काठमाडौंभित्र भयरहीत शान्ति सुरक्षा कायम गरी निर्वाचन सम्पन्न गरेका छौं

अन्तरवार्ता समाचार

घनश्याम उपाध्याय, प्रमुख जिल्ला अधिकारी, काठमाडौ
अहिले चुनावको माहोल बढेको छ । अधिकांश ठाउमा शान्तिपूर्वक निर्वाचन भयो भने कतै चुनाव नै रोकिएको छ । काठमाडांैमा चुनाव कसरी सम्पन्न भयो, काठमाडौमा के कति मत खसेको छ, मतदान केन्द्रको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ यही सेरोफेरोमा मुलुकको राजधानी रहेको काठमाडौंमा चुनावी सेरोफेरोमा काठमाडौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग तामाकोशी सन्देश साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंशः
० काठमाडांैमा चुनाव कसरी सम्पन्न भयो ?
काठमाण्डौंको १० ओटै क्षेत्रबाट निर्वाचन शान्ति पूर्वक सम्पन्न भएको छ । अधिल्ला चुनावहरुमा जस्तो लफडाहरु कतै भएका छैनन् । अहिले सबै ठाउँमा मतगणना सुरु भएका भएका छन् भने कतै सम्पन्न पनि भएका छन् । समग्रमा राजधानीमा शान्तिपूर्वव मतदान र गणना भएको छ ।
० काठमाडौंमा के कति मत खसेको छ ?
मुलुकको राजधानी काठमाण्डौमा ६३ दशमलव ९८ प्रतिशत मत खसेको छ । भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । चितवनमा ६२ प्रतिशत मत खस्दा ललितपुरमा भने ६१ प्रतिशत मत खसेकोे छ । काभ्रेपलाञ्चोकमा ६० प्रतिशत मत खसेको छ । यस्तै सिन्धुपाल्चोक र मकवानपुरमा ५५ प्रतिशत मत खसेको जनाइएको छ । दोलखामा ५० प्रतिशत मत खसेको छ । यस्तै रामेछापमा पनि ५० प्रतिशत मत खस्दा सिन्धुलीमा ५३ प्रतिशत मत खसेको जनाइएको छ । धादिङमा ५० प्रतिशत मत खसेको जनाइएको छ । यस्तै नुवाकोटमा ५३ प्रतिशत मत खसेको प्रारम्भिक आँकडा निस्किएको छ ।
० मतदान केन्द्रको सुरक्षा व्यवस्था कसरी मिलाउनु भएको छ ?
मतदान केन्द्रभित्र नेपाल प्रहरी र म्यादी प्रहरी खटिन्छन् । त्यसभन्दा बाहिर दोस्रो घेरामा सशस्त्र प्रहरी परिचालन थिए । तेस्रो घेरामा नेपाली सेना रहन्छ । निर्वाचनमा कसरी परिचालन हुने भनेर एकीकृत सुरक्षा योजना बनाएका छौं । सोहीअनुसार नै मतदान केन्द्रको सुरक्षाका लागि तीनै निकायका सुरक्षाकर्मी परिचालन भएका थिए ।
० मुलुकको राजधानी काठमाडौंमा के कस्तो छ चुनावी माहोल ?
कुल १० वटा निर्वाचन क्षेत्र रहेको काठमाण्डौंमा विभिन्न दल र स्वतन्त्रतर्फ गरी २५७ जना उम्मेदवार छन्। तुलनात्मक रूपमा अन्यत्रभन्दा काठमाण्डौंमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या बढी देखिएको छ। काठमाण्डू जिल्लामा मात्र एक सय जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । पछिल्ला स्थानीय तह निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएपछि त्यसको प्रभावका रूपमा काठमाण्डौंमा स्वतन्त्र उम्मेदवार धेरै भएको हुनसक्ने कतिपयको बुझाइ थियो । यद्यपि पहिले दलगत राजनीतिमा सक्रिय रहेका केहीले पनि आफ्नो दलभित्र विवाद तथा विभाजन देखापरेपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएका छन् । त्यसमध्ये ५४ जना मात्र महिला छन्। काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ क्षेत्र नं १ मा पर्दछ । यो क्षेत्रमा ४५ हजार १८ जना मतादाता छन् । २०७४ सालको तुलानामा यहाँ २ हजार ५ सय ८८ जना नयाँ मतदाता थपिएका छन् । काठमाडौं १ मा २०५१ देखि निरन्तर चुनाव लड्दै आएका नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पुनः उम्मेदवारी दिएका छन् । २०५१, ०६४, ०७० र ०७४ मा उनी सांसद् निर्वाचित भइसकेका छन् । सिंहसँगको प्रतिस्पर्धामा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, नेकपा एमालेका युवा नेता किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम, नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेललगायत छन् । स्वतन्त्रबाट भने मिरा विष्ट, देव शर्मा, निर्जल शाह, संगीता बोगटी, सुनिता बसेल, गोमा खतिवडा अधिकारी, दुर्गाप्रसाद लिम्बू, सीता तामाङ केसी, कुलबहादुर तामाङ उम्मेदवार छन् । काठमाण्डौ क्षेत्र नम्बर २ मा सत्ताधारी गठबन्धनले माओवादी नेतृ ओनसरी घर्तीलाई उम्मेदार बनाएको छ भने विपक्षी एमालेले मणिराम फुयाललाई उठाएको छ। उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका २० र स्वतन्त्र १० गरी ३० जनाले प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्दैछन्। त्यस क्षेत्रमा राप्रपाबाट कुन्ती पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतमले चुनावी प्रतिस्पर्धा गर्दैछन्। काठमाण्डौ क्षेत्र नम्बर ३ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयर सन्तोष चालिसे उठेका छन्। त्यहाँ एमालेका कृष्णबहादुर राई प्रतिस्पर्धी छन् भने उक्त क्षेत्रमा विभिन्न राजनीतिक दलका १५ जना र स्वतन्त्र ८ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन्। काठमाण्डौं क्षेत्र नम्बर ४ मा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा उठेका छन् ।
उक्त क्षेत्रमा अघिल्लो चुनावमा पनि उनका प्रतिस्पर्धी रहेका नेकपा एमालेका नेता राजन भट्टराई चुनावी मैदानमा छन् । सोही क्षेत्रबाट राप्रपाले सशस्त्र प्रहरी बलका पूर्व प्रमुख ठाकुरमोहन श्रेष्ठलाई उठाएको छ। काठमाण्डौं क्षेत्र नम्बर ४ मा विभिन्न राजनीतिक दलका तर्फबाट कुल १७ जना र स्वतन्त्र १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्। पन्ध्र जना दलीय र १४ जना स्वतन्त्र उम्मेदवार रहेको काठमण्डू क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनले नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ भने प्रतिपक्ष दल एमालेबाट ईश्वर पोखरेल मैदानमा उत्रिएका छन् । उक्त क्षेत्रबाटै २०७४ सालको स्थानीय तह निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयर पदमा विवेकशील पार्टीबाट उम्मेदवार बनेर चर्चा पाएकी रञ्जु दर्शनाले स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दैछिन्। काठमाण्डौं क्षेत्र नम्बर ६ मा १३ जना दलीय र ११ जना स्वतन्त्र उम्मेदवार छन्। त्यस क्षेत्रमा सत्ताधारी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भिमसेनदास प्रधान उठेका छन् भने एमालेले पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ । काठमाण्डौं क्षेत्र नम्बर ७ बाट दलीयभन्दा स्वतन्त्र उम्मेदवार बढी उठेका छन् । उक्त क्षेत्रमा १३ जना दलीय उम्मेदवार रहेकामा १६ जना स्वतन्त्र उम्मेदवार रहेका छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनका तर्फबाट नेकपमा माओवादी केन्द्रको चुनाव चिह्नमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई पुत्री अस्मिता सिंह (मानुषी) यमी भट्टराई उम्मेदवार बनेकी छन्। उक्त क्षेत्रबाट सत्ता साझेदार रहेको तर चुनावको मुखमा प्रतिपक्षी नेकपा एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टीका तर्फबाट राजेन्द्रप्रसाद श्रेष्ठ चुनावी मैदानमा छन् भने एमालेले श्यामकुमार घिमिरेलाई उठाएको छ। रामवीर मानन्धरले पनि सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका छन्। काठमाण्डौं क्षेत्र नम्बर ८ मा १६ जना दलीय र तीन जना स्वतन्त्र उम्मेदवार उठेका छन्। उक्त क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठ चुनावी मैदानमा छन् भने नेकपा एमालेका शिवसुन्दर राजवैद्य उठेका छन् ।
सोही क्षेत्रबाट गत स्थानीय तह निर्वाचनमा काठमाण्डौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेर चर्चा पाएका सुमन सायमी हाम्रो नेपाली पार्टीका उम्मेदवार बनेका छन्। काठमाण्डौं क्षेत्र नम्बर ९ मा १२ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन्। उक्त क्षेत्रबाट सत्ता गठबन्धनले माओवादीको चुनाव चिह्नमा कल्पना धमलालाई उठाएको छ भने एमालेका नेता कृष्णगोपाल श्रेष्ठ पनि सोही क्षेत्रबाट प्रतिस्पर्धामा छन् । त्यस्तै विवेकशील अभियान नेपालबाट राजनीतिक गतिविधि सुरु गरेका तथा विवेकशील नेपाली दलका पूर्व प्रमुख एवम् विवेकशील साझा पार्टीका संयोजक रहिसकेका मिलन पाण्डे पनि चुनावी मैदानमा छन्। काठमाण्डौं क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनका कांग्रेस र माओवादी दुवै दलका उम्मेदवार मैदानमा छन्। कांग्रेसका राजेन्द्रकुमार केसी उम्मेदवार रहेको उक्त क्षेत्रमा एमालेका हिमेश केसी र माओवादीकी अञ्जना विशंखे मैदानमा छन् ।
० काठमाडौं प्रशासन संयन्त्र चुस्त दुरुस्त राख्न के कस्ता योजना लागू गर्नुभयो ?
जिल्लामा शान्ति व्यवस्था र सुरक्षा कायम राख्ने, आन्तरिक सुरक्षासम्बन्धी नीति, योजना तथा स्थानीय स्तरमा कार्यक्रमको कार्यान्वयन, हातहतियार र खरखजानाको इजाजत सम्बन्धी सिफारिस र नियन्त्रण, विष्फोटक पदार्थ सिफारिस र नियमन, विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमण, सवारीसाधन सञ्चालन सम्बन्धी कानुनको कार्यान्वयन, गैरसरकारी संघ, संस्था दर्ता, नवीकरण र नियमन, स्थानीय प्रशासनको सञ्चालन, नागरिकता वितरण, बाल कल्याण तथा बाल अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण, कार्यालय निरीक्षण तथा अनुगमन, कल्याण धन र बेवारिसे धनको व्यवस्थापन, चिठ्ठा, जुवा आदिको नियन्त्रण, सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण, विपद् व्यवस्थापन, जिल्ला स्तरमा सार्वजनिक उत्सव, मुआब्जा निर्धारण तथा वितरण, पुरस्कार तथा सजाय सम्बन्धी कारबाही र सिफारिस, जिल्लाभित्र रहेको नेपाल सरकारको सबै सम्पत्तीको रेखदेख, सम्भार तथा मर्मत गर्ने गराउने, राहदानी वितरण, लागू औषध नियन्त्रण र प्रशासन, जिल्लास्थित कारागारको व्यवस्थापन, जिल्लाभित्र बजार अनुगमन, नियमन तथा नियन्त्रण, द्वन्द्व प्रभावितको पहिचान तथा राहत वितरण, नाता प्रमाणित, निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन, जिल्ला स्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको परिचालन र प्रयोग, राष्ट्रिय अनुसन्धानसँगको समन्वय सूचना संकलन र विश्लेषण, जिल्लामा सञ्चालित विकास निर्माण कार्यामा सहयोग र समन्वय, कानुन बमोजिम तोकिएअनुसार विभिन्न मुद्दाको सुरु कारबाही र किनारा गर्ने । सरकारी वा सार्वजनिक जग्गामा घर बनाएमा रोक्का गर्ने र भत्काउने काम भइरहेको छ । जिल्लाभित्रको सार्वजनिक पार्टी, पौवा, धारा, कुवा, सत्तल, मन्दिर, धर्मशाला आदिको लगत राख्ने । भारतीय सेनामा कार्य गरी निवृत्त भएका व्यक्ति तथा तिनीहरुको परिवारको नाम थर उमेर फरक परेको विषयमा सिफारिसलगायत अन्य सिफारिस सम्बन्धी कार्य गर्ने, नाबालक परिचयपत्र प्रदान गर्नेजस्ता योजनाहरु रहेका छन् ।
० सेवाग्राहीलाई सहज सेवा प्रवाहका लागि कार्यालयमा कस्तो खालको संयन्त्र बनाउनुभएको छ ?
कार्यालय संयन्त्र राम्रै छ । दर्तासँगै सोधपुछ कक्ष पनि राखिएको छ । कुन शाखाबाट के हुन्छ त्यहीँबाट जानकारी पाउन सकिन्छ । हाम्रा सेवाबारे जिल्ला प्रशासनको वेबसाइटमा पनि राखिएको छ । सेवाप्रवाह गर्ने क्रममा सेवाग्राही झर्किए भने उहाँहरूसँग तपाईंहरू नझर्किनु मसँग पठाइदिनु भनेर कर्मचारी साथीहरूलाई भनेको छु । सहायक प्रजिअले पनि समग्र भूमिका निर्वाह गर्नुहुन्छ । केही समस्या आयो भने कर्मचारीबीच हामी छलफल गर्छौं ।
० संघीयताअघि र अहिलेको सार्वजनिक सेवा प्रवाहमा के फरक पाउन सकिन्छ ?
निजमती सेवा अहिलेको अवस्थामा भन्दा स्थानीय सेवा, प्रदेश सेवा र संघीय सेवा पनि कानुनले स्पष्ट नगरिसकेको अवस्थामा सबै निजामती सेवा भन्नुप¥यो । भोलि वर्गीकरण गर्दा फरक आउला । कामको कुरा गर्दा विकास निर्माणको प्रत्यक्ष सेवा तह स्थानीय तहमा गएका छन् । स्रोत पनि भएकाले धेरै काम स्थानीय तहबाटै हुन्छ । म अहिले भएको कार्यालयको कुरा गर्दा संघीयताभन्दा अहिले झन् समन्वयकारी भूमिका बढेको छ । शान्ति सुरक्षा नागरिकताको विषयजस्ता स्थानीय तहसँग सम्बन्धित काममा त्यस्तो केही भिन्नता छैन । समग्र सेवा प्रवाहको हिसाबले हेर्दा केही फरक परेको छ । कानुन स्पष्ट नहुँदा दुविधाहरू पनि छन् ।
० कामका दौरान कस्ता–कस्ता दबाब आउँछन् ?
चिनेजानेका र विश्वास गरेका मान्छेहरूले नै अलिकति म्यानुपुलेट गर्न खोज्छन् । यत्तिको काम गर्दा हुन्छ, ठीकै छ, मैले जान्दछु भन्ने । पछि त्यही काम गलत निस्किएको मैले पाएको छु । पछिल्लोपटक कानुन, नियम, ऐनको ज्ञान कमी छ । ज्ञान कम भएपछि यस्तो गरिदिए हुने, एउटा सही (सिग्नेचर) त हो, छ्यास्स गरिदिए भई गयो नि भन्ने कुरा सेवाग्राहीमा पनि पाइन्छ । यो कुरा बुझेर कानुनले नमिल्ने कुरा गर्नु हुँदैन भन्ने महसुस भएको छ ।

Leave a Reply

Your email address will not be published.