काठमाडौं । त्रिकोणात्म टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली महिला टोलीले इतिहासमै पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्ने भएको छ ।
नेपाली महिला टोलीले कीर्तिपुर मैदानमा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । बिहीबार सवा १२ बजेदेखि सुरुहुने त्रिकोणात्मक श्रृङ्खलामा तेस्रो टोलीका रुपमा थाइल्यान्डको सहभागिता रहेको छ । महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को वरियतामा थाइल्यान्ड १३औं, नेदरल्यान्ड्स भने १६औं स्थानमा रहदा नेपाल २०औं स्थानमा रहेको छ ।
नेपाली महिला क्रिकेट टोलीले घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेलहरू नखेलेको साढे दुई वर्षभन्दा बढी भइसकेको थियो । पछिल्लो पटक सन् २०२२ को मे महिनामा युगाण्डाको महिला टिमसँग कीर्तिपुरमा खेलेपछि नेपालले घरेलु मैदानमा खेलहरू खेलेको थिएन । त्यसपछि नेपालले मलेसियामा र हङ्कङ्मा विभिन्न श्रृंखलाहरू तथा महिला विश्वकप छनोट र महिला एसिया कप पनि खेलेको थियो । तर नेपालमा भने त्यसबीचमा कुनै पनि खेल भएनन् ।
लामो समयपछि घरमै हुन लागेको यो अन्तर्राष्ट्रिय क्रिकेटका लागि उत्साहित रहेको कप्तान इन्दुको भनाइ थियो । श्रृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् । फाइनल खेल नहुने भएकोले सबै टिमलाई समान खेलको अवसर प्राप्त गराउने उद्देश्यले सबैको समझदारीमा फाइनल नराखिएको क्यानका सचिव पारस खड्काले जनाएका छन् ।
नेपाली टोली इन्दु बर्माको कप्तानीमा रुबिना क्षेत्री, सीता रानामगर, पुजा महतो, अलिशा कुमारी यादव, बिन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमती ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।