अख्तियारको डरले जागीर छाड्दै

प्रमुख प्रशासन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वसचिव नवीन घिमिरेको उदयभएसँगै भ्रष्ट कर्मचारीहरुको निदहराम भएको छ । केही भ्रष्ट कर्मचारीहरु धमाधम राजीनामा दिन थालेका छन् भने केही भ्रष्ट कर्मचारीहरु त्राहिमाम भएका छन् ।

जस्को उदाहरण हुन भ्रष्ट कर्मचारी रामकृष्ण तिवारी । उनी कुनै समय सिन्धुपाल्चोक जिल्लाको सिडिओ थिए । कुनै समय तातोपानी भन्सारमा बसेर तर मारेका उनी राजीनामा बुझाएर दिल्लीतिर भागेका छन् । तिवारीझैं तर मार्ने सफल बदनाम कर्मचारीहरु अधिकृत अर्जुन थापा, उद्धव राउत, रघु घिमिरेलगायतले राजीनामा बुझाएर हिँडेका छन् । कारवाहीमा पर्ने डरले उद्धवहरु अहिले सरकारी जागिर छाडेर साँगातिर कालिज र गाइको फार्म चलाएर बसेका छन् । यसरी राजीनामा बुझाएर हिँड्ने कर्मचारी एकातिर छन् । अर्कोतिर अख्तियार चम्किन थालेपछि र हरेक दिनजसो दुई चार हजार घुस खाने निमुखा कर्मचारीहरुलाई रंगेहात पक्राऊ गर्न थालेपछि तर मार्न पल्किएका कर्मचारीहरुको रुवावासी शुरु भएको छ । आम सर्वसाधरणको चाहिँ गुनासो छ,अख्तियार साना माछाहरुकै पछि अल्झियो । ठूला माछा उम्कायो । समाउने पहलै गरेन् । चौतर्फी यस्तै गुनासाहरु सुनिँदैछ अचेल । अख्तियारको चौतर्फी आलोचना हुन थालेपछि अख्तियार फेरी जुर्मुराउन थालेको हो ।

सचिवबाट रिटायर्ड भएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कमाण्ड सम्हाल्न पु्गेका नवीन घिमिरे ठूला माछाहरु उम्कन नदिने हिसाबले काम गरिरहेको बताउँछन् । यसकै उदाहरण हो ललिता निवास जग्गा प्रकरण । घिमिरे अख्तियारमा पुगेपछि नै सहतमा आएको छ वालुवाटारको सरकारी जग्गा किनबेच प्रकरण । यो प्रकरणमा उच्च तहका नेताहरुदेखि व्यापारी र कर्मचारीहरुकै मिलेमतो रहेको तथ्य उजागर पनि भयो । तर त्यो फाइल अहिले अख्तियारकै घर्रामा थन्किएको छ । अख्तियार स्रोतका अनुसार अहिले प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारीको नालीबेली खोतल्न र ठूला माछा भनिएका भ्रष्टाचारीलाई पाता कस्न लागिपरेको अख्तियार छन् । उनकै निर्देशनमा अनुसन्धान अधिकारीहरु मालदार अड्डाका हाकिमहरुको तीनपुस्ते खोज्ने काम भइरहेको छ । झण्डै १५ सय कर्मचारीको तीनपुस्ते खोज्नुका साथै उनीहरुको सम्पत्तिको मिहिन ढंगले अध्ययन अनुसन्धान भईरहेको छ ।विशेष गरी मालपोत,भूमिसुधार,नापी,वैदेशिक रोजगार,भन्सारजस्तो सबैभन्दा बढी आर्थिक चलखेल हुने निकायका कर्मचारीहरुको मिहिन ढंगले अध्ययन र अनुसन्धान गरिरहेको छ अख्तियार ।अख्तिायरको छानबिनको दायरामा अर्थ मन्त्रालय अन्तर्गत विभिन्न कार्यालयमा कार्यरत अधिकृतहरु, विभिन्न आयोजना र आकर्षक अड्डाका लेखा अधिकृतहरु, सडक विभाग अन्र्तगतका डिभिजन कार्यालय र आयोजनामा कार्यरत अधिकारीहरु रहेका छन् ।अर्थमन्त्रालय अन्तर्गत कार्यरत शाखाअधिकृतदेखि सह–सचिवसम्म कार्यरत कर्मचारीहरु र भौतिक योजना तथा पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालय तथा आयोजना प्रमुखहरु धेरैले भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अनुसन्धानबाट देखिएको अनुसन्धानले देखाएको छ । यस्तै मालपोत, यातायात,वैदेशिक रोजगार विभाग,अध्यागमन र स्थानीय निकायमा प्रमुख भई काम गरेका शाखा अधिकृतभन्दा माथिका कर्मचारीहरुमाथि अनुसन्धान भईरहेको जनाइएको छ ।

अख्तियारमा प्राप्त उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गरी करीब १५ सय कर्मचारीमाथि विस्तृत अध्ययन भईरहेको छ । अख्तियारका अनुसार कतिपय कर्मचारीको अध्ययन अन्तिम चरणमा पुगिसकेको छ अहिले तीन तहमा वर्गीकरण गरेर अनुसन्धानलाई अघि बढाएको छ । अधिकांश कर्मचारीहरुले कालो धनलाई सेतो बनाउन श्रीमती र साला सालीको नाममा कम्पनी खोलेर अन्यन्त्रै लगानी गरेको भेटिएको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसरी अख्तियार सक्रिय भइ भ्रष्ट कर्मचारीहरुको तीन पुस्तेसहितको फाइल खोतल्न थालेसँगै भ्रष्ट कर्मचारीहरुको निदहराम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *