संचारमन्त्री गोकुल की पार्वत ?

समाचार

काठमाडौं– प्रधानमन्त्रीका अत्यन्त नजिकका विश्वासपात्र सांसद गोकुल बाँस्कोटा संचार मन्त्रालयको जिम्मेवारीबाट हटेको डेढ वर्ष हुन लागेको छ । सेक्युरिट प्रेस खरिदका सम्बन्धमा कमिसनको विवाद सार्वजनिक भएपछि बाँस्कोटा संचारमन्त्रीको जिम्मेवारीबाटै हट्न बाध्य भएका थिए । संचार मन्त्रालयको जिम्मेवारीबाट हटे पनि बाँस्कोटाले नै अहिले पनि संचारमन्त्रालय हाकिराखेको यो मन्त्रालयका पदाधिकारीहरू बताउँछन् । प्रधानमन्त्री केपी ओलीले पार्वत गुरुङलाई संचारमन्त्री बनाए पनि वास्तविकतामा भने यो मन्त्रालयले पूर्वसंचारमन्त्री गोकुल बाँस्कोटाले नै हाकिराखेको छ र बाँस्कोटा नै छाया संचारमन्त्री भएको टिप्पणी संचार मन्त्रालयमा हुने गरेको छ ।
केही दिन अगाडि सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मामिलामा संचारमन्त्री गुरुङसँगै प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत र प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकार सूर्य थापाको टोली पूर्ण रूपमा असफल सावितसमेत भएको छ । यो टोलीले गलत व्यक्तिहरूलाई उम्मेदवार बनाएकै कारणले गर्दा उनीहरूको नराम्रो पराजय भएको र संयुक्त टोलीले विजय प्राप्त गरेको हो भन्ने टिकाटिप्पणी पत्रकार जगतमा अहिले पनि चलिराखेको छ । यो टोलीले योग्य, सक्षम र बदनाम नभएका व्यक्तिलाई पन्छाएर आफूहरू निकट भएकै आधारमा गलत व्यक्तिलाई चयन गर्दा पत्रकार महासंघको नेतृत्व लामो समयपछि सत्तापक्षले गुमाउनु परेको र महासंघको नेतृत्व प्रतिपक्षको पोल्टामा गएको हो भनिन्छ ।
यसैबीच प्राप्त एक समाचारअनुसार संचारमन्त्री गुरुङको काम भने विभिन्न कित्ताका पत्रकारलाई ठूला होटलमा लगेर खाना र रक्सी खुवाउने र उनीहरूलाई सरकारको पक्षमा समाचार लेख्ने वातावरण बनाउने रहेको छ । सरकारी पैसाबाट प्रधानमन्त्री ओली र वर्तमान सरकारको स्तुतिगान प्रचारप्रसार गर्नका लागि प्रत्रकारहरूलाई ठूला होटलमा लगेर संचारमन्त्री गुरुङले अहिले राष्ट्रिय ढुकुटीको दुरूपयोग गरी राखेका छन् । यसैगरी मन्त्री गुरुङले आफ्नो जिल्ला दोलखामा आफ्नो स्थिति बलियो बनाउनका लागि त्यहाँका बेरोजगार युवाहरूलाई संचार मन्त्रालयअन्तर्गतका विभिन्न कार्यालयमा दरबन्दी नै नहुँदा पनि करार र ज्यालादारीमा नियुक्त गरेर राष्ट्रिय ढुकुटी लुटाउने काम गरी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *