जनताको सास्ती बढ्दो, छैन आकाशेपुलको अत्तोपत्तो

प्रमुख वाग्मती प्रदेश समाचार

एलबी विश्वकर्मा
सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ । नेपाल आफैँमा पनि एक सुखी राष्ट्र हो । प्राकतिक रूपले यो देशमा समृद्धि असम्भव छैन । जसका लागि भौतिक निर्माण आवश्यक पर्छ । मुलुकका ठूला सहरहरूमध्ये व्यस्त काठमाडौं सहरको भिडलाई नियन्त्रण गर्ने परिकल्पना अहिले नै गर्न सकिँदैन । तर, अत्यावश्यक भौतिक संरचान निर्माण गरेर केही मात्रामा भए पनि यहाँको ट्राफिक जामलाई व्यवस्थापन गर्न सकिन्छ । यसले भौतिक विकास हुन्छ । वास्तवमा मुलुकको समृद्धिका लागि भौतिक विकास र व्यवस्थापनले अर्थ राख्छ नै । देशैकै सबैभन्दा जनसंख्या रहेका उपत्यकाका ३ महानगरपालिकामा जनअपेक्षित र अत्यावश्यक आयोजनाहरू निर्माण गर्न नसक्दा दिनहुँ समस्या बल्झिरहेको छ । मुख्यतया सबैभन्दा बढी समस्या काठमाडौं महानगरपालिमा रहेको छ ।

देशको संघीय राजधानीसमेत कामनपाको चुनौतीपूर्ण र ठूलो समस्या भनेको सडक जाम हो । सडक जामकै कारण सर्वसाधारणले एक घन्टाको दूरीमा जान आधा घन्टा जाममै बिताउनु पर्ने बाध्यता रहँदै आएको छ । स्थानीय तहको निर्वाचनमार्फत महानगरको नेतृत्व मेयर विद्यासुन्दर शाक्यले सम्हालेको करिब ३ वर्ष बित्नै लागेको छ । काठमाडौंबासीका समस्या ज्यूँ का त्यूँ छन् । धुँवा धुलोको सास्ती उस्तै छ । सडकका खाल्डाखुल्डी उस्तै छन् । खानेपानीको समस्या समाधान हुन सकेको छैन । मेलम्चीको आसमा काठमाडौंबासी बाँचिरहेका छन् ।
पुल निर्माण हुन नसक्दा पैदल यात्रुलाई सास्ती र त्रास उत्तिकै छ । त्यसमा पनि ह्याभी सवारीसाधन आउँदा त सातै जान्छ । अर्कातिर ट्रिपर चल्दा झन् सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । हरेक वर्ष बजेट निर्माण गर्दा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको मागलाई बेवास्ता गर्ने गरेको स्पष्ट देखिन्छ । कार्यकर्ताको मागलाई सम्बोधन गर्दागर्दै मेयर शाक्य अहिले अलोकप्रिय बन्दै गएका छन् । जुन आसा र अपेक्षाका साथ शाक्यलाई काठमाडौंबासीले जिताएका थिए । अहिले त्यो निरासामा परिणत भएको छ ।

आर्थिक वर्ष ०७५÷७६मा काठमाडौं महानगरपालिकाले आर्थिक वर्षको सुरुको पहिलो महिनामै निर्माण थाल्ने योजनासहित विभिन्न आठ स्थानमा अत्यावश्यक रहेको भन्दै १३ अर्ब दुई करोड १२ लाख ३७ हजार रूपैयाँ बजेट प्रस्तुत गरेको महानगरले भौतिक पूर्वाधार निर्माणका लागि मात्रै चार अर्ब छ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । जसमा नयाँ पुल निर्माणका लागि भन्दै १२ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो । महानगरपालिकाले उक्त बजेट आफ्नो स्वेच्छाअनुसार खर्च ग¥यो । तर, पुल निर्माणमा भने ध्यान नै दिएन् ।

उक्त बजेट अन्र्तगत टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर र गौशाला चोकमा नयाँ पुल निर्माण गने लक्ष्य लिइएको थियो । ती क्षेत्रमा सवारीसाधनको चाप अत्याधिक हुने भएकाले पैदलयात्रुलाई बाटो काट्न समस्या हुँदै आएको भन्दै योजना निर्माण गरेको बनाए पनि अर्को आर्थिक वर्ष सुरु भइसक्दा पनि पुल निर्माणको कामको थालनी भने हुन सकेको छैन ।

पैदलयात्रुले जथाभावी बाटो काट्दा सवारी जामको अवस्था देखिँदै आएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको जनाएको थियो । हाल कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क, बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल सञ्चालनमा रहेका छन् । तर, सञ्चालित पुलहरू पनि केही पुराना भइसकेकाले पुनर्निर्माण गर्नुपर्ने अवस्थामा पुगिसकेका छन् । यसबारेमा सर्वसाधारणलाइ मात्र ज्ञान छ । महानगरपालिकको ध्यान भने त्यसतर्फ जान सकेको छैन । महानगरपालिका र प्रदेश तथा केन्द्रीय सरकारका मन्त्रीसमेत ओहोर दोहोर गरिराख्ने सडकहरू बारे उनीहरू अञ्जान छैनन् । तर, निर्माणका लागि चासो नै देखाउँदैनन् । धेरै वर्ष पहिले निर्माण गरिएका वीर अस्पतालअगाडिको पुल अत्यन्त जीर्ण भएकाले तत्काल मर्मतको आवश्यकता रहेको छ । यस्तै भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा निर्माण गरिएका पुलहरू केही वर्ष प्रयोग गर्न सकिने भए पनि ती पुलहरू पुनर्निर्माण हुन आवश्यक छ ।

०६६ सालमा नेकपा नेता माधव नेपाल प्रधानमन्त्री हुँदा नयाँ बानेश्वरमा पुलको उद्घाटन गरेका थिए । उक्त स्थानमा निर्माण गर्ने योजनासहित नयाँ बानेश्वर चोकैमा पुलको उद्घाटन गरियो । एकदशक बितिसक्दा पनि निर्माण गर्नेबारे महानगरपालिका, प्र्रदेश सरकार र केन्द्र सरकार कसैको ध्यान जान सकेको छैन । यो काठमाडौं उपत्यकाको समस्या मात्र होइन । ललितपुर र भक्तपुर महानगरपालिकामा पनि उस्तै समस्या छ । जामका कारण यी स्थानमा दैनिक सैयौँ यात्रुहरू अलपत्र अवस्थामा परिरहेका हुन्छन् । ललितपुरमा जामको समस्या धेरै स्थानमा हुने गरेको छ । विषेश गरेर ललितपुरका एकान्तकुनामा बढी जाम हुने गरेको छ । आयोजना बनाउने क्रममा महानगरपालिकाले विभिन्न समस्या बढिरहेका छन् । सर्वसाधारण घन्टौँ जाममा पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *