नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पाँच वर्ष शासन सत्ता सञ्चालन गर्न भनेर नै स्पष्ट बहुमत दिएका थिए (कतिपयले दुई तिहाइ बहुमत भनेका छन्, वास्तवमा त्यो होइन, स्पष्ट बहुमत मात्र हो) । तर, उनीहरुले यहि अवधि पनि पूरा गर्न नसक्दा सत्तारुढ दल नेकपा अहिले छिन्नभिन्न भएको छ । वास्तवमा नेकपा छिन्नभिन्न हुनुको पछाडि खास ठूलो कारण देखिँदैन, नेकपाका कतिपय नेताहरु जब गुटवादमा लागे, तब पार्टीले सरकार सञ्चालन गर्न नसकेको हो । जब नेता गुटमा लाग्छन्, तब पार्टीले जनताको पक्षमा वकालत गर्न सक्दैन भन्ने भनाइ यहाँ सत्य सावित भएको छ । अहिले गुटकै कारण नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बद्नाम भइरहेका छन् । उनी सुरुदेखि नै गुटमा रमाउने नेता थिए ।
उनी जेलमुक्त भएदेखि नै गुटको खेतीमा ध्यान दिएकाले नै अहिले उनले गल्ती नै गरेको भए पनि उनलाई समर्थन गर्नेको लहरले गर्दा उनमा एक किसिमको दम्भ देखिएको छ । यो दम्भ ठीक होला या नहोला, यो विषय पछि टुंगो लाग्ला तर अहिले भएको संसद विघटनको काम साँच्चिकै गलत छ । तर, उनको गुटले उनको हरेक कदमलाई ठीक मात्रै मान्ने होइनन्, उनलाई देवत्वकरण गर्दा उनले संविधानलाई पनि कुल्चने हिम्मत गरेका हुन् । अहिले केही न केही स्वार्थ बोकेका व्यक्तिहरुले उनलाई बोकिरहेका छन् । यहि लहरमा गृहमन्त्री रामबहादुर थापा लागेका छन् । गृहमन्त्री पदका कारण मात्र नभएर ओली गुटको दोस्रो वरीयतामा पर्ने आसाले उनले माउ अध्यक्ष पुष्पकमल दाहाललाई त्यागेर ओली गुटमा पुगेका छन् । उनी आफ्नो गुटमा आएपछि ओलीले उनलाई यत्तिसम्म पनि बोकिरहेका छन् कि उनी अब काम नै नलाग्ने हुँदा उनीमाथि कारबाही हुँदैन । गृहमन्त्री भएपछि जनताको जीउ, धनको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ तर अहिले दिनदहाडै बलात्कार, चोरी, डकैती, ज्यान मार्ने काम भइरहँदा पनि उनले न त नियन्त्रण गर्न सकेका छन् न त घटनापछि अपराधी पत्ता लगाउन सकेका छन् । उनी केवल मूर्तिका रुपमा मात्र गृहमन्त्रीको कुर्सीमा विराजमा छन् ।
थापाजतिको असफल गृहमन्त्री नेपालमा अहिलेसम्म देखिएका छैनन् । यत्ति मात्र होइन, बलात्कारपछि हत्याजस्तो मानव इतिहासकै सबैभन्दा ठूलो अपराध भइरहँदा पनि उनले नैतिकताको आधारमा राजीनामा दिँदैनन् । आफ्नो जिम्मेवारी पूरा नगर्ने गृहमन्त्री थापालाई प्रधानमन्त्री ओलीले बोक्नु भनेको ओलीका लागि पनि सबैभन्दा ठूलो भूल हुने देखिन्छ । गृहमन्त्री थापाले कञ्चनपुर घटनादेखि नै आफ्नो साख गुमाएका हुन् । सिंगो प्रहरी प्रशासन मात्र नभएर गृहमन्त्रालय नै लाग्दा पनि कञ्चनपुरको घटनामा संलग्नलाई पक्राउ गर्न नसकेपछि सरकारमाथि नै धेरै प्रश्नहरू उठेका थिए, जुन अहिलेसम्म अनुत्तरित छन् । प्रहरी प्रशासनको यत्तिको कमजोरीलाई प्रहरी इतिहासमा नै धब्बा हुने भएको छ । आफ्नो काम देखाउनका लागि प्रहरीले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोष दिएको थियो । ती मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई घटनाको जिम्मेवारी लिन लगाउन ती मानसिक सन्तुलन गुमाएका व्यक्तिको मुखमा ‘दिसाको किरा’ ल्याएर कोच्ने प्रहरीमाथि नैतिकताको प्रश्न उठाउन मिल्ने भएको छ । काम देखाउनका लागि यस्तो गम्भीर अपराधमा प्रहरी संलग्न हुनुले प्रहरी प्रशासनमाथि अनेकौँ प्रश्नहरू उठाउन मिल्ने भएको छ । यसबेला पनि गृहमन्त्री थापा केवल बायाँ किनारामा साक्षी सदर मात्र भएर बसेका छन् ।
कञ्चनपुर घटनामा भएको प्रहरीको कमजोरीलाई अहिले पनि सरकारले दोहो¥याइरहेको छ । कञ्चनपुर घटनामा प्रहरी असफल भएपछि अपराधीहरु अहिले बैतडी पुगेका छन् । बैतडीकी एक किशोरीलाई कञ्चनपुर घटनाजस्तै गरी बलात्कार र हत्या गरियो । स्वयं प्रधानमन्त्रीले अपराधीलाई हत्यारालाई पानीमुनि गए पनि नछाड्ने भनेर सार्वजनिक रूपमा भनेका छन् । तर, काम भने देखिएको छैन । भाषण र काममा फरकपन आएको छ । बैतडी घटना भएको यत्ति धेरै समय बित्दा पनि यसको सुइँको नपाउने गृहमन्त्रीमाथि राज्यले केही न केही स्पष्टीकरण लिने कि नलिने ? प्रधानमन्त्री भाषण गर्दै जाने, तर काम केही नगर्ने हो भने यसले जनताको मन जित्न गाह्रै हुनसक्छ । बैतडी घटनामा संलग्न जो कोहीलाई भए पनि कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नु ठूलो कुरा होइन, सरकारले भाषण होइन, काम गरेर देखाउनु पर्छ । अपराधीहरूले दिनदहाडै यस्ता अपराध गरिराख्दा सरकार भने सडकमा शक्ति प्रदर्शन गरेर बसिरहेको छ । यत्ति मात्र होइन, गृहमन्त्रीले नेताहरूलाई चिडियाखानमा थुन्ने भाषण दिइरहँदा लाज मान्नुपने हो । नेतालाई चिडियाखानामा थुन्नेभन्दा जनताको सुरक्षा दिने पहिलो प्राथमिकताको कुरा हो । गृहमन्त्रीले आफ्नो विरोधीलाई चिडियाखानामा राखून् या रातोकार्पेट बिच्छ्याएर स्वागत गरुन्, यो उनको व्यक्तिगत कुरा हो । तर, जनताको सुरक्षामा कुनै कसर बाँकी राखिनु हुँदैन ।
निर्मला हत्याकाण्डको दोषी पत्ता लगाउन नसक्ने प्रहरीका लागि बैतडीकी भागरथी हत्याकाण्ड निक्कै भारी भएको छ । घटना भएको यत्तिका दिन भइसक्दा पनि अपराधीको नजिकसम्म नपुग्नु नेपाल प्रहरीका लागि लज्जस्पद कुरा हो । प्रधानमन्त्रीले गृहमन्त्रीको कमजोरी लुकाउँदा यसले पार्ने असर निर्वाचनमा देखिने नै छ । बैतडी काण्डका दोषीलाई पानीमुनि मात्र नभएर विश्वका कुनै भागमा पुगे पनि नछाडिने प्रधानमन्त्रीले वक्तव्य दिनुले गृहमन्त्रीको क्षमतामाथि प्रश्न उठ्छ । आफूलाई समर्थन गरेको भरमा प्रधानमन्त्रीले गृहमन्त्रीको कमजोरी ढाकछोप गरिरहेका छन् । तर, यसको परिणामले प्रधानमन्त्री नै पछारिने संकेत देखिएको छ । कञ्चनपुर घटनामा अपराधी पत्ता लगाउन १२ वर्ष लाग्ने भनेपछि प्रधानमन्त्री स्वयंले बैतडी घटनाका बारेमा बोल्न बाध्य भएका हुन् । यसबारे गृहमन्त्रीले बोल्ने नैतिकता गुमाइसकेका छन् । विकसित मुलुकभन्दा नेपालमा बलात्कारको घटना कम भएकाले चिन्ता गर्नु नपर्ने बताएर नेपाली जनताको अपमान गरेकाले उनीमाथि नेपालीले विश्वास गर्न छाडेका छन् ।
कञ्चनपुरकी बालिकाको बलात्कार गरेर हत्या गर्नेलाई पक्राउ गर्न बाह्रवर्ष लाग्ने भनेर प्रधानमन्त्री र गृहमन्त्रीले सार्वजनिक कार्यक्रममा नै भनेका छन् । उनीहरूले बलात्कारी खोज्नुभन्दा पनि कतिपय अपराधीहरूलाई पक्राउ गर्न बाह्रवर्ष लाग्ने भनेर उम्किरहेका छन् । अहिले उनीहरू देश र जनताको सुरक्षाभन्दा पनि राज्यको ढुकुटीबाट चुनावको भाषण छाँट्दै हिँडेका छन् । देश र जनताको काम गरेर जनताको मन जित्नुभन्दा पनि आफूविरुद्ध उभिएकाले उनीहरूलाई चिडियाखानामा हाल्ने धम्की दिनु कतिसम्मको जायज हा । जनताले छाक काटेर तिरेको करबाट तलब भत्ता खाएर अनेकौँ भाषण दिने छुट उनीहरूलाई भएको देखिएको छ । नेताहरू किचलोमा लागेर हिँडिरहँदा छोरीहरूको इज्जतमाथि दिउँसै धावा बोल्ने काम भइरहेको छ । महिलाहरू असुरक्षित भएतिर सरकराको ध्यान छैन । केही भइहाल्यो भने अपराधी पत्ता लाग्न बाह्र वर्ष लाग्छ भनेर भन्ने हो भने सरकार हुनु र नहुनुमा के फरक भयो र ?
बैतडीकी किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिकास्थित जंगलमा विभत्स अवस्थामा भेटीएकी किशोरीको बलात्कारपछि हत्या भएको पुष्टि हुनु राज्यको लागि सबैभन्दा ठूलो बेइज्जत हो । पोस्टमार्टम रिपोर्टमा किशोरीको बलात्कारपछि हत्या भएको देखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले दोषी खोज्न नसकेपछि यसले बलात्कार एकल थियो की सामूहिक थियो भन्नेबारे टुंगो लगाउनेतिर अघि बढेको देखिन्छ । तर, यत्ति पत्ता लगाएर बस्ने हो भने प्रहरी प्रशासनको काम के ? बलात्कारपछि घाँटी थिचेर ती किशोरीको हत्या भएकाले अब प्रहरीले यसलाई पत्ता लगाउन नसक्ने हो भने अपराधीहरूको मनोबल बढ्ने छ । जस्ले गर्दा छोरीहरू घरबाहिर निस्कन नै डरलाग्दो अवस्था हुनेछ ।
बैतडीको घटनामा संलग्नलाई पक्राउ गर्न नसक्ने हो भने अब किशोरीहरू विद्यालय जानुबाट वञ्चित हुनुपर्ने भएको छ । महिलाहरू एक्लै हिँड्नै नहुने भयो भने गृह प्रशासन सञ्चालन गर्ने सञ्चालकहरूले के का लागि राज्यबाट सुविधा लिइरहेका छन् । प्रहरीले अपराधी पत्ता लगाउन सकेन भने के प्रहरीहरूलाई जनताले ज्वाइँ पालेसरह पाल्ने हो त ? ती किशोरीको बुबाको डेढ महिनाअघि मात्र मृत्यु भएको थियो । उनको अभिभावक नहुनेबित्तिकै उनीमाथि बलात्कार गरेर हत्या हुने हो भने गृहमन्त्रीले प्रशासन चलाउन नसकेको आधारमा राजीनामा दिने कि नदिने ? जनताको सुरक्षामा ध्यान दिनु नसक्ने गृहमन्त्रीले आफ्ना विरोधीलाई चिडियाखानामा थुन्ने धम्की दिनु कतिसम्म जायज छ ? केही भइहाल्यो भने विकसित मुलुकमा समेत धेरै बलात्कारका घटनाहरू हुने भएकाले नेपालमा हुने बलात्कार केही होइन भनेर कानमा तेल हालेर बस्ने गृहमन्त्रीको बखान कुन शब्दले गर्ने ? बलात्कारलाई सामान्य रूपमा अथ्र्याउने गृहमन्त्रीमाथि जनताले कारबाही गर्ने बेला भएको छ । अन्यथा बलात्कारीले १२ वर्षसम्म अनेकौँको बलात्कार गरिरहने छन् ।