसकेको छ भने यति लामो समयसम्म समेत यस्तो रणनैतिक र दिर्घकालिन महत्व राख्ने र सम्पूर्ण तराई मधेशकै कायापलट गर्न सक्ने सडक आयोजना सम्पन्न हुन नसक्नु भनेको तराईवासीको मात्र नभएर सम्पूर्ण देशकै लागि ठूलो विडम्वना हो । हुलाकी राजमार्गलाई तराईका सिमावर्ती पुराना जिल्ला सदरमुकाम, नगरपालिका, बजार केन्द्रहरु र ग्रामीण वस्तीहरुलाई जोडदै पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म विनाअवरोध चल्न सक्ने तराई मधेशको वैकल्पिक राजमार्ग र लाईफलाईन रुपमा हेरिए पनि कहि स्थानहरुमा यो राजमार्ग टुक्रिने संभावना रहेको देखिन्छ । चितवन निकुन्जको अमुवा पोष्टदेखी रिउ खोलासम्मको सेक्सनमा डिटेल सर्भे गर्ने अनुमति हालसम्म प्राप्त हुन सकेको छैन । वातावरण र वन्यजन्तु संरक्षणकर्मी÷विद्वहरु समेत यसको खिलाफमा रहेकोले पनि हुलाकी राजमार्ग चितवन लगायत दाङ र बाँके बर्दियामा पर्ने निकुन्ज र वन क्षेत्रहरुमा टुक्रिन सक्ने प्रवल संभावना रहेको छ । यी क्षेत्रहरुमा खासै वस्तीहरु समेत नभएकोले यसको विकल्पमा हुलाकी राजमार्गका उत्तर दक्षिण सहायक राजमार्ग हुँदै पुनः पुरानै पूर्व पश्चिम राजमार्गमा निस्केर यात्रा गर्नुपर्ने हुनसक्छ । नेपाल र भारतका दुई देशीय सम्झौताको झमेला, राजनैतिक खिचातानी, ठेकेदारहरुको लापारवाही र ढिलासुस्ती, मापलोत तथा नापी कार्यालयहरुबाट सहयोग प्राप्त नहुदा मुआव्जा वितरणमा हुने ढिलाई, बेला बेलामा हुने निर्माण सामाग्रीको अभाव, राजनैतिक बन्द हडताल, नाकाबन्दी तथा अन्य प्रशासनिक कमजोरी समेतले हुलाकी राजमार्ग समयमै सम्पन्न गर्न चुनौतीहरु खडा भएका छन् ।

अब सडकको कुरा गरौँ, सडक निर्माण भएलगत्तै भत्कन सुरु हुन्छ, गुणस्तरमा ध्यान नदिँदा यस्तो भएको हो ?
वर्षभरिमा पिच टाल्नका लागि हामीले सीमित बजेट आएको हुन्छ । यस आर्थिक वर्षभरि सडक टाल्ने बजेट हामीले ‘बिमिस्टेक’ सम्मेलनको क्रममा नै सकिसक्यौँ । अब बजेट छैन । खानेपानी ढललगायत निकायले खन्दै जाने हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरूले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नुप¥यो । सडकलाई राम्रो अवस्थामा राख्नका लागि पुराना पाइपहरू नै बाधक हुन् । त्यस्तै, एउटा बिग्रियो भन्दैमा सबैलाई पनि खोट लगाउन मिल्दैन । निर्माण गर्दा डण्डी, छड तथा अन्य कुराहरू कस्तो प्रयोग गरिएको छ त्यसमा भर पर्छ यस्तै कारणले गर्दा कहिँकतै प्रश्न उठेका हुन् ।

 हुलाकी राजमार्ग प्रति आम तराईवासीको के कस्तो धारणा रहेको छ ?
वर्षौँदेखि तराईका जनताले केन्द्र सत्ताले आफुहरुलाई विकास निर्माणमा पछी पारेको, हेपेको र तराई मधेशको विकास प्रति राज्य उदासिन र गैरजिम्मेवार रहेको आरोप लगाउदै आएका थिए । महेन्द्र राजमार्गको निर्माणले उनीहरुले पालेको यो सोंचलाई अझ बढि दृढ बनायो र राज्यप्रति असन्तुष्टिलाई समेत मलजल गर्ने काम ग¥यो । तर हुलाकी राजमार्गको पक्की सडक आफ्नो घरआगँन र टोलसम्म आईपुग्न थालेपछी राज्य र केन्द्र सत्ता प्रति तराईका जनताहरुको सोंचमा क्रमश परिवर्तन आउन थालेको छ । हुलाकी सडकको पहुँचसँगै दैनिक जनजिवीकामा परेको सकारात्मम प्रभावले राज्यप्रतिको अपनत्व बोध समेत देखिन थालेको छ । हुलाकी राजमार्गको निर्माणमा तराईका राजनैतिक व्यक्तित्व, समाजसेवी, पत्रकार र बुद्धिजीविहरुले विभिन्न लेखहरु मार्तफ हुलाकी राजमार्गको निर्माणमा निरन्तर खबरदारी गरिरहेका छन । नागरिक स्तरबाट समेत हुलाकी राजमार्ग संघर्ष समिति र विभिन्न कार्यक्रमहरु मार्फत राज्यलाई झकझक्याउने काम भैहरेको छ ।

हुलाकी राजमार्गले तराईवासीमा ल्याएको यो सकारात्मक सोंच र उर्जा एउटा सुखद परिणाम हो जसले प्रभाव क्षेत्रिय राजनीति र तराईको सामाजिक आर्थिक विकासमा चिरकालसम्म रहिरहने छ ।ढिला भएपनि हुलाकी राजमार्गको निर्माणले गति लिएको छ । निर्माण सम्पन्न भएका खण्डहरुमा यसको सामाजिक आर्थिक प्रभाव देखा पर्न थालिसकेको छ । महेन्द्र राजमार्गको निर्माण पश्चात सुनसान भएका सिमावर्ती तराईका बजार र शहरहरुमा आर्थिक चहलपहल शुरु भएको छ भने स्थानीय जिवनस्तरमा समेत स्तरोउन्नती भएको छ । केहि वर्ष अगाडीसम्म लामो धुले र ग्राभेल सडक हिडेर जानुपर्ने ठाउहरु अब पक्की सडकले जोडिएका छन । हुलाकी राजमार्गको अभावले एक जिल्लाबाट अर्को जिल्ला जाँदा या आफ्नै जिल्लाको सदरमुकाम र मुख्य शहर÷बजार जानुपर्दा महेन्द्र राजमार्ग भएर लामो र घुमाउरो बाटो तय गर्नुपर्ने झंजटबाट तराईवासीहरु क्रमश मुक्त हुन थालेका छन् । आफ्नो खेतबारीमा उत्पादन भएका कृषि उपजहरुले सहज रुपमा बजारसम्म पहुँच पाउन थालेका छन् । सडक र यातायातको सहज पहुँच नहुँदा भारतीय सीमा नजिक पर्ने हुलाकी राजमार्गको दक्षिणी भेगका किसानहरु आफ्नो उत्पादन बेच्नबाट वन्चित थिए ।

नजिकैको हाटबजार भारतमा पर्ने भएकाले कडा सुरक्षा निगरानीका कारण दूध, दही, घिउलगायत कृषिका अन्य उत्पादन ती हाटबजारमा बेच्न लान निक्कै झन्झट व्यहोर्नु अवस्था थियो । तर हुलाकी राजमार्गको निर्माणसंगै अब ग्रामीण भेगका किसानहरुको तराईका बजार केन्द्र र ठूला शहरहरुसम्म सहज पहुँच स्थापित हुन थालेको छ । राजमार्गको पहुँचसगै हुलाकी कोरिडोरका ग्रामीण भेगमा घरेलु तथा साना उद्योगहरुको संख्या क्रमश बढन थालेको छ । स्वास्थ्य र शिक्षा जस्ता सेवाहरुमा ग्रामीण भेगका वासीन्दाहरुको सहज पहुँच स्थापित हुँदै गैरहेको अवस्था छ । तराई मधेशका ५५% खेतियोग्य उर्वर भूमी, वनजंगल, ऐतिहासिक साँस्कृतिक धरोधरहरुका साथै ६० प्रतिशत भन्दा बढी उद्योग कलकारखानाहरु हुलाकी राजमार्ग कोरिडोर मै रहकोले यसको निर्माणले तराई मधेशको मात्र नभएर समग्र देशकै आर्थिक उन्नती र समृद्धिमा महत्वपूर्ण योगदान पुग्नेछ ।

Leave a Reply

Your email address will not be published.