यो वर्ष नओस् कम्युनिष्ट फुटे अरुले लुटेको स्थिति

समाचार

रामचन्द्र

हिन्दुहरुको एउटा धार्मिक ग्रन्थ महाभारत उल्लेख भए अनुसार भगवान कृष्णका वंशज यदुवंशीहरुको विनाश आपसमा कलहको कारणले गर्दा भएको थियो । नेपालका कम्युनष्टिले पनि अन्य मुलुकका कम्युनिष्टले जस्तै धर्म नमानेपनि सांस्कृतिक रुपले हिन्दु धर्मका कतिपय प्रसंगलाई मान्ने गर्दै आएका छन् । तर महाभारतमा उल्लेख भएको आपसी कलहको कारण यदुवंशीको विनाश भएको घटनाबाट भने नेपालका कम्युनिष्टले कुनै शिक्षा नलिएको उनीहरुको गतिविधिले नै स्पष्ट पार्दै गएको छ र यसैगरी नेपालका कम्युनिष्टले आन्तरिक विवादलाई चर्र्काउँदै लैजाने हो भने नेपालका कम्युनिष्टको विनाश पनि महाभारतमा उल्लेख भएका यदुवंशीहरुको जस्तै हुनेमा कसैको दुई मत नहोला ।
२०७४ सालमा सम्पन्न भएको आम निर्वाचन मार्फत् नेपाली जनताले दुई ठूला कम्युनिष्टको गठबन्धनलाई प्रचण्ड समर्थन दिएका थिए । त्यही समर्थनको कारण नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनले सम्पन्न आम निर्वाचनमा दुई तिहाई निकटका सफलता प्राप्त गरेको थियो । नेपालका कम्युनिष्ट आपसमा मिलेर चुनावी मैदानमा उत्रँदा यो सफलता प्राप्त गरेका थिए भने सत्ता भागबण्डालाई लिएर अहिले विवाद चर्काउँदै विभाजित अवस्थमा पुग्दा एकल कम्युनिष्ट पार्टीले बहुमतको सरकार समेत गठन गर्न नसक्ने अवस्था आएको छ । र, कम्युनिष्टको यो कमजोर अवस्थामा संसदमा ३२ स्थान भएको जनता समाजवादी पार्टीको भूमिकाले यो कम्युनिष्ट सरकारलाई विघटन गरेर नयाँ सरकार गठन गर्ने अवस्था समेत बनेको छ । यसैबाट बुझ्न सकिन्छ की सम्पन्न आम निर्वाचनमा जनताले प्रचण्ड बहुमत दिएको कम्युनिष्ट कित्ताका हालत कुन अवस्थामा पुगेको छ भनेर । आन्तरिक सत्ता भागबण्डाको विवादले एकले अर्कोलाई समाप्त गर्ने स्थितिमा दुई ठूला कम्युनिष्ट पार्टी पुग्दा र सत्तारुढ नेकपा एमालेमा चर्को विवाद उत्पन्न हुँदा त्यसको सिधा फाईदा सम्पन्न आम निर्वाचनमा जनताले अस्वीकार गरेर किनारा लगाई दिएको नेपाली कांग्रेसले उठाउने अवस्था आएको छ । यही अवस्थाको कारण अहिले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रवल दाबेदारको रुपमा अगाडि आएका छन् । सम्पन्न आम निर्वाचनले दिएको परिणामलाई आधार मान्दै कतिपय कम्युनिष्ट नेताले कम्तीमा तीस वर्ष नेपालमा कम्युनिष्ट पार्टीले शासन सत्ता चलाउने र नेपाली कांग्रेस जस्तो पार्टी किनारामा बस्नु पर्ने भविष्यवाणी गरेका थिए । र, यो भविष्यवाणीलाई गलत भन्ने अवस्था पनि थिएन । तर सत्तामा रहेका कम्युनिष्टहरुका बीचमा नै सत्ता भागबण्डालाई लिएर उत्पन्न भएको विवादले सम्पन्न आम निर्वाचनमा जनताको समर्थनबाट प्रचण्ड बहुमत सहित सत्तामा पु¥याइ दिएको कम्युनिष्ट पार्टी अहिले अत्यन्त कमजोर अवस्थामा सरकार संचालन गरी राखेको छ । र, संसदमा ३२ स्थान भएको जनता समाजवादी पार्टीले ठोस निर्णय गरिदिए यो सरकार तत्काल ढलेर नयाँ सरकार गठन हुने र त्यो स्थितिको सबभन्दा बढी फाईदा सम्पन्न आम निर्वाचनमा जनताले अस्वीकार गरेको नेपाली कांग्रेसले उठाउने स्थिति विकास भएको छ ।
सत्ता भागबण्डालाई लिएर विवाद चर्किंदा कम्युनिष्ट पार्टीका बीचमा उत्पन्न भएको स्थितिले नेपाली कांग्रेस सँगै जनता समाजवादीलाई राजनीतिको अनुचित फाईदा लिने स्थिति बनिरहँदा अहिलेसम्म सत्ता भागबण्डाको विवादको कारण एकले अर्कोलाई सिध्याउँने गरी यदुवंशी चरित्र प्रदर्शन गरी राखेका कम्युनिष्टले भने कुनै शिक्षा लिएको देखिएको छैन । र, अहिले पनि दुई कित्तामा विभाजित भएका नेपालका कम्युनिष्टहरु एकले अर्कोलाई सिध्याउने लक्ष्यका साथ अगाडि बढिराखेका थिए । यो लक्ष्य पूरा गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग उनीहरुकै शर्त अनुसार सहकार्य गर्न समेत तयार रहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई सत्ताबाट विस्थापित गर्ने आफ्नो उद्देश्य पूरा गर्नका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनै पनि अपवित्र र असमान सहमति कांग्रेस र जनता समाजवादीसँग गर्न तयार रहेका छन् । हिजोसम्म सहकार्य गरेर अगाडि बढेका एमालेका अध्यक्ष ओलीलाई सिध्याउन खोज्दा नेपालको कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट शक्तिले नै त्यसको चर्को मूल्य चुकाउनु पर्छ र त्यसको लक्षण पनि अहिले देखिन थालिसकेका छ भन्ने वास्तविकतालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मात्र होइन, एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले र अहिले ६ महिनाको पार्टी निलम्बनको सजाय भोगिराखेका माधव नेपालले समेत महसुस गर्न सकेको देखिएको छैन ।
नेपालका कम्युनिष्ट आन्दोलन र पार्टीका यी तीन शीर्ष नेताहरुले अपनाई राखेको एक अर्कालाई सिध्याउने खेलले २०७८ सालमा पनि निरन्तरता पायो भने निश्चित रुपमा नेपालका कुनै पनि कम्युनिष्ट पार्टी र नेताले विजय प्राप्त गर्न सक्ने छैनन् र यो यदुवंशी प्रवृत्तिले अन्ततः नेपालको कम्युनिष्ट आन्दोलनलाई नै सत्ताबाट सडकमा पु¥याई दिनेछ । त्यस कारण आजबाट सुरु भएको नयाँ वर्ष २०७८ ले सत्ताको भागबण्डाको विवादबाट एक अर्कालाई नै समाप्त गर्ने सोचमा पुगेर गतिविधि संचालन गरी राखेका नेपालका शीर्ष कम्युनिष्ट नेताहरुलाई सद्बुद्धि देओस् भन्ने सद्भावना नयाँ वर्ष २०७८ को उपलक्ष्यमा व्यक्त गर्दा अन्यथा नहोला ।
तर नेपालका ठूला कम्युनिष्ट नेताहरुले अहिलेसम्म देखाई राखेको गतिविधि र प्रवृत्तिलाई हेर्दा विगतमा सत्ताका लागि गरेको विवादले उत्पन्न भएको राजनीतिक संकटको स्थितिलाई मनन गरेको देखिँदैन । र, विगतको प्रवृत्तिलाई नै निरन्तर रुपमा अगाडि बढाएमा नेपालको कम्युनिष्ट आन्दोलन किनारा लागेर त्यसको फाईदा अन्य राजनीतिक शक्तिले उठाउने निश्चित छ । कम्युनिष्टका बीचमा विवाद उत्पन्न हुँदा अन्य राजनीतिक दलले त्यसको फाईदा उठाउन सक्ने स्थितिलाई अहिलेकै राजनीतिक घटना क्रमले नै देखाई सकेको छ । यही कारणले गर्दा नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्ने अवस्था आएको छ भने जनता समाजवादीका नेतासँग सहयोगको याचना गर्ने दिन पनि आई सकेको छ । यो स्थितिलाई भाइ फुटे गवार लुटे भन्ने कहावतसँग जोडेर अहिले एक अर्कालाई सिध्याउने गरी चर्को विवाद गरी राखेका नेपालका कम्युनिष्टले नयाँ वर्ष २०७८ को प्रवेश सँगै उचित शिक्षा लिएर अगाडि बढ्छन् भन्ने अपेक्षा गर्नुलाई अस्वभाविक मान्नु पर्दैन र हामीबाट बिदा भएको २०७७ मा भएका गल्ती कमजोरीलाई सच्याएर नेपालका कम्युनिष्टहरु फेरि एक ठाउँमा आएर जनताको अपेक्षा अनुसार अगाडि बढ्छन् भन्ने अपेक्षा गर्नु गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *