रास्वपा र समाजवादीको कारण सरकार धरापमा

राजनीति समाचार

केन्द्रसँगै प्रदेश सरकार पनि अलपत्र
काठमाडौं । नयाँ गठबन्धन सरकार बनेको ४५ दिन नपुग्दै सरकारमा सहभागी दलभित्र खटपट सुरु भएको छ । केन्द्रीय सरकार परिवर्तन भएसँगै प्रदेश सरकार धमाधम परिवर्तन हुन थालेपछि यस्तो स्थिति सिर्जना भएको हो । अहिले गठबन्धन सरकारमा हलचल ल्याउने जड सुदूरपश्चिम प्रदेश सरकार मानिएको छ । त्यसको असर कोशी प्रदेशसँगै अन्य प्रदेशहरुमा पनि देखिन थालेको छ । प्रदेश सरकार बनाउने र भत्काउने खेलले केन्द्रीय सरकार पनि धरापमा पर्ने देखिन्छ ।

पाँच दलीय गठबन्धनभित्रको साझेदार दल एकीकृत समाजवादीको कारण केन्द्र सरकार नै ढल्ने आँकलन गर्न थालिएको छ । उता, गठबन्धन सरकारका उप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी काण्ड लागेको कारण प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय छानविन समिति बनाउनुपर्ने माग गर्दागर्दै संसद् नै स्थगित गरिएको छ । त्यसकारणले पनि सरकारमा ठुलै खटपट भएको छ । प्रतिपक्ष दल नेपाली कांग्रेस कसरी हुन्छ यो गठबन्धन टुटाएर नयाँ गठबन्धन सरकार बनाउने खेलमा जुटेको देखिन्छ ।

यदि एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएको खण्डमा सरकार धरमराउने पक्का छ । पाँच दलीय गठबन्धन सरकारमा पूर्वसहमति अनुसार सुदूरपश्चिमको मुख्यमन्त्री समाजवादीले पाउनुपर्ने थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अगाडि सारेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट देखिएका छन् । अध्यक्ष नेपाल सरकार पूर्वसहमति अनुसार अगाडि नबढ्ने हो भने सहकार्यको औचित्य नहुने बताउन थालेका छन् । एकातिर सत्तासाझेदार दलबीच भागबन्डालाई लिएर असन्तुष्टि देखिएको छ, अर्कोतिर सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रविलाई उन्मुक्ति दिएको भन्दै प्रतिपक्ष दल कांग्रेसले आवाज उठाइरहेको छ ।

सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रविलाई जोगाएर अन्य २८ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरिएको छ । मुद्दा दायर गरिएका मध्येबाट गृहमन्त्री रविको पोल खोलिएको खण्डमा रविले पदबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिले गृहमन्त्री रविलाई नेकपा एमाले र माओवादी केन्द्रले काँध थापीरहेका छन् । गृहमन्त्री रविलाई साथ दिइरहँदा भोलि सहकारी ठगी काण्डमा उनी दोषी ठरिएको खण्डमा एमाले र माओवादी केन्द्रको बद्नाम हुने छ ।

उता, सुदूरपश्चिममा एकीकृत समाजवादीले प्रतिपक्ष दल कांग्रेससँग सहकार्य गरेर सरकार बनाउने खेल खेलेपछि एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी पार्टी ‘पुँजीवादी दक्षिणपन्थी’हरुको पक्षधर बनेको आरोप लगाएका छन् । अध्यक्ष ओलीको उक्त अभिव्यक्तिले ‘वामएकता’ होइन, झन् तितरवितर हुने देखिन्छ । सरकार साझेदार दलभित्र गृहमन्त्री रवि र एकीकृत समाजवादी पार्टीकै कारण यो सरकार धेरै समय नटिक्ने विश्लेषकहरुले आंकलन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *