काठमाडौं– संसारकै मानव जगत चक्रीयरूपमा लगातार आउने कोरोना महामारी रोगबाट पीडित भएका छन् । अहिलेसम्म संसारभर ३० लाख मानिस मारिएका छन् भने नेपालमा मात्रै पहिलो चक्रमा ३ हजार मारिएका छन् । संसार कतै दोस्रो र कतै तेस्रो चक्रको कोरोना महामारीको पीडा भोग्दै छन् भने नेपालमा हालैबाट दोस्रो चक्रीय कोरोनाको प्रकोप सुरु भएको छ । पहिलो चक्रको कोरोनाको प्रकोप घटेपछि विज्ञहरूले दोस्रो चक्रको कोरोना रोग २०७७ र २०७८ को चैत, बैशाख र जेठ महिनामा आउने अनुमान लगाएका थिए । नभन्दै सोही समयमा नेपालमा कोरोनाको दोस्रो चक्रीय प्रकोप सुरु भएको छ । पहिलो चक्रको कोरोनाबाट २०७७ सालको जेठ महिनाको ३ गते पहिलो कोरोना रोगीको ज्यान गएको थियो । त्यसपछि लगातार कोरोना रोगबाट नेपालमा मानिसहरू मर्न सुरु गरेको थियो र त्यो रोकिएको छैन । झन्झन् बढेर नै गएको छ ।
दोस्रो चक्रीय कोरोनाको प्रकोप नेपालमा २०७७ सालको चैत महिनाबाट सुरु भएकोमा यसले २०७८ साल बैशाख महिनाको १२ गते एकै दिनमा २८ जना कोरोना रोगीहरूको प्राण लिएको छ । विज्ञहरूले जनाएअनुसार संसारभर करोना महामरी रोगको यस्तो चक्र छ पटकसम्म दोहरिने छन् । नेपाल भर्खरै दोस्रो चक्रमा प्रवेश गरेको हुँदा अझैँ धेरै पीडा नेपाली जनताले भोग्नु पर्ने देखिन्छ । नेपालमा यो महामारीको निवारणबारे कुनै अध्ययन अनुसन्धान गरिएको छैन । विश्वका अन्य सक्षम मुलुकहरूले निकालेका खोपहरूकै प्रयोग वा उपयोग गर्ने काम नेपालमा पनि सुरु भएको छ । नेपालको अवस्थाअनुसार त्यो सबै कत्तिको प्रभावकारी छन् र हुन्छन् भन्ने कुराको पूरा जानकारी भएको छैन ।
नेपालभन्दा धेरै गुणाले सक्षम मुलुक भारत यतिबेला कोरोना महामारीको चपेटामा नराम्रोसँग परेको छ । भारतमा पनि अहिले कोरोना महामारी रोगको दोस्रो चक्र नै चल्दै छ । भारतले यो कोरोना रोगबारे आफ्नै अध्ययन र अनुसन्धान गरेको छ । खोप पनि विकास गरी आम भारतीय जनतालाई लगाउने कामहरू भएका छन् । तर, पनि दोस्रो चक्रमा आएको कोरोना महामारी रोगको प्रकोपलाई मत्थर गर्न वा रोक्न सकिरहेको छैन । भारतको राजनीतिक नेतृत्व सक्षम भएर पनि समय नघर्की प्राणवायु अक्सिजनको प्रचुर मात्रामा उपलव्ध गराउन नसक्दा धेरै कोरोना रोगीहरूको ज्यान बेकारमा नै गएको छ । अहिले भारतले संसारभरबाट अक्सिजनको आपूर्ति गर्ने काम सुरु गरेको छ भने अनेक अक्सिजनको प्लान्टहरू स्थापना गरी सञ्चालन गरेका छन् ।
कोरोना महामारीको सन्दर्भमा कुरा गर्दा नेपाल पनि भारतको छायाँ मुलुकजस्तै हो । भारतमा दोस्रो चक्रीय कोरोनाको प्रकोप सुरु हुन साथै नेपलामा पनि त्यो सुरु भएको छ । नेपाल र भारतका बीच लामो खुला सीमाना छन् र नेपाली जनताको ठूलो संख्या भारतमा मौसमी रोजगारीको लागि काममा जाने र आउने गर्दछन् । भारतमा अध्ययन अनुसन्धानको लागि गएका नेपालीहरू पनि धेरै छन् । साथै नेपाली र भारतीय जनताका बीच सीमा वारपार विवाह सबन्ध पनि परापूर्वकालदेखि नै चल्दै आएको छ । त्यो हुँदा नेपाल भारतको छायाँ मुलुक झैँ देखिन्छ र भारतमा हुने गरेको सानातिना घटनाहरूले पनि नेपाललाई प्रभावित बनाउने गरेको छ ।
कोरोना त्यस्तो कुनै सानतिना घटना होइन, किनकी यसले विश्वलाई नै हल्लाएको छ । चन्द्रमा र मंगलग्रहमा यानहरू पठाउन सक्षम मुलुक भारतको कोरोना महामारीले बेहाल नै तुल्याएको देखिन्छ । यता नेपालमा राजनीतिक नेतृत्व पनि सक्षम छैन । लामो कालदेखि नेपालमा चल्दै आएको राजनीतिक अस्थिरताले नेपालको अर्थतन्त्रलाई पनि ध्वस्त पारिसकेको छ । नेपाल नराम्रोसँग विदेशी ऋणमा डुबेको बेला छ । नेपालमा हाल चलेको राजनीतिक तरलताले गर्दा नेताहरूको ध्यान कोरोना महामारी नियन्त्रण गर्नेतर्फ भन्दा पनि आफ्नै राजनैतिक साख जोगाउनेतिर केन्द्रित छन् । कमजोर राजनीतिक नेतृत्वकै कारणबाट नेपालमा लामो कालदेखि नै भ्रष्टाचार र अपराध हाबी हुँदै आएको छ । यो क्रम घट्ने भन्दा पनि लगातार बढेर नै गएको देखिन्छ । नेपालको राजनीतिक नेतृत्व भ्रष्ट र अपराधी छन् भने तिनीहरूकै नेतृत्वमा चलेको नेपालको निजामति कर्मचारीतन्त्र पनि उस्तै छ । नेपालको असुरक्षा हुने गरी विदेशी ऋणको भारी बढेको हुनाले नेपालको हालत पनि पाकिस्तानजस्तै हुने हो कि भन्ने शंका बढेको छ । यस्तो अवस्थामा आएको दोस्रो चक्रीय कोरोना महामारीको प्रतिरोध गर्नसक्ने क्षमता नेपालको छैन ।
अर्कोतिर, धमिलो पानीमा माछा मार्न पल्केका नाफाखोर दलाल माफिया व्यवसायीहरू र व्यापारीहरू नाफा कमाउने उद्देश्यले सक्रिय भएका छन् । नेपाली जनताको लागि कोरोना महामारी कहर भए पनि भ्रष्टाचारीहरू र अपराधीहरूका लागि भने यो दशैं बराबर नै हो । यतिबेला नेपालको राजनीतिक नेतृत्व कमजोर भएको हुँदा दोस्रो चक्रको कोरोना महामारीसँग भिड्ने नेपालको तयारी त्यति राम्रो छैन । नेपालमा प्राणवायु अक्सिजनको मात्र होइन सबै कुराको अभाव रहेको छ । पहिलो चक्रको कोरोना महामारीले नै धेरै व्यवसायीहरूको ढाड सेकिसकेको हुँदा अब दोस्रो चरणको कोरोना महामारीसँग जोगिने क्षमता नेपाली व्यवसायीहरूको छैन ।
नेपालमा धेरै कुरा भगवान भरोसामा नै चलेका छन् त्यसैले अबको समय पनि त्यसरी नै कट्ने र बिताउने तयारीमा नेपाली जनता लागेका छन् । नेपालमा राजनीतिक नेतृत्वको सक्रियतामा कुनै राम्रो काम भएको छैन । सबै भ्रष्टाचार र अपराधजस्ता नराम्रो कामहरू मात्रै भएका छन् । समयकाल र परिस्थितिअनुसार भएका वा गरिएका विकासलाई नै नेपालका नेताहरूले हामीले गरेको हौँ भन्दै जोडतोडले प्रचारप्रसार गरी शिलान्यास र उद्घाटन गर्दै हिँडेका छन् । कुनै नयाँ नौला उदाहरणीय काम गरी नेताहरूले नेपाली जनतालाई अहिलेसम्म देखाउन सकेकै छैन । विदेशी ऋण लिँदै विदेशमै लगेर थन्काउने कामबाहेक नेताहरूले अरु गतिलो काम गर्न सकेको देखिन्न । विदेशीसँग ऋण गरी नेपालको विकास गरेका छौँ भनी नेपालका नेताहरू गफ हाँक्छन् तर विकास कता गरेका छन् भनी सिला खोज्नुपर्ने अवस्था नेपालमा चलेको छ ।
नेपाली जनतालाई आत्महत्या गर्न सजिलो होस् भनी अग्ला भ्युटावरहरू भने नेताहरूले देशैभरि बनाएको बनाएकै छन् । त्यसैलाई नेपालको विकास भनी देखाउन र प्रचारप्रसार गर्न नेताहरू र जनप्रतिनिधिहरूले कुनै कसर बाँकी राखेका छैनन् । नेपालका नेताहरूको र जनप्रतिनिधिहरूको चालामाला हेर्दा उनीहरूलाई नेपाली जनता कोरोनाबाट बिनाकालमा मर्छन् र जसरी पनि बचाउनु पर्छ भन्ने दृढ संकल्प छैन । सबै धमिलो पानीबाट पीडित माछाहरू मारी खाने ताकमा बसेका छन् । त्यसैले नेपाली जनताले कोरोनाबाट आफ्नो सुरक्षा आफैँले गर्नुपर्ने अवस्था आएको छ । अकालमा मर्नबाट बच्नका लागि नेपाली जनता सबैले कोरोनाबाट बच्ने उपायहरू गम्भीरताका साथ पालना गरौँ । सकिन्छ भने आपतकालीन प्रयोगका लागि अक्सिजनको व्यवस्थासमेत गरिराखेमा आफू र आपतमा परेका अरुलाई समेत काम लाग्ने छ ।
खोपको व्यवस्था पनि नेपाल सरकारले सबै नेपाली जनतालाई पुग्ने गरी व्यवस्थापन गर्न सकेको छैन । व्यवसाय र उमेरअनुसार खण्डखण्ड गरी केही दानमा पाएका र केही किनेको खोपहरूलाई मिलाएर लगाउने काम नेपाल सरकारले गरेको छ । पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज पनि लगाउने बेला भएको छ । तर, सरकारको तयारी के छ भन्ने कुराको जानकारी कसैले पाएको छैन । सत्ताका नजिक भएका र पहुँच भएकाहरूले सरकारको नियम मिच्दै खोप लगाउने काम गरेका छन् भन्ने पनि सुनिन्छ । २०७२ साल बैशाखमा गएको भूकम्पले भन्दा पनि बढी पीडा नेपाली जनतालाई पहिलो चरणको कोरोनाबाट भएको थियो भने हाल आएको दोस्रो चरणको कोरोनाबाट के–के हुने हो कसैलाई थाहा छैन । उक्त भूकम्पको पुनर्निर्माणमा राज्यले अर्बौं खर्च गरेको छ भने कोरोना पीडितहरूका लागि राहतको रूपमा नगद वा काम दिइएको छैन । पहिलो चरणबाटै चित खाइसकेका निजी व्यवसायीहरू र कामदारहरू हाल चलेको कोरोनाको दोस्रो चरणबाट के हालतमा पुग्ने हुन अनुमानै लगाउन कठिन छ । नेपालमा दलहरूको सरकार छ भन्नु मात्रै हो, किनकी त्यो सरकार नै नेपाली जनताको लागि विशाल आर्थिक बोझ भइसकेको छ । संघीय सरकार सञ्चालन गर्न कै लागि पनि विदेशीसँग अब राष्ट्रिय ऋण काढ्नु पर्ने अवस्थामा दलहरूले राष्ट्रलाई लगेका छन् । ‘घाँटी हेरी हाड निल्नु’ पर्नेमा त्यसो नगर्दा नेपालको संविधान २०७२ अनुसार नेपालमा बनेका तीन तहका सरकारहरूको खर्च राज्यको कुल आम्दानीबाट धान्नै नसक्ने भएको छ । राज्यको आम्दानी जति सबै सरकार सञ्चालनमा नै खर्च हुने भएपछि अब विकासको लागि कसरी लगानी जुटाउने हो, समस्या नै बनेको देखिन्छ ।
कोरोना रोगीहरूको निशुल्क उपचारको व्यवस्था सरकारले गरेको छ र कोरोनाको परीक्षण पनि निशुल्क नै छ । यो नेपाल सरकारको राम्रो काम भए पनि त्यसको व्यवस्थापन गर्दा भएका आर्थिक घोटालाहरूले गर्दा सरकारका सबै राम्रा कामहरू ओझेलमा परेका छन् । सरकारमा भएका राजनीतिक दलहरूले आफ्नै नातेदारहरू र कार्यकर्ताहरूलाई मात्रै राहत बाँड्ने र अन्यलाई बेवास्ता गर्ने भएकाले पनि नेपाली जनताको पीडा झनै बढाएको छ । कोरोनालाई खोपले अवश्य कम गर्ने छ, तर निर्मूल भने पार्न सक्नेछैन । विज्ञहरूका अनुसार अझैं कोरोनाको अरु चार चरण आउनै बाँकी छ । त्यसैले नेपाली जनताको हालत अझ भविश्यमा कस्तो हुने हो ? यसै भन्न सकिन्न । जबसम्म कोरोना महामारी प्राकृतिक हिसाबले आफैँ थामिने अवस्था आउँदैन, तबसम्म नेपाली जनताले आफैँ सजग भएर कोरोनाको संक्रमण रोकथामका सबै उपायहरूको पालना गरी आफ्नो सुरक्षा आफैँले गर्नुपर्छ ।