कर्मचारी बढुवा प्रकरणले राष्ट्र बैंक अस्तव्यस्त

बैंक

काठमाडौं । कर्मचारी बढुवासम्बन्धी विवादले नेपाल राष्ट्र बैंकमा तनावको स्थिति सिर्जना भएको छ । महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकको कमान्ड सम्हालेको दश महिना नबित्दै कर्मचारीहरु उनीविरुद्ध उत्रिन बाध्य भएका छन् । वरिष्ठलाई पाखा लगाएर पूर्वगभर्नर तथा अहिलेका अमेरिकी राजदूत डा. युवराज खतिवडाकै पथमा अहिलेका गभर्नर महाप्रसाद अधिकारी हिँडेपछि उनीविरुद्ध वालुवाटारस्थित राष्ट्र बैंकको गेटम्र दैनिकजसो नारा जुलुस र विरोध प्रदर्शन सुरु भएको छ । उनले कनिष्ठ कर्मचारीलाई काखी च्यापेपछि त्यहाँका कर्मचारीहरुले विरोध सुरु भएका हुन् । हालै राष्ट्र बैंकले रिक्त उपनिर्देशक पदमा बढुवा गर्दा सिनियरलाई पाखा र जुनियर कर्मचारीलाई काखा च्यापेको भन्दै बैंकका कर्मचारी संगठनहरुले व्यवस्थापनको विरोध गरिरहेका छन् । नेपाल राष्ट्र बैंकले गत २१ माघमा प्रशासन सेवातर्फ रिक्त रहेको पदमा ५ जना सहायक निर्देशकबाट उप–निर्देशकहरुको बढुवा गरेको थियो । यसरी आन्तरिक बढुवा गरिँदा आफूनजिकका कर्मचारीलाई मात्र गरिएको भन्दै केन्द्रीय बैंकका अन्य कर्मचारीहरुले गभर्नरलाई गेटमै घेराउ गर्नेदेखि विरोधपत्र बुझाउनेसमेतका कार्य भइरहेको छ । राष्ट्र बैंक कर्मचारी विनियमावली अनुसार बढुवा कार्यसम्पादन मूल्यांकन र वरिष्ठताको आधारमा गरिने पदपूर्तिका लागि बढुवा दरखास्तमा उल्लेख गरिएको थियो । तर गभर्नर अधिकारीले सोको कार्यान्यवन नगरी आफूखुसी बढुवा गरेको भन्दै राष्ट्र बैंकका कर्मचारी संघ संगठनहरु विरोधमा उत्रिएका हुन् । रिक्त रहेको उप–निर्देशकमा कार्यसम्पादन मूल्यांकन १८९.७१ अंक प्राप्त गर्ने १५ जना सहायक निर्देशकलाई बढुवा गरिएको उल्लेख छ यद्यपि गभर्नर अधिकारीले आफ्नो कार्यालयमा जिम्मेवारीसमेत राम्रोसँग पूरा नगर्ने एक जना चार्टर्ड एकाउन्टेन्ड सहायक निर्देशकलाई भनसुनको आधारमा बढुवा गरेको राष्ट्र बैंककै कर्मचारीहरुको आरोप छ । राष्ट्र बैंकमा हाल ८६ जना सहायक निर्देशक छन् । हालै बढुवा भएका जगदिश कुमारबाहेक अन्य १४ जना सहायक निर्देशकको बढुवा वरिष्ठताको आधारमा भएको तर गभर्नरले संचालकको आफ्नो मान्छे र चाटर्ड एकाउन्टेन्ड भएकै कारण ७६ नम्बरमा रहेका जगदिश कुमारलाई टपक्क टिपेर १४औँ नम्बरमा ल्याएर बढुवा गरेपछि त्यहाँका अरु कर्मचारी सिस्टम भत्कने भयो भन्दै गभर्नर र डेपुटी गनर्भरसँग आगो भएका हुन् । खासमा नियमअनुसार बढुवा हुनुपर्ने कर्मचारी हुन्, इमबहादुर क्षत्री । इमको नाम काटेर ७६औँ नम्बरका र कांग्रेसी पृष्ठभूमिका कर्मचारी जगदिश कुमारलाई टपक्क टिपिएपछि गभर्नरविरुद्ध कर्मचारीहरु एक ढिक्का भएका छन् । राष्ट्र बैंक स्रोतका अनुसार, वरीयता सूचीमा १५ जनामध्ये एक जनालाई विभागीय कारबाही गरिएको व्यक्ति हुन् । यस्तै आगामी ३० बैशाखमा उमेरहद लागेर घर जान लागेका अर्काे एक उपनिर्देशक पनि बढुवा प्रक्रियाबाट वञ्चित गरियो । यी दुई बाहिर रहँदा पनि १६औँ नम्बरसम्मको १४ जनालाई बढुवा गरिएको थियो । १७औँ नम्बरमा बढुवा हुनुपर्ने व्यक्तिको सट्टामा भने ८५औँ वरीयताको व्यक्तिलाई ल्याइएपछि अहिले कर्मचारीहरु गभर्नरविरुद्ध आगो भएका हुन् । ८५औँ नम्बरका जगदिश कुमारको वढुवा भएसँगै राष्ट्र बैंकका सबै कर्मचारी संगठनहरु यसको विरोधमा उत्रिएका छन् । सहायक निर्देशक तहमा कम्तीमा ५ वर्ष योगदान गरेका कर्मचारी यस्तो बढुवाका लागि योग्य मानिन्थे, यसका लागि एक सयभन्दा बढी कर्मचारीहरु योग्यतम रहे पनि उनीहरुले वरीयताकै आधारमा बढुवा हुने आसामा फाराम नै नभरी बसे । तर केही जुनियरले फाराम भरे र बढुवा पड्काए ।
संस्थाभित्र संगठन रहेका नेपाल राष्ट्र बैंक कर्मचारी युनियन र नेपाल राष्ट्र बैंक कर्मचारी संघ दुवै संस्थाले यसको विरोध गरेका छन् । संघले बढुवालाई मात्रै एजेन्डा बनाएको छ । युनियनले भने बैशाखमा अवकाश प्राप्त गरेकोलाई बढुवा प्रक्रियामा समावेश नगराएकोमा पनि असन्तुष्टि जनाएको छ । यी दुवैको उपयुक्त कारण देखाउन बढुवा समिति र गभर्नरलाई युनियनले अल्टिमेटम दिएका छन् । हालै बढुवा भएका जगदिश कार्यालयमा भन्दा बढी त बिदामै हुन्छन् । जिम्मेवारी पूरा गरेको रेकर्डसमेत छैन । त्यस्ता कर्मचारीलाई कसरी र के आधारमा बढुवा गरियो भन्दै अहिले कर्मचारीहरु प्रश्न गर्दै छन् । बढुवा गरिएका उनी सिए पृष्ठभूमिका व्यक्ति हुन् राष्ट्र बैंकका गभर्नर अधिकारी पनि सोही पृष्ठभूमिबाट आएका कारण उनको सिए मोहका रुपमा पनि कतिपय कर्मचारीहरुले अथ्र्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *