ठाकुरसँग राजनीतिक इष्र्या साँध्न ओलीको विरोध

समाचार

काठमाडौं– जनता समाजवादीका कार्यकारी अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो केपी ओली नेतृत्वको वर्तमान सरकारको जसरी पनि प्रतिरक्षा गर्ने पक्षमा उभिरहँदा यही पार्टीका २ र ३ नं. अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई भने केपी ओलीलाई प्रधानमन्त्री पदबाट जसरी पनि हटाउने एक सुत्रीय कार्य दिशामा सक्रिय रहेका छन् । पार्टीको शीर्ष नेताहरूका बीचमा उत्पन्न भएको विवादको प्रतिछायाँ सबभन्दा पहिले लुम्बिनी प्रदेशमा देखिएको छ । र, महन्थ ठाकुर, राजेन्द्र महतो पक्षका चार जना सांसदले गरेको निर्णयबाट तत्कालका लागि मुख्यमन्त्री शंकर पोखरेलको कुर्सी जोगिन पुगेको छ भने उपेन्द्र यादव बाबुराम भट्टराई पक्षले यो निर्णय गरेवापत ती चार जना सांसदलाई पार्टी र सांसदबाट हटाउने निर्णय गरेका छन् । बाबुराम, उपेन्द्र यादव पक्षले गरेको यो निर्णयविरुद्धमा महन्थ ठाकुर पक्ष निर्वाचन आयोगमा पुगेको छ भने उत्पन्न भएको विवादले निकास नपाउँदा जनता समाजवादी विवादको संघारमा पुगेसँगै दुवै पक्षले पुरानै कार्यलयमा बैठक गरेर एक–अर्काविरुद्धमा निर्णयसमेत गर्न थालेका छन् ।
पछिल्लो घटनाक्रममा उपेन्द्र यादव, बाबुरामको पक्षमा १८ जना सांसद देखिएका छन् भने बाँकी १४ सांसद राजेन्द्र महतो, महन्थ ठाकुर पक्षमा छन् । र, उपेन्द्र यादव बाबुराम यही २७ गते प्रधानमन्त्री ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने भएका छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो पक्ष भने उक्त प्रस्तावको पक्षमा मतदान गरेर प्रधानमन्त्री ओलीलाई जोगाउने पक्षमा छन् । जनता समाजवादीका दुई अध्यक्षका बीचमा विकास भएको पछिल्लो घटनाक्रमले प्रतिष्ठाको प्रश्नसमेत जोडिदिएको छ । दुई वर्ष अगाडि उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री भएर सरकारमा सामेल हुँदा उपेन्द्र यादवले गराउन नसकेको निर्णयलाई अहिले सत्ता बाहिरैबाट राजेन्द्र महतोले गराएका छन् र राजेन्द्र महतोले गराएको उक्त निर्णयअनुसार विभिन्न मुद्दामा कारबाही भोगिराखेका १२० जना जनता समाजवादीका नेता कार्यकर्तालाई सरकारले मुद्दा फिर्ता लिएर उन्मुक्ति दिएको छ । तर, मधेशको हक र एजेण्डालाई सधैंभरि उठाउने गरेको भनिएका उपेन्द्र यादवले उपप्रधानमन्त्री भएर सरकारमा सामेल हुँदा पनि यो निर्णय गराउन सकेनन् । र, अहिले राजेन्द्र महतोले प्राप्त गरेकोे सफलताको कारण मधेशमा महन्थ ठाकुरको पक्षमा र राजेन्द्र महतोको पक्षमा जनमत बनिराखेको छ । यही कारणले गर्दा महन्थ ठाकुरको राजनीतिक इष्र्या साँध्नका लागि उपेन्द्र यादवले ठाकुरको भन्दा फरक अडान राखेका हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *