ढलानअघि मौसमबारे सोध्नेहरू बढेका छन्

अन्तरवार्ता

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक हुन् सरजुकुमार वैद्य । २९ वर्षदेखि सरकारी सेवामा आबद्ध छन् उनी । बेलायतबाट स्नातकोत्तर अध्ययन सकेका वैद्यले जल तथा मौसम विज्ञान विभागअन्तर्गत नै रहेर यस क्षेत्रको लामो समयको अनुभव सँगालेका छन् । जब मनसुन सुरु हुन्छ, तब बाढीपहिरोका घटना पनि हुन थाल्छन् । बर्सेनि कतिले ज्यान गुमाइरहेका छन् त कति घरबारविहीन भएका छन् । तर, पछिल्लो एक दशकयता मौसमी तथा जलसम्बन्धी पूर्वसूचनाका कारण धनजनको क्षति कम हुँदै गएको बताउँछन् वैद्य । विभागले बाढीसम्बन्धी पूर्वसूचना दिँदा जोखिम न्यूनीकरण भएका उदारणहरू बढ्दै गएका छन् । बाढी र मौसमसम्बन्धी पूर्वसूचनालाई अझैँ आधुनिकीकरण गर्दै जल तथा मौसमजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणको कार्यक्रमलाई आगामी दिनमा उच्च प्राथमिकता दिँदै अगाडि बढ्ने लक्ष्य रहेको बताउँछन् उनी । यसै सन्दर्भमा बाढीको पूर्वसूचनाको प्रभाव, भावी रणनीति, हिमतालको जोखिम न्यूनीकरण गर्न सरकारको रणनीतिलगायतका विषयमा केन्द्रित रहेर महानिर्देशक वैद्यसँग गरेको कुराकानीको सार ः
० जल तथा मौसम विभागको हालको अवस्था कस्तो छ ? प्रविधि, जनशक्ति, पूर्वानुमान, तथ्यांक संकलन, अनुसन्धानको अवस्था ?
सूचना संकलनको लागि ८ देखि ९ सय सयओटा स्टेसनहरू छन् । त्यहाँ हामीले विभिन्न किसिमका जल तथा मौसमजन्य उपकरणहरू राखेका हुन्छौँ । त्यसबाट हामीलाई डाटा उपलब्ध हुन्छ । सोही डाटालाई मूल्याकंन गरेर हामीले मौसमको अनुमान गछौँ । ‘लेटेस्ट टेक्नोलोजी’हरू अपनाउनु पर्ने हुन्छ यसको लागि पहिला डाटा आउनको लागि करिब २ महिना लाग्थ्यो भने हाल त्यस्तो खालको डाटाले काम गर्दैन । अहिले कहाँको तापक्रम कस्तो छ, कहाँ हिँउ परेको छ, कहाँ वर्षा भएको छ त्यो तत्कालै चाहिने हुन्छ । समयअनुसार हामी परिर्वतन हुन पर्ने हुन्छ । आफ्नो टेक्नोलजीहरूलाई पनि त्यही अनुसारको उपलब्ध गराउनु पर्ने हुन्छ । सोही अनुसारको टेक्नोलोजीहरू उपलब्ध रहेको छ । यसको लागि आवश्यक पर्ने कुरा भनेको जनशक्ति हो । हामीले परमपरागत रूपमा सेवा सुविधाहरू दिएका थियौँ त्यसलाई विस्तारै परिर्वतन गर्दै आएका छौँ । विस्तारै जल तथा मौसम पूर्वानुमानको ‘स्कोप’ बढ्दै छ त्यसको लागि हामीले पनि बढाउनु पर्ने हुन्छ । त्यसको लागि हामीलाई दक्ष जनशक्ति थप गनु पर्ने अवस्था रहेको छ । त्यस्तै हामीलाई अर्को महत्वपूर्ण कुरा भनेको बजेट रहेको छ । नयाँ सिस्टम, नयाँ टेक्नोलोजीहरू राखेका छौँ । तर, यसलाई दिगो राख्नको लागि बजेट आवश्यक पर्ने हुन्छ । सफिसेन्ट बजेट त छ तर, मोर्डनाजेसनको लागि थप बजेटको भने अभाव नै रहेको छ ।
बर्सेनि बाढी आउँछ । तर, पनि धनजनको क्षति रोकिएको त छैन । बाढीसम्बन्धी पूर्वसूचना सबै स्थानमा पुग्न नसकेर हो ? या सर्वसाधारणमा बाढीसम्बन्धी सूचनाको पहुँच नपुगेकाले गर्दा हो ?
कुनै पनि प्राकृतिक घटना हुनबाट हामी रोक्न सक्दैनौँ । जलजन्य घटना रोक्न नसके पनि यसबाट हुने क्षति कम गर्ने हो । विभिन्न स्थानमा राखिएका स्टेसनहरूका आधारमा हामीले पूर्वसूचना दिने हो । तीन दिनको मौसमको पूर्वानुमान पनि गर्छौँ र कहाँ कति पानी पर्दा बाढी आउँछ भन्ने पनि जानकारी दिन्छौँ । मौसम तथा बाढी पूर्वानुमान स्टेसन सबै स्थानमा राख्न सकेका छैनौँ । जहाँ–जहाँ यो स्टेसन छ, १० वटा ठूला बेसिनमा छ । अब साना बेसिनमा पनि विस्तार गर्दै लगेका छौँ । अब विस्तार गर्ने क्रममा पनि छौँ । त्यहाँबाट पूर्वसूचना दिइरहेका नै छौँ ।
तथ्यांक हेर्दा कस्तो छ त ? बाढीको पूर्वसूचना दिनुभन्दा अघिको विगत र अहिलेमा के फरक छ ? बाढीबाट हुने क्षति कतिको कम भएको हो ?
गृह मन्त्रालयको तथ्यांक हेर्दा १० वर्षअघि सयौँ मान्छे बाढीबाट मर्थे, तर अहिले समयमै मानिसले बाढीसम्बन्धी पूर्वसूचना पाउने भएकाले पूर्वसूचनाका कारण मानिसहरू सुरक्षित ठाउँमा जाने भएका छन् । धनजनको क्षति कम भएको छ । अहिले मनसुन सिजनमा बाढीबाट कम क्षति भएको छ । धेरै न्यूनीकरण गर्न सफल भएका छौँ ।
नेपालमा बाढीसम्बन्धी पूर्वानुमान गर्ने स्टेसनहरूको जति आवश्यकता पर्छ, चाहिने जति पूर्वानुमान स्टेसनहरू छन् त ?
आवश्यकता जति पर्ने हो, त्यति छैन । नेपाल एउटा भौगोलिक विकटता भएको क्षेत्र हो । ८० प्रतिशतभन्दा बढी भूभाग पहाडी, हिमाली क्षेत्रहरू छन् । सानो क्षेत्रमा पनि पानी पर्ने अवस्था फरक हुन्छ । कुनै स्थानमा पानी पर्छ, त्यही समयमा नजिकैको स्थानमा पानी नपर्न सक्छ । उपत्यकाकै उदाहरण हेर्ने हो भने पनि केही स्थानमा पानी परेको हुन्छ, अर्को स्थानमा पानी पर्दैन । यसकारण पनि विभिन्न स्थानमा स्टेसनहरू आवश्यक पर्छ । यसलाई ‘रेनफल भेरिएबिलिटी’ भनिन्छ । हामीलाई स्टेसन धेरै राख्नुपर्ने हुन्छ । नेपालमा बाढी तथा मौसमको पूर्वानुमान गर्न कतिवटा पूर्वानुमान स्टेसनहरू आवश्यक पर्छ भनेर अध्ययन गर्ने तयारी गरिरहेका छौँ । यसका आधारमा नेपालमा कति आवश्यकता पर्छ थाहा हुन्छ । त्यति स्टेसन हामी राख्छौँ, त्यति स्टेसन हामी सञ्चालन गर्नेछौँ । त्यो भन्दा बाहेकका अन्य स्टेसन राख्नुपर्ने भएमा, गैरसरकारी संघसंस्थाले हेर्ने वा स्थानीय सरकारले हेर्ने भए हामी प्राविधिक सहयोग गर्ने गरी हेर्न सक्छौँ । खर्चिलो हुन्छ । धेरै स्टेसन सरकारले मात्रै स्थापना गर्न सक्दैन । अन्य आवश्यक स्टेसनहरू स्थानीय निकायले सञ्चालन गर्ने गरी र हामीले प्राविधिक सहयोग गर्ने गरी काम गर्दैछौँ ।

कहिलेसम्म हुन्छ ?
बजेटमा भर पर्छ । सरकारले हरेक वर्ष कति बजेट दिन्छ, त्यसमा भर पर्छ । पहिले अध्ययन गरेर कहाँ कति आवश्यक पर्छ, त्यसका आधारमा बजेटमा माग गर्छौँ । स्टेसन मात्रै जडान गरेर पनि त भएन नि । हामीलाई जनशक्तिको पनि आवश्यकता पर्छ । यसकारण एकैपटक हुने काम पनि होइन । विस्तारै स्टेसनहरूको आवश्यकता पूरा गर्दै जानेछौँ ।
यसका चुनौतीहरू के–के छन् ?
सबैभन्दा ठूलो चुनौती भनेको बजेटको समस्या छ । अर्को मुख्य चुनौती भनेको जनशक्ति अभाव हो । क्षमता अभिवृद्धिका लागि पनि तालिमहरू आवश्यक पर्छ । भौगोलिक विकटता पनि अर्को चुनौती छ । कुनै स्टेसन बिग्रँदा पनि सूचना पाउन समय लाग्छ । सूचना पाएपछि पनि बनाउन जान समय लाग्छ । कति त अनकन्टार स्थानमा छ । यस कारणले गर्दा पनि कति सूचनाहरू मिसिङ हुने गरेको छ । स्टेसनहरूलाई अपरेसन र मेन्टेनेस गर्नु ठूलो चुनौतीको विषय हो ।
पाइलट र मौसमविदको समन्वय कस्तो छ ?
हवाइ यातायातको लागि पाइलट र मौसमविद परिपूरक हुन्छन् । सुरक्षित यात्राको लागि पाइलटले मौसमविद्सँग सहकार्य गर्नुपर्छ । समग्रमा भन्नुपर्दा समन्वय राम्रो रहेको छ । गर्नैपर्ने बाध्यता छ ।
नेपालमा मौसम पूर्वानुमान कसरी हुने गरेको छ ? पूर्वानुमान मात्र हो कि तथ्य, अनुसन्धान र प्रविधिमा आधारित छ ?
मौसम पूर्वानुमानको लागि हामीले विभिन्न स्थानमा यन्त्रहरू जडान गरेका हुन्छौँ त्यसैको अध्ययन अनुसन्धानबाट हामीले जानकारी दिन्छौँ के कस्तो हुन्छ भनेर । हाम्रो पूर्वानुमान मात्र नभई तथ्य, अनुसन्धानमा आधारित हुने गर्छ जसको कारणले गर्दा नै हाल जल तथा मौसम विभाग माथि धेरै विश्वास बढेको छ । यो हाम्रो लागि गौरवको कुरा पनि हो । विभिन्न उच्चपदस्थ व्यक्तिहरू कहीँ–कतैँ जाँदै हुनुहुन्छ भने सिधैँ हामीलाई सम्झनुहुन्छ । मौसमको पूर्व जानकारीले धेरै जोखिमहरू न्यूनिकरण हुने गर्दछ । जस्तो कृषक, पर्यटक, यात्री, हिमाल आरोही, हवाइयात्री तथा अन्य जो कोही पनि मौसमसँग चासो राख्ने गर्दछन् । कुनै मान्छेले घर बनाउँदै छ भने पनि पानी पर्छ कि पर्दैन ? भनेर सोध्ने गर्दछन् । मौसम सम्बन्धी जानकारी आम नागरिकहरूले समयमा नै पाए भए मात्रै पनि धेरै जोखिम न्यूनिकरण हुनसक्छ । जस्तो भोलि असिना, पानी पर्छ भन्ने जानकारी पाउनसके भने पनि कृषकले धान नकाटी बस्न सक्छन् । जसबाट क्षति कम हुनसक्छ । मौसम खराब छ भन्ने कुरा थाहा भयो भने कोही पनि हवाइ यात्रा गर्दैनन् । हिमाल आरोहण गर्दैनन् । र दुर्घटना हुनबाट जोगिन्छ ।
० उच्च हिमाली भेगमा, ठूला नदीहरूमा, बाढी आउने ठाउँहरूमा, गहिरो तालहरूमा मापन कार्य गर्दा कतिको जोखिम हुने गर्छ ?
सबैभन्दा जोखिमको काम रहेको छ उच्च हिमाली भेगमा, ठूला नदिहरूमा, बाढी आउने ठाउँहरूमा, गहिरो तालहरूमा मापन कार्य गर्न । हिमाली क्षेत्रमा पुग्नु नै कर्मचारीहरूको लागि सबैभन्दा चुनौतीको काम हो । हिमाली क्षेत्र सबैभन्दा महँगो ठाँउ पनि हो । चिया त त्यस्तै हो तातोपानी किनेर खान पनि मुस्किल हुन्छ कर्मचारीको तलब भत्ताले । यो कुरा सरकारले ध्यान दिनुपर्ने कुरा रहेको छ । त्यस्तै ठूला नदी, बाढी आउने ठाउँ, गहिरो ताल आफैँमा जोखिमयुक्त ठाँउ हो । जहाँ जानको लागि हर कोही सक्दैनन् । त्यो जोखिम हामी आफैँले उठाउँदै आएका छौँ त्यसको लागि सरकारले मनोबल बढाउने काम गर्न सकेको छैन ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *