एकातिर ओली हटाउने खेल, अर्कोतिर मन्त्रिपरिषद विस्तारको कसरत

राजनीति

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादीका दुई अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई यसैगरी नेकपा एमालेकै नेता माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाको अध्यक्ष दुर्गा पौडेल केपी ओली नेतृत्वको वर्तमान सरकारलाई विस्थापित गरेर कांग्रेस सभापति देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन गर्न भनेर सर्वोच्च अदालतमा पुगिरहँदा प्रधानमन्त्री ओली भने विभिन्न दललाई समावेश गरेर वर्तमान सरकारलाई विस्तार गर्ने अन्तिम गृहकार्यमा लागि परेका छन् । प्रधानमन्त्री ओली र जनता समाजवादीका शीर्ष नेताहरूका बीचमा वर्तमान सरकारमा जनता समाजवादी समावेश हुने सम्बन्धमा सहमति भइसकेको छ । समाचार सुत्रअनुसार यस सम्बन्धमा वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्री ओलीसँगै उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, यसैगरी जनता समाजवादीको तर्फबाट अध्यक्ष महन्थ ठाकुर, संसदीय दलका नेता राजेन्द्र महतोसँगै लक्ष्मणलाल कर्ण र शरतसिंह भण्डारीका बीचमा वर्तमान सरकारमा जनता समाजवादीले आठ मन्त्री र दुई जना राज्यमन्त्री पाउने सहमति अस्ति सोमबार बसेको वार्तामा तय भएको छ । यसैगरी गत पुस ५ गते र यही जेठ ७ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको समर्थन गर्दै आएको राष्ट्रिय जनता पार्टीलाई पनि दुई मन्त्रालय र उपप्रधानमन्त्रीसहित सरकारमा सामेल गर्ने सहमति भएको छ । यस सम्बन्धमा प्रधानमन्त्री ओली र राष्ट्रिय जनता पार्टीका अध्यक्ष कमल थापाका बीचमा गत शनिबार भएको वार्तामा सहमति भएको हो ।
समाचार सुत्रका अनुसार जनता समाजवादीका संसदीय दलका नेता महतोको नेतृत्वमा यो पार्टी सरकारमा जाने छ भने महन्थ ठाकुरले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित उपप्रधानमन्त्री पाउने छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसहित उपप्रधानमन्त्री पाउने निश्चित भएको छ । र, अब चाँडै नै हुने मन्त्रिपरिषदको विस्तारमा नेकपा एमालेको तर्फबाट महेश बस्नेत र निरूपाल पनि समावेश हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *