कांग्रेसलाई महाधिवेशन लाग्यो, आधा दर्जन सभापतिका आकांक्षी

राजनीति

काठमाडौं– गत शुक्रबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले आगामी भदौ ७ गतेदेखि १० गते सम्मका लागि तय भएको १४ औँ महाधिवेशनलाई भदौकै १६ गतेबाट सुरु गरेर १९ गते सम्पन्न गर्ने निर्णय गरेलगत्तै सभापति शेरबहादुर देउवाले अर्को चार वर्षे कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । देउवाले अर्को कार्यकालका लागि पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै अहिलेसम्म देउवाकै क्याम्पमा रहेर देउवाको विश्वस्त सहयोगीको भूमिका निर्वाह गरी राखेका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापना पक्षबाट देउवा र निधिले १४ औँ महाधिवेशनमा भावी सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्दा यो मामिलामा संस्थापना इतर पक्षका नेताहरूले भने मुख खोलेका छैनन् । तथापि संस्थापना इतर पक्षका सभापतिका लागि उत्सुक नेताहरूले आफ्नो गतिविधिलाई तीव्र बनाउन भने थालेका छन् ।
आगामी भदौ १६ गतेबाट हुने १४ औँ महाधिवेशनबाट चार वर्षका लागि अर्को नेतृत्वमा पुग्नका लागि सभापति देउवाले उम्मेदवार हुने घोषणा गरेलगत्तै उपसभापति निधिले पनि संस्थापना पक्षबाट नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने निर्णय गरेका छन् । तर, सभापतिका लागि उत्सुक मानिएका संस्थापना इतर पक्षका महामन्त्री शशांक कोइराला, शेखर कोइराला, रामचन्द्र पौडेल प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौलाले भने यस सम्बन्धमा आफ्नो मुख खोलेका छैनन् । शेरबहादुर देउवाले अर्को कार्यकालका लागि पनि सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेलगत्तै महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंह बानेश्वरस्थित उपसभापति निधिको निवासमा पुगेर लन्चसहित आगामी निर्वाचनका सम्बन्धमा छलफल गरेका छन् ।
देउवाले नै उपसभापतिमा मनोनयन गरेका तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग तीव्र मतभेद भएर पार्टी विभाजित हुँदा पनि देउवालाई सहयोग गरेका निधिले समेत सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दा निश्चितरूपमा देउवाको उम्मेदवारी कमजोर बन्न पुगेको छ । यसरी कमजोर बन्न पुगेको उम्मेदवारीलाई मजबुत बनाउनका लागि सभापति देउवाले महामन्त्री कोइराला अथवा पूर्व महामन्त्री सिटौलाको समर्थन लिने रणनीति बनाएका छन् । तर सभापतिकै आकांक्षी कोइराला र सिटौलाले कुन शर्तमा देउवालाई समर्थन गर्ने वातावरण बन्न सक्छ ? भन्ने प्रश्नले अहिलेसम्म जवाफ पाउन सकेको छैन । कांग्रेस सभापतिका लागि आधा दर्जनभन्दा बढी नेताहरू आकांक्षी देखिरहँदा १४ औँ महाधिवेशनको क्रममा नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा पौडेलको स्थिति भने निकै कमजोर देखिएको छ । १३ औं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिमा उम्मेदवार भएका र दोस्रो चरणको निर्वाचनमा सिटौलाको कारण देउवासँग पराजित भएका पौडेललाई यो पटक भने संस्थापन इतर पक्षले सभापतिको उम्मेदवार नबनाउने लगभग निश्चित भएको छ । सभापतिका लागि हुने निर्वाचनमा देउवालाई कोइराला परिवारको सदस्यले मात्र पराजित गर्ने ठहर महामन्त्री शशांक कोइरालासँगै केन्द्रीय सदस्यद्वय शेखर र सुजाता कोइरालाले गरेका छन् । भावी सभापतिका लागि महामन्त्री शशांकसँगै केन्द्रीय सदस्य सुजाता पनि उत्सुक भएर आवश्यक गृहकार्य गरी राखेका भए पनि संस्थापन इतर पक्षबाट सभापतिको उम्मेदवार शेखर हुने लगभग निश्चित मानिएको छ । यसैगरी आफू पक्षका नेता कार्यकर्तालाई आफूसँगै कायम राख्न र आफ्नो हैसियत देखाएर भविष्यमा सहज राजनीति गर्नका लागि सिटौलाले पनि उम्मेदवारी दिने सम्भावना देखिएको छ । यसैगरी कांग्रेस विभाजित भएर देउवाको नेतृत्वमा गठन भएको कांग्रेस प्रजातान्त्रिकको उपभासपति भएका प्रकाशमान सिंहले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सिंहले पनि सभापतिमा उम्मेदवारी दिए भने देउवाको उम्मेदवारी थप कमजोर हुने सम्भावना छ । किनभने सिंह पनि देउवाका विश्वास पात्र नेता हुन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *