प्रचण्ड र शेरबहादुर देउवाले भन्दैमा सबैले गठबन्धनमा भोट हाल्छन् भन्ने छैन : भगवती ढकाल

अन्तरवार्ता राजनीति

भगवती ढकाल, काठमाडौं क्षेत्र नं. २, उम्मेदवार, प्रतिनिधिसभा सदस्य, स्वतन्त्र

माओवादी जनयुद्धबाट खारिएकी नेतृत्व हुन् भगवती ढकाल । सिन्धुपाल्चोककी भगवती ढकाल माओवादी जनयुद्धकाताका महत्वपूर्ण भूमिका निर्वाह गरेकी युवा नेतृ हुन् । माओवादी पार्टी जनयुद्धमा रहँदा उनले उपत्यकाभित्रका आन्दोलनलाई रक्षात्मक तरिकाले कसरी अगाडि बढाउने भन्ने बारे बढो चलाखीपूर्ण ढंगले कमान्ड गर्दै आएकी थिइन् । नेतृ ढकालले माओवादीका पछिल्ला गतिविधिलाई लिएर पार्टीप्रति वितृष्णा छाएको र पार्टीका नेताहरु सिद्धान्त र निष्ठाप्रति गद्दारी हुँदै गएकोले आफू पार्टी त्यागेर स्वतन्त्र भएको बताएकी छिन् । उनले आगामी मंसिर ४ गते हुने आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएकी छिन् । उनै नेतृ ढकालसँग आमनिर्वाचन र पार्टीका गतिविधिकामा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको उम्मेदवारी के का लागि हो ?
मेरो उम्मेदवारीको सन्दर्भमा भन्नुपर्दा हिजो हामी पुरानो सोचबाट देशलाई परिवर्तन गर्नुपर्छ भनेर माओवादीमा लागेर हिंड्रयौं । संकटकालका बेला ज्यान बाजीमा राखेर माओवादीलाई सहयोग गरियो । हिजो हामी माओवादीमा देश परिवर्तन हुन्छ भनेर लागेका थियौं । तर, आज आएर त्यो पार्टीबाट धोका भयो । त्यसकारण अब माओवादीबाट देश परिवर्तन हुने छाँट देखिएन । यसलाई पनि परिवर्तन गर्ने हो कि हामी लागिपरेका छौं । त्यो नयाँ परिवर्तनका लागि आगामी मंसिर ४ मा हुन गइरहेको आमनिर्वाचनमा काठमाडौं क्षेत्र नं. २ बाट प्रतिनिधिसभाको सदस्यको लागि मैले स्वतन्त्र उम्मेदवारी दिएकी छु । मेरो चुनाव चिन्ह ‘सूर्यमुखी फूल’ रहेको छ ।

माओवादीमा त्यति ठूलो दुःख गरेको व्यक्ति किन स्वतन्त्रबाट उठ्नुभयो त ?
हिजो हामी जुन आशा, विश्वास र भरोसाका लागि माओवादीका लागेका थियौं । आज आएर त्यसको ठ्याक्कै उल्टो परिवारवाद, पैसावाद, आसेपासे, आफ्ना वरिपरि घुम्ने हुक्केबैठके र पैवालालाई खाँची च्याप्न शीर्ष नेताहरु उन्मुख भए । हिजो युद्ध लडेका, अङ्गभङ्ग भएका, परिवार गुमाएका र पार्टीका इमानदारलाई पाखा लगाउने काम भयो । पार्टीले पछि आएका धनीमानीलाई केन्द्रीय स्तरतिर लाने । जो युद्ध लड्दा लागेका गोली शरीरमा बोकेर हिडेका पीडितहरु छन् तिनीहरुको उपचारसम्म भएको छैन । यस्तो स्थिति भएपछि खाली पार्टी–पार्टी भनेर हिँडेर मात्रै भएन । ती युद्धकालमा भएका घाइते, अंगभंग पीडितलाई कम्तीमा थोरै भएपनि राहत दिन सकिन्छ कि भनेर माओवादी छोडेर स्वतन्त्रबाट काठमाडौं २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुँ ।

तपाईंले घरदैलोका क्रममा मत माग्न गइरहँदा कार्यकर्ता भोटरबाट कस्तो आश्वासन पाउनुभएको छ ?
मत माग्ने क्रममा घरदैलोमा पुग्दा जो कांग्रेस, एमाले, राप्रपा जस्ता पार्टीमा तल्लो लेभलदेखि राजनीति बुझेर आउनुभएको व्यक्तिहरु हुनुहुन्छ । उहाँहरुले मेरो विचारलाई राम्रो भन्नुभएको छ । उहाँहरुबाट सहयोगको आश्वासन पनि पाएकी छु । जो कुनैपनि पार्टीको साधारण सदस्य पनि नबनी पैसा र बलको भरमा केन्द्रीय लेभलबाट आएका छन्, उनीहरुले राम्रो मान्दैनन् ।

माओवादीबाट भाग नपाएर स्वतन्त्र बन्नुभएको हो ?
होइन । मैले चुनाव जितेर कुनै पदमा पुगेर फाइदा लिनको लागि स्वतन्त्रबाट चुनाव लडेको होइन । पार्टीले नै सिद्धान्त, निष्ठा र जनभावना अनुरुप काम नगरेर हामीलाई स्वतन्त्र हुन वाध्य बनाएको हो । म रहरले उम्मेदवार बनेकी होइन । मलाई नेता, सांसद्, मन्त्री बन्न कुनै रहर छैन । तर, हिजो युद्धका बेला अङ्गभङ्ग भएका, परिवार विस्थापित भएका, अभिभावक गुमाएर असहाय भएकाहरु दुई छाक खानकै लागि शरीर बेच्नुपर्ने अवस्था नआओस भनेर मैले यो कदम चाल्नुपरेको हो । मलाई खासमा यो चुनाव लड्ने इच्छा थिएन तर ती पीडित साथीहरुले पनि हाम्रा लागि भने पनि तपाईंले उम्मेदवारी दिनुपर्छ भनेपछि वाध्य भएर मैले स्वतन्त्रबाट उम्मेदवारी दिएकी हुँ ।

हिजो केको लागि माओवादी बन्नुभयो र आज किन छोड्नुभयो ?
हिजो हामी परिवर्तनका लागि माओवादी लागेका थियौं । तर, आज पार्टी सामन्तवादतिर उन्मुख हुँदै गयो । हिजो दुई÷चार वटा गाई, भैंसी पालेर बसेकालाई पनि माओवादीले गाउँबाट सामन्ती भनेर लखेट्थियो । त्यो काम कांग्रेस, एमाले र माओवादी आन्दोलनका बेला सबैले गर्दै आए । सामन्तीहरुले गरीवलाई अधिकार हनन् गरे, शोषण गरे भनेर हामीलाई युद्धमा भिडाइयो । तर, आज तिनै दलका नेताहरु त्योभन्दा बढी सामन्ती भएर आए । यसबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अझ पछाडि फर्केर हेर्न जरुरी थियो । किन भने उनी सामान्यवादको सिद्धान्त बोकेर गरीवको पार्टीमा लागेर हिँडेको व्यक्ति हो । अहिले प्रचण्डलाई यदि कसैको डर छ भने ती हिजो जनयुद्धमा भिडेका लडाकुसँग छ ।

काठमाडौं क्षेत्र नं. २ जहाँ माओवादीबाट ओनसरी घर्ती उठ्नुभएको छ, त्यहीबाट तपाईंको उम्मेदवारी कि ?
राम्रो काम गरेर लाग्ने हो भने । हिजोका दुःख गरेका लडाकुको राम्रो हेरविचार हुनेहो भने म ओनसरीजीलाई एक्लै हिँडेर खुलेर भोट माग्न सक्छु । तर, काठमाडौं क्षेत्र नं. २ मा प्रचण्ड एक्लै हिँडेर भोट माग्न सक्नुहुन्छ ? सक्नुहुन्न किन भने उहाँले गल्ती गर्नुभएको छ । गल्ती गरेपछि उहाँ त सुरक्षित हुनुहुन्न । आफै असुरक्षित भएको ठाउँमा रोल्पाको मान्छे ल्याएर यहाँ किन उठाएको ? ओनसरीजीलाई काठमाडौं २ नम्बर क्षेत्रको जानकारी नै छैन । उहाँलाई यहाँको पृष्ठभूमि नै थाहा छैन । उहाँलाई यहाँका जनताको आवश्यकता नै थाहा छैन । यहाँका जनताले मल पाएका छैनन् । जब कि ११ सयको मललाई २ हजार २५ सय तिर्दा पाइरहेका छैनन् । अनि उहाँहरु हिजो शासनसत्तामा हुँदा कहाँ गए । त्यसैले यहाँको भूगोल, जनताको आवश्यकता र महत्व नबुझ्ने व्यक्तिलाई गठबन्धनको आडमा टिकट दिँदैमा चुनाव जितिहाल्छन् भन्ने छैन ।

यति लामो समय माओवादीमा लाग्नुभयो, अहिले एकाएक किन विद्रोह गर्नुभयो त ?
हिजो माओवादीको जुन सिद्धान्त थियो । जुन एजेन्डा उठाएको थियो । आज आएर त्यसको उल्टो राजामहाराजाको जस्तो मोजमस्ती, पैसावाला, सामन्ती सोच भएकालाई पार्टीमा हालीमुहाली गराइयो । हिजो हामीले जुन प्रवृत्तिको विरोध गरेका थियौं । आज त्यो सामन्ती प्रवृत्ति माओवादीका शीर्ष नेताहरुको हुन थालेपछि हामीहरु विद्रोह गर्न वाध्य भएका हौं । हिजो जाँड रक्सी खाने, जुवातास खेल्ने, बहुविवाह गर्ने, हत्या, सिंहा र बलात्कार गर्नेलाई कारबाही गर्ने भनेर लागियो ।

तर, आज आफ्नै पार्टीका नेता, कार्यकर्ता त्यहीं काममा लिप्त हुन थाले । नेताहरु सामन्ती, अत्याचारी, भ्रष्टाचारी र व्यभिचारी हुन थाले । हिजो माओवादीले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ । त्यसको लागि सरकारी सामुदायिक विद्यालयलाई गुस्तरयुक्त बनाउनुपर्छ भनेर निजी विद्यालयको विरोध ग¥यो । आज आएर माओवादीका नेताहरु आफै निजी विद्यालय, मेडिकल कलेज खोल्न थाले । कृषिमा क्रान्ती ल्याउँछौं भनेर युद्धमा होम्ने अनि आफू सत्तामा पुगेपछि मल, बीउ र औजार उपलब्ध गराउन नसकेर युवाहरुलाई विदेश पलायन हुन वाध्य गराउने गर्न थालियो । साम्यवादको नारा लिएर जनयुद्ध लडेको कम्युनिस्ट धनयुद्धमा परिणत भएपछि हामीहरु जस्ता जीवनमरणको प्रवाह नगरी होमिएका कार्यकर्तामा वितृष्णा जाग्ने नै भयो नि ।

चुनावका बेला गरिने गठबन्धनलाई के भन्नुहुन्छ ?
सत्तापक्षको होस् अथवा प्रतिपक्षको कुनै पनि गठबन्धन ठीक छैन । हरेक पार्टीका आफ्नै विधान, सिद्धान्त हुनछ । गठबन्धनले त्यसको सम्बोधन गर्दैन । हरेक पार्टीले आफनो विधानमा पार्टीको सिद्धान्त, नीति र कार्यदिशाविपरीत अर्को पार्टी भोट हाल्छ अथा माग्छ भने त्यसलाइृ साधारण सदस्यबाट पनि हटाइने छ भनेर लेखिएको हुन्छ । आज यी गठबन्धन गर्ने दलहरुका शीर्ष नेताहरुलाई त्यो कुराको ख्याल छ ?

काठमाडौं क्षेत्र नं.२ का मतदातालाई के भन्नुहुन्छ ?
म यस क्षेत्रका सच्चा मतदातालाई के भन्न चाहन्छु भने ‘तपाईंहरु जुन सिद्धान्त, विचार बोकेको हुनुहुन्छ । कम्युनिस्ट हुनुहुन्छ भने सच्चा कम्युनिस्टलाई भोट दिनुहोस्, कांग्रेस हुनुहुन्छ भने सच्चा कांग्रेसलाई भोट दिनुहोस् यसैगरी अन्य पार्टीको हुनुहुन्छ भने पनि इमानदार सच्चा नेतालाई भोट दिनुहोस् । पार्टीभन्दा पनि तपाईंको क्षेत्रमा आएको इमानदार नेतालाई भोट दिनुहोस् भन्न चाहन्छु । गद्दारीलाई भोट नदिनुहोस् भोट दिएर पाँच वर्षसम्म पछुताउने काम नगर्नुहोस् । त्यो इमानदार नेता छान्दा मलाई नै दिनुपर्छ भन्ने पनि छैन तर आउनेमध्ये को सच्चा, इमानदार हो छुट्याउनुहोस् ।

गठबन्धनको दमदबाह छ, तपाईंलाई स्वतन्त्रको ‘सूर्यमुखी फूल’मा भोट देलान् त यहाँका जनताले ?
यहाँ प्रचण्ड र शेरबहादुर भन्दैमा गठबन्धनमा सबैले भोट हाल्छन् भन्ने छैन । म त यहाँका मतदातालाई के भन्न चाहन्छु भने, ‘इमानदार कांग्रेसले मलाई भोट दिनुहोस्, इमानदार कम्युनिस्टले मलाई भोट दिनुहोस् र इमानदार राप्रपाले मलाई भोट दिनुहोस् ।’ म तपाईंहरु समक्ष भोट माग्न आइरहँदा मेरो विषयमा चित्त नबुझेका कुरा सोध्नुहोस् । म १७ बुँदे चुनावी एजेन्डा लिएर चुनाव लडेकी छु । ती १७ वटा बुँदामा एउटामा पनि मैले व्याख्या गर्न सकिँन भने मलाई भोट नदिएपनि हुन्छ । किन जसले आफूले उठाएको एजेन्डाको राम्रोसँग जनतासँग प्रस्तुत गर्न सक्दैन भने त्यसले सरकारमा गएर के गर्न सक्छ ?

विकास निर्माणका लागि जनतालाई के भन्नुहुन्छ ?
विकास निर्माणका बारेमा भन्नुपर्दा म जतालाई के भन्छु भने नेताले यो गर्छु, त्यो गर्छु भन्दैमा मख्ख परेर पछि नलाग्नुहोस् । उनीहरुले ल्याएको एजेन्डा, हिजो सत्तामा हुँदा गरेका काम र अहिले बोलेका कुराको पछि लागेर हिड्नुभयो भने फेरि पाँच वर्षको लागि तपाईंहरु पछि पर्नुहुन्छ । त्यसैले विकासव निर्माणको लागि तपाईंहरु आफै लागिपर्नुहोस् । सरकारले गर्ने छाट काँट देखिँदैन ।

तपाईं काठमाडौं क्षेत्र नं. २ बाट सांसद निर्वाचित हुनुभयो भने के गर्नुहुन्छ ?
सबैभन्दा पहिला यहाँका स्थानीयको सहकार्यमा विकास कोष आयोजना गर्ने छु । त्यो विकास कोषमा लगानीको २५ प्रतिशत हामीले समुदायबाट आफै लगानी गर्ने । त्यसमा म लगायत सबै मतदाताहरु मिलेर लगानी गर्ने । त्यसमा २५ प्रतिशत सांसद र समुदायबाट, ५० प्रतिशत महानगरबाट र २५ प्रतिशत केन्द्रीय सरकारबाट लगानी गरेर विकासको थालनी ग¥यौं भने दीगो विकासको सुरुआत हुन्छ । होइन, बजेट भाषणबाट बजेट आउँछ अनि विकास गर्छु भनेर बस्ने हो भने यो क्षेत्रको मात्रै होइन कुनै क्षेत्रको पनि विकास सम्भव छैन । किन विकास हुँदैन भन्दा हाम्रो संघीय सरकारमा बजेट भाषणा हुन्छ ।

त्यसपछि संघीय सरकार र प्रदेश सरकारबीच कमिसनको खेल हुन्छ । संघ र प्रदेशमा कमिसन खाएर बाँकी आएको बजेट नगरपालिकामा आइपुग्दा फेरि कमिसनको खेल हुन्छ । त्यहाँबाट बाँचेर वडामा पुग्छ त्यसमा पनि कमिसनकै खेल हुन्छ । त्यसकारण एक करोडको बजेट छुट्ट्याईयो भने वडामा वडामा पुग्दा १० लाख मा झर्छ । त्यो १० लाखमा फेरि ठेकेदारले ५ लाख किमिसन र नाफा छुट्याउनुप¥यो । अनि एक करोड बजेट छुट्याइएको ठाउँमा ५ लाख लगानी भएपछि कति विकास हुन्छ ? त्यसकारण समुदायलाई सामेल नगराइ विकास निर्माणको सम्भव छैन । त्यसको लागि मैले आफ्नो चुनावी एजेन्डामा १७ वटा बुँदा अगाडि ल्याएकी छु । त्यो सबैले अध्ययन गरेर विचार गर्नुहोला भन्न चाहन्छु ।

 

Leave a Reply

Your email address will not be published.