काठमाडौं । अस्पतालबाटै विरामी बेचिन्छन् भन्दा जो कोहीलाई पत्यार लाग्दैन तर मुलुकको सबैभन्दा पूरानो वीर अस्पतालमा यस्तै भइरहेको भुक्तभोगीहरुले बताएका छन् । उक्त अस्पतालको आकस्मिक कक्षबाटै विरामी बेचिने गरेको अस्पतालकै कर्मचारीहरुले बताएका छन् । अस्पताल स्रोतका अनुसार,जनरल वार्ड र आइसियू कक्ष खाली हुँदा हुँदै पनि सिनियर डाक्टर छैनन् भन्दै विरामीलाई अत्याएर निजी अस्पतालमा पु-याइँदै आएको छ । यस्तो धन्दामा संग्लग्न छन्,चिकित्सक सन्दिप यादव । उनले विरामीका आफन्तलाई ‘तपाईको विरामी सिरियस छ,आइसियूमा भर्ना गर्नुपर्दछ ।
यहाँ न त उपचार राम्रो छ,न त राम्रा र ठूला डाक्टरले नै यहाँ हेर्दछन् भन्दै विरामीलाई नीजि अस्पतालमा लैजाने काम गर्दै आएका छन् । यसरी सरकारी अस्पतालमा गएका विरामीलाई नीजिमा पु¥याएर अस्पतालका एजेन्टदेखि एकाउन्टसम्मबाट रकम बुझ्ने गरेको वीर अस्पताल स्रोतले जनाएको छ । उनले विरामीका आफन्तहरुलाई यहाँ उपचार ढिलो हुन्छ,राम्रो हुँदैन र वेड पनि खाली छैन भन्दै मोडल अस्पताल,भेनस अस्पताल बानेश्वर,ब्लु क्रस लगायतमा पठाउँदै आएका छन् । केही अघिमात्र डाँगी थर भएका एक विरामीलाई डा.यादवले आकस्मिक कक्षमा टिकट नकाटी सादा टिकटमै अस्पताल भित्र नछिराइ सोझै भक्तपुर मोडल अस्पताल पठाएका थिए ।
बिरामीले आफू डा.यादव बाट बेचिएको थाहा पाएपछि अहिले पाटन अस्पतालको आकस्मिक कक्षमा उपचाररत छन् । यसरी सरकारी अस्पतालमा पुगेका विरामीलाई निजी अस्पतालमा बेचे वापत प्रति विरामी ३० देखि ५० हजारसम्म कमिसन लिने गरेको आरोप छ डा.सन्दिपमाथि । डा.यादवले निर्मल गुरुङ,घाना शाही, पूजा नेपाली, दिनेश सुवेदी, बम बहादुर श्रेष्ठ लगायतका विरामीलाई भक्तपुर मोडल अस्पताल पठाएका भेटिएको छ ।
सो स्रोतका अनुसार डा यादवले आकस्मिक कक्षमा आएका सिरियस विरामीलाई समेत आफूलाई मोटो कमिसन दिने भोटाहिटीमा रहेको छबिन्दा फार्मेसी लगायतमा पठाएर महंगो औषधि भिडाउँदै आएका छन् । सो वापत व्यापार भएको रकमको २५ प्रतिशत हिस्सा उनको भागमा पार्ने गरेको छ । जबकी अस्पतालभित्रै पाँच पाँच वटा फार्मेसी काउन्टर छन् । यसरी अस्पतालकै डाक्टर र कर्मचारीहरुबाट विरामीहरु ठगिदै आएका छन् । हार्ट अट्याकका विरामीलाई समेत भोटाहिटीकै फार्मेसीमा औषधि किन्न पठाइन्छ । यसरी सरकारी अस्पताल वीरमा पुगेका विरामीहरु निजी अस्पतालमा बेचिने गरेको,फार्मेसीसँग सेटिङ्ग गरेर महंगो औषधि भिडाउने गरेको गुनासो पीडितहरुले अस्पताल प्रशासनमा नगरेको पनि होइन तर उनीमाथि अहिलेसम्म कुनै कारवाही भएको छैन ।