प्रमुख प्रतिपक्षी एमाले पनि चुनावी गठबन्धनमा गठबन्धनलाई भागबण्डा मिलाउन सकस

समाचार

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने समय दुई साता मात्र बाँकी हुँदा पनि सत्तारुढ गठबन्धनले यो चुनावको सम्बन्धमा मोडालिटी बनाउन र सहमति तयार गर्न सकेका छैनन् । हिजो पनि वैशाख ३० मा हुने स्थानीय निर्वचनका सम्बन्धमा गठबन्धनका शीर्ष नेताहरुका बीचमा छलफल भएको थियो । तर हिजोको छलफलले पनि उम्मेदवारी र भागबण्डाका सम्बन्धमा ठोस निर्णय गर्न सकेन । गठबन्धनमा रहेका माओवादी केन्द्र र एकीकृत समाजवादी सबै स्थानीय तहमा गठबन्धनका दलहरुले मिलेर उम्मेदवारी दिनुपर्ने अडानलाई अहिले पनि छाडेका छैनन् । तथापि माओवादी केन्द्र र एकीकृत समाजवादी पछिल्लो दिनमा आफ्नो अडानबाट पछाडि हट्दै महानगरपालिका र उपमहानगरपालिकामा केन्द्र्रीय गठबन्धनले उम्मेदवार तोक्नु पर्ने र अन्य स्थानीय तहमा भने आवश्यकताको आधारमा गठबन्धनका दलका स्थानीय कमिटहरुले नै छलफल गरेर निर्णय गर्नुपर्ने तहमा पुगेको छ । तर अहिले पनि भरतपुर महानगरपालिकको मेयर उम्मेदवारीको गाँठो फुक्न सुकेको छैन । एकृकत समाजवादी र माओवादी केन्द्रले ६ मध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवारी नेपाली कांग्रेसले लिएर अन्य तीन वटा महानगरपालिकाको मेयर माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादीलाई छाड्नु पर्ने प्रस्ताव अगाडि सारेका छन् । तर नेपाली कांग्रेसले छ वटै महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन पाउनु पर्ने दाबी गर्न थालेको छ ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिन लचिलो भएपनि कांग्रेसको चितवन जिल्ला समिति र भरतपुर नगर समिति कुनै पनि हालतमा यो महानगरपालिकाको मेयर माओवादीलाई छाड्ने पक्षमा छैन । शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षले भने सुरुदेखि नै भरतपुर महानगरपालिकाको मेयर आफ्नो पार्टीले पाउनु पर्ने दाबी मात्र गर्दै आएको छैन की सबै स्थानीय तहमा कांग्रेस एक्लैले चुनाव लड्नु पर्ने प्रस्ताव पनि गरी राखेको छ । कांग्रेसको संस्थापना इतर पक्षले गठबन्धनका बीचमा सहमति भएका कतिपय स्थानीय तहमा विद्रोही उम्मेदवार खडा गर्ने सम्भावना आफ्नो ठाउँमा बलियो देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले छोरी रेणुका लागि भरतपुर महानगरपालिका नछाड्ने अडान राखी राखेका भएपनि २०७४ सालको सथानीय निर्वाचनमा प्रजातान्त्रिक अभ्यास भन्दा बाहिरको कर्तुत गर्दा पनि मेयरमा माओवादीकी उम्मेदवार रेणु दाहालले लगभग ३ सय मतले एमाले उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेको सन्दर्भमा यो पटक कांग्रेसको तर्फबाट हुने असहयोगको कारण रेणु दाहाल विजयी हुने सम्भावना अत्यन्त कम छ । गठबन्धनमा रहेको नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री तथा पार्टी अध्यक्ष शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको चर्को वकालत गरेपनि चुनावको मितिसम्म पुग्दा सम्पूर्ण कांग्रेस गठबन्धनको पक्षमा एक भएर लाग्ने सम्भावना भने अत्यन्त कम छ । यही वास्तविकतालाई बुझेर गठबन्धनका अन्य दलले महानगरपालिको र उपमहानगरपालिकामा गठबन्धन मार्फत् निर्वाचन लड्ने निर्णय गरेपनि अन्य तहमा भने गठबन्धन दलका स्थानीय समितिले आवश्यकताको आधारमा निर्णय गर्ने सहमति बन्न सक्ने देखिएको छ ।
अहिले गठबन्धनमा रहेका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रले राखेको अडानको कारण सहमतिमा कठिनाई उत्पन्न भई रहँदा एकीकृत समाजवादीदेखि जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको अठानको कारण गठबन्धनलाई उम्मेदवार तय गर्न चुनौती हुन सक्ने देखिएको छ । गठबन्धनको एउटा दल एकीकृत समाजवादीले २०७४ सालमा नेकपा एमालेले विजय प्राप्त गरेको सबै स्थानीय तहमा गठबन्धनको तर्फबाट आफूले उम्मेदवारी दिनु पाउनु पर्ने दाबी गर्न थालेको छ । यसैगरी गठबन्धनका अन्य दुई दल जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आफुहरुलाई गठबन्धनका रहेका अन्य तीन ठूला दलले उपेक्षा गर्न थालेको आरोप समेत लगाउन थालेका छन् ।
उता गठबन्धनको प्रमुख निशानामा रहेको नेकपा एमालेले गठबन्धनले चुनावका सम्बन्धमा स्पष्ट नीति निर्धारण गर्न ढिलाई गरेको कारण आफ्नो रणनीति बनाउन सकिराखेको छैन । तथापि नेकपा एमाले पनि स्थानीय निर्वाचनमा सरकारमा नरहेका केही दलसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रने मनस्थितिमा भने नेकपा एमाले पुगिसकेको छ । खास गरेर नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल र लोकतान्त्रिक समाजवादीसँग चुनावी तालमेल गर्ने पक्षमा रहेको छ । यो मामिलामा नेकपा एमाले र राप्रपा नेपालका बीचमा लगभग सहमति बनिसकेको छ । राप्रपासँग भने दमक नगरपालिकाको मेयरको उम्मेदवारीले गर्दा सहमतिमा अवरोध पुगिराखेको अवस्था छ । अध्यक्ष केपी अ‍ोलीको निर्वाचन क्षेत्र भित्र पर्ने दमक नगरपालिका भित्र पर्ने भएको कारणले गर्दा खास गरेर एमाले अध्यक्ष ओली दमक नगरपालिकाको मेयर छाड्ने पक्षमा छैनन् । तर आफ्नो बलियो प्रभाव भएको कारणले गर्दा राप्रपा पनि दमक नगरपालिकाको मेयर छाड्ने पक्षमा छैन । तथापि यो विवादले केही दिनमा नै निकास पाउन सक्ने सम्भावना बलियो छ । किनभने एमालेका अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापाबाट नै संघीय निर्वाचन लड्दै छन् र आफ्नो विजय बलियो बनाउका लागि ओलीलाई लिङदेन र लिङदेनलाई ओलीको आवश्यकता पर्न जानेछ । त्यस कारण दमक नगरपालिकको मेयरको विवादले यी दुई पार्टी बीचको चुनावी तालमेलमा असर पु¥याउँछ भन्ने स्थिति बलियो देखिँदैन । यसैगरी मुद्दाको कारण आफ्नो प्रमुख प्रतिश्पर्धी रहेको जनता समाजवादी गठबन्धन मार्फत् चुनावी मैदानम उत्रँदा आफ्नो स्थिति बलियो बनाउनका लागि लोकतान्त्रिक समाजवादीलाई पनि त्यसैगरी गठबन्धनको आवश्यकता पर्न जानेछ । यही कारणले गर्दा लोकतान्त्रिक समाजवादीले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग गठबन्धन बनाउने सम्भावना बलियो देखिन्छ । अर्थात् वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको एउटा गठबन्धन हुँदा प्रतिपक्षको तर्फबाट नेकपा एमाले राप्रपा, राप्रपा नेपाल र लोकतान्त्रिक समाजवादीको अर्को गठबन्धन चुनावी मैदानमा उत्रने सम्भवना बढेर गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *