एयरपोर्टका गोदाम नै असुरक्षित

समाचार

काठमाडौं । विदेशबाट ल्याइएका सामान देशभित्रै चोरी हुन्छ त्यो पनि विमानस्थलको गोदाम भित्र जहाँ सर्वसाधारण छिर्न पाउँदैन । गेटमै सुरक्षागार्ड हुन्छन् । गोदामसम्म पुग्न तीनवटा सुरक्षा टोलीको चेकिङ पार गर्नुपर्छ । गोदाममा व्यापारीले विदेशबाट सामान ल्याएका हुन्छन् । राजस्व र भन्सारको फस्र्यौट नहुँदासम्म सामान गोदाममा राखिन्छ । तर, अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा पारबाहन तथा गोदाम कम्पनी लिमिटेडको विश्वसनीयता छैन भन्ने कुरा कम्पनीमा कार्यरत एक कर्मचारीले नै चोरी गरेको घटनाले पुष्टि गर्छ । लोडर विष्णु अधिकारीले केही समयअघि व्यापारीले ल्याएको ल्यापटप चोरी गरेका छन् । सिन्धुपाल्चोक घर भएका अधिकारीले ८ थान ल्यापटप चोरी गरेको प्रहरीका एसएसपी राजेशनाथ बाँस्तोला बताउँछन् । नयाँ नेपाल जनशक्ति सर्भिस प्रालिका कर्मचारी हुन् अधिकारी ।
फोहर थुपारिएको ठाउँमा चोरीका सामान लुकाउने र कार्यलय बिदा भएपछि लैजाने गरेको आरोपमा अधिकारी पक्राउ परेका छन् । अधिकारीले जेठ २० गते ७ वटा असार २ गते ६ वटा ल्यापटप चोरेका थिए । अधिकारीले गोकर्णेस्वर बेशी गाउँमा लगेर ल्यापटप राखेका थिए । प्रहरीले उनको कोठाबाट लुकाइएका ती सामान बरामद गरेको छ । व्यापारीले विदेशबाट ल्याएका सामान विश्वासका साथ गोदाममा राख्नु स्वभाविक हो । कर्मचारी मै विश्वास गर्ने भएकाले त्रिभुवन विमानस्थलभित्रको भद्रगोल भएको हो । कर्मचारीले बेइमानी गर्ने हुँदा सम्वेदनशील स्थान र कम्पनीको विश्वसनीयता गुम्छ । राज्य सञ्चालकहरू भ्रष्टाचारी, स्वार्थी लोभी भएपछि तीन कै कार्यकर्तारूपी कर्मचारी सज्जन खोजेर पाइँदैन ।
अन्तर्राष्ट्रिय विमानस्थल देशको पहिचान हो । देश कस्तो छ भन्ने कुराको पहिचान विमानस्थलले पनि दिने भएकाले सरकारले बुटिक एयरपोर्टको अवधारणा ल्याएको हो । तर, सरकारी सम्पत्ति कब्जा गरेर भाडा नतिर्ने, राजस्व छलेर सामान भित्र्याउने गोदाममा राखिएका राजस्व तिर्न बाँकी भएका समान गोदामका कर्मचारीले नै चोर्ने भए पनि राज्यको ध्यान नजानु दुःखद छ । कर्मचारी लोभी भएकोमा कसैलाई चिन्ता छैन । दलका नेता र मन्त्री भ्रष्ट भएपछि कर्मचारी वर्गको कम । कागज मिलाउनेदेखि राजस्व चुहावटको काम कर्मचारीबाट हुने गरेको छ । गल्ती गर्नेलाई सेवाबाट बर्खास्त नगर्दा यस्तो दुगर्ति बढ्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *