माओवादी छाड्नेहरू ‘घरका न घाटका’

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी ओली नेतृत्वको सरकारमा मन्त्री खान गएकाहरूको रुवाबासी सुरु भएको छ । ति न त माओवादी रहे, न त नेकपा एमाले नै भए ।
प्रचण्डलाई छाडेर ओलीको मन्त्री खान गएकाहरू थिए, रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरी शंकर चौधरी र दावा लामाहरू । जसको मन्त्री पद सर्वाेच्च अदालतको जेठ ६ को फैसलासँगै खोसियो ।
ओलीले गरेको मन्त्रिपरिषद् विस्तार १८ सांसद भएका जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र महतो, महन्थ ठाकुरहरूले ११ मन्त्रालय पाए, तर पूर्व माओवादीकाले २ वटा मन्त्रालयमा चित्त बुझाए । त्यसमा पनि कसैसँग सरसल्लाह नगरी रामबहादुर थापाले आफ्नै पत्नी नैनकला थापालाई सञ्चारमन्त्री बनाएपछि त्यो खेमाभित्रै असन्तृष्टि चुलिँदो छ । उता प्रचण्ड छाडेर ओलीतिर लाग्दा केन्द्रबाट प्रभु साहको मन्त्री पद खोसिएको छ भने उनकी श्रीमती रिनाकुमारी साहको पनि माओवादीको कारबाहीमा परेर रौतहटको मौलापुरको मेयर पदको कुर्सी खुस्कने अवस्था छ ।
ओलीको पेलाइमा परेका मध्ये प्रभु साहहरू बिरलै एमाले बैठकमा जान्छन्,गए पनि कतै हस्ताक्षर गर्न मान्दैनन् । यस्तै, अन्योलतापूर्ण स्थिति र अपमान सहिरहेका टोपबहादुर रायमाझी र प्रभु साहले गत शुक्रबार निर्वाचन आयोगमा पुगेर आफूहरूलाई कुन पार्टीको भनेर सोधखोज गरे । आयोगमा उपलब्ध भएको कागजात पल्टाउँदा माओवादीले पार्टीबाट हटाएको पत्र अहिलेसम्म बहादुर भवनमा पुगिसकेको छैन । आयोगले अझैं पनि उनीहरूलाई माओवादीकै केन्द्रीय सदस्यका रूपमै चिन्छ । आयोगमा रहेको माओवादीको केन्द्रीय कमिटीको सूचीमा प्रभु साह, लेखराज भट्ट र टोपबहादुर रायमाझीहरूको नाम यथावतै छ । अर्काेतिर प्रचण्डलाई छाडेर ओलीतिर लागेका छन् । ओलीले बनाएको महाधिवेशन आयोजक कमिटीमा मनोनित पनि भएका हुन्, तर ती नेताहरूको नाम निर्वाचन आयोगले अहिलेसम्म एमालेको केन्द्रीय कमिटीमा दर्ज भएको छैन । आयोगले तिनलाई माओवादीकै रूपमा चिन्छ, एमालेका रूपमा चिन्दैन । एमालेबाट उनीहरू माओवादीतिर फर्कन सक्ने अवस्था पनि छैन । अप्ठ्यारो अवस्थामा नेतृत्वमाथि घात गरेर ओलीको पछि लागेका कारण तिनलाई नेतृत्वले माओवादीमा ठाउँ दिने स्थिति देखिँदैन । ५ महिना मन्त्री त खाए, तर अहिले त्यही मन्त्री पदले यता न उताको हालतमा पुगेका छन् पूर्व माओवादीहरू ।
उता पूर्व माओवादी खेमाका मन्त्रीबाट एमाले खेमाकाहरू चिढिएका छन् । बादलले आफ्नी पत्नी नैनकला थापालाई मन्त्री बनाए । उनी पहिलो महिला सञ्चारमन्त्री बनेर रेकर्ड पनि कायम गरिन् तर, उनै नैनकलाले एमालेनिकट प्रेस चौतारीवालाहरूलाई चिढ्याएको चर्चा सोही खेमाका पत्रकारहरूले गर्न थालेका छन् ।
नयाँ मन्त्री नैनकलालाई भेट्न सरकारी चौतारीवाला टोली गत ४ असारमा सञ्चारमन्त्रालय पुग्यो । मन्त्रीलाई भेट्न जानेमा गणेश बस्नेत, गणेश पाण्डे, माधव तिवारी, इन्द्र आचार्य, हरिबल्लभ नेपाल, पुकार तिमिल्सिनाहरूको टोली थियो । उनीहरूले मन्त्रीलाई बधाई दिए, फोटो खिचे, तर मन्त्रीले भाउ दिइनन् । सञ्चारमन्त्री थापाले ‘तपाईंहरू ढिलो आउनुभयो, म अहिले हिँडे है, अलिक व्यस्त छु’ भन्दै बाहिरिदिइन् । प्रेस चौतारीवाला टोली मन्त्रीलाई भेट्न अनेकन माग लिएर पुगेको थियो तर मन्त्रीले ती माग केही नसुनी हतार छ भन्दै बाहिरिएपछि चौतारीवाला टोली मन्त्रीसँग रुष्ट बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *