नारायणगढ–बुटवल सडकको पूर्वी खण्ड कालोपत्र

अर्थ/वाणिज्य समाचार

काठमाडौं । नारायणगढ–बुटवल सडक निर्माण योजनाको पूर्वी खण्डमा ५० किलोमिटर सडक कालोपत्र भएको छ ।

पूर्वी खण्डको गैँडाकोटबाट दाउन्नेसम्मको ६३ किलोमिटर खण्डमध्ये एकतर्फको ५० किलोमिटर सडक कालोपत्र सम्पन्न भएको हो ।
दाउन्ने खण्डमा यात्रीले धेरै सास्ती खेप्नुपरेकाले सो क्षेत्रमा चार किलोमिटर र घुमाउरो घुम्तीमा चार किलोमिटर सडक वर्षाअघि नै ढलान गरिने भएको छ । जसअनुसार ढलानको काम यसै साताबाट सुरु हुने भएको छ । एकतर्फी रूपमा पूर्वी खण्डको सबै काम सक्ने लक्ष्यअनुसार अघि बढिरहँदा दोस्रोतर्फको भागमा पनि नियमित काम भइरहेको छ ।
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गतेसम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । यस अवधिमा पूर्ण रूपमा काम सम्पन्न हुनसक्ने अवस्था टर्दै गएको छ ।

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । एक सय १३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ छ–छ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४ किलोमिटर तीन लेनको सडक हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *