ओली–नेपाल मिल्दा देउवा र प्रचण्डमा बढ्यो छटपटी

राजनीति

काठमाडौं । केही दिनयताबाट सत्तारुढ नेकपा एमालेको नेतृत्व तहमा उत्पन्न भएको विवाद मत्थर हुन थालेको अनुभूति हुन थालेको छ । पार्टीबाट अलग भएर नयाँ पार्टी गठन गर्ने चेतावनी दिने माधव नेपाल पक्षका नेताहरुले यस सम्बन्धमा अहिले कुनै टिकाटिप्पणी गरी राखेका छैनन् भने एमालेको संस्थापना पक्षले पनि असन्तुष्ट पक्षका नेताहरुमाथि थप कारबाही गरिराखेको छैन । पार्टी विधानविपरीत गतिविधि गरेको भनेर वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाललगायत ११ जना नेतालाई दिएको स्पष्टिकरणको जवाफ नआएपछि उनीहरुलाई पार्टीबाट नै निष्काशन गरेको एमालेको संस्थापना पक्षले त्यसैगरी स्पष्टीकरण सोधेको अन्य १२ जना नेतामाथि भने अहिलेसम्म कुनै कारबाही अगाडि बढाएको छैन । जबकि नेपालहरुले जस्तै यी १२ जना नेताहरुले पनि स्पष्टीकरण दिएका छैनन् ।
अध्यक्ष ओलीसँग दूरी बढाएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग नजिक रहेको नेपाल पक्षले केही दिनअगाडि पार्टीलाई २०७५ साल जेठ ३ गतेभन्दा अगाडिको अवस्थामा नफर्काए पार्टीलाई विभाजन गरेर अर्को पार्टी गठन गर्ने चेतावनी अध्यक्ष केपी ओलीलाई दिएका थिए । माधव नेपाल पक्षले यस्तो चेतावनी दिएकोलगत्तै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको सिफारिस फिर्ता लिनेलगायत सहमतिका लागि ६ बुँदे सूत्र अगाडि सारेका थिए । तर नेपाल पक्षले सहमतिका लागि अध्यक्ष ओलीले अगाडि सारेका ६ बुँदे सहमतिको प्रस्तावलाई अस्वीकार गरेपछि अहिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष पार्टीलाई एक सूत्रमा राख्नका लागि नेपाल पक्षको माग पार्टीलाई २०७५ साल जेठ ३ गते भन्दा अगाडिको स्थितिमा लैजाने संकेत दिन थालेका छन् । र, अध्यक्ष ओलीले नेता नेपाल र खनालसहितको २०६५ साल जेठ ३ गतेभन्दा अगाडिको पार्टीको स्थायी समितिको बैठक बोलाउने गृहकार्यसमेत गरिराखेका छन् । पार्टीमा उत्पन्न भएको कटुतालाई समाप्त गरेर एकताको वातावरण कायम गर्नका लागि उपप्रधानमन्त्री विष्णु पौडेलले भैँसेपाटीस्थित निवासमा पुगेर वामदेव गौतमसँग तीन घन्टाभन्दा लामो छलफल गरेका छन् । नेपाल पक्षका नेताहरु अष्टलक्ष्मी शाक्य, यदुराम भुषाल र भीम रावल आदि नेताहरु कुनै हालतमा पनि एकता नगरी अर्को पार्टी गठन गर्नु पर्छ भन्ने पक्षमा रहेका छन् भने सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायत नेताहरु भने कुनै हालतमा पनि पार्टी फुटाउन हुँदैन भन्ने पक्षमा छन् । यसैगरी ओली पक्षका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली आदि नेताहरु भने पार्टीमा उत्पन्न भएको विवादलाई समाप्त गरेर निरन्तर रुपमा पार्टीलाई एक ढिक्का राख्न सक्रिय रहेका छन् ।
नेकपा एमालेमा उत्पन्न भएको विवादले निकास पाएर विवाद समाप्त भयो भने नेपाली कांग्रेसका सभापति देउवाको प्रधानमन्त्री हुने सपना चकनाचुर हुन्छ भने एमालेका नेता नेपाल पक्षसहित नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव पक्षसँग गठबन्धन गरेर आगामी निर्वाचनमा उत्रिने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको योजनामा पनि तातो पानी खनिने पुग्दछ । यही कारणले गर्दा नै अस्ति सोमबार कोटेश्वरस्थित नेपालको निवासमा पुगेर कांग्रेस सभापति देउवा र माओवादी केन्द्र अध्यक्ष प्रचण्डले अहिले कायम रहेको गठबन्धनलाई थप मजबुत पार्न एमालेका नेता नेपालसँग छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *