डेँगुपीडित छाडेर मन्त्री अमेरिका प्रस्थान

प्रमुख राजनीति

काठमाडौं । देशका जनता डेंगुको कारण भयभित छन् के मन्त्री, के डक्टर ? के प्रशासक ? डेंगुको महामारी फैलिएको छ । सरकार डेंगुको उपचार निःशुल्क गर्ने घोषणा गरे पनि कागजी घोषणामा मात्र सीमित बन्न पुगेको छ । यो समाचार तयार पार्दासम्म डेंगुको संक्रमणमा पर्नेहरूको संख्या (पछिल्लो दुई महिनामै) साढे ५ हजार नाघेको छ । आइतबार मात्र टेकुमा अवस्थित शुक्रराज ट्रपिकल तथा सरुवजा रोग नियन्त्रण केन्द्रमा स्वास्थ्य परीक्षणका लागि झण्डै ९ सय बिरामी पुगेकामध्ये १ सय ६८ जनामा डेंगु भेटियो । जनता यसरी डेंगुको संक्रमणमा गुज्रिरहँदा विभागीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालिरहेका उपेन्द्र यादव कहाँ छन् र उनी के गर्दै छन् ? आम जनताको चासोको विषय बन्न पुगेको छ । देशका जनता यति विघ्न विपतमा परिरहँदा किन स्वास्थ्य मन्त्री यादव मौन छन् ? न त स्वास्थ्य राज्यमन्त्री सुरेन्द्रकुमार यादव नै बोलिरहेका छन् । मन्त्रीहरू नै मौन रहेपछि प्रशासक के गरून् रु अबको केही दिन पछि नै स्वास्थ्य सचिव पुष्पा चौधरी सचिवको जागिर छाडेर विदेशी प्रोजेक्टमा जागिर खान दौड्ने सुरमा छिन् । भर्खरै शिक्षा मन्त्रालयबाट स्वास्थ्यमा पुगेका सचिव खगराज बरालले केही एक्सन लिन र जनतालाई राहत हुने गरी निर्णय गर्न सकेका छैनन् ।
एकातिर ३ असोजमा सरकारले संविधान दिवस धुमधामसँग बनाउने तयारी गर्दै छ । अर्कोतिर सत्तामै रहेको यादवको पार्टी अनौठो निर्णय गरिरहेको छ । संविधान दिवस यादवको पार्टीलाई हर्ष न विस्मातको रूपमा मनाउने निर्णय भएको छ । दिवसको विरोध पनि नगर्ने र समर्थन पनि नगर्ने उनको पार्टीले लाइन लिएको छ । अहिले मधेस केन्द्रित नेताहरूले उपेन्द्रलाई उडाउन थालेको छन् । सत्तामा बसेर कमाउने, संविधान दिवस नमाउने । न पोथी न भाले भन्दै यादवको शैलीलाई मधेसी नेताहरूले नै विरोध गर्न थालेका छन् । यता उपेन्द्रले अर्को चलाखी अपनाएका छन् । उनी विदेश सयरमा निस्कने तयारी गर्दै छन् । तर, संविधान दिवस छल्नका लागि उनी विदेश जान लागेका हुन् । सरकारले संविधान दिवसका दिन जनताको घर–घरमा दीपावली गर्ने आह्वान गरेकै समयमा उनी भने आलोचनाबाट बच्न विदेश उड्न लागेका हुन् । सोही छेको पारी यादव अमेरिका सयरमा निस्कँदै छन् । ३ असोज ०७२ मा संविधान जारी भएको थियो । सो दिनलाई राजपाले कालो दिनको संज्ञा दिँदै आएको छ र उसले सोही दिनमा आफ्ना विरोधका कार्यक्रमसमेत सार्वजानिक गरिसकेको छ । यसपटक सरकारले चौँथो संविधान दिवस मनाउँदै छ ।
यादव भने सोही अवसर पारी अमेरिका उड्दै छन् । उनी आजै (१ गते) नै अमेरिका उड्नेछन् र १४ दिनपछि मात्र स्वदेश फर्कने कार्यक्रम छ । सरकारका मन्त्रीहरूमध्ये सबैभन्दा बढी विदेश सयर गर्ने मन्त्रीका रूपमा यादवलाई चिनिन्छ ।
यता सुशील प्याकुरेलको जागिर अवधि सकिएपछि रिक्त रहेको स्वास्थ्य सेवा विभागको प्रमुखका रूपमा डा रोशन पोखरेललाई ल्याउन यादवले तयारी थालेका छन् । आर्थिक लाभ लिएर त्यहाँ पोखरेललाई ल्याउन लागेको हुन् । स्वास्थ्य सेवा विभागका महानिर्देशकमा १२औँ तहका कर्मचारीलाई महानिर्देशक बनाउनु पर्नेमा चोरबाटोबाट ११औँ तहका कामु महानिर्देशक बनाएर महानिर्देशकमा बढुवा गर्ने यादवको चालबाजी छ ।
महानिर्देशक डा। सुशीलनाथ प्याकुरेलले २१ भदौमा उमेरहदका कारण अनिवार्य अवकाश पाएपछि विभागको महानिर्देशक पद रिक्त छ । त्यहाँ यादवले पोखरेललाई नियुक्ति गर्ने प्रक्रिया अघि बढाएर उनी अमेरिका सयरमा निस्कन लागेका छन् । पोखरेलका लागि टिप्पणी उठिसकेको भए पनि सदर भएर पत्र भने बनिनसकेको मन्त्रालय स्रोतको भनाइ छ ।
यादव जातीयताको चंगुलमा कसरी फसेका छन् भन्ने एउटा रमाइलो उदाहरण भेटिएको छ । समाजवादी पार्टीले २ नम्बर प्रदशेका आठ जिल्लामा संयोजक र सहसंयोजक त तोक्यो तर त्यहाँ यादवबाहेक कसैले प्रवेश नै पाएनन् । सप्तरी जिल्लाका इन्चार्ज बनाइयो, सत्यनारायण यादवलाई सहसंयोजक बनाइएको छ उमेश यादव । सिरहाका इन्चार्ज बनाइएको छ अशेश्वर यादवलाई । धनुषमा सहइन्चार्जको जिम्मा दिइएको छ रामगोविन्द यादवलाई । महोत्तरीको सहइन्चार्ज महेन्द्र यादव, सर्लाहीको इन्चार्ज भाग्यनारायण यादव, रौतहटको इन्चार्ज विन्देश्वर यादव, बाराका सहइञ्चार्ज रामबाबु यादव र सप्परीको सहइञ्चार्ज रामनरेश यादव । यी सवै स्थानमा यादव थरी मात्र खोजिएको छ । बाहिर सरकारले न्याय गरेन भन्ने तर पार्टी पंक्तिदेखि नियुक्तिसम्ममा मधेसकै र सकेसम्म यादवै थरका व्यक्ति खोज्ने यादवका प्रवृत्तिले उनीसँग अरु सहयात्रीहरू बिच्किएका छन् । देश र जनता डेँगुका कारण पिडित रहेका छन् यस्तो बेलामा पनि हाम्रा देशका माननियहरु भने देश तथा बिदेशको भ्रमण गर्दैमा मस्ती रहेृका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *