नेपालका माओवादीको बद्नाम गरे युपीका मुख्यमन्त्रीले

राजनीति समाचार

काठमाडौं । नेपालको राजनीति संवेदनशील अवस्थाबाट गुज्रिरहँदा भारतका प्रभावशाली व्यक्तिहरुले नेपालको राजनीतिका सम्बन्धमा नकारात्मक टिप्पणी गर्ने क्रमलाई बढाएका छन् । ०६२ सालमा संसदवादी सात दल र विद्रोही माओवादीका बीचमा भएको बाह्रबुँदे सहमतिमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेपालका पूर्वभारतीय राजदूत श्यामशरणले यही संवदेनशील अवस्थामा एउटा लामो लेख प्रकाशित गरेर नेपाल भारतबाट टाढा हुँदै चीनसँग नजिक हुन थालेको टिप्पणी गरेका छन् । र, यसबाट नेपाललाई बेफाइदा नै बढी हुने भनाई पनि उनको रहेको छ । नेपालका लागि भारतका पूर्वराजदूत श्यामशरणको यस्तो टिप्पणी आएकोलगत्तै भारतीय सेनाका प्रमुख मनोजमुकुन्द रनवाणेले पनि नेपालमा चिनियाँ प्रभाव बढेको भनेर सार्वजनिक रुपमा नै टिप्पणी गरेका छन् ।
भारतका पूर्वकूटनीतिज्ञ श्यामशरण र सेना प्रमुख रनवानेले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरी टिप्पणी गरेलगत्तै त्रिपुराका मुख्य मन्त्री विप्लव देवले गृहमन्त्री अमित शाहले सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्ष हुँदा नेपाल र श्रीलंकामा समेत भारतीय जनता पार्टीको सरकार गठन गर्ने योजना बनाएको खुलासा गरेका थिए । यही क्रममा नेपालसँग सीमा जोडिएको भारतको सबभन्दा ठूलो प्रान्त उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथले अस्ति सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपालमा माओवादीहरु विकृतिको रुपमा समाजमा फैलिएको भन्ने टिप्पणी गरेका छन् । राज्यबाट उपेक्षित भएको जातिले विकृतिको भूमिका निर्वाह गर्ने भन्दै त्यसको उदाहरहण नेपालको माओवादी रहेको भन्ने भनाइ उनको रहेको छ । जबकी नेपालका माओवादी शान्ति सम्झौता मार्फत् मूलधारको राजनीतिमा आएर तीनपटक सरकारको नेतृत्वसमेत गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *