रास्वपाको महाधिवेशनमा मनिष झा र अमरेश सिंह गुमनाम
काठमाडौं । रास्वपा सांसद सुदन गुरुङले दोस्रो पटक सपथ खाएकै दिन गृहमन्त्रालयमा पुगेर दरबार हत्याकाण्डको फाइल खोल्ने हवाला दिएर चर्चा कमाएका थिए । गत साता प्रधानमन्त्री बालेन साहले देश बनाउने टिम भन्दै पूर्वाधारमन्त्री सुनिल लम्सालसँगै गृहमन्त्री सुदन गुरुङलाई अंगालो हालेको तस्वीर सार्वजनिक गरेपछि झन् सुदनको चर्चा चुलिएको थियो । यो तस्विरले प्रधानमन्त्री साहका भित्रिया सुदन गुरुङ भएको प्रमाणित गर्दछ । राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन् सत्रमा स्टेजमा पार्टीका पदाधिकारी र शुभकामना दिनका लागि निमन्त्रणा गरिएका विभिन्न राजनीतिक दलका नेताबाहेक अन्यलाई बोइएको थिएन ।
तर, गृहमन्त्री सुदन गुरुङ भने आफै कुर्सी बोकेर प्रधानमन्त्री बालेन साहको पछाडि सबेका थिए । यो कुरालाई धेरैले असहज मानेका थिए । सुदनकै छेउमा नेपाली कांग्रेसका सभापति गगन थापा बसेका थिए । त्यसको केही समयपछि रास्वपा सभापति रवि लामिछाने, प्रधानमन्त्री बालेन साह, गृहमन्त्री सुदन गुरुङ र कांग्रेस सभापति गगन थापा एकैसाथ बसेको फोटो सार्वजनिक भएपछि भदौ २३ र २४ को घटनाका योजनाकार यीनै हुन् भन्दै सामाजिक सञ्जालमा भाइरल भएको थियो । गृहमन्त्री जस्तो महत्वपूर्ण पद ४८ दिनसम्म खाली राखेर अनुसन्धान र प्रतिवेदन बुझाएर चोख्याउने नाटक गरेर पुनः सुदनलाई नै गृहमन्त्री बनाउने काम पनि यही सिलसिला हो । यी चारैजनाका मालिक एउटै भएको पाइन्छ । चारैजनाको मालिक एउटै भएका कारणले अघिल्लो दिनसम्म रास्वपाको महाधिवेशन उद्घाटनमा सहभागी हुन असमर्थ रहेको भन्दै फेसबुकबाट शुभकामना दिएका थिए । तर, अन्तिम अवस्थामा मालिकको आदेश सिरोधार्य गर्दै महाधिवेशनस्थितमा रविसँग हात मिलाउन र घन्टी बजाउने पुगेका थिए ।
उता, गृहमन्त्री गुरुङ अहिलेसम्म दरबार हत्याकाण्डको फाइल खोल्न सकेका छैनन् । बरु व्यवसायी दीपक भट्टलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सहयोग पु¥याएको भन्दै सम्पत्ति सुद्धिकरणको नाममा एमाले नेता पौडेललाई पक्राउ गरेका छन् । पौडेललाई सूर्खेतमा भइरहेको कार्यक्रमस्थलबाट सोमबार पक्राउ गरिएको हो । के गृहमन्त्री गुरुङले पुराना राजनीतिक दलका नेता, पूर्वमन्त्रीहरु सबैलाई कुनै न कुनै बहानामा पक्राउ गर्छन् कि केहीलाई मात्रै पक्राउ गर्छन् त्यो निश्चित छैन ।
त्यसैगरी भट्टसँग जोडिएका अन्य व्यापारीहरुलाई पनि मुद्दा चलाइएको छ । कसैलाई राजस्व छलीको नाममा मुद्दा चलाइएको छ भने कसैलाई इन्स्योरेन्सको नाममा मुद्दा चलाइएको छ । के अब चन्द्र ढकाल र विनोद चौधरीलाई पनि राजस्व छली गरेको नाममा समाउँछन् त भन्ने प्रश्न आमसर्वसाधारणले उठाउन थालेका छन् । गृहमन्त्रीको यस्तो हर्कतले गर्दा राजनीतिक दलका नेतादेखि व्यापारीहरु त्रसित बन्न थालेका छन् । उद्योगी, व्यापारी र बैंकरहरुलाई जथाभावी धरपकड गर्दा देश आर्थिक रुपमा झन् चकनाचुर हुने भएको छ । व्यापारीहरुलाई जथाभावी पक्राउ गर्ने, मुद्दा लगाउने गर्नाले उद्योग धन्दा सञ्चालन गर्नेहरु त्रसित भएका छन् भने राजस्व पनि बुझाउन सकेका छैनन् ।
त्यसैगरी पूर्वअर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेल पक्राउ परेपछि रास्वपाका सांसद अमरेश कुमार सिंह र माओवादीका तत्कालीन नेता नारायणकाजी श्रेष्ठलाई पनि पक्राउ गर्ने चर्चा राजनीतिक वृत्तमा चल्न थालेको छ । त्यसैकारण रास्वपाको पहिलो महाधिवेशनमा सांसद अमरेश कुमार सिंहको कुनै भूमिका देखिएन । सांसद अमरेशकै कारण रास्वपाभित्र मधेस प्रतिनिधिबीच विवाद सिर्जना भएको थियो । रास्वपाको अधिवेशनमा मधेसका नेता मनिष झाको पनि कतै चर्चा थिएन । बरु बालेन निकट रहेका भुपदेव शाहको चर्चा छुट्टै थियो । त्यसले गर्दा सभापति लामिछाने र प्रधानमन्त्री साहबीच शक्ति प्रदर्शन हुने भएको छ ।

