चन्द्र ढकालको इशारामा चल्दै मुख्य सचिव अर्याल र दवाडी

राजनीति समाचार

काठमाडौं । कर्मचारीलाई स्थायी सरकार मानिदै आएको छ तर, यही स्थायी संयन्त्रलाई राजनीतिक दलमात्र होइन व्यापारीहरुले समेत आफू अनुकुल नचाउँदै आएका छन् । जस्तो डडेलधुरामा प्रमुख जिल्ला अधिकारी कस्लाई लैजाने भन्ने बिषय काँग्रेस सभापति शेरबहादुर देउवामा निर्भर गर्दछ । अनि चितवन वा गोर्खाको सिडियोदेखि पालिकाको प्रमुख परिवर्तन हुँदा प्रचण्डको स्वार्थ जोडिन्छ ।

त्यही र त्यस्तै स्वार्थका कारण त कांग्रेस सभापति देउवाको गृहजिल्लामा मापदण्ड विपरित उपसचिव चोमेन्द्र न्यौपाने प्रमुख जिल्ला अधिकारी छन्,जबकी डडेल्धुरामा सहसचिवको दरबन्दी छ । नेताले मात्र होइन पछिल्लो समय त व्यापारीहरुले नै कर्मचारी परिवर्तन गर्न थालेका छन् । जस्तो अहिले अवकाशको जिन्दगी बिताइरहेका रुपनारायण भट्टराई यस्ता पात्र हुन जो साता दिनमा तीन पटक सरुवामा परे । यातायातको सिण्डिकेटविरुद्ध उग्र रुपमा प्रस्तुत भएका यातायात व्यवस्था विभागका तत्कालिन महानिर्देशक भट्टराईलाई विचौलिया तथा व्यापारीहरुको बलमा त्यहाँबाट खेदेर संघीय मामिला तथा सामान्य प्रशासन हुँदै भौतिक पूर्वाधार मन्त्रालयबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाइएको थियोे,कुनै समय । यसरी सहसचिवलाई भकुण्डो बनाउने ठेकेदार हुन् दीपक कुँवर ।

ल्होत्से यातायातमा हात हालेकै कारण रुपनारायणलाई भकुण्डो बनाइएको थियो । उनी ल्होत्सेका मालिक बनाइएका हाउजिङ्ग व्यवसायी दीपक कुँवर तिनै व्यवसायी हुन,जस्को अर्पाटमेन्टमा अहिलेका मुख्य सचिव एकनारायण अर्यालदेखि पूर्व मन्त्री शक्ति बस्नेतसम्म बस्दै आएका छन् । यहाँ जोड्न खोजिएको प्रंसग चाहिँ चन्द्र ढकालका भरिया बन्न पुगेका एक जना उपसचिवको हो । उसो त व्यवसायी चन्द्र ढकालको सम्बन्ध मुख्य सचिव एकनारायण अर्यालसँग मात्र होइन गृह सचिव गोकर्णमणि दुवाडीसँग पनि अत्यन्त सुमधुर छ ।

पछिल्ला दिनमा दैनिक जसो यी व्यवसायी मुख्य सचिव र गृह सचिवको च्याम्बरमा बढी भेटिन्छन् । कारण उही पाथिभरा केवलकारसँग जोडिन्छ । त्यही केवलकार जसरी पनि निर्माण गर्नकै लागि उनले कसरी एक जना उपसचिवलाई ताप्लेजुङ्गको प्रमुख जिल्ला अधिकारी बनाएर लगे भन्ने तथ्य फेला परेको छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पछि व्यापारी,ठेकेदारदेखि व्यवसायीसँग स्वार्थ जोडिएका कर्मचारीलाई तिनकै जोडबलमा ताप्लेजुङ्ग पु-याइएको भेटिएको हो । यस अघि सो जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए रविन्द्र आचार्य । आचार्य त्यहाँ ८० साल चैत्र १० गतेदेखि कार्तिक ११ गतेसम्म कार्यरत रहेको देखिन्छ । उनलाई सात महिनामै त्यहाँबाट लखेट्नुको कारण पाथिभरा केवलकार परियोजना अगाडि नबढ्नु रहेको छ । यस अघि ताप्लेजुङ्गको प्रमुख जिल्ला अधिकारीको भूमिकामा हिरादेवी पौडेल पाँच महिना,गोमादेवी चेम्जोङ्ग ९ महिना,महेश कुमार पोखरेल २ महिनामात्र प्रमुख जिल्ला अधिकारीको कुर्सीमा रहे । सो समयमा पाथिभरामा अहिलेजस्तो विवाद थिएन ।

जब व्यापारी चन्द्र ढकालले आफू निकटका प्रमुख जिल्ला अधिकारी त्यहाँ लगे र उद्घाटन गराए अनि विवाद उत्कर्षमा पुगेको हो । गत कार्तिक १२ गते प्रमुख जिल्ला अधिकारीका रुपमा ताप्लेजुङ्ग पुगेका हुन नेत्र प्रसाद शर्मा । उनी त्यहाँ पुगेको १२ दिन पछि नै केवलकारको उद्घाटन अगाडि बढाइनुले पनि दालमा केही न केही कालो रहेको आंशकालाई बल पुगेको छ । त्यही उद्घाटन पछि हो विवाद चरमचुलीमा पुगेको । यसरी चन्द्र ढकालको इच्छा अनुसार त्यहाँ लगिएका नेत्रको स्थायी ठेगना बागुलङ नगरपालिका वडा नम्बर २ रहेको छ । चन्द्र ढकाल पनि सोही जिल्लाका हुन,आफ्नै जिल्ला र छिमेकी वडाका उपसचिवलाई ताप्लेजुङको सिडिओ बनाएर लगेका ढकालले त्यसको बाह्रौं दिनका दिन केवलकारको शिलान्यास गराएका थिए । संविधानसभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङ नगरपालिकाका नगरप्रमुख अमिर मादेनले केवलकारको शिलान्यास गरेका थिए ।

ताप्लेजुङका तत्कालीन सिडिओ रविन्द्र आचार्यले पाथीभरामा केवलकार बनाउने प्रबन्ध मिलाउन नसकेपछि उनलाई गृह मन्त्रालय तानेर ढकालका गाउँले नेत्रप्रसाद शर्मालाई ताप्लेजुङको सिडिओ बनाएर लगिएको भेटिएको छ । यसरी ताप्लेजुङ्ग पुगेका उपसचिव शर्मा यस अघि इलाका प्रशासन कार्यालय रौतहट,जिल्ला प्रशासन कार्यालय मकवानपुर,मुस्ताङ्गको प्रमुख जिल्ला अधिकारी चलाइसकेको देखिन्छ । यस्तै उनले यस अघि इलाका प्रशासन चन्द्रौटा,जिल्ला प्रशासन कार्यालय चितवनको सहायक प्रमुख जिल्ला अधिकारी,पर्सा जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी,हुम्लाको सिडियो,चितवन,गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चलाइसकेको भेटिएको छ ।

५५ सालबाट निजामती सेवामा पाइला राखेका शर्माले यही बीचमा यातायात अञ्चल कार्यालय,यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र,आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभाग हुँदै ७२ सालमा उपसचिवमा बढुवा भएका उनी त्यस यताका दश बर्ष गृह मन्त्रालय छोडेर बाहिर बसेका छैनन् । यसरी व्यापारीको भरिया बनेर उनी ताप्लेजुङ्ग पुगेको र चन्द्र ढकालले केवुलकार बनाउने टास्कसहित उनलाई इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट ताप्लेजुङ्गमा लगेको गृहका उपसचिवहरुले नाम नबताउने शर्तमा उललेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *