निष्ठा र इमान्दारिताको प्रतिक अर्थात लामा कार्पु

राजनीति वाग्मती प्रदेश

विकट हिमाली जिल्ला रसुवामा नेपाली कांग्रेस पार्टी स्थापित गराउनमा धेरै ठूलो त्याग र योगदान छ लामा कार्पु तमाङको । सरल स्वभाव र मिजासका धनी लामा कार्पु आजभन्दा ४६ बर्ष अघि स्याफ्रु गाविस वडा नं ४ को भार्खुमा मध्यम बर्गीय परिवारमा जन्मिएका हुन् ।
पीतामह (हजुरबुवा),पीता नै कांग्रेसी भएका कारण उनको जीनमै कांग्रेस थियो भन्दा फरक नपर्ला ।
नेपालमा प्रजातन्त्रको उदय भएकै बेलादेखि उनको हजुरबुबा ढिण्ड वाडड्दी तमाङ काग्रेस पार्टीको झण्डामुनी पसेका थिए । कांग्रेस बनेका थिए । पिताकै पथ पच्छ्याउदै बुबा धुक्के तमाङ कांग्रेस मात्र बनेनन् । २ पटकसम्म प्रधानपञ्च बने । जिल्लामा धेरै विकास निर्माणका काम गरे । दुर्भाग्य उनका पिताजी दोस्रो कार्यकाल सम्हालिरहँदैको समयमा खोपाङको भीरबाट खसेर प्राण गयो । त्यतिखेर लामा कार्पुको उमेर सात बर्षको मात्र थियो । त्यो दूर्घटना थियो वा हत्या ? अझैं रहष्यकै गर्भमा छ ।
परिवारको खम्बा वा आड भरोसा नै ढलेपछि लामाकार्पु र उनको परिवारको जीवनको गति पनि रामकृष्ण ढकालको चर्चित गीत ओराली लागेको हरिणको चालझैं भयो ।
संसारकै रित नै यस्तै हो । सुखमा सबै आफन्तहरु नजिकिन्छन्,दुख परेपछि सबै टाढिन्छन् वा सुखको प्याला पिउने हजारौं हुन्छन्,दुखको प्याला एक्लै निल्नुपर्दछ । परिवारको मियो नै ढलेपछि जिम्मेवारी आइलाग्यो लामाकार्पुको आमाको काँधमा पर्ने गयो । चार सन्तान हुर्काेउने,बढाउने र पढाउने दायित्व थियो आमाको काँधमा । संर्घष गरेरै लामाकार्पुले एसएलसी तह पार लगाए ।
आरोह अवरोह
पिता पुर्खा नै राजनीतिमा लागेका कारण उनीमा पनि नशाथ्यो राजनीतिको । ०४६ सालमा जनआन्दोलनमा सक्रिय सहभागीता जनाए । ०४७ सालमा नेपाली कांग्रेस पार्टीको सक्रिय सदस्यता हात पारे । यस पछि उनको राजनीतिक यात्रा कहिल्यै पछाडि फर्केर हेर्नु परेन् । ०४८ को संसदीय निर्वाचनमा स्याप्रु गा.वि.स.को निवार्चन प्रचार संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।
०४९ सालको स्थानीय तहको निर्वाचनमा स्याफ्रु गाविसको अध्यक्ष बने । गाउँमा विकास निर्माणका मूल फुटाए । सोही समयमा पार्टीको जिल्लाकार्य समितिको सदस्य बन्न पुगे ।
०५३ सालमा पार्टीको ९ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बनेका उनी ०५७ को १० औं महाधिवेशनमा महासमिती सदस्यका साथैं जिल्ला पार्टी सभापतीमा निर्वाचित भए ।
यस्तै,०६३ को ११ औं महाधिवेशन महासमिति सदस्य निर्वाचित भए ।
जतिखेर माओवादी आन्दोलन उत्कर्षमा थियो । त्यतिखेर पटक पटक ज्यान मार्ने धम्की आउँदा समेत उनी आफ्नो निष्ठा र इमान्दारिताबाट कति पनि बिचलित भएनन् । निरन्तर सामाजिक र राजनीतिक कर्ममै हेलिरहे । ०६४ सालमा संविधान सभा सदस्यको निवार्चनमा पार्टीको संयोजकको भुमिका निर्वाह गरेका उनको लगनशीलता,निष्ठा र इमान्दारिताकै कदर स्वरुप फेपर ०६७ को १२ औं महाधिवेशनबाट दोश्रो पटक जिल्लाको पार्टी सभापति चुनिए । बीचमा रसुवाजिल्ला कार्यसमितिको सर्वसम्मत निर्णयबाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक उमेद्धारमा सिफारिस भए ।
यसरी जीवनको झण्डै तीन दशकभन्दा लामो समय नेपाली कांग्रेसमै लागेर कपाल सेताम्य बनाएका,उर्जाशील समयमा रगत,पसिना बगाएको पार्टीमा आज ठेकेदार र पैसावालहरु हाबी भएर नीति,विधि र पद्धति मिचिनेक्रम शुरु भएसँगै लामा कार्पुझैं रसुवामा पूराना कांग्रेसहरु चिन्तित छन् ।
आफैंले राजनीतिमा ल्याएका भाइ पुस्ताका कार्यकर्ताहरुले आज हैसियत बिर्सिएर जिल्लामा पार्टी सिद्धाउन र कमजोर बनाउन खोजेको देख्दा मन कुडिएको छ लामा कार्पुहरुको ।
निर्वाचन जितेका जनप्रतिनिधिहरुले जिल्लामा विकास निर्माणको काम गर्नु,जनताको दिल जित्ने काम गर्नु पार्टी कमजोर बनाउने काम गरेर के फाइदा ? किन हैसियतभन्दा माथि गएर बाटो भुल्दै छन् साथीहरु ? उनी प्रश्न गर्दछन ।
जस्ले बाटो बिराए
रसुवाका ठेकेदार माननीय मोहन आचार्य,जिल्ला सभापति पेम्बा तमाङ,प्रदेश सांसद प्रेम तमाङ र उत्तरगयाँ गाउँपालिकाको अध्यक्ष उपेन्द्र लम्सालहरुको योजना अनुसार पूराना र सक्रिय कांग्रेसलाई सिद्धाउने गरी दुई चार बर्ष अघि मात्र कांग्रेसी झण्डामुनी प्रवेश गरेकाहरुलाई छानी छानी अवसर दिएपछि पूराना कांग्रेसी नेताहरु क्रुद्ध भएका हुन् । कांगेसको विधि विधान लत्याउँदै मनपरी हुन थालेको भन्दै रसुवाका पूराना कांग्रेसीहरुले दुखेसो पोखेका छन् । कांग्रसको विधि विधान अनुसार पार्टीको क्रियाशील सदस्य १० बर्ष पछि जिल्ला सभापति, ५ बर्षदेखि क्रियाशिल भएकोले जिल्ला उपसभापति र तीन बर्षदेखि क्रियाशिल सदस्य भएको व्यक्तिले मात्र महाअधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्था छ ।
तर पार्टीको सिद्धान्त कुल्चदै पार्टीका लागि जिउ,ज्यान र जवानी दिएका पूराना कांग्रेसीहरुलाई बाइपास गरी एक दुई बर्ष अघि मात्र पार्टी प्रवेश गरेका र पार्टीका साधरण सदस्य समेत नरहेकाहरुलाई अवसरको भारी बोकाइएपछि रसुवा कांग्रेसमा देखिएको किचलोले केन्द्रीय राजनीतिसमेत तातेको छ । कांग्रेस महामन्त्री डा शेखर कोइरालासहित पार्टीका २७ जना केन्द्रीय सदस्यहरुले यो बिषयमा विरोध जनाइरहेका छन् ।

पूरानालाई बाइपास ?

रसुवा कांग्रेसको राजनीतिमा लागेर कपाल फुलाएका पूरानो कांग्रेसले आजसम्म त्यो पद पाउन सकेको छैनन् । जस्तो वालचन्द्र पौडेल,वमबहादुर गुरुङ, भोजबहादुर, देवकी रैला,लामा कार्पु ,ठाकुर देवकोटा,लाल बहादुर तमाङ,जनक जीवन उपाध्याय,मंगले तमाङ यी पूराना नेताहरुले हालसम्म कुनै केन्द्रीय विभागीय सदस्य पाएका छैनन् । तर नवप्रवेशीहरुलाई बोक्न नसक्ने भारी बोकाइएको भन्दै कांग्रेसीहरुले आक्रोश पोखेका हुन् । रसुवा जिल्लाबाट पार्टीमा कुनै योगदान र त्याग नभएका र नवप्रवेशीहरुमध्येबाटै १३ जनालाई सभापति दिइएको छ । यस्तै जिल्ला कार्यसमिति १६,महासमिति सदस्य २ जना,केन्द्रीय विभाग ६ जनालाई दिने तयारी भइरहेको छ ।
आफ्नै खुट्टामा बञ्चरो
नेपाली कांग्रेस लोकतन्त्रमा विश्वाश गर्नै पार्टी हो । कांग्रेस पार्टी विधि,विधान र पद्धतिमा विश्वाश गर्ने पार्टी हो तर विधि विधान मिचेर केहि साथीहरु मै यहाँको सर्वसर्वाै हुँ र मैले जे गरेपनि हुन्छ भनेर लागिरहेका छन् तर, यो टिकाउ हुँदैन् । उनी अगाडि भन्छन् यस्तो काम भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नु बराबर हो । लामाकार्पुजस्ता पूराना कांग्रेसी नेताहरु अहिले रसुवा कांग्रेस विग्रदै गएको र कमजोर हुँदै गएको प्रति खिन्नता पोख्छन् । भन्छन्,केही साथीहरुले पार्टीका सिद्धान्त,नीति,विधि,पद्धतिलाई अचार बनाए । पार्टीलाई नै धमिलो बनाए । यो गल्ती समयमै नसच्चाउने हो भने यस्को प्रत्यक्ष असर चाहिँ आगामी चुनावमा भोग्नुपर्दछ ।
यी तमाम समस्याहरुको सामाधान वैद्यानिक बाटोबाट खोज्नुपर्ने र जिल्लाको विवादको निकास जिल्लाभित्रै मन माझेर निकाल्नुपर्ने कांग्रेसका पूराना नेता लामा कार्पुको मत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *