गत वर्षलाई बिदाई र नयाँ वर्षलाई शुभकामना

सम्पादकीय

सम्पादकीय
वि.सं. २०७७ हिजोबाट बिदा भएको छ । वि.सं. २०७७ बिदा भएसँगै आजबाट २०७८ को आगमन भएको छ । र, २०७८ सालको आगमनमा अहिले नेपाली जनता नयाँ वर्षको खुशी मनाई राखेका छन् । नयाँ वर्ष २०७८ को खुशी मनाई रहँदा गत २०७७ मा भएका कतिपय घटनालाई बिर्सने र शिक्षा लिने प्रयाश पनि नेपाली जनताले गरी राखेका छन् । हिजोबाट बिदा भएको २०७७ साललाई कुनै अर्थमा पनि नेपाली जनताले सुखद वर्षको रुपमा लिनु पर्ने स्थिति छैन । २०७७ सालमा नै कोरोना महामारी विकराल रुपमा मुलुकमा फैलिएको थियो र यो महामारीबाट सयौं नेपालीले ज्यान गुमाएका थिए । यसैगरी यो महामारीको कारण कतिपय व्यक्तिको ज्यान मात्र गएको छैन की मुलुकको अर्थतन्त्रमा समेत गत वर्षमा कोरोना महामारीले जबरजस्त धक्का दिएको छ । नयाँ वर्ष २०७८ सालको प्रारम्भमा पनि कोरोना महामारी विगतको भन्दा पनि खतरनाक ढंगले फैलिने स्वास्थ्यकर्मीहरुले चेतावनी दिई राखेका छन् । यो महामारी नियन्त्रण गर्न सन् २०२१ को सुरुबाट नै विश्वका विभिन्न मुलुकले खोप निर्माण गरेका भएपनि र विश्वका अधिकांश मुलुकमा उक्त खोप नागरिकहरुलाई लगाउने काम अगाडि बढिराखेको भएपनि कोरोना महामारी भने विश्वव्यापी रुपमा नै झन् खतरनाक ढंगले अगाडि बढिराखेको छ । त्यस कारण यो महामारी नियन्त्रण गर्नका लागि विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको सामाजिक दूरीलाई कायम गर्नु र माक्स अनिवार्य रुपमा लगाउनु पर्ने भएको छ । र, खोप लगाएको कारण सामाजिक दूरी कायम गर्ने मामिलामा र माक्स लगाउने मामिलामा लापरवाही गरेको कारणले गर्दा पनि यो महामारी खतरनाक रुपले बढिराखेको विश्लेषण स्वास्थ्यकर्मीहरुले गरेका छन् ।
त्यस कारण खोप लगाएको भनेर कुनै पनि नागरिकले लापरवाही गर्न र ढुक्कसँग बस्न नहुने स्थितिलाई महामारीमा आएको व्यापकताले नै सूचित गरी सकेको छ । त्यस कारण यो महामारीबाट जोगिनका लागि यो वर्ष सबै जनताले सतर्कता अपनाउँदै यो महामारीले पराजित गर्नु पर्दछ ।
कोरोना महामारीको कारण स्वास्थ्य कारणले मात्र हामीबाट बिदा भएको वि.सं. २०७७ लाई निराशाजनक वर्ष मान्नु पर्ने अवस्था रहेको छैन । हामीबाट बिदा भएको २०७७ साल राजनीतिक रुपले पनि निराशाजनक नै रहेको छ । जनताको मतबाट बलियोसँग स्थापित भएको कम्युनिष्ट तप्का सत्ता संघर्षको कारण चर्को विवादमा पर्दा र दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले एकीकरण गरेर गठन भएको नेपाल कम्युनिष्ट पार्टी विघटन हुँदा त्यसको सिधा असर नेपालका कम्युनिष्ट पार्टीसँगै कम्युनिष्ट आन्दोलनमा समेत चर्को रुपले परेको छ । कम्युनिष्ट नेताहरुका बीचमा उत्पन्न भएको सत्ता भागबण्डाको विवादले उत्पन्न गरी दिएको स्थितिको नेपाली कांग्रेसले नसोचेको फाईदा लिने अवस्था आएको छ । आपसमा भएको कलहको फाईदा नेपाली कांग्रेसले लिने अवस्था आएकोबाट सत्ता भागबण्डाका लागि चर्को विवाद गरेर पार्टीलाई नै विभाजित गर्दै कम्युनिष्ट आन्दोलनलाई नै भड्खालामा पु¥याउन थालेका कम्युनिष्ट नेताहरुले कुनै ज्ञान लिएको देखिएको छैन । त्यस कारण आजबाट सुरु भएको नयाँ वर्ष यो मामिलामा पनि उत्साहजनक होस् र नेपालका कम्युनिष्ट नेताहरुले व्यक्तिगत तथा पार्टीगत स्वार्थलाई परित्याग गरेर राष्ट्रिय स्वार्थलाई सर्वपरी मानेर आफ्नो राजनीति संचालन गरुन् भन्ने सदासय व्यक्त गर्दै नयाँ वर्ष २०७८ सालको सुखद उपलक्ष्यमा सम्पूर्ण देशबासीमा मंगलमय शुभकामना व्यक्त गर्दछौं । र, गत वर्षका तिता घटनाहरुलाई पनि बिर्सिएर अगाडि बढ्न आग्रह गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *