स्थानीय तहको निर्वाचन भएको तीन वर्ष बितिसकेको छ । यो अवधिमा स्थानीय जनप्रतिनिधिको काम कारबाहीप्रति जनता त्यत्ति सन्तुष्ट छैनन् । विकास निर्माणको काममा आफैँ ठेकेदार बनेको र कार्यकर्तामुखी भएको आरोप उहाँहरुमाथि छ । स्थानीय जनप्रतिनिधिले अधिकारसम्पन्न भएर पनि परिणाममुखी काम गर्न नसकेको चौतर्फी टिप्पणी भइरहेका बेला काठमाडौंकै टोखा नगरपालिकाले भने नगरका सबै जनता सन्तुष्ट भएको बताएको छ । स्थानीय तहमा नागरिकका गुनासा तथा समस्या समाधन गर्न र स्थानीय तहको विकास गर्न जनप्रतिनिधिहरुले काम त गरिरहेका छन् । तर अप्ठ्याराहरु पनि नभएका होइनन् । स्रोत साधन जुटाउन समस्या छ । व्यवस्था बुझ्नै पनि जनप्रतिनिधिलाई धैरै समय लागेको छ । अझै काठमाडौंभित्रका स्थानीय तहमा बढी समस्या छन् । तीव्र रुपमा बस्ती विकास भएका काठमाडौंका स्थानीय तहमा अव्यवस्थित सडक, ढल, पानी, जग्गा विवादजस्ता समस्या समाधान गर्न चुनौती छ । काठमाडौंको टोखा नगरपालिकामा पनि यस्ता धेरै समस्या छन् । नगरपालिकाले कसरी जनता सन्तुष्ट बनाउन सक्यो ? के त्यस्तो काम ग¥यो नगरपालिकाले यो तीन वर्षमा ? नगर प्रमुख प्रकाश अधिकारीसँग तामाकोशी सन्देशका सम्पादक रामचन्द्र बस्नेतले गरेको कुराकानीको सम्पादित अंशः
० निवार्चन सम्पन्न भएको ३ वर्ष पूरा भइसकेको छ, यो अवधिसम्म के–के काम गर्नुभयो ?
संविधानले परिभाषित गरेअनुसार स्थानीय तहलाई दिएको अधिकारलाई हामीले व्यवस्थित ढंगले परिचालन गरेका छौँ । संविधानले दिएको एकल अधिकारको पनि पूर्णरुपमा परिपालना गर्न ऐन, नियम र विनियम बनाएर अगाडि बढेका छौँ । जनताको प्रत्यक्ष सरोकार राख्ने काममा हामी फोकसिङ भएर लागेका छौँ । शिक्षा र स्वास्थ्यको हबको रुपमा नगरपालिकाको विकास गर्न हामीले वडाअनुसार कामको विभाजन ग¥यौँ । कामको नक्सांकन, कामको प्राथमिकरण गरेका छौँ । वडा नम्बर १, २, ३, लाई पर्यटन, संस्कृति तथा कृषिसँग जोड्ने योजना करिब सम्पन्न भएको छ । वडा नम्बर ४, ५, ६, ७, ८ लाई शिक्षाको हब तथा व्यवसायिक रुपमा विकास गर्ने भनेर योजनाअनुसार काम भइरहेको छ । धापासी, गोंगबु र टोखालाई छुट्टाछुट्टै पहिचानको रुपमा विकास गरेका छौँ । हामी चुनाव जित्नेबित्तिकै दुईवटा उद्देश्य लिएर अगाडि बढ्यौँ । पहिलो उद्देश्य नगरपालिकाले गर्ने र अर्को उद्देश्य प्रदेश र केन्द्र सरकारले गर्ने योजनाका वर्गीकरण ग¥यौँ । र, प्राथमिकताका साथ काम गरेका छौँ । टोखा नगरको विकासका लागि जनता र स्थानीय बुद्धिजीवी तथा विकासमा सरोकार राख्ने सबैको साझा संकल्पका साथ हामी अगाडि बढेका छौँ । टोखालाई तीन भागमा विभाजन ग¥यौँ । चारवटा ठूला सडक बनाउन सफल भयौँ । खानेपानीको पाइपलाइन विस्तार गरेका छौँ । डुबान क्षेत्रमा ढल निकासको काम गरेका छौँ । प्रतिशतको आधारमा २० वर्षमा गर्न नसकेको काम गरेका छौँ । हामीले विभाग, प्रदेश र केन्द्रले गर्ने कामलाई प्र्रत्यक्ष सरोकार राखेर काम गरेका छौँ । तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गरी अगाडि बढेका छौँ । सबै वडाहरुमा पार्क निमार्ण गरेका छौँ । वडा भवन, आफ्नै नगर भवन बनिरहेको छ । हाम्रो आफ्नो पाँचवर्षे कार्यकालमा समापन हुने छ । पूर्वाधार विकास, सामाजिक विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, कृषि, पशु, वन, सुशासन, सेवा प्रवाह, यातायात, सञ्चार, सूचना प्रविधि, फोहोरमैला व्यवस्थापन, पर्यटन, सम्पदा तथा संस्कृति संरक्षणलगायत क्षेत्रलाई प्राथमिकता दिएर हामी अगाडि बढिरहेका छौँ ।
० नगरबासीले कस्ता समस्या लिएर आउँछन् ?
सबैभन्दा धेरै आउने समस्या भनेको घर जग्गाको समस्या हो । त्यसमा पनि सीमाना नमिलेको, बलेसी नभएको, बाटो नछाडेको, बाटो बिग्रिएकोजस्ता समस्या धेरै आउँछन् । त्यस्ता समस्या समाधान गर्न हामी गम्भीर भएर लागेका छौँ । हामी जतिसक्दो चाँडो समस्या समाधान गर्न लागिपरेका छौँ ।
० समस्या समाधान गर्न कस्तो प्रक्रिया अपनाउने गर्नुभएको छ ?
समस्यालाई हामी राम्रोसँग सुन्छौँ । सबै समस्याको समाधान नगरपालिकाभित्रको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले गर्ने हो । विशेषगरी टोखा नगरबासीले गरेको मागको सम्बन्धमा हामीले सबै कुरा रेकर्ड गरेर राख्छौँ र त्यो माग नगरसभाबाट अनुमोदन गराउँछौँ । समस्या अनुसार हामीले त्यहाँ जनशक्ति घटाउने गरेका छौँ । खानेपानीमा समस्या भएको माग, बाटो बिग्रिएको माग, ढल निकासको समस्या, जग्गा संरक्षणको माग आउँछ, त्यसपछि म आफैँले प्राविधिक पठाउँछु । समय मिलेसम्म म आफैँ पनि जान्छु । नमिलेको समयमा प्रविधिक पठाउने हो । त्यो साँच्चैको समस्या रहेछ भने त्यसलाई योजनामा समावेश गराएर बजेट विनियोजन गरेर काम गर्छौं । हालसम्म हामीले धेरै समस्याको समाधान गरेका छौँ । विकास निमार्णका काम धेरै भइसको छ । एक आर्थिक वर्षमा समेट्न नसकेका समस्या रेकर्ड राख्छौँ र अर्को आर्थिक वर्षमा समेट्छौँ ।
० नमुना नगर बनाउने भावी योजना के छ ?
टोखालाई नमुना बनाउनका लागि हामीसँग शैक्षिक भवको रुपमा टोखालाई विकसित गर्ने, प्राविधिक शिक्षालाई विशेष प्राथमिकताका साथ विकास गर्ने, स्वास्थ्य क्षेत्रमा टोखाबासीलाई यस क्षेत्रमा रहेका अस्पतालमा सहज पहुँजको अवस्था सिर्जना गर्ने, नगर अस्पताल निर्माण गरेर सबैलाई सकेसम्म कम शुल्कमा सेवा दिने, नगरभित्र ढल व्यवस्थापन गर्ने, खानेपानीको व्यवस्थापन गर्ने, सडक बाटोलाई पिच गर्ने, सुरक्षाको ग्यारेन्टी गर्नेलगायत योजना छन् । जसमा प्रदेश र केन्द्र सरकारसँग पनि सहकार्य गरेर अगाडि बढ्नुपर्नेछ ।
० नगरलाई सुन्दर बनाउने मुख्य योजना के हो ?
हामीले नगरलाई सुन्दर बनाउनका लागि पुरानै कुराहरुको व्यवस्थापन, सरल परिचालन र सहज उपभोगको वातावरण बनाएको खण्डमा हुन्छ । तर, हामीले नयाँ कम्पोनेन्ट भनेको एउटा पर्याटकीय क्षेत्र पनि हो । हामीले नगरभित्र रहेको सम्भावित क्षेत्रमा ग्रिन पार्क निर्माणका लागि डिपिआरसमेत तयार पारिसकेका छौँ । हाम्रो लक्ष्य भनेको टोखा नगरपालिकामा एकपटक जो–कोहीलाई पनि घुम्न आउने वातावरण निर्माण गर्नु हो । सुरक्षाको हिसाबमा नगरमा सिसी क्यामेरा जडान गर्ने कुरालाई विशेष प्राथमिकतामा राखेर गरिसकेका छौँ ।
० कोरोना रोकथाम तथा नियन्त्रणको लागि सबैभन्दा बढी भूमिका स्थानीय तहको रहेको छ, टोखा नगरपालिकाले के कस्ता भूमिका खेलिरहेको छ ?
काठमाडौं उपत्यकामा कोरोनाको जोखिम निरन्तर दिनानुदिन बढिरहेको छ । पछिल्ला केही दिनयता दैनिक २ हजारभन्दा बढी संक्रमित भेटिइरहेका छन् । नगरपालिकाभित्र हालसम्म ३३९५ जना व्यक्ति कोभिड १९ बाट संक्रमित भएका छन् । संक्रमित बढ्दै गएपछि महानगरले बारम्बार लकडाउन र सटडाउनको घोषणा गरेको गरिरहेको छ । लकडाउन मात्रै कोरोनाको संक्रमण नियन्त्रणको अन्तिम र एक्लो विकल्प होइन । तर, नेपालजस्तो मुलुकमा कोरोना फैलिन नदिनका लागि जनतालाई जतिसुकै समस्या परे पनि लकडाउन गर्नुपर्ने स्थिति देखियो । सुरुका दिनमा जतिसुकै समस्या परे पनि जनताहरूले लकडाउनको पालना गरे तर पछिल्लो समय जनस्तरबाट लकडाउनको पालना भएन र क्रमशः स्थिति सहज बन्दै गयो । कोरोना महामारी सरकारको एकल प्रयासमा मात्र नियन्त्रण गर्न सम्भव छैन । यसमा जनताको पनि उत्तिकै साथ आवश्यक हुन्छ । कोरोनाबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको छ । संघीय सरकारले सीमा नाकामा कडाइ गर्नुपथ्र्यो । यस्तो अवस्थामा पनि सीमा नाकाबाट लुकिछिपी आवत्जावत भइरहेको छ । जबसम्म बाह्य आवतजावतलाई पूर्णरूपमा बन्द गरिँंदैन तबसम्म यहाँ जतिसुकै लकडाउन र निषेधाज्ञा जारी गरे पनि कोरोनाको संक्रमण जोखिम नियन्त्रणमा आउँदैन । सरकारले गत चैत महिनाबाट बारम्बार लकडाउन थप गर्दै लामो बन्दाबन्दी ग¥यो । बाहिरबाट आएका नगरबासी सम्पूर्ण नागरिकहरूलाई १४ दिन घरभित्रै बस्नुहुन र बाहिर घुलमिल नगर्नुहुन आग्रह गर्दछु । हामीले गरेको अथक प्रयास तपाईंहरूकै स्वास्थ्य सुरक्षाका लागि हो । महामारीको संक्रमण नियन्त्रण गर्दै ठूलो मानवीय क्षति हुनबाट नगरलाई र राष्ट्रलाई बचाउँनु हाम्रो प्रमुख कर्तव्य र दायित्व हो । हाम्रो कदमलाई नगरबासीले बुझ्नुपर्छ । टोखा नगरपालिकाको सम्पूर्ण ध्यान यतिबेला जनताको जीवनलाई सुरक्षित राख्न केन्द्रित छ । ‘जीवन रह्यो भने सडक र नाला त पछि बनाउँला’ भन्ने मूल मन्त्र हाम्रो मस्तिष्कमा छ । अहिलेको आवश्यकता भनेको जीवन सुरक्षित गराउनु हो । अहिले स्थानीय तहका जनप्रतिनिधिहरू तथा कर्मचारीहरूले खान र सुत्न भ्याएका छैनन् । राहत वितरणदेखि क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय सरकार नै अग्रपंक्तिमा खटिइरहेको छ । स्थानीय सरकारकै सक्रियताको कारण जनताले मुलुकमा सरकार छ भन्ने आभास गरेका छन् । अन्तर्राष्ट्रिय र आन्तरिक सीमा नाका संघीय सरकारअन्तर्गत पर्छ ।
० टोखा नगरपालिकामा संक्रमितको अवस्था कस्तो छ ?
टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा हामीले आइसोलेसन कक्ष निर्माण गरेका छौँ । कोरोना पोटेजिभ देखिएका नागरिकलाई हामीले जिल्ला प्रशासन र जिल्ला समन्वय समितिसँग समन्वय गरेर अन्य अस्पतालहरुमा पनि पठाएका छौँ । अग्रपंक्तिमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुलाई हामीले क, ख, ग गरी वर्गीकरणको आधारमा जोखिम भत्ताको व्यवस्था गरेका छौँ । कोरोनाको संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई हामीले पौष्टिक आहारको व्यवस्था गरेका छौँ । उक्त आहार दैनिक ७ सय बराबरको रहेको छ । निको भएर घर फर्केका नागरिकहरूलाई प्रोत्साहन स्वरूप ४५ सय दिएका छौँ । हालको मितिसम्ममा ३३९५ जना संक्रमित रहेका छन् । महिला १४३० जना छन् भने पुरुष १८८५ जना रहेका छन् । हाल सक्रिय ९९९ जना रहेका छन् भने ३९९५ जना निको भइसकेका छन् । १८१ जना होम आइसोलेसन र ६ सङ्क्रमितको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छन् । यो महामारीको कारण गर्दा हाम्रो नगरपालिकाका ९ जनाको दुर्भाग्यवश मृत्यु भएका छ । यो वैश्विक महामारीको कारणले सबै मानव समुदाय दुःख कष्ट भोग्न बाध्य छ ।