सत्ता पक्ष र प्रतिपक्षमा नेकपा भएको विचित्र स्थिति

सम्पादकीय

सम्पादकीय

२०७७ साल पुष ५ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति कार्यालयले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न भएको नाटकी राजनीतिक परिस्थितिमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नै सत्तापक्ष र प्रतिपक्षको भूमिका देखिएका छन् । प्रतिनिधिसभा विघटन पछि अध्यक्ष के.पी. ओलीले नेतृत्व गरेको नेकपाको एउटा पक्ष सत्ता पक्षमा देखिएको छ भने प्रचण्डले नेतृत्व गरेको नेकपाको अर्को पक्षले प्रतिपक्षको भूमिका निर्वाह गरी राखेको छ । सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्ने क्रममा प्रचण्ड नेकपासँगै ओली नेकपाले जनसहभागीता र जनसमर्थन जुटाउने प्रतिश्पर्धा नै चलाई राखेका छन् । यही क्रममा प्रचण्ड नेतृत्वको नेकपाले गत माघ २२ गते संवैधानिक आयोगहरुमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक आयोगले गरेको सिफारिस र गत पुष ५ गते गरिएको प्रतिनिधिसभा विघटनको निर्णयका विरुद्धमा नेपाल बन्दको आयोजना गरेको थियो । प्रचण्ड नेतृत्वको नेकपाले नेपाल बन्दको आयोजना गरेको भोलिपल्ट नै ओली नेतृत्वको नेकपाले पनि काठमाडौंको दरवारमार्गमा विशाल आमसभा आफ्नो शक्ति प्रदर्शन गरेको थियो ।
प्रतिनिधिसभा विघटनपछि सत्तारुढ नेकपा नै यो विघटनको पक्ष र विपक्षमा विभाजित भई रहँदा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस भने मौन बसिराखेको छ । नेपाली कांग्रेसका विभिन्न भातृ संगठनहरुले प्रतिनिधिसभा विघटनको विपक्षमा विरोधका विभिन्न कार्यक्रमहरु गरी राखेका भएपनि नेपाली कांग्रेसले भने प्रतिनिधिसभाको विघटनको पक्ष र विपक्षमा अहिलेसम्म कुनै कार्यक्रम गरेको पनि छैन र यस सम्बन्धमा औपचारिक रुपमा पार्टीको विचार पनि सार्वजनिक गरेको छैन । सर्वोच्च अदालतबाट यस सम्बन्धमा निर्णय आएपछि मात्र आफ्नो मत व्यक्त गर्दै अगाडि बढ्ने कांग्रेस नेतृत्वले भन्दै आएको छ । विघटीत प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको तर त्यस अनुरुप भूमिका निर्वाह नगरेको नेपाली कांग्रेसकै कारणले गर्दा अहिले सत्तारुढ नेकपाकै एउटा घटकले प्रतिपक्षको भूमिका समेत निर्वाह गरी राखेको छ । संसदीय पद्दतिमा सत्तापक्षसँगै प्रतिपक्षलाई एउटा रथको दुई पांग्रा मानिन्छ । तर एउटै पार्टीले सत्तापक्ष र प्रतिपक्षको भूमिका निर्वाह गरी राखेकोले नेपालको संसदीय पद्दतिमा भने विचित्रको अवस्था सिर्जना भएको छ । यो अवस्थाको सिर्जना नेपाली कांग्रेसले निर्णय गर्न नसकेको कारणले गर्दा उत्पन्न भएको हो ।
नेपाली कांग्रेसकै कारणले गर्दा प्रतिनिधिसभा विघटनका विरुद्धमा भई राखेको विरोध प्रदर्शनले अपेक्षा गरेको गति पाउन सकेको छैन । नेपाली कांग्रेससँगै प्रचण्ड नेतृत्वको नेकपा र जनता समाजवादी मिलेर प्रतिनिधिसभा विघटनका विरुद्धमा संयुक्त आन्दोलन गर्नु पर्ने विचार आई राखेको भएपनि नेपाली कांग्रेसको कारणले गर्दा यो विचार कार्यान्वयन हुन सकिराखेको छैन र अहिले प्रतिनिधिसभा विघटनका विरुद्धमा प्रचण्ड नेतृत्वको नेकपा मात्र सडकमा देखिएको छ । तर प्रचण्ड नेतृत्वको नेकपाका शीर्ष नेताहरुको विगत विवादास्पद भएको कारणले गर्दा नेकपाले अपेक्षा गरेको समर्थन अहिले प्राप्त गर्न सकिराखेको छैन । यही कारणले गर्दा प्रचण्ड नेकपाका केही कार्यकर्ताहरुले अवाछनिय गतिविधि गरेर पार्टीको नै बदनाम समेत गरी राखेका छन् । तर यस सम्बन्धमा नेतृत्वले कडाई र खबरदारी गरेको भने देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *