नेकपा एकतामा किन ढिलाइ ?

सम्पादकीय

सम्पादकीय

२०७४ मा सम्पन्न भएको आम निर्वाचनको आधारमा सरकार सञ्चालन गर्दै आएको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा लामो समयदेखि चल्दै आएको विवादले त्यो पार्टीलाई मात्र होइन, मुलुकको समग्र राजनीति र पछिल्लो परिवर्तनबाट प्राप्त भएको उपलब्धीलाई समावेश गरेर जारी गरेको संविधानसमेत संकटमा पर्न थालेको छ । सम्पन्न आम निर्वाचनमा जनताको ठूलो समर्थन र विश्वासका साथ ऐतिहासिक सफलता प्राप्त गरेर सत्तारुढ भएको एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालका बीचमा कार्यदिशा र विचारको लागि नभएर व्यक्तिगत स्वार्थ र शैलीको कारण विवाद चर्किएर गएको छ । व्यक्तिगत अभिरुचिको कारण उत्पन्न भएको यो विवादलाई समाधान गर्न एमालेका दोस्रो पुस्ताका नेताहरू केही दिनयताबाट सक्रिय भएका छन् । अध्यक्ष तथा प्रधानमन्त्री ओली र नेता नेपालका बीचमा उत्पन्न भएको विवादले पार्टीलाई नै विभाजनको संघारमा पु¥याउन थालेपछि दोस्रो पुस्ताका नेताहरू पार्टी एकताको उपाय र निकास खोज्नका लागि सक्रिय भएका हुन् ।
गत वर्षको फागुन २३ गते सर्वोच्च अदालतले तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको गठनलाई कानुनसम्मत नभएको ठहर गर्नुभन्दा पहिले नेकपाको केन्द्रीय तहमा यसैगरी विवाद चर्किएको थियो । तत्कालीन नेकपालाई सर्वोच्च अदालतले विघटन गरिदिएपछि त्यहाँको विवाद एमालेको नेतृत्व तहमा प्रवेश गरेको छ र लामो समयदेखि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पक्ष÷विपक्ष भएर त्यो विवादलाई निरन्तरता दिइराखेका छन् । एमालेमा उत्पन्न भएको विवादको प्रथम राजनीतिक फाइदा प्रतिपक्ष नेपाली कांग्रेसले उठाउने स्थिति आएको छ । यही स्थितिको कारण प्रतिपक्षमा रहेका राजनीतिक दलले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रक्रिया अगाडि बढाएका थिए । जुन प्रक्रिया अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ । यही कारणले गर्दा नै एमालेमा उत्पन्न भएको विवादले ‘भाइ फुटे गवार लुटे’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्न थालेको अनुभूति जसले पनि गर्न सक्ने स्थिति बन्दै गएको छ । एमालेको नेतृत्व तहमा उत्पन्न भएको विवादले नेपालको कम्युनिस्ट आन्दोलनमा नै गम्भीर असर पर्ने देखिएको छ भने, यही विवादले लामो संघर्ष र त्यागपछि प्राप्त भएका ऐतिहासिक उपलब्धीसमेत गुम्ने खतरा उत्पन्न हुन थालेको छ । तर, आपसी विवाद र मतभेदको चर्को मूल्य चुकाउनु पर्ने स्थिति आउन थाल्दा पनि अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल आफूले राख्दै आएको अडानमा लचक भएर एकताको वातावरण बनाउन आवश्यक संकेत गरी राखेका छैनन् । प्रधानमन्त्री ओली तथा वरिपक्व नेता नेपाल आ–आफ्नो अडानमा कायम भई रहँदा पछिल्लो पुस्ताका नेताहरू भने ओली र नेपालबीचको आपसी विवाद समाधान गरेर पार्टीलाई एकढिक्का पार्ने कसरतमा लाग्दै आएका छन् । यो कसरत असम्भव नभए पनि जटिल भने निश्चित छ । पार्टीमा एकता कायम गर्ने काम जटिल र कठिन भए पनि विवाद समाधानको उपाय खोज्न सक्रिय रहेका पछिल्लो पुस्ताका नेताहरूले आपसी छलफलबाट सकारात्मक स्थिति भने बनाउँदे ल्याएका छन् । यो मामिलामा एकताका लािग सक्रिय रहेका नेताहरूले प्रधानमन्त्री ओली र नेता नेपालको व्यक्तिगत अहम्लाई सम्बोधन गर्ने स्वार्थ र रुचीलाई परित्याग गरेर पार्टीको भविष्यलाई ध्यानमा राखेर एकता प्रयाशलाई अगाडि बढाउनु पर्दछ र त्यो एकता प्रयासलाई सकारात्मक परिणाममा रुपान्तरण गर्न ढिलाइ गर्नु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *