पानीको उद्योग गर्नेले विकल्प खोज्न थाले हुन्छ

अन्तरवार्ता

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ । परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अवलोकनपछि बटम थिचेपछि मेलम्चीको पानी सुन्दरीजलमा झरेको हो । फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रोपटक सुरुङ परीक्षण थालेको हो । आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सुरुङ परीक्षण सुरु गरिएको हो । सुरुङ परीक्षणलाई दुई महिना छुट्याइएको छ भने प्रशोधन केन्द्र परीक्षणलाई थप दुई महिना । त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने छ । पहिलो चरणको पानी भने फोहोर भएकाले वाग्मतीमा मिसाइएको छ । करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल ल्याइएको हो । अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल ल्याउन लागिएको छ । आयोजनाको काम सन् २०१३ सेप्टेम्बरमा सक्नेगरी २००९ सेप्टेम्बरमा सुरुङ निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएको थियो । उक्त कम्पनीले ठेक्का तोडेपछि इटालियन कम्पनीलाई दिइएको थियो । उसले पनि अन्तिम समयमा सम्झौता तोडेपछि पुनः ठेक्का गरी चिनियाँ कम्पनी सिनो हाइड्रोले सुरुङको फिनिसिङ सकेपछि आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । त्यसको सात वर्षपछि मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी भएको हो । यसै सेरोफेरोमा हामीले मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठसँग गरेको कुराकानीको अंश ः
० झण्डै ३० वर्षपछि मेलम्ची काठमाडौं आउने भयो । कसरी भएको थियो आयोजनाको सुरुवात ?
२००१ मा ३७ अर्ब बजेट विनियोजन गरी खानेपानी आयोजनाको आधिकारिक सुरुवात भएको भए पनि २०४५ मा बिन्नी एन्ड पाटनर्स युकेले खानेपानी समस्या समाधानका लागि २० आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो । तीमध्ये मेलम्ची आयोजनालाई पहिलो प्राथमिकतामा राखिएको थियो । २०४७ मा स्टेनले एन्ड एशोसिएसनले मेलम्चीबारे थप अध्ययन गरेको थियो भने २०४९ को अस्ट्रेलियन कम्पनी स्मेकले गरेको अध्ययनले मेलम्चीको विकल्प नभएको ठहरसमेत गरेको थियो । खानेपानी आयोजना निर्माणको लागि नेपाल सरकारले चिनियाँ ठेकेदार कम्पनी चाइना रेलवे १५ व्युरो ग्रुप कर्पोरेसन र सिआरसिसीसँग सन् २००९ मा पहिलो सम्झौता गरेको थियो । सम्झौताअनुसार काम नभएपछि ६ किलोमिटर सुरुङ खनेको उक्त चिनियाँ कम्पनीसँग सन् २०११ मा सरकारले सम्झौता तोड्यो । त्यसपछि ०७३ बैशाखमा पानी काठमाडौंमा वितरण गर्ने लक्ष्यसहित इटालियन कम्पनीको अपेरेटिभ मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) सँग सन् २०१३ मा ७ अर्ब ७२ करोड रुपैयाँमा सुरुङ र बाँधको काम सक्नेगरी नयाँ ठेक्का सम्झौता गरियो । मार्च २०१८ सम्मको लागि अन्तिम समयसीमा तोकिएको सिएमसीले लक्ष्य अनुसारकै मितिमा काम सम्पन्न गरेमा बोनस उपलब्ध गराइने घोषणासमेत गरिएको थियो । मेलम्चीको प्रतिक्षामा बसेको काठमाडौंको तिर्खा समाजिक सञ्जालमा पनि विभिन्न रूपमा देखिने गरेको छ । ‘मेलम्ची पानी–सम्झिने नानी, ट्यांकरको पानी–मजाले खानी…’ जस्ता उक्ति बनाइए । यसको बाबजुत मेलम्ची आउने भएको छ ।
० कहिलेसम्ममा काठमाडौंबासीले मेलम्चीको पानी पिउन पाउँछन् ?
नयाँ सिस्टमअनुसार अझै ८ महिना लाग्न सक्ने भनेको छ परामर्श दाताले । सुरुङको परीक्षण सम्पन्न भएपछि बैशाख दोस्रो सातादेखि ग्राहकको धारामा मेलम्चीको पानी नियमित वितरण गर्ने तयारी छ  । अहिले पनि परीक्षणका लागि पानी प्रशोधन गरेर धारामा पठाउँछौँ  । २४ घण्टामा एकपटक आउनेछ । हाल सुरुङको परीक्षणको अनुगमन महाराजगन्जस्थित मेलम्चीको मुख्य कार्यालयबाट भइरहेको छ  । पहिले फिल्डमा जानुपथ्र्याे  । हाल यहीँ कार्यालयबाट स्काडा पद्दतिबाट अनुगमन भइरहेको छ ।
० यस्का लागि अहिले हाम्रो संस्थाले के–कसरी काम गरिरहेको छ ?
हामीले वितरण लाइनलाई परीक्षण गरिराखेका छौँ । प्रेसर, फ्लसिङ गर्ने काम गरिराखेका छौँ । पाइपहरू कतै लिक भएको छ या छैन् भनेर परीक्षण गरिरहेका छौँ । सफा पानी पठाउनका लागि काम गरिराखेका छौँ ।
० मेलम्ची काठमाडौं भित्रिदा वाग्मती वरपर हुने जोखिम कसरी न्यूनिकरण गर्ने ? तयारी के छ ?
हामीले दुई तीनहप्तादेखि नै नदी किनारमा जुन समयमा पनि बहाव बढ्न सक्छ त्यसका लागि हामीले गाडीमा स्पिकर राखेर प्रचारप्रसार गर्नेछौँ । अहिले पनि हामीले सूचना दिइराखेका छौँ । जहाँसम्म यो अहिले धेरै मान्छेले बुझिसकेका छन् ।
० पानीको वितरण कसरी हुन्छ ?
सुन्दरीजलस्थित करिब १७ करोड लिटर क्षमताका पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेर पानी विभिन्न पोखरीमा पठाइनेछ  । महांकाल, बाँसबारी, बालाजु, मैनमैंजु, अनामनगर र भक्तपुरको टिँगनीमा ६ वटा पुरानै पानीपोखरी छन् भने तिनै स्थानमा नयाँ १० वटा पानी पोखरी निर्माण भइसकेका छन् । पुरानामा साढे चार करोड लिटर नयाँमा पोखरीमा साढे ६ करोड लिटर पानी संकलन गरिनेछ  । ती पोखरीबाट विभिन्न शाखा लाइनबाट ग्राहकको घर–घरमा पानी पु¥याइनेछ  । सुन्दरीजलको पानी प्रशोधन केन्द्रबाट ल्याएर पानीपोखरीमा ल्याएपछि ७६ किमि मुख्य पाइप लाइनबाट पोखरीमा पानी पु¥याइनेछ । १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । २ लाख २५ हजार पुरानै धारा छन । नयाँ धारा जडान भइरहेका छ  । ‘मुख्य तथा शाखा पाइपलाइन परीक्षण भइरहेका छन् । केही स्थानमा धारासमेत परीक्षण गरिएको छ । जडान भएका धाराको अवस्था पनि परीक्षण भइरहेको छ । केही स्थानमा चुहावट आएको र तिनको मर्मत भइरहेको छ । ग्राहकले प्रयोग गरेको फोहोर पानी निकासका लागि विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्र पनि निर्माण भइरहेको छ । ६ वटा फोहोर पानी प्रशोधन केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछन् । ८० प्रतिशत फोहोर पानीका लागि थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारीसमेत छ । पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एक÷एक वटा तथा धोबीघाट र गुह्येश्वरीमा दुई÷दुई वटा प्रशोधन केन्द्र निर्माणाधीन छन् । गुह्येश्वरीमा ३ करोड २४ लाख क्षमताको केन्द्रको निर्माण सकिइसकेको छ । सल्लाघारीमा प्रतिदिन १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोड्कुमा १ करोड ७५ लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ  । बाँकी ठाउँको फोहोर पानीका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको छ  ।
० खानेपानी आपूर्ति कस्तो छ ?
काठमाडौं उपत्यकामा अहिले तीन प्रकारले पानीको आपूर्ति हुँदै आएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)बाट वितरण हुने पानी सबैभन्दा मुख्य स्रोत हो । अहिले केयुकेएलले वर्षात्मा दैनिक २० करोड लिटरसम्म पानीको आपूर्ति गर्दै आएको छ । गर्मी सिजनमा भने यस्तो आपूर्ति घटेर ९ करोड लिटरसम्म झर्ने गरेको छ । केयुकेएलको आपूर्तिले नधानेको माग भने वैकल्पिक स्रोतबाट हुँदै आएको छ । ढुंगेधारा, इनार, ट्यांकर र आकाशे पानीलाई अहिले वैकल्पिक स्रोतको रूपमा प्रयोग गर्ने गरिएको छ । यो स्रोतबाट वर्षायाममा १०÷१२ करोड लिटर र सुख्खा याममा ८÷९ करोड पानीको आपूर्ति हुने गरेको छ । अहिले ट्यांकरबाट व्यवसायिक रूपमा दैनिक ३ देखि ५ करोड लिटर पानीको आपूर्ति भइरहेको व्यवसायीको अनुमान छ । काठमाडौंको चाल्नाखेल केन्द्रबाट पानीको वितरण गर्दै आएका व्यवसायी पञ्चराम तामाङको एउटा ट्यांकरले सिजनमा दैनिक ५÷६ ट्रिप र अफसिजनमा दैनिक ३÷४ ट्रिपसम्म गर्ने गरेको छ । औसत १० हजार लिटरको क्षमतामा पानीको आपूर्ति गर्दा ट्यांकरबाट वर्षायाममा दैनिक करिब ३ करोड लिटर र सुख्खा याममा ५ करोड लिटर हाराहारीमा पुग्ने अनुमान छ । यसरी आपूर्ति हुने पानीमध्ये केही बोरिङबाट र केही मुहानबाट आपूर्ति हुने गरेको छ । अहिले काठमाडौं उपत्यकामा चोभार, मातातिर्थ, स्वयम्भु, बालाजु जोरपाटी, भक्तपुर, ललितपुरलगायतका स्थानका मुहानबाट पानी संकलन गरिन्छ । त्यसबाहेक उपत्यकाभर करिब ५० वटा बोरिङ प्लान्टहरू रहेको छ ।
० पानीको भण्डारण कसरी गरिँदैछ ? कहाँ–कहाँ रहन्छ ?
केयुकेएलका ठूला ट्याङ्की छैनन् । बिडिएसबाट लगातार पानी गइरहेको हुन्छ । आउटफ्लो पनि मेन्टेन गरेको हुन्छ ।
० कति बजेट खर्च भयो यो ३० वर्षमा ?
२००८ मा स्थापना भएको संस्था हो यो । आजका दिनमा जे–जति काम भएका छन् त्यसमध्ये २० अर्ब जति खर्च भएको छ हालसम्म ।
० मेलम्ची पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना हो । तर, वर्तमान प्रधानमन्त्री केपी ओलीले उनको नामै लिएनन् भनेर क्याविनेटमै कुरा उठ्यो । ओलीको एकल प्रयाुले मेलम्ची आएको हो र ?
यो त विगतदेखिको प्रयास हो । तीनवर्षमा एकैचोटी सफल भएको होइन । । सन् २००३ देखि सुरु भएको हो । २००९ बाट पानी ल्याउनको लागि सुरु भएको हो । ती दिनहरूको प्रयासको कारणले गर्दा हाल सफल हुन सकेको हो ।
० मेलम्चीको पानी आएपछि कति घट्ला पानीको माग ?
मेलम्चीको पानी पहिलो चरणमा काठमाडौं उपत्यकामा आउँदा वर्षामा दैनिक १७ करोड लिटर र हिउँदमा दैनिक १२ करोड लिटर पानी आउँछ । यो आपूर्ति हुँदा केयुकेएलको क्षमता वर्षायाममा ३० करोड लिटर भन्दा बढी र सुख्खायाममा २० करोड लिटरभन्दा बढी हुन्छ । यो अहिले आपूर्ति मेलम्ची आउनुअघिको कूल आपुर्तिभन्दा बढी हो । अहिले मेलम्चीको पानी आउन थाल्नेबित्तिकै काठमाडौंमा ट्यांकरबाट आपूर्ति हुने पानीको माग करिब ७० प्रतिशतले घट्ने अनुमान छ । मेलम्चीको पानी आपूर्ति भएका घरमा अब ट्यांकरको पानीको माग नै हुँदैन । होटल र अरु कर्पोरेट हाउसमा आपूर्ति हुने पानीको मागमा पनि निकै कमी आउँछ । त्यसैले अब यो व्यवसाय गर्नेले विकल्प खोज्ने बेला भइसकेको छ । एउटा बोरिङ सञ्चालनका लागि अहिले २÷३ करोड लाग्छ । व्यवसायी पञ्चराम तामाङका अनुसार पानीको माग घटेअनुसार रोजगारी क्षमता पनि घट्ने छ । अहिले करिब १ हजार ट्यांकरमा २ हजार र मुहान, बोरिङलगायतमा १ हजार हाराहारीमा गरी करिब ३ हजार जनाले रोजगारी पाएका छन् । ७० प्रतिशत माग घट्ने हो भने त्यति नै प्रतिशतले रोजगारी गुमाउँछन् । यो हुँदा करिब २ हजारको रोजीरोटी गुम्छ ।
० मेलम्ची पानीसँगै ‘फायर हाइड्रेन्ट’ को कुरा पनि धेरै उठेको छ । यसको बारेमा पनि बताइदिनुहोस् न ।
‘फायर हाइड्रेन्ट’ भनेको दमकलले पानी भर्न मिल्ने गरी प्रविधि जडान गरिनुलाई फायर हाइडे«न्ट भनिन्छ । मेलम्ची आयोजनाबाट पानी वितरण सुरु भएपछि काठमाडौं उपत्यकामा आगलागी नियन्त्रण प्रभावकारी बन्ने भएको छ । मेलम्ची आयोजनाले नै काठमाडौंभित्र विभिन्न स्थानमा दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्न थालेको छ । मेलम्ची खानेपानी आयोजनाले राजधानीमा पानी वितरणसँगै ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याउने तयारी गरेको छ । यो आधुनिक प्रविधिमा आधारित हुनेछ । राजधानीमा बढ्दै गएको आगलागीको जोखिमलाई दृष्टिगत गर्दै मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ को स्थापना गर्न लागेको हो । घनावस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा मेलम्चीको पानी वितरणसँगै आगलागी नियन्त्रण, दैवीप्रकोप तथा विपत् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ सञ्चालनमा ल्याइने छ । मेलम्चीको पानी वितरणका लागि पाइप जडान भइसकेका क्षेत्रहरूमा अहिलेसम्म २३० वटा ‘फायर हाइड्रेन्ट’ जडान भइसकेका छन् । आयोजनाका अनुसार थप माग र आवश्यकताका आधारमा अरू करिब दुई दर्जन ठाउँमा ‘फायर हाइड्रेन्ट’ जडान गरिने छ । ‘फायर हाइड्रेन्ट’ चौबिसै घन्टा सञ्चालनमा आउने छन् । मेलम्ची खानेपानी आयोजनाले ‘फायर हाइड्रेन्ट’ सञ्चालनका लागि कार्यविधिसमेत निर्माण गरिरहेको छ । सहरी क्षेत्रमा आगलागीको जोखिम नियन्त्रण तथा व्यवस्थापनका लागि ‘फायर हाइड्रेन्ट’ प्रविधि अन्तर्राष्ट्रिय रूपमा नै प्रभावकारी मानिन्छ । दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्ने कार्यलाई अगाडि बढाएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *