नियुक्तिमा प्रम ओलीको झापा मोह

राजनीति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली देशकै नेता बन्नुपर्ने हो । तर, उनको झापा मोह बढो अजिबको देखिन्छ । क्याबिनेटबाट हुने नियुक्तिमा कतैँ न कतै झापा गौरादहकै नभए पनि झापालीले अवसर पाएकै हुन्छ ।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष ओलीको घर झापाको दमक हो । हाल उनी भक्तपुरको बालकोटमा स्थायी बसोबास गर्दै आएका छन् । ओलीको निर्वाचन क्षेत्र भने पश्चिम झापा हो । दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगन्ज गाउँपालिका उनको निर्वाचन क्षेत्रमा पर्छ ।
जस्तो नियम कानुनलाई धज्जी उडाउँदै अस्तिमात्र प्रधानमन्त्री ओलीले ११ जना राजदूत नियुक्त गरे । त्यहाँ तीन जना झापाली परे । नियमअनुसार, राजदूत नियुक्ति गर्दा ५० प्रतिशत परराष्ट्र सेवाका कर्मचारी र बाँकी ५० प्रतिशत चाहिँ राजनीतिक क्षेत्र, कूटनीतिक क्षेत्रका जानकार नियुक्ति गर्नुपर्ने व्यवस्था छ । तर दुई जना कर्मचारी घुसाएर बाँकी नौ नेताका आसेपासेले नियुक्ति पाएका छन् । त्यसमा पनि तीन जना झापाली नै परे । अस्ति नियुक्ति पाएकामध्ये बहराइनको राजदूतमा सिफारिस भएका युवराज कार्की, डेनमार्कको राजदूत सिफारिस भएका सुमित्रा भण्डारी तथा म्यानमारको राजदूत सिफारिस भएका प्राडा.नारायणप्रसाद संग्रौला झापाली हुन् । प्रधानमन्त्री ओली र सरकारी नियुक्तिकै कारण एकपछि अर्काे विवादमा तानिँदैछन् । यसरी नियुक्ति पाउनेमध्येका एक सुमित्रा भण्डारी छिन् । उनी नाताले प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई तथा गोरखापत्र दैनिकका सल्लाहकार सम्पादक गोपाल खनालकी सासु, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीकी काकी हुन् । यसरी तीनतिरबाट नाता परेपछि राजदूत नियुक्ति पड्काउन सफल उनको करियर कुनै डिप्लोम्याट नभई निम्न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक शिक्षा पढाउने शिक्षिका मात्र भएको खुलेको छ । परराष्ट्र मन्त्रालयबाट अवकाशप्राप्त यादव खनाललाई भने यसपटकको नियुक्तिमा नाम काटिएको भेटिएको छ ।
यी त भए राजदूतजस्तो गरिमाको पदमा नियुक्त गरिँदासमेत खोजिएका नाता–गोताको कथा । अब हेरौँ प्रधानमन्त्री ओलीको झापा मोह । अघिल्लो साता प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको अध्यक्षमा नियुक्ति दिए माधव रेग्मीलाई । उनी कांग्रेसी । प्रधानमन्त्री ओलीले राजनीतिक नियुक्ति दिँदा झापाली भए पुग्छ, चाँहे कांग्रेस होस् वा पञ्च त्यसले मतलब राख्दैन । यसअघि प्रधानमन्त्री ओलीले नेपाल राष्ट्र बैंकमा दुई जनालाई डेपुटी गभर्नरमा बढुवा गरे, बमबहादुर मिश्र र डा. नीलम तिम्सिनालाई । झापाली भएकै कारण महाप्रसाद खतिवडाले लगानी बोर्ड हुँदै नेपाल राष्ट्र बैंकको गभर्नरको नियुक्ति भेटे ।
यस्ता भद्रगोलको श्रृंखला यतिमै सकिँदैन केहीअघि ओलीकै क्याबिनेटले अनुभवविहीन एक पत्रकारलाई उपत्यका विकास प्राधिकरणको हाकिम बनाइदिए, मात्र झापाली भएकै कारण । मासिक पत्रिका चलाइरहेकी जानुका ढकालले उपत्यका विकास प्राधिकरणको जिम्मेवारी पाइन् । यस्तै राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा डा.कृष्णप्रसाद ओली मनोनित भए उनी पनि झापाली नै हुन् ।
यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा झापा नै घर भएका गंगाप्रसाद उप्रेतीलाई दोहो¥याएर नियुक्ति दिइयो । साझा प्रकाशनका अध्यक्ष होमप्रसाद गौतम झापाली नै हुन् । झापाकै युवराज खतिवडाले आठौँ पटक राजनीतिक नियुक्ति पाएर अमेरिकाको राजदूत बने । त्रिभुवन युनिभर्सिटीको भिसीमा झापा गौरादहकै डा.धर्मकान्त बाँस्कोटालाई नियुक्ति दिइयो । उनी सचिव यामकुमारी खतिवडाको श्रीमान हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीको निजी चिकित्सकको रूपमा अवसरमा पाएका बाँस्कोटाले मेडिकल काउन्सिलको अध्यक्षको पदावधि सकिएलगत्तै उपकुलपति हुने अवसर पाएका हुन् । गोपाल खनालले गोर्खापत्र, रेडियो नेपालमा दीपक पाठक, बाग्मती प्रदेशको मुख्यसचिव विष्णु प्रसाइ यी सबै झापाली हुन् ।
अग्नि खरेल सांसद हुँदै महान्यायधिवक्ता बने, तर प्रधानमन्त्रीले सांसद विघटन गरेपछि प्रधानमन्त्रीको बचाउ गर्न नसक्दा राजीनामा गर्न बाध्य भए । यस्तै, अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएकी डा.शिवमाया तुम्वाहाम्फे, सांसद, उपसभामुख हुँदै मन्त्री बनिन् । बद्नाम पात्र हुन् सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी । उनी झापाकै । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की गौरादह डिपुका स्थायी बासिन्दा हुन् । चिनियाँ सरकारको करिव ४६ अर्ब रुपैयाँको लगानीमा झापाकै दमक, गौरादह र कमल गाउँपालिकामा निर्माणाधीन क्लिन इन्डष्ट्रिज पार्कको अध्यक्ष बनाइएका गोविन्द थापा झापा दमकका स्थायी बासिन्दा हुन् । केपी ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी दमकका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि ओलीको निजी सचिवालयमा कार्यरत छन् । यस्तै, ओली प्रधानमन्त्री बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएका नवीनकुमार घिमिरे, नेपाल वायु सेवा निगमका अध्यक्ष मदन खरेल (पछि राजीनामा दिएका) यी सबै झापाली । भन्नलाई बाहिर प्रधानमन्त्रीले विकास निर्माण र सुशासनको अतृप्त भोक छ भनिन्छ । तर, उनले गर्ने राजनीतिक नियुक्तिहरू हेर्दा त्यस्तो देखिँदैन । आफ्नो कार्यकालमा आफ्नो आसेपासे र ‘बा’ को नाता लगाएर बालुवाटार धाउनेहरूलाई नियुक्ति दिनेमै केन्द्रित छ । चाँहे ती योग्य हुन् वा नहुन् । चाँहे विगतमा बद्नाम हुन्, प्रमलाई केही मतलब छैन् । बस झापाली भए पुग्छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *