सीमावर्ती जिल्ला रुपन्देहीको तिलोतमा नगरपालिकाले कोभिड १९ कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयाससँगै विकास निर्माणको गतिविधिलाई पनि सँगै अघि बढाएको छ । समुदायमा फैलिन शुरु गरेको संंक्रमण नियन्त्रण गर्न पछिल्ला दिनमा नगरपालिकाले समुदायमा जनचेतना र प्रत्यक्ष निगरानी बढाएको छ । संक्रमण नियन्त्रणको प्रयाससँगै विकास निर्माणको गतिविधिको व्यवस्थापनका सन्दर्भमा नगरपालिकाका मेयर बासुदेव घिमिरेसँग तामाकोशी सन्देशका संवाददाता एल. बी विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश
तिलोतमा नगरपालिकामा कोरोना भाइरस संक्रमणको अवस्था कस्तो छ ?
कोरोना संक्रमणका हिसाबले रुपन्देही जिल्ला नै उच्च जोखिममा छ । हाम्रो नगरपालिका जिल्लाका बिच ठाउँ र सीमाको केही नजिक, जनसंख्या तुलनात्मक हिसाबले बढी, उद्योग व्यवसाय पनि बाक्लो भएको हुनाले बढी जोखिमयुक्त नगरमा पर्छ । संक्रमणको दर दिनप्रतिदिन बढेको छ । कैयौ संक्रमितहरु बढिरहेका छन् । यद्यपी उहाँहरु उपचार भइरहेको छ । मृत्यु भएकाहरुको पनि मुटु सम्बन्धि र निमोनियाका दीर्घरोगी हुनुहुन्थ्यो, अन्तिममा परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । केही समय अघिसम्म त समुदायमै गएर पिसिआर परीक्षण गराएका थियौं । तर अहिले लक्षण देखिएका मानिसलाई मात्रै परीक्षणमा ल्याइन्छ । यहाँको जनताले पनि कोभिडलाई एकदमै साधारण रुपमा लिइसके । कसैमा संक्रमण देखियो भने उसलाई र उसको परिवार वा सम्पर्कमा रहेका व्यक्तिहरुलाई मात्रै परीक्षणका लागि ल्याउने गरिएको छ । उनीहरुको उपचारमा भने नगरपालिकाले सहयोग गरिरहेको छ । नगरपालिकाले कोरोना संक्रमणबाट बच्न जनचेतना अभिवृद्धिमा पनि काम गरेको छ । यद्यपि पोजेटिभ रिपोर्ट आए पनि लक्षण नदेखिएकाहरु होम आइसोलेसनमा राख्न पनि निकै कसरत गर्नु पर्छ ।
उपचारको व्यवस्थापन कसरी गरिएको छ ?
पहिले २० बेडको स्वास्थ्य चौकीको आइसोलेसन सेण्टरमा थपेर ४० बेडको बनाइएको छ । होम र संस्थागत दुवै आइसोलेसनमा स्वास्थ्यकर्मी र जनप्रनिधि टोलीको रेखदेख छ । पहिले क्वारेन्टाइन एउटा स्कूलमा राखिएको थियो । स्थानान्तरण गरी २ सय जना क्षमताको क्वारेन्टाइन शंकरनगरस्थित वन विभाग तथा अनुसन्धान केन्द्रभित्र राखिएको छ । त्यहाँ स्वास्थ्यकर्मीको टोली खटिएका छन् । संक्रमितलाई समस्या भए बुटवल प्रदेश अस्पताल वा भैरहवा भीम अस्पतालमा पठाउँछौं । हामी आफैं जनप्रतिनिधिका हिसाबले नगरप्रमुख, उपप्रमुख स्वास्थ्यकर्मीसहित घरघरै गएर स्वास्थ्य अवस्था बुझ्ने प्रयास गरिरहेका छौं । अहिले म आफैं पनि एकाध दिन बिराएर भेट्न जाने, फोनमा भएपनि सम्पर्क गरेर स्वास्थ्य अवस्थाबारे जानकारी दिने, सान्त्वना दिने काम गरिरहेको छु । यसबाट संक्रमित समाजले हेर्ने गलत दृष्टिकोणमा पनि परिवर्तन आएको छ । नेपाल सरकारले सिफारिस गरेको अश्वगन्धा, तुलसी चिया, च्यावनप्रासका आयुर्वेदिक औषधीको किट पनि बाँडेका छौं । संक्रमित देखिने बित्तिकै कीट घरमै पठाइदिने गरेका छौं ।
विकास निर्माणका काम ठप्पै छन् त ?
हामी कहाँ दैनन्दिन श्रम गरेर खाने वर्ग प्रसस्त छन् । यो अवस्था लम्बिइरहने हो भने रोगलाई भन्दा भोकलाई थेग्न गाह्रो हुने छ । त्यसकारण संघीय सरकारले प्रदेश र पालिकाहरुले पनि आ–आफ्ना अवस्था कार्यान्वयन गर्न सकिने निर्णय गरेको छ । २० गतेपछि जनजीवन सहजीकरण गर्ने छ । सुरक्षा विधि अपनाएर आर्थिक गतिविधि अघि बढाउनु पर्ने देखियो । सोही अनुसार जिल्ला संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । अबका दिनमा नागरिकले स्वास्थ्य सचेतता अपनाइदिन पनि म नगरबासीमा हार्दिक अपिल गर्छु । हाम्रो नगरभित्र रहेका उद्योगधन्धामध्ये भारततिरबाट पनि धेरै श्रमिक आएर काम गर्नु पर्ने ठूला उद्योग चाहिँ बन्द छन् । स्थानीय मजदुरले काम गर्ने सानातिना उद्योग भने अहिले पनि स्वास्थ्य मापदण्ड कायम गर्दै सञ्चालन गर्न सहजीकरण गरेका छौं । त्यो अन्तर्गत धेरै खाद्य उद्योगहरु छन् । पहिलो लकडाउनका बेला नेपालमै पहिलोपल्ट राहत वितरण गर्न हामीले सुरु गरेका थियौं । अहिले चाहिँ श्रममा आधारित राहत भन्ने अवधारणा अनुसार नगरपालिका भित्र विभिन्न विकास निर्माणका गतिविधिमा रोजगारी दिएका छौं । केहीलाई यसरी काम दिएर न्यूनतम रोजगारी दिने वातावरण नगरपालिकाले बनाएको छ । काम गर्नै नसक्ने अवस्थाका नागरिकलाई भने उपमेयरको संयोजकत्वमा खाद्य व्यवस्थापन समिति छ, समितिसँग जेष्ठमै केही अनुदानबाट आएका केही खरीद गरेर भण्डारण गरेका खाद्यन्न छन् । वडाका सिफारिस लिएर वा सिधा नगरपालिकामा आउने त्यस्ता पीडितलाई हामी वितरण गरिरहेका छौं ।
कति मानिस रोजगार छन् ?
लामो लडकडाउन भनेर जनतालाई घरभित्रै राखेर भएन । त्यसकारण अब एकदिन पनि ढिलाई नगरी आर्थिक गतिविधिलाई पनि सुचारु गर्नु पर्ने देखिन्छ । सुरक्षा मापदण्डलाई कडाई गरेर केही काम गर्दै छौं । अहिले नगरपालिकाको प्रशासनिक भवन निर्माण हुँदै छ । त्यहाँ करिब ५० जना मजदुर खटिनु भएको छ, उहाँहरुलाई भित्रै खाने बस्ने व्यवस्था छ, बाहिर समुदायमा सम्पर्क हुँदैन । यसबाहेक विभिन्न वडा कार्यालयहरु निर्माण हुँदैछन् । त्यहाँ पनि संक्रमणको जोखिमलाई ध्यानमा राखेर सतर्कतासहित काम अघि बढाउन भनिएको छ । १० तले भ्यू टावर, अतिथि गृह, सामुदायिक सभा हल, स्वास्थ्य चौकी, पार्क, नाली, सडक निर्माण जारी छ । हाम्रै नगरपालिकाभित्र संघीय सरकार मातहत योजना बाहेक पनि अहिले करीब १ अर्ब रुपैयाँ बराबरको काम भइरहेको छ । यी ठूला र साना आयोजनामा गरी करीब १ हजार श्रमिक रोजगार छन् । यस क्षेत्रमा नियमित कृषि कार्य त जारी नै छ । हाम्रो अनुभवमा यसरी नियमित कृषि क्षेत्रमा श्रम गर्ने व्यक्तिहरुमा संक्रमणको जोखिम कम भएको छ । हाम्रो जानकारीमा नआएको पनि हुन सक्छ, तर श्रम कम गर्नेहरुमा जोखिम बढी देखियो ।
नगरपालिकाभित्र शैक्षिक संस्थाहरुको अवस्था कस्तो छ ?
ह्ँम्ल्ेि ीश्ष्ँँम्ँ ब्यापक सुधार गरेका छौं। शिक्षा संगथै स्वास्थ्य र सरसफाईमा पनि ध्यान सदिएका छौं। पहिलादेखि नै उच्च मावि थियो । म आएपछि त्यसलाई प्राविधिक शिक्षा पढाई थालियो । जिल्लाको पुरानो निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाइयो । यसपाली एसईईको पहिलो व्याच निस्कियो । यी लगायत अन्य विद्यालयको पनि भौतिक संरचना निर्माण गर्न नगरपालिकाले सहयोग गरेका छौं । बाल विकास शिक्षा अन्तर्गतका शिक्षिकाहरुलाई पाइआएको तलबमा थप २ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि हामीले दिएका छौं ।
स्वास्थ्य सेवाको अवस्था कस्तो छ ?
अस्पतालहरुलाई १५ बेड देखि ५० बेड सम्मा स्तरोन्नति गर्दै छौं । निकै लामो प्रयासपछि यसका लागि प्रदेश सरकारले सहयोग गर्ने आशा पलाएको छ । कोभिडकालपछि यसले निरन्तता पाउनेमा म विश्वस्त छु । ५० बेडको प्रदेशभरीकै चार ओटा अस्पतालमध्ये यो एउटा हुने छ । यसका लागि एक्स–रे र भिडियो एक्स–रे मेशिन नगरपालिकाकै खर्चमा जडान भएको छ । नगरपालिकाकै अनुदानमा औषधि पनि उपलब्ध गराउँदै आएको छ । दलित र जेष्ठ नागरिकलाई अस्पताल भर्ना शुल्क पालिकाले बेहोर्ने गरी निःशुल्क सेवा उपलब्ध गराइएको छ ।