माधव पक्षका समानुपातिक सांसदको पद जोखिममा

राजनीति

काठमाडौं– पछिल्लो समय एमाले वृत्तमा एउटा चर्चा छ, प्रधानमन्त्री केपी ओलीले माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई स्पष्टीकरणको पत्र काट्दा रामकुमारी झाँक्री अनि झलनाथ खनाललगायतलाई किन सोधिएन् होला ? बालुवाटार स्रोतका अनुसार सुरुमा ५ जनालाई स्पष्टीकरण सोध्ने भनिए पनि निर्णय सुनाउने बेलामा झाँक्रीको नाम काटिएको थियो । यस्तै पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई स्पष्टीकरण सोधिएन् । ओली निकट स्रोत भन्छ, प्रधानमन्त्री ओलीको स्वभावै हो कि आफ्नो विरोधीहरूलाई भित्तैमा पु¥याउने ।
प्रधानमन्त्री ओलीसँग सिंगौरी खेल्दै आएका माधव खेमाका एक दर्जन बढी सांसदहरूको चुरिफुरी अब सकिँदैछ । अस्तिको बालुवाटार भेलामा कृष्णभक्त पोखरेलहरू पुगे । उनले आफूबाट गल्ती भएको बताएपछि उनको सांसद पद जोगिएको छ । माया ज्ञवाली र गोपाल बमहरू पनि माधव नेपाल क्याम्प छाडेर ओली क्याम्पमा प्रवेश गरेपछि उनीहरूको पनि सांसद पद तत्कालका लागि जोगिएको छ । एमालेमा ०७४ मा एमालेका निर्वाचित ८० जना प्रत्यक्ष निर्वाचित सांसदमध्ये माधव नेपालको पक्षमा प्रतिनिधिसभा विघटनपछि पनि ३८ जना सांसद थिए । यसबीचमा शेरबहादुर तामाङ, कृष्णभक्त पोखरेल, लालबाबु पण्डित र गोपाल बम संस्थापन पक्षमा लागेका छन् । तीन जना सांसद ओली पक्षधरले चोरेपछि अब बाँकी रहे ३५ जना । जसमध्ये २३ जना निर्वाचित र १२ जना सामानुपातिक सूचीबाट छानिएका । अब उनीहरूको पद पनि खुस्कने भय माधव नेपाल पक्षधरलाई छ ।
हालैमात्र विधान संशोधन गरी संसदीय दलको सदस्यले पार्टी वा संसदीय दललाई तत्काल हानी नोक्सानी पु¥याउने सम्भावना देखिएमा तत्काल छ महिनाको लागि निलम्बन गर्ने अधिकारसमेत ओलीलाई दिइएको छ । अर्थात् प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक सांसद तथा उम्मेदवारहरूको सूची हेरफेर गर्ने अधिकार पार्टी अध्यक्ष केपी ओलीलाई दिइएसँगै माधव नेपाल वृत्तमा हलचल सुरु भएको छ । यदी यसरी समानुपातिक सांसद पद खोसिए नेपाल पक्षधर सामानुपातिक सांसदहरू रामकुमारी झाँक्री, विनादेवी बुढाथोकी, मुकुन्द न्यौपाने, कल्याणकुमारी खड्का, गंगा चौधरी, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पार्वतीकुमारी बिसुंखे, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खानको पद जानेछ ।
एमालेबाट ४१ जना समानुपातिक सांसद छानिएका थिए । जसमध्ये जनजाति, मधेसी दल चाहारेर घर फर्किएका विजय सुब्बा अहिले ओली खेमातिर तिर छन भने अर्काे सोमनाथ प्यासी प्रदेश प्रमुख भइसकेका छन् । धादिङका डा.पुष्प कँडेलको अहिले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष छन् । बाँकी बचेका १२ जना माधव नेपाल खेमामा छन् । तिनको सांसद पद नै जोखिममा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *