काठमाडौं । समय पनि कस्तो आयो भने विदेशबाट श्रम, पसिना बगाएर खाई–नखाई रकम पठाउनेहरू गुमनाम, तिनैले पठाएको रकममा दोहन गरी केही अंश बाँडेर फेसबुक, ट्विटरमा हल्ला खल्ला गर्ने चाहिँ महान अभियन्ता । दिनेको चर्चा छैन्, चन्दा उठाएर बदमासी गर्नेहरूको चुरीफुरी हेरिसाध्य छैन् । यिनै अभियन्ताका कारण अहिले राज्यका निकाय हैरानी खेप्दैछन् । अहिले सामाजिक अभियन्ताका रूपमा चर्चामा आएका पात्र हुन् सीताराम कट्टटेल, कुञ्जना घिमिरे, रवि लामिछाने, ज्ञानेन्द्र शाही, ज्वाला संग्रौला, हेमराज थापा, शर्मिला वाइवा, विनयजंग बस्नेत, पवित्रा लामा, इशा गुरुङलगायत ।
यस्ता अभियन्ताहरूको सूची लामै छ । जो लाख उठाउँछन्, हजार बाँड््छन् । बाँकी हिसाबकिताब समेत पारदर्शी गर्न चाहँदैनन् । उल्टै प्रश्न उठाउनेको खेदो खन्छन् । तिनैमध्येका ज्वाला संग्रौला, शर्मिला वाइवा, हिमाल उपाध्याय अहिले टेकु प्रहरीको हिरासतमा छन् । यसअघि अर्काको पैसामा तर मारेर समाजसेवी र अभियन्ता कहलिएका ज्ञानेन्द्र शाही, विनयजंग बस्नेत, रवि लामिछानेहरू अनेक फण्डामा प्रहरी हिरासतमा पुगेका छन् । ज्वालाको वास्तविक नाम टीका संग्रौला हो । उनी धेरै समय जापानमा बसिन् । त्यहाँ रहँदा राष्ट्रपतिमाथि छुद्र टिप्पणी गरेको अभियोगमा साइबर क्राइमको मुद्दा खेपिरहेकी थिइन । उनी इशा गुरुङले झैं रवि लामिछानेसँग मिलेर सामाजिक काम गरिरहेको हल्ला पिटिरहेकी छन् । तर, उनले कहाँबाट कोसँग कति रकम उठाइन् ? कहाँ, कसरी त्यो रकम बाँडिन् ? खुलाइरहेकी छैनन् । जसले त्यसको स्रोत खोज्छ, उसैलाई ठीक पार्ने नीति छ यो टोलीको । अर्काे छ ज्ञानेन्द्र शाही । जसको सामाजिक सेवाको चरित्र अहिले जुम्लामा पुगेर उदांगो भएको छ । तिनै स्वघोषित अभियन्ताले सुर्खेतमा मादक पदार्थ सेवन गरेर झै–झगडा गरेको तथ्य बाहिरिएको केही दिन मात्र भएको छ । उनी सरकारी कार्यालयमा गएर कर्मचारीहरूलाई धम्क्याउँदै आएका छन् । भारतमा चार्टड एकाउन्टेन्ट पढ्न गएका तर नसकेपछि नेपाल फर्किएका उनी ६० लाखभन्दा बढी मूल्यको कार चढेर हिँड्छन् । बेरोजगार मान्छेलाई लाखौँको गाडी चढ्ने सम्पत्तिको स्रोत के हो ? यो बिषय कसले खोज्ने ?
अर्काे हेमराज थापा त कोरोना कहरमा कीर्तिपुरस्थित आफू बस्ने कोठामा २० औँ बोरा चामल र तेलका कार्टुन लुकाएर विवादमा आएका पात्र हुन् ।
०७२ सालमा भूकम्प गयो । देशैभर ठूलो जनधनको क्षति भयो । त्यस्तैमा हाँस्य कलाकारितामा जमेका धुर्मुस–सुन्तलीले काभ्रेको पाँचखालका पहरी समुदायका लागि बस्ती बनाउने भए । यही समयमा कान्तिपुर साप्ताहिकका चल्तीका एक पत्रकारलाई बोलाएर सुन्तलीले एउटा अन्तर्वार्ता छपाइन्, ऋृणमा डुबेको र खुमलटारमा अवस्थित आफ्नो घरै बेच्न तयार भएको । यो भावुक अन्तर्वार्तापछि उनीहरूको दिन फिरे । सहयोग रकमको ओइरो लाग्न थाल्यो । तर, त्यसरी जुटेको सहयोग रकम पारदर्शी भएन । त्यहाँबाट हौसिएका धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोक हुँदै महोत्तरीमा मुसहर बस्ती बनाए । अहिले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउँदै छन् । कोरोना कहरको यो समयमा सारा नेपालीले बुझ्दैछन्, नेपालीलाई रंगशालाभन्दा बढी आवश्यक्ता त अस्पतालको रहेछ । एकातिर कृषि विश्वविद्यालयको जग्गा कब्जा गरेर निर्माण गरिएको रंगशाला, त्यहीमाथि रकम अभावमा अलपत्र छ । यही समाजसेवी भनाउँदाहरूको वास्तविक चरित्र उदांगो हुँदैछ ।
०००