सरकारी जग्गा बिक्रीका लागि लाइन मिलाउन एमाले प्रवेश

समाचार

गत साता ठूलो संख्यामा उद्योगी व्यवसायीहरू एमालेमा प्रवेश गरे । यसरी मारवाडीहरूलाई एमालेमा प्रवेशको चाँजोपाँजो मिलाउने व्यक्ति हुन् प्रधानमन्त्री केपी ओलीका आर्थिक सल्लाहकार मोतीलाल दुगड । दुगड आफैँ चाहिँ भारतीय नागरिक भएको चार्ज खेप्दैछन् एकातिर, भने अर्काेतिर उनीविरुद्ध मुद्दामाथि मुद्दा छ । दुगडमाथि नुनमा कालोबजारी गरेको चार्ज लाग्दै आएको छ । त्यही चार्ज लाग्दै आएका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार चाहिँ बालुवाटारमा बसेर अराजक धन्दा चलाइरहेका छन् ।
उनै दुगडले केही दिन अघि दुई सय बढी मारवाडीलाई लगेर एमाले बनाए । त्यतिले नपुगेर राजधानीको थापाथली हाइटमा रहेको एक जना मारवाडीको घर नै एमालेको नाममा लिजमा लिने व्यवस्था मिलाए ५ वर्षका लागि । तर, उनै दुगडको स्वामित्व रहेको मोरङ, टंकीसिनवारीस्थित दुगड स्पाइस एण्ड फुड प्रोडक्ट प्रा.लि.ले नुनको अवैध प्याकेजिङ गर्दै आएको हो । नेपालीहरूको भान्छामा आवश्यक पर्ने विभिन्न किसिमका गरम मसलाहरू प्याकेजिङ गर्ने यो कम्पनीले सेन्चुरी स्प्रिंकलर्स टेबल साल्टको नामबाट नुनको प्याकेजिङ गरी प्रतिसय ग्रामको ३५ रुपैयाँमा अवैध बिक्री गर्दै आएको रहस्य सार्वजनिक भइएसकेको छ । अवैध रूपमा उत्पादन भएको यो नुन भाटभटेनीदेखि ठूला सुपरमार्केटमा पाइन्छ ।
दुगडले २३५ जना व्यापारीको लाइन लगाएर पार्टी प्रवेश गराएका थिए । तीमध्ये अधिकांश भ्याट छली, अवैध कारोबार र अर्बौँको बिजुलीको महशुल छलीमा मुछिएका छन् । पार्टीका इमान्दार कार्यकर्ता रुँदै हिड्नुपर्ने भोलि यिनैले लाभको पद पाए भने अनौठो नमाने हुन्छ । एमाले प्रवेश गर्न मध्येका एक हुन् दिवाकर गोल्छाका छोरा । गोल्छाकै पोल्टामा परेको थियो भृकुटी कागज कारखाना ०४९ सालमा निजीकरण भएपछि । उनी खाट्टी कांग्रेसी थिए । तर, उनका छोरा हितेश घाम चिह्न मुनी प्रवेश गरे । हितेशका बुवा दिवाकर पहिलो संविधानसभा ०६४ मा नेपाली कांग्रेसबाट समानुपातिक सांसद् बनेका थिए ।
यस्तै, गोल्छा परिवारबाट राज्यलक्ष्मी गोल्छा दोस्रो संविधानसभामा एमालेबाट समानुपातिक सांसद बनेकी थिइन् । एमाले नेताहरूले आफूलाई दुहुनो गाई बनाएको भन्दै उनले सार्वजनिक रूपमा नै गुनासो गरेकी थिइन् । सात करोड काण्ड अहिले पनि विराटनगर र सिंगो एमाले पंक्तिले बिर्सिएको छैन । गोल्छा परिवारमा भागबण्डा हुँदा दिवाकरलाई २ वटा उद्योग परेको थियो । गैँडाकोटमा रहेको भृकृटी कागज कारखाना र श्रीराम सुगर मिल्स । विसं ०६७ सालदेखि नै भृकृटी कागज कारखाना बन्द भइसकेको छ ।
हितेशको एमाले प्रवेशलाई व्यवसायीहरूले जग्गासँग जोडेर हेरेका छन् । गैडाकोटमा भृकृटी कागजकारखानाको नाममा ५२ बिगाहा जग्गा छ । यस्तै, रौतहटमा श्रीराम सुगर मिल्सको नाममा ७० बिगाहा जग्गा छ । श्रीराम सुगर मिल्सको दायित्व करिब ७० करोड जति रहेको छ । प्रधानमन्त्री ओलीले ल्याएको भूमि सम्बन्धी ऐन–२०७६ को आठौं संशोधनमा भृकृटी कागज कारखाना जस्ता उद्योगको जग्गा बिक्री गर्न सकिने प्रावधान थपिएको छ । सो प्रावधान थप्नुको पछाडि भृकुटी कागज कारखानाको जग्गा बिक्री गर्नु नै रहेको छ ।
जग्गा बिक्री गर्नको लागि सरकारको अनुमति चाहिन्छ, त्यही लाइन मिलाउनको लागि हितेश एमाले प्रवेश गरेको उनलाई नजिकबाट चिन्ने जान्ने व्यापारीहरू भन्छन् । सो जग्गाको अहिलेको बजार मूल्य अनुसार १२ अर्ब हाराहारी छ । यस्तै, श्रीराम सुगर मिल्सको मात्रै ३ अर्ब बराबरको जग्गा छ । ती जग्गा पच गर्ने ध्येयका साथ ओली र उनका कारिन्दाको योजनामा नै गोल्छालाई एमाले प्रवेश गराइएको नाटक गरिएको भन्नेहरू पनि छन् । यता प्रमका आर्थिक सल्लाहकारसमेत मोतिलाल दुगडले घरबेटीलाई समेत थाहापत्तै नदिई उनको घर एमालेको मुख्यालय बनाइदिएपछि ती व्यापारी फायर भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *